आचार्य टिएन पथिक
पदार्थको विज्ञानलाई कहाँ लागू गर्ने ? चेतनाको विज्ञानलाई कहाँ लागू गर्ने ? दुवै विज्ञानलाई कसरी अध्ययन गर्ने ? यी संवेदनशील अनि जान्न–बुझ्न योग्य सवाल हुन् । पदार्थको उत्पादन, विनिमय, कारोबारका कुरा पदार्थको अध्ययनविना सम्भव छैन । बाहिरी विज्ञानको प्रयोगशालामा यसका सानातिना तत्वहरुको अध्ययन, अनुसन्धान गर्दै जाँदा भौतिक, आर्थिक जगत सम्मुन्न हँुदै गयो । हामीले पदार्थगत जगत समुन्नत ग¥यौँ । धन–सम्पत्ति जोड्यौ, सुविधा थप्यौं । भौतिक रुपमा केही कमी छैन । तर, कताकता हराएकोजस्तो, केही गुमेजस्तो, केही चिज नपुगेजस्तो अवस्था रहिरहन्छ ।मानिसले खोजेको सुख हो । तर, सबै भौतिक सुविधाहरु भएर पनि मानिसले खोजेजस्तो शारीरिक, मानसिक, इहलौकिक, परलौकिक सुख पाइरहेको हँुदैन । सुविधा हुँदाहुँदै पनि वैज्ञानिकहरुले, दार्शनिकहरुले पूर्ण सुख महसुस गर्न सकेका छैनन् । भौतिक जगत समृद्ध भयो तर मानसिक जगत समृद्ध भएको छैन । मानसिक जगत अर्थात् चेतना जबसम्म समृद्ध हँुदैन तबसम्म मानिसले जतिसुकै सुविधा पाए पनि पूर्णसुख महसुस गर्न सक्दैन ।
अब चेतनालाई सम्मुन्नत पार्नुछ । जसले गर्दा कुनै पनि व्यक्तिले बाँच्दा होस् या मर्दा, प्राप्त गर्दा होस् या गुमाउँदा, जस्तोसुकै अवस्था भए पनि गर्व गर्न सकोस् । भौतिक र आत्मिक सुख आर्जन गरेको प्रतिभाशाली र सम्मुन्नत मानिस निमार्णका लागि अर्को विज्ञानको आवश्यकता छ । त्यो हो अन्तरविज्ञान वा चेतनाको विज्ञान । पदार्थ विज्ञानले भौतिक जगतलाई जस्तै आत्मिक जगतलाई सबल बनाउँछ । भौतिक विज्ञान जति जरुरी छ, चेतनाको विज्ञान त्यति नै जरुरी छ । दुवै तरिकाले जो सुख प्राप्त हुन्छ त्यो नै वास्तविक सुख हो । वास्तविक सुखी हुनु भनेको आनन्दित हुनु हो । मानिसले आनन्दकै लागि शिक्षा लिन्छ, रोजीरोटी गर्छ, राजनीति र सामाजिक काम गर्छ । यी सारा कोसिस गर्दा पनि मानिसले आनन्द पाउन सकेको छैन ।
चेतना समृद्ध गर्न र चेतना विज्ञानको प्रयोगशाला स्थापित गर्न नसक्दा मानिस आनन्दबाट वञ्चित छ । अब चेतना विज्ञानको प्रयोगशाला स्थापित गर्नुछं । चेतनाको समृद्धिले मात्र सुख र आनन्द अनुभव गर्न सकिन्छ । यसका लागि दुइटै विज्ञानको जरुरत छ । पदार्थको विज्ञान शरीर र चेतनाको विज्ञान आत्मा बचाउने हो । त्यसैले यतिबेला प्रश्न अगाडि आएको छ, आत्मा अर्थात् चेतनाको विज्ञानलाई हाम्रो शिक्षाभित्र सामेल गर्ने कि नगर्ने ?
नेपाल र भारतबाट विकसित भएको धार्मिक, आध्यात्मिक शिक्षालाई पूर्वीय शिक्षा भन्ने गरिएको छ । यसमा तिब्बतसमेत आउँछ । युरोप–अमेरिकाबाट विकसित र प्रयोगमा ल्याइएको शिक्षालाई पाश्चात्य शिक्षा भन्ने गरिएको छ । पूर्वीयलाई ज्ञानको र पाश्चात्यलाई विज्ञानको शिक्षा मानिन्छ । आजको शैक्षिक लहर पाश्चात्यउन्मुख छ, जुन भौतिक विज्ञानमा केन्द्रित छ । यो भौतिक, आर्थिक र सामाजिक रुपले मानवलाई समुन्नत बनाउन तयार पारिएको विज्ञान वा शिक्षा हो ।
पाश्चात्य शिक्षाले जीवन र जगतलाई व्यावसायिक तरिकाले हेर्छ । यसले कसरी जीवन भौतिक रुपले समुन्नत पार्ने, कसरी धेरैभन्दा धेरै धन आर्जन र भौतिक सुविधा उपभोग गर्ने भन्ने तरिकाले हेर्छ । यसैबाट विकसित शिक्षा आज बहुमूल्य भएको छ, जसलाई निकैले सिको गर्न खोजिरहेका छन् । तात्कालिक उन्नति सबैको जरुरत भएकाले दुनियाँभर पाश्चात्य शिक्षा हावी हुँदै गएको छ ।
तथापि यसको विस्तारले फरक–फरक नतिजा ल्याएको छ । धेरै युद्धहरु भएका छन् । धेरै विनास गर्ने हतियारहरु निर्मित भएका छन् । पाश्चात्य शिक्षाले मनुष्यलाई दुई भागमा विभाजित गरेर लडाएको छ । युद्धमा होमिरहेको छ । यो भौतिकरुपले जति उन्नत भए पनि युद्ध सिर्जना भयो, जुन अझ विकसित हुँदैछ ।
यता, पूर्वीय शिक्षालाई ज्ञानको शिक्षा भनिन्छ । पश्चिमी सभ्यताको उन्नति विज्ञानको उन्नति भएझैँ पूर्वीय सभ्यताको उन्नति ज्ञानको उन्नति हो । पूर्वीय शिक्षा विज्ञान र भौतिक उन्नतिमा अधुरो छ । मनुष्य भौतिकताहरुले सुसज्जित र सम्पन्न हुनुपर्छ भन्ने कुरालाई मान्दैन पूर्वेली शिक्षाले । मनुष्य कसरी आफ्नो क्षमतालाई बोध गर्दै बुद्ध वा ज्ञानी हुनसक्छ भन्ने निचोड यसमा छ ।
बुद्धकालीन, उपनिषद्कालीन र अन्य सबै प्रकारका विधाहरु भए पूर्वमा । जस्तो लाओत्सु, गौतमबुद्ध, पतञ्जलिदेखि सुरुवात भएका जो विधाहरु हुन्, यी सारा ज्ञानका विधाहरु हुन् । यिनले मनुष्यको भौतिक सुखलाई नजरअन्दाज गरिदिए । केवल मनुष्यको आत्मिक सुख मात्रै खोजी गर्ने काम गर्न थाले ।
आत्मिक सुखको मात्रै खोजी गर्न थाल्दा, आत्मा त भित्र, हेर्दा अदृश्य छ । खोजेको चिज त कम्ती छ । भौतिक शरीरमा जति पनि अङ्गहरु छन्, विचारहरु छन्, तिनले खोजेको धेरै छ । खोजेको जुन चिज प्रकट रुपमा प्राप्त गर्न सकिन्छ, त्यसमा त मनुष्य लाग्नुप¥यो नि । यसले गर्दा पूर्वीय देशहरु विज्ञानमा जान थालेका देखिन्छन् । पश्चिमको भौतिकता जति बढी समुन्नत भयो, त्यति पूर्वका व्यक्तिहरु त्यसको अनुकरणको मोहजालमा फस्न बाध्य हुँदै गएको पाइन्छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !