"क्याम्पस जीवन साधुझैँ बिताएँ"
Written By Neplee on Friday, September 21, 2012 | 5:42 AM
२०२६ सालमा धरान पब्लिक हाइस्कुलबाट एसएलसी पास गरेपछि उच्च शिक्षा हासिल गर्नको लागि विराटनगरस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भएँ ।
सुरुमा ठूला–ठूला घर अनि ठूलो सङ्ख्यामा विद्यार्थी हुदाँ अनौठो लाग्थ्यो । बिस्तारै बानी पर्दै गइयो । त्यतिबेला त्यहाँ पढ्दा जागिर पाइने प्रशस्तै सम्भावना हुन्छ भनेर पढेको थिएँ । जागिर भने पाइएन । तर, बिहानको सिप्mटमा पढेकाले त्यतिबेला निकै नाम चलेका वकिल रामप्रसाद
भट्टराईसँग सङ्गत बढ्यो । उहाँकै सङ्गतमा लागेर मुद्दा तारेक पेश गर्ने काम गरेँ । यसरी पढाइमा अवरोध नपुगी मैले अदालती काम–कारबाहीबारे ज्ञान लिएको हुँदा व्यवहारिक र सैद्धान्तिक दुवै पक्षको ज्ञान भयो ।
प्रवीणता प्रमाणपत्र तहको दुई बर्से पढाइ पूरा
गरेपछि आफ्नै गाउँ दुलारी फर्किएँ । दुलारीमा दुई वर्ष सहकारी संस्थामा जागिरे भए । त्यही बेलामा एकाउन्ट बारे व्यवहारिक ज्ञान पाऐँ । २०२९ सालदेखि दुई वर्षसम्म जागिर खाएपछि मलाई सहकारी र कानुनी ज्ञानले गर्दा थप अनुभवी बनायो । काम गर्न थाले पनि पढ्ने रहर अझै पूरा भइसकेको थिएन । त्यसैले स्नातक तह पढ्नका लागि विराटनगर पुगेँ । छँदा–खाँदाको जागिर चटक्कै छाडेर शुद्ध विद्यार्थीको रुपमा बिहान छ बजेदेखि ११ बजेसम्म पढ्न थालेँ ।
कलेजबाट फर्केर आएपछि सरले पढाउने क्रममा टिपेका मुख्य–मुख्य बुदाँसँगै पाठ्यपुस्तक अध्ययन गरेर त्यसैका आधारमा नोट तयार गर्थेँ । दिनभर विषयपिच्छेको नोट तयार गर्थेँ अनि रातभरि त्यही नोट पढ्थेँ । कलेजमा पढाउँने अधिकतर सरहरु किताब लेखक थिए । अनि एसिसमेन्टमा तोकेको नम्बर ल्याउनेलाई ती पुस्तक उपहार दिन्थे । मैले तीनवटै एसिसमेन्टमा पुरस्कारस्वरुप पुस्तक प्राप्त गरेको थिएँ । मिहिनेत गरेर पढ्दा पनि त्यो बेला परीक्षकले सोचेजस्तो नम्बर दिदैनथे । २०३२ सालमा विद्यार्थी आन्दोलन भएपछि भने परीक्षकको प्रवृत्तिमा केही सुधार आयो ।
स्नातक तह उत्तीर्ण गरेपछि निमावि शिक्षकमा नाम निकालेँ । केही वर्ष अस्थायी काम गरेपछि स्थायी नियुक्ति पाएँ । शिक्षक भएर जागिर खान थालेकाले ३३ देखि ३५ सालसम्म पढाइलाई थप अगाडि बढाउन सकिनँ । २०३६ सालमा भने स्नातकोत्तर पढ्नका लागि काठमाडौं गएँ र राजनीतिशास्त्र पढ्न थालेँ । त्यो बेला राम्रा–राम्रा साथीहरुसँग घुलमिल भएको थियो । सँगै पढेका र घुलमिल भएका साथीहरु मन्त्री, सचिवलगायत माथिल्लो तहका सरकारी कर्मचारी भए । जागिर छोडेर भए पनि पढ्न गएको त्यति फाइदा भयो ।
शिक्षक छँदा मेची महाकाली शिक्षक आन्दोलनमा पनि सहभागी हुने मौका मिलेको थियो । स्नातकोत्तर गर्ने क्रममै बिएड र बिएलमा पनि भर्ना भएर परीक्षा दिएँ । बद्लिँदो समय अनुसार सवै विषयको ज्ञान हुनुपर्छ भनेर शिक्षाशास्त्र सङ्कायमा पनि स्नातकोत्तर भर्ना भएँ । स्नातकोत्तर पढने क्रममा सवै साथीहरु मिलेