ट्याटु : आकर्षणसँगै समस्या - College Times : Educational Magazine
Headlines News :
Home » » ट्याटु : आकर्षणसँगै समस्या

ट्याटु : आकर्षणसँगै समस्या

Written By Neplee on Wednesday, April 24, 2013 | 11:07 PM


सौन्दर्य प्रसाधनका रूपमा ट्याटुको प्रयोग निकै अघिदेखि प्रचलनमा छ । युरोप र अमेरिकातिर आधुनिक प्रविधिबाट उच्चस्तरीय ट्याटुहरू बनाइने गरिए पनि नेपालमा भने पछिल्ला केही वर्षमा मात्र ट्याटुले व्यावसायिक र आधुनिक रूप लिन थालेको हो । व्यावसायिक रूपमा ट्याटु बनाउने काम सुरु भएसँगै ट्याटु स्वास्थ्यमैत्री समेत हुन थालेको छ ।

परम्परागत प्रविधिबाट कम राम्रो ट्याटु बनाउने काम नेपालमा निकै अघिदेखि हुँदै आएको हो । खासगरी थारु समुदाय ट्याटु बनाउन अगाडी छ । तर पछिल्लो समयमा फेसनको रूपमा मङ्गोल समुदायले नेपालमा व्यावसायिक ट्याटु आधुनिक प्रविधिका साथमा नेपालमा भित्र्याएपछि ट्याटु अब युवाहरूको आवश्यकताझैँ बनिसकेको छ । अझ शरीरमा पोलेर वा अन्य कारणबाट लागेका दागहरू मेट्न त झन् यो वरदान नै सिद्ध हुने गरेको छ । चिकित्सा विज्ञानमा समेत चोटपटक र खत लागेको ठाउँलाई छोप्न र आँखीभौं नभएकाका लागि राम्रो देखाउन ट्याटुको प्रयोग हुन्छ । धरानमा बसेर विगत केही महिनादेखि व्यावसायिक ट्याटु बनाइरहेका याङ राई आफैं पनि ट्याटुको प्रयोगपछि ट्याटु व्यवसायतर्फ प्रेरित भए ।
‘मेरो हात पोलेर नराम्ररी बिग्रेको थियो,’ उनले आफ्नो दायाँ हात देखाउँदै भने, ‘पोलेको भाग छोप्न सकिने थाहा पाएपछि मैले ट्याटु बनाएँ ।’ अहिले जलेको भाग देखिँदैन । बरु राम्रो ट्याटुले उनलाई सिँगारेको छ । ट्याटुप्रति युवाहरूको क्रेज बढ्दै गएको छ । पहिला लागूपदार्थ दुव्र्यसनीले मात्र ट्याटु बनाउन लगाउँछन् भन्ने आम सोचाइ थियो । तर, अब यो बालकदेखि वृद्धसम्म र युवकदेखि युवतीसम्मको रुचि र छनोट बनिसकेको छ । फेसनेवल समाजमा आफूलाई अरूभन्दा बेग्लै देखाउन चाहनेले आकर्षक र अरूभन्दा भिन्न ट्याटु बनाउन चाहन्छन् ।  ट्याटु बनाउन एक हजार पाँच सयदेखि हजारौं रूपैयाँसम्म खर्च हुन्छ । चित्रको प्रकृति, लाग्ने रङ तथा ट्याटु बनाउनेको मेहनत र समयका आधारमा ट्याटु बनाउन लगाएको शुल्क निर्भारण हुन्छ । अचेल कोठी बनाउनको लागिसमेत ट्याटु बनाउन चाहनेहरू छन् । सुनसरीको धरानमा दर्ता गरेरै चलाइएका तीन वटा ट्याटु सेन्टरहरू छन् । राम्रो कलाकारबाट उच्चस्तरीय प्रविधिको प्रयोग गरेर मात्र ट्याटु बनाउनुपर्ने ट्याटु कलाकारहरू सुझाव दिन्छन् ।

विशेष रुचि
पूर्वाञ्चलका युवाहरू अधिक रूपमा बाज, चिल, छेपारो, सर्प, बाघ, सिंहको आकृति खोपाउन चाहन्छन् । युवतीहरू भने पुतली, फूललगायतको ट्याटु बनाउन रुचाउँछन् । पछिल्लो समयमा आफ्नी आमाको फोटोलाई आफ्नो शरीरमा ट्याटुको रूपमा हुबहु उतार्न चाहने युवायुवतीहरूको सङ्कलन बढेको ट्याटु बनाउने काममा संलग्नहरूको अनुभव छ । तर, ट्याटु बनाउँदा उमेरलाई भने ध्यान दिनु आवश्यक हुन्छ । १८ वर्ष उमेर नपुगेको व्यक्तिको शरीरमा ट्याटु बनाउनुको कुनै अर्थ छैन । १८ वर्षभन्दा सानो उमेरको युवामा रहर भए पनि बढ्दो शरीरका कारण ट्याटु पछि बिग्रन सक्छ भने पछि मेट्नसमेत गाह्रो हुने हुँदा अलि सोचविचार गर्ने भएपछि मात्र ट्याटु बनाउन सल्लाह विज्ञको छ । त्यस्तै ट्याटु बनाउँदा आफ्नो करियर र रुचिलाई पनि ध्यान दिनुपर्छ ।

