आइटेक खाद्य–प्रविधि
Written By Neplee on Wednesday, April 24, 2013 | 10:57 PM
खाद्यप्रविधि जनतासँग प्रत्यक्ष सम्बन्धित क्षेत्र भएर पनि विभिन्न कारणहरूले गर्दा यसको हुनु पर्ने जति विकास भइरहेको छैन । हरेक जीवजन्तुलाई जीवित रहनका लागि पहिलो आवश्यक्ता खाना हो । हाम्रो मुलुक कृषिप्रधान भएर पनि जनताको पहिलो आवश्यक्ता खाद्यान्नको अभाव छ । मुलुकका बहुसङ्ख्यक जनताको मुख्य पेसा कृषि हुँदाहँुदै पनि खाद्यान्नको अभाव हुनुका पछाडि धेरै कारणहरू छन् । जनचेतनाको अभावमा आफैं उब्जाएको खाद्यान्नको सही प्रयोग गर्न नजान्दा एकातिर अनिकालको सामना गर्नुपरेको छ भने अर्कोतिर विभिन्न किसिमका रोगको सङ्क्रमणले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता छ । खान नपाएर हैन खान नजानेर ज्यान गुमाउनहरूको सङ्कलन धेरै छ । त्यसैले त जनसाधारणहरू कुपोषण, खाद्य–विष तथा खाद्य अज्ञानताको शिकार बन्न बाध्य छन् ।
देश कृषिप्रधान भए पनि उत्पादित वस्तुहरूको उचित भण्डारण, संरक्षण, प्याकेजीङसम्बन्धी ज्ञानको अभावमा उत्पादित वस्तुहरू उत्पादित क्षेत्रमै खेर गइरहेको अवस्था छ । खाद्य सङ्कटका कारण खानै नपाउने बाध्यता पनि उत्तिकै छ । यदि सामान्य प्राविधिक ज्ञान हुन्थ्यो भने त्यसको सदुपयोगमार्फत् खाद्यसङ्कट टर्नुका साथै आर्थिक लाभ पनि लिन सकिन्थ्यो ।
पछिल्ला तथ्याङ्कले ८० प्रतिशतभन्दा बढी रोगहरू खानाकै कारण लाग्ने देखाएको छ । यदि हामीसँग उपलब्ध स्रोत–साधनलाई नै सही तरिकाले उपयोग गर्न सके खानाका कारण लाग्ने सबै खाले रोगबाट टाढा रहन सकिन्छ ।
ढुङ्गे युगबाट सुरु भएको मानव सभ्यता आजकोे आधुनिक युगसम्म आइपुग्दा विज्ञान र प्रविधिलाई हतियार बनाएर धेरै परिवर्तन भइसकेका छन् । विश्व जगत प्रविधि विकासमार्फत् धेरै अगाडि पुगिसक्दा पनि हाम्रो मुलुक भर्खर बामे सर्ने क्रममा छ । प्राविधिक विकासमार्फत् खाद्य–सुरक्षा अपनाउने उद्देश्यका साथ २०३० सालमा त्रिभुवन विश्वविद्यालयअन्र्तगत रहने गरी सुनसरीको धरानमा व्यावहारिक विज्ञान तथा प्रविधि अध्ययन संस्थानको स्थापना गरी आइटेक पढाइ सुरु भयो । तर, २०३६ देखि खाद्य–प्रविधिलाई विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा गाभेर बिटेक खाद्य–प्रविधिको पढाइ सुरु गरियो । बढ्दो खाद्य उद्योगसगँै प्राविधिकको उच्च मागलाई सीमित सङ्कलनमा उत्पादित प्राविधिकले धान्न नसक्दा भारतबाट खाद्य–प्राविधिक मगाउनुपर्ने बाध्यतालाई चिर्न सिटिइभिटीको सम्बन्धनमा धरानको नास्ट कलेजले २०५६ सालदेखि खाद्य प्रविधिमा प्रविणता तह अर्थात् आइटेकको पढाइ सुरु ग¥यो ।
धरानको उत्पादनले पनि बजारको माग धान्न नसकिरहेको अवस्थामा काठमाडौंको क्याफोडेट कलेजले पनि २०६६ सालदेखि आइटेकको पढाइ सुरु ग¥यो । अहिले नेपाललगायतका अल्पविकसित मुलुकमा खाद्य असुरक्षा बढ्दै गइरहेको अवस्थामा मध्यमस्तरका प्रविधिकको माग ज्यादै उच्च छ । अहिले पनि उद्योगहरूले प्रविधिकको माग गर्दा पूरा गर्न नसकिएको बताउँदै नास्ट कलेज धरानका खाद्य–प्रविधि कोअर्डिनेटर वसन्त राई गरिब मुलुकका साना उद्योगले धेरै तलब दिएर खाद्य–प्राविधिक राख्न नसक्ने अवस्थामा मध्यमस्तरका जनशक्तिको माग उच्च रहेको औल्याउँछन् । शैक्षिक अवधि सकिनासाथ जागिरको लागि अफर आइरहेको र कोही बेरोजगार बस्नुनपर्ने खाद्य–प्रविधि शिक्षामा सम्भावना बढ्दै गए पनि आकर्षण भने घट्दो देखिन्छ ।
खाद्य प्रविधिमा आइटेक गरिसकेपछि उच्चशिक्षा हासिल गर्ने, सरकारी निजी क्षेत्रमा जागिर गर्ने मात्र हैन, आफ्नै खाद्य उद्योग सञ्चालन गर्नेको जमात पनि ठूलो छ । २०५९ सालमा नास्ट कलेज धरानबाट खाद्य–प्रविधिमा आइटेक गरेका बुद्धिबहादुर भुजेल पोखराको सुजल डेरीमा उत्पादन अधिकृत छन् । भुजेल आइटेक खाद्य–प्रविधि शिक्षालाई संसारकै सबैभन्दा व्यवहारिक शिक्षाको रूपमा लिन्छन् । त्यस्तै विराटनगरका खाद्य–विश्लेषक धिरज राई पनि धरानकै उत्पादन हुन् । २०६४ मा सरकारी सेवामा प्रवेश गरेका राई खाद्य–प्रविधि अध्ययन गरेकाहरूले कहिल्यै पछाडि फर्किनुनपर्ने दाबी गर्छन् ।
सम्भावना धेरै भएको खाद्य प्रविधिमा आइटेक पढ्न एसएलसी परीक्षामा कम्तीमा ५० प्रतिशत अङ्क ल्याइ पास गरेको र सिटिइभिटीले लिने प्रवेश परीक्षामा उत्कृष्टता हासिल गरेको हुनुपर्छ । वार्षिक ४८ जनाले अध्ययन गर्न पाउने उक्त विषय ६ सेमेस्टर गरी तीन वर्षमा पूरा हुन्छ । जम्मा एक हजार पाँच सय पूर्णाङ्कको आइटेक खाद्य–प्रविधि सैद्धान्तिक र प्रयोगात्मक बराबरी पढाइने विषय हो । यो विषयको अन्तिम तीन महिना उद्योगहरूमा काम सिक्ने व्यवस्था हुन्छ ।
किस्ता प्रणालीमा शुल्क बुझाउने आइटेक अध्ययन गर्न धरानको नास्ट कलेजमा एक लाख चालीस हजार लाग्छ भने काठमाडौंको क्याफोडेटमा दुई लाख चालीस हजार लाग्छ । हालसम्म उत्पादित जनशक्तिमध्ये धेरै जसो चाउचाउ, विस्कुट, बाल आहार, डेरी, चिजबलजस्ता खाद्य प्रशोधन उद्योगमा रोजगार छन् भने केही गैरसरकारी संस्थामा तालिम प्रदायक र आफ्नै उद्योग सञ्चालन गरिरहेका छन् । आइटेक गरिसकेपछि थप पढ्न चाहनेहरूका लागि धेरै बाटाहरू खुल्ला छन् । आइएससीसरहको मान्यता पाउने यो विषय पढेकाहरूले खाद्य–प्रविधि, पोषण विज्ञान, बायोटेक्नोलोजी, बायोकेमेस्ट्री, चिया–प्रविधि, कम्प्युटर विज्ञान व्यवस्थापन आदिमा स्नातक गर्न पाउँछन् ।
वैज्ञानिक अनुसन्धानमा रुचि हुनेहरूका लागि पनि खाद्य प्रविधिमा आइटेक महत्वपूर्ण विषय हो । पछिल्लो समय खाद्य ऐन कार्यान्वयनको बाटोमा सरकार लागिरहेको अवस्थामा साना ठूला सबै उद्योगले अनिवार्य रूपमा खाद्य वैज्ञानिक राख्नुपर्ने परिस्थिति आउँदैछ । साना उद्योगले खाद्य–प्रविधिमा स्नातक गरेकाहरूलाई धेरै पारिश्रमिकमा राख्न नसक्ने हँुदा बजारमा आइटेकको माग दिनदिनै बढिरहेको छ । अर्कोतिर खाद्य निरीक्षकको रूपमा सरकारी सुब्बामा पनि आइटेक गरेकाहरूको आवश्यकता छ । नेपालजस्तो कृषिप्रधान मुलुकमा पनि भोकमरी र अनिकालको समस्या झेलिरहनुपर्ने बाध्यतालाई चिर्दै खाद्य सुरक्षाको स्थिति बलियो बनाउन खाद्य–प्राविधिकको धेरै ठूलो भूमिका हुन्छ । अतः प्रवेशिका सकेर उच्चशिक्षा केमा गर्ने भन्ने अन्योल भएकाहरूका लागि खाद्य–प्रविधिमा आइटेक एउटा उत्तम विकल्प हुनसक्छ ।
केपी लम्साल

0 comments:
Speak up your mind
Tell us what you're thinking... !