‘दिदीले छोडेपछि बहिनीलाई बाटो छेकें’ - College Times : Educational Magazine
Headlines News :
Home » » ‘दिदीले छोडेपछि बहिनीलाई बाटो छेकें’

‘दिदीले छोडेपछि बहिनीलाई बाटो छेकें’

Written By Collegetimes on Tuesday, December 4, 2012 | 5:51 AM

सुकदल लिम्बू (अध्यक्ष)
पब्लिक क्याम्पस प्रध्यापक संघ 
सुकुना क्याम्पस मोरङ,
मेरो कलेज लाइफ भन्नुभन्दा पहिला स्कुलजीवनकै प्रसङ्ग कोट्याएरभन्दा अलिक प्रस्ट हुनेछ । कुरो २०३० तालतिरको हो, ताप्लेजुङ सिनाममा कक्षा पाँच पास गरेपछि केही वर्ष त्यतिकै भौँतारिएर बसेँ । भौँतारिएर हिँड्दा तराई झर्ने सोच आयो । ताप्लेजुङबाट तराई भनेर झर्दा पाँचथरको आरुभोटे स्कुलमा ढाँटेर शिक्षक भएँ । मलाई अहिले त्यहाँको स्थानीय सरको नाम हेक्का छैन । उहाँले भन्नुभएको थियोे, ‘तिमी चुप लाग, म एसएलसी पास गरेको भनिदिन्छु पढाउन पाइहाल्छौ ।’ नभन्दै उहाँले भनेजस्तै सहजै शिक्षक जागिर पाएँ । यो २०३५ सालतिरको कुरा हो । मैले त्यहाँ तीन महिना मात्र काम गरेँ । अनि, काँकडभिट्टा आएँ । काँकडभिट्टा आएर कामको खोजी गर्दा कन्काई यातायात सेवा प्रालिमा खलासीको काम गरेँ । ११ महिना खलासीमा काम गरेपछि मलाई बढुवा गरी स्टोर किपरमा तानियो । स्टोर किपरको रुपमा छ महिनाजस्तो काम गरेपछि मलाई इटहरीमा सहायक प्रमुख बनाएर ल्याइयो ।
इटहरीमा आएर काम गर्ने क्रममा साजीलाल उच्चमावि मोरङका यादव थरका सरलाई मेरो इतिवृतान्त सुनाए । अनि, उहाँसँग ट्युसन पढाइदिनुहोस् र एसएलसी पनि पास गर्ने व्यवस्था मिलाइदिनुहोस् भने । उहाँकै सहयोगमा जिल्ला शिक्षा कार्यालय मोरङमा प्राइभेटबाट टेस्ट परीक्षा दिए अनि तीनपटकमा एसएलसी पास गरेँ ।
कलेज पढ्ने तयारी गरिरहेकै बेला २०३८ सालतिर होलीको अवसरमा रमाइलो गर्दा भाङ खाइयो, जनकपुर जाने बसमा टिकट काटेकोमा इन्ट्री छुटेको निहुँमा जागिरबाट निकालिएँ । अब झन् समस्या प¥र्यो । के गरौँ र कसो गरौँ भयो । त्यो अप्ठ्यारो बोलामा इटहरीका रामकुमार सुब्बाको संरक्षणमा बसेका अरुणकुमार सुब्बाले सहयोग गरे ।
उनकैमा लामो समयसम्म बसेँ । पछि कन्काई यातायात प्रालि फुटेर कञ्चन भो, फेरि त्यसैमा बुकिङ गर्न थालेँ ।
२०४१ सालमा यता बुकिङ काम पनि चल्दै थियो, उता महेन्द्र बहुमुखी क्याम्पस धरानमा भर्ना भएँ । मलाई मुख्य विषय अङ्ग्रेजी लिएर पढ्ने असाध्यै रहर थियो । गुरु श्यामप्रसाद शर्माले टेस्ट लिँदा सक्छौ भन्नुभयो । मैले अङ्ग्रेजी लिने सबै तयारी गरी पढ्न थाले । अङ्ग्रेजीसहित राजनीतिशास्त्र र भूगोल विषय रोजे ।
