![]() |
| भीम अधिकारी, इन्द्रपुर मोरङ |
तीन दशकअघि भारत नागाल्यान्डबाट नेपाल भित्रिएको अधिकारी परिवार सुरुमा झापा विर्तामोडको खोला किनारामा जग्गा किनेर केही वर्ष बस्यो । खोलाले घरजग्गा बगाएपछि परिवारसँगै इन्द्रपुरको खोर्साने आइपुगेका हुन् अधिकारी ।
पुख्र्यौली सम्पतिले एक कट्ठा जग्गा खरिद गरी बास बस्ने सानो घर बनाए पनि बाबुआमा नागाल्यान्ड नै बस्ने गरेकाले पारिवारिक जिम्मेवारी उनको काँधमा थपियो । पारिवारिक जिम्मेवारी थपिएकाले गर्दा अधिकारीले कक्षा नौमा पढ्न थालेदेखि नै भाइबहिनीलाई पढाउन ट्युसन पढाउन थाले । उनका भाइबहिनी तीन जना थिए । सोही बेला उनले बिहे गरे । उनले २०४७ सालमा एसएलसी उत्तीर्ण गरे । एसएलसी उत्तीर्ण गरे पनि आर्थिक अवस्थाले गर्दा उनको पढाइ त्यतिमै पूर्णविराम लाग्यो । त्यसपछि उनले परिवारको गुजारा टार्न गरेको दुःखका दिन व्याख्या गरी साध्य छैन ।
‘एसएलसी पास गरेपछि भने अनेकन काम गरेँ,’ उनले भने, ‘ती दुःखका क्षण अचेल सम्झिँदा ज्यादै नरमाइलो लाग्छ ।’ जसरी भए पनि आफ्नो र परिवारको गुजारा टार्नुपर्ने बाध्यताले गर्दा एसएलसीपछि उनले इटहरीकै मुना ग्यारेजमा निशुःल्क काम गरे ।
ग्यारेजमा काम सिकेर केही समय विराटचोकमा काम पनि गरे पनि त्यो कामबाट उनी सन्तुष्ट नभएपछि धरानको फाइन आर्ट सेन्टरमा भर्ना भएर आर्ट सिके । उनले त्यहाँँ न्यून पारिश्रमिकमा काम पनि गरे । पारिश्रमिक पाएअनुसार काम गर्ने कुनै समयसीमा हँुदैनथ्यो ।
‘काम गर्ने कुनै टुङ्गो हुँदैनथ्यो, प्रायः रातिसम्म काम नगरेको त बिरलै हुन्थ्यो,’ उनले भने, ‘आर्टमा काम गर्ने सिलसिलमा छुटै एकान्तस्थानमा गाडीमा चढेर घरमा पेन्टिङ गर्दा, १० रुपैयाँले तीन दिनसम्म चिया–बिस्कुट खाएर बिताएको थिएँ, पछि विराटचोकमा आफै आर्ट सेन्टर खोलेर चलाएँ ।’
त्यो बेला उनले समय मिलाउँदै गाउँ–गाउँ घुमेर रेडियो, टिभी, घडी बनाउने काम पनि गरे । ‘म सबै थोक काम गर्न सक्छु भन्ने विश्वास लिएको थिएँ,’ उनले भने । एकपछि अर्को काम उनले गर्दै जाने क्रममा कराते खेल सिकेर केही महिना खेल पनि खेलाए । अधिकारीले नाटक लेखन तथा अभिनयको भूमिका पनि निर्वाह गरेका छन् ।
उनले २०४७ सालताका नै ‘छोरोको आसमा’ भन्ने नाटक लेखेका थिए । उनले नाट्य क्षेत्रमा तीन वर्षसम्म काम गरे । अधिकारीले २०५० सालताका मोटरसाइकलको पिस्टनरिङबाट बन्दुक पनि बनाए । बन्दुकपछि उल्टो र सुल्टो दुवैतर्फ घुम्ने घडी बनाए ।
‘आर्थिक अभाव हुदाँ गाविससँग दुई हजार रुपैयाँ दिनु ठूलो घडी बनाएर अगाडि राखिदिन्छुभन्दा पदाधिकारीले कुनै चासो दिएनन्,’ उनले भने । अधिकारीले तीन वर्षअघि बाँसबाट बनेको बत्ती पनि बनाएका थिए । यसरी थुप्रै नयाँ–नयाँ सिर्जना गरी काम गर्दा पनि कसैले आर्थिक सहयोग नगरेका कारण कुनै पनि काममा ‘सफल’ हुन नसकेको उनको दुःखेसो छ ।
अनेकन काम गरे पनि उनी अझैसम्म नयाँ–नयाँ कामकै खोजीमा लागेकै छन् । उनले एक वर्षअघि सामाजिक विकृति–विसङ्गतिविरुद्ध फाइट नामक संस्था खोले । त्यही संस्थामा संलग्न व्यक्तिको समूहले अहिले विराटचोकमा चाइल्ड केयर सेन्टर खुलेको छ । उनी पाँचवटा स्कुलमा कला शिक्षकको रुपमा काम पनि गर्छन् । उनका अनुसार इन्द्रपुर तथा आसपासका सुविजिमुर, सिद्धार्थ, ब्राइट फ्यूचर, नमूना र स्कलर होममा काम गर्छन् ।
बाघझोडा बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष उनी हाल इन्द्रपुरमा सबैभन्दा बढी सेयर सदस्य रहेको सजिलो बचत तथा ऋण सहकारी संस्था तथा इन्द्रपुर खेलकुद विकास समितिको अध्यक्ष छन् । कामले खारिएर समाजमा चिनिएकाले नयाँ कुनै कामको थालनी गर्दा होस् वा कुनै अवसर आएमा गाउँ–समाजले उनलाई जिम्मेवारी दिने गरेको छ । युवापुस्तालाई उनको सन्देश छ, ‘जागिर आफँैबाट सिर्जना गरौँ ।’

0 comments:
Speak up your mind
Tell us what you're thinking... !