स्वास्थ्य चेतावनी
ट्याटु जति आकर्षक देखिन्छ, बनाउँदा उतिनै ध्यान दिनुपर्छ । गलत रङ अनि सफा नगरिएको सुईको प्रयोग भयो भने स्वास्थ्यका लागि हानिकारक समेत हुनसक्छ । त्यस्तै रगत, नशा तथा छालासम्बन्धी समस्या भएका व्यक्तिका लागि ट्याटु राम्रो हुँदैन । आधुनिक प्रविधिबाट बनाएको ट्याटुबाट भने कुनै साइड इफेक्ट हुँदैन । सामान्य ध्यान पु¥यायो भने ट्याटु आजन्म उस्तै आकर्षक रहन्छ ।
ध्यान नपु¥याई खोपिएको ट्याटुले छाला तथा यौन रोगको समस्या निम्तिने विज्ञहरूले चेतावनी दिएका छन् । ट्याटुले छालामा सङ्क्रमण, दुबी, एलर्जी हुने र खत बढ्ने समस्या निम्तिन सक्छ । छालाको दोस्रो तह (भित्री भाग)सम्म सुईको सहयोगले स्थायी रङहरू पठाएर ट्याटु बनाइने हुदाँ यो एक प्रकारको शल्यक्रियाझैं भएकाले धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ ।
विशेषज्ञहरूका अनुसार संसारभरिका दक्ष ट्याटु कलाकारहरूले नीलो र कालो रङका लागि कार्बन, रातोको लागि सिनाबार र मर्करी सल्फेट, हरियोका लागि क्रोमिक अक्साइड र पहेंलोका लागि क्याडमियम सल्फेटलगायतका रसायन प्रयोग गर्छन् ।

फुर्सदमा पछुतो
बलिउड नायिका दीपिका पादुकोणले नायक रणवीरको नाम ट्याटुको रूपमा खोपाएकी थिइन् । पछि प्रेम सम्बन्ध टुटेसँगै उनले नाम हटाउन बाध्य हुनुप¥यो । साथीको लहलहै वा रहरमा ट्याटु खोपाएका युवायुवतीहरू पछि आफ्नो सङ्गत वा रुचि परिवर्तन भएसँगै ट्याटुलाई समेत मेटाउन चाहन्छन् । अरूले देख्ने ठाउँमा बनाइएको ट्याटुले पछि समस्या निम्त्याउन थालेपछि हटाउनैपर्ने बाध्यता बन्न जान्छ ।
चलचित्रको नक्कल गर्दै कुनै समूह वा ग्याङसँग आबद्धता देखाउन ट्याटु खोपाउनेले पछि समूह छाडेपछि ट्याटु मेटाउने गर्छन् । फेरि आपराधिक समूहका मानिसहरू ट्याटुकै कारण पक्राउ पर्ने डरले पनि ट्याटु हटाउने गर्छन् । सुरुमा लहैलहैमा ट्याटु खोपाउनेहरू पछि करियरमा समस्या हुने भएपछि हटाउन चाहन्छन् । जस्तै प्रहरी र सेनामा भर्ना हुँदा पनि ट्याटु निषेध छ । त्यसैगरी युवा उमेरमा लहडको भरमा ट्याटु बनाउनेहरू पछि प्रोफेसर वा डाक्टरको जागिर खाँदा ट्याटु देखाउनु अशोभनीय हुनसक्छ ।
धर्म परिवर्तनको कारण पनि ट्याटु हटाउने निकै हुन्छन् । तर, ट्याटु बनाउनजस्तो हटाउन सजिलो छैन । एकातिर पैसाको नास, अर्कोतिर समयको । ट्याटु बनाउने त नेपालभर छरिएका छन्, तर ‘हटाउनका लागि काठमाडौं नै पुगेर सर्जरी गराउनुपर्छ,’ इटहरीमा ट्याटु खोपाउने काम गर्दै आएका रिगल कार्की भन्छन्, ‘बनाउनभन्दा मेटाउन बढी खर्च लाग्छ ।’ साथी–सङ्गतले ट्याटु बनाएकी काठमाडौंकी रोसितालाई ट्याटु हटाउने चिन्ताले सताएको छ । ‘ट्याटु बनाउन त पैसा नै लागेन, साथीले नै बनाउन लगाए । तर, हटाउन लाग्ने खर्चले निन्द्रा हराएको छ ।’ उनले भनिन्, ‘बेकार बनाएँछु ।’

महँगो रुचि
एक समय रुचि लागेर बनाएको ट्याटु पछि रुचि फेरिनासाथ हटाउनैपर्ने हुन्छ । ट्याटुकै कारण आफूले चाहेअनुसारको कपडा लगाउन नपाएपछि युवतीहरूलाई ट्याटु समस्या बन्ने गरेको छ । रोसिता भन्छिन्, ‘बनाउन १२ सय पनि लागेन, तर हटाउन १२ हजारले पनि पुगेन ।’
ट्याटु हटाउन धेरै खर्च लाग्नुका साथै समय पनि धेरै लाग्छ । एक दुई घन्टामा ट्याटु खोपाउन सकिन्छ तर हटाउन भने छ महिनादेखि एक वर्षसम्म लाग्न सक्छ । कालो र नीलो रङले ट्याटु चाँडै जाने तर रातो, हरियो, पहेंलो रङ प्रयोग गरिएको भए समय धेरै लाग्ने गर्छ ।
ट्याटु कस्तो बनाउने भन्ने कुरा मानिसको चाहना र इच्छामा भर पर्छ । एक समय मन परेको ट्याटु अर्को समय मन नपर्न पनि सक्छ । मानिसमा परिवर्तन भइरहने रुचि र इच्छाअनुसार ट्याटु हटाउने र मेटाउने गर्नुपर्ने हुनसक्छ । त्यसैले हामीले शरीरमा ट्याटु बनाउँदा निकै विचार गर्नुपर्ने देखिन्छ ।
हिमाल दहाल
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved