बिएमा केटीसँग बोलियो
Written By Neplee on Wednesday, April 24, 2013 | 10:56 PM
डिग्री कलेज विराटनगरका सह–प्रध्यापक तथा कोवास कलेज विराटनगरका चिफ एग्जुकेटिभ डाइरेक्टर डाक्टर रमेशप्रसाद अधिकारी अर्थशास्त्रमा पूर्वका विज्ञ मानिन्छन् । उनले कलेज पढ्दाको अनुभव उनकै शब्दमा ः
२०३२ सालमा धरान पब्लिक हाइस्कुलबाट एसएलसी परीक्षा दिएकोमा एक वर्षपछि रिजल्ट आयो । त्यो बेला इन्जिनियरिङको क्रेज थियो । तर, आर्थिक अभावले गर्दा म भने मानविकी सङ्कायमा धरानकै महेन्द्र बहुमुखी कलेजमा अर्थशास्त्र मुख्य विषय रोजेर भर्ना भएँ । त्यो बेला कलेजमा त्यति सारो खर्च नभए तापनि घरबाट चाहिँदो खर्च पाइँदैनथ्यो । अनि, गाउँका केटाकेटीलाई ट्युसन पढाएर खर्च जुटाउँथे । त्यो बेला घरबाट खर्च नबेहोरे पनि हरेकमा पढ्नुपर्छ भन्ने सोच हुन्थ्यो । अहिलेका विद्यार्थीमा घरबाट जतिसुकै खर्च गरे पनि पढ्नुपर्छ भन्ने भावनाको कमी छ ।
म मानविकी सङ्कायमा पढ्दा नियमित कलेज जान्थेँ । अनि, गुरुहरूले पढाएको आधारमा आफैँ नोट बनाउने अनि मिहिनेत गरेर पढ्ने गर्थें । विषयवस्तुसँग सम्बन्धित किताब खोजी–खोजी पढ्थेँ । २०३५ सालमा प्रवीणता प्रमाणपत्र तह सकेपछि सोही वर्ष पुनः धरानको महेन्द्र कलेजमै स्नातक तहमा भर्ना भएँ । स्नातक तह अध्ययन गर्दा बिहान कलेज सञ्चालन हुने भएकाले दिउँसो र बेलुका गरेर हरेक दिन चार घन्टा अनिवार्य पढ्थेँ ।
प्रवीणता प्रमाणपत्र तहमा भने त्यसरी पढिएन । स्नातक तह पढ्ने क्रममै २०३६ सालमा विद्यार्थी आन्दोलन भयो । विद्यार्थी आन्दोलनमा सक्रिय रूपमा सहभागी भइयो । एक–दुईपटक प्रहरी खोरमा समेत पुगियो । अनि, राजनीतितिर पनि प्रवेश गरियो । राजनीतितिर प्रवेश गर्ने क्रममा साथीहरूको करकापले सुरुवातमै स्ववियुको खेलकुद सचिव भएको थिएँ । राजनीतिमा इच्छा नहुदाँ–नहुदै पनि जवर्जस्ती लागेकाले गर्दा त्यो कलेजको मेरो अविस्मरणीय क्षण बनेर रहेको छ । राजनीतिमा त्यसरी जवर्जस्ती लाग्दा पनि पढाइमा भने कुनै असर गरेन ।
२०३८ सालमा स्नातक तहको पढाइ सकेपछि शिक्षकमा जागिर खान थालेँ । त्यो बेला झन्डै पाँच वर्षसम्म मोरङ बाहुनीको जनता माविमा काम गरेँ ।
२०४३ सालमा स्नातकोत्तर अध्ययन गर्नका लागि डिग्री क्याम्पस विराटनगरमा भर्ना भएँ । पहिलो वर्ष बोर्ड प्रथम भएँ । दोस्रो वर्ष भने त्योअनुसार अङ्क ल्याउन सकिएन तर पनि राम्रै अङ्क ल्याएको थिएँ । स्नातकोत्तर प्रथम वर्षमा बोर्ड प्रथम भएकोमा सरकारीस्तरबाट जापान भ्रमण गर्ने अवसर पाएँ । त्यहाँको भ्रमणले गर्दा विकसित राष्ट्र कस्तो हुँदोरहेछ भन्ने प्रत्यक्ष हेर्ने मौका पाएँ ।
२०४६ सालदेखि डिग्री क्याम्पसकै सहप्रध्यापकको रूपमा कार्यरत छु । २०५२ सालदेखि निजीस्तरमा कोवास कलेज पनि सुरुवात ग¥यौं । पढने क्रममै २०६३ सालमा भारतको नर्थ बङ्गाल विश्वविद्यालयबाट विद्यावारिधि पूरा गरेँ । विकसित राष्ट्रको शैक्षिक अनुभव बटुल्नका लागि २०६८ सालमा आफ्नै खर्चमा अमेरिका र बेलायतको पनि भ्रमण गरेँ ।
विकसित राष्ट्र अनि मैले अहिलेसम्म शिक्षण गरेको अनुभवमा शिक्षकहरूले आधुनिक सुविधा प्रयोग गरेर शिक्षण गर्नुपर्छ । र, शिक्षक हरेक समय अपडेट भइरहनुपर्छ, विद्यार्थीहरूले पनि कक्षामा पढाएको भरमा केन्द्रित नभएर आफ्नै तरिकाले लेख्न सक्ने नयाँ प्रविधिको प्रयोग गरेर नयाँ–नयाँ कुरा सिक्न सल्लाह दिन्छु । साथै, अभिभावकलाई पनि राम्रो कलेज बुझेर जहाँको रिजल्ट राम्रो हुन्छ त्यही भर्ना पनि सल्लाह दिन्छु ।
विद्यालयस्तरको पढाइ सरकारी स्कुलमा पढे पनि म अङ्ग्रेजी विषयमा पोख्त थिए । कलेजमा अङ्ग्रेजी राम्रो भएकै कारण केटीहरू नजिक हुन खोज्थे । म भने केटीसँग एकदमै लजाउँथे । भरसक बोल्न नपाए पनि हुन्थ्योजस्तो लाग्थ्यो ।
स्नातक तहमा अध्ययन गर्दा स्ववियु निर्वाचनबाट खेलकुद सचिव भएपछि भने शैक्षिक भ्रमण जानुपर्ने, खेलकुद गतिविधि सञ्चालन गर्नुपर्ने बाध्यताले केटीसँग बोल्ने बानी सुरु गरेँ । त्यसैले आई पढ्दासम्म केटीसँग नबोलेको म बिए पढ्दादेखि भने मजाले बोल्न थालेँ ।
प्रस्तुति ः अम्बर
0 comments:
Speak up your mind
Tell us what you're thinking... !