तर, अङ्ग्रेजी बिहानी सत्रको चौथो पिरियडमा पढाइ हुने भएकाले कक्षा छाडेर त्यही बेला धरानमै मैले बसमा बुकिङ गर्न जानुपर्ने भयो । र, अग्रेजीको सट्टा अर्थशास्त्र रोजेँ । प्रमाणपत्र तह पढ्दा छात्रवृत्ति पाएँ । दिनभर काम गर्ने हुनाले राति अबेरसम्म पढ्ने गर्थेँ । परीक्षाको रुटिङ आएपछि भने ढोका थुनेर मिहिनेत गरेर पढने गर्थेँ । प्रवीणता प्रमाणपत्र तहमा एउटा अङ्ग्रेजीबाहेक सबै बिषय नियमित पास गरेँ ।
पढ्ने क्रममा गाइड, गेसपेपरभन्दा पनि किताब पढ्ने चलन थियो । किताब पढ्ने अनि सरले पढाएको आधारमा नोट बनाउने गरिन्थ्यो । स्नातक तह पनि २०४४ सालमा धरानमै भर्ना भएर पढेँ । प्रमाणपत्र तह जसरी दुःख गरेर पढे त्यही ढङ्गले स्नातक तह पूरा गरेँ ।
पढ्दै, काम गर्दै गर्ने क्रममा २०४२ सालमा कोसी बस व्यवसायी सङ्घमाआबद्ध भइसकेको थिएँ । २०४७ सालमा स्नातकोत्तर पढ्न विराटनगरमा भर्ना भए । पहिलो वर्षको परीक्षाको समय आउने बेलामा बसन्तपुर सरुवा गरियो । छोटो समयमै भए पनि तयारी गरेर एउटा परीक्षा दिए त्यो पास गरेँ । अर्को वर्ष दोस्रो वर्षको र बाँकी पहिलो वर्षको विषय दिनुपर्ने भयो ।
तर, परीक्षाको रुटिङ आउनुभन्दा एक महिनाअघि ठूलोबुबा बित्नुभयो । ठूलीआमा नभएकाले गर्दा ठूलोबाबु हाम्रै परिवारमा बस्नुहुन्थ्यो । यसरी परीक्षा दिन नपाउँदा म एकदमै निरास भए । तर, हरेस नखाइकन मेहेनत गरेर स्नात्तकोत्तर पूरा गरे । पढाई पूरा गरेपछि सुरुवातमा जनता कलेज इटहरीमा अध्यापनको काम थालेँ । केही वर्षपछिदेखि सुकुना बहुमुखी क्याम्पसमा पढाउन थालेँ । अहिले सुकुना र कोसी सेन्टजेम्स इटहरीका अध्यायन–अध्यापन गरिरहेको छु ।
कलेज पढ्ने क्रममा प्रमाणपत्र तह पढ्दा शैक्षिक भ्रमण गएको याद आइरहन्छ । मेरो उमेर पनि सिनिएर भएकाले भ्रमणको सम्पूर्ण व्यस्थापन गर्ने जिम्मेवारी पाएको थिएँ । र, आइए नै पढ्दा एक जना पुनम भन्ने साथीले मलाई हदै मन पराउँथिन् । उनी अति सुन्दर रुपकी थिइन् । उनको तुलनामा त म कुरुप नै थिए, तर पनि के कुराबाट प्रभावित भइन् मरिहत्ते गर्ने गर्थिन् । बेलामौकामा म उनको घरमा पनि जान्थेँ ।
अन्ततः म सर्वहारा भएकैले होला उनी अलग बाटो हिँड्न थालिन् । मैले पनि अलग साइड लिएँ । पछि उनले प्रमाणपत्र तह पास गरिनन्, म स्नातक तह पढन थाले । त्यही बेला उनकी बहिनी पूर्णिमा आइएल पढ्दै थिएन् । उनी भने झनै नाम जस्तै सुन्दर थिइन् ।
दिदी छाडेको पश्चतापमा मैले त तिनलाई मन पराएर बाटै पो छेकँेछु । त्यसपछि भने केटी साथीहरु भए पनि त्यसतो मायाप्रेम गरिएन । २०५४ सालमा बिहे भो तर काठमाडौकी केटी भएकाले गर्दा व्यवहार चलेन अनि तीन वर्षपछि फेरि अर्को बिहे गरे । र, अन्तिममा मलाई के लाग्छ भने दुःख गरेर अहिले यो अवस्थामा पुगे पनि आर्थिक रुपमा भने प्रगति गर्न सकेको छुइन् । पेसालाई भने सानो ठूलो सोच्नुहँुदैन ।  
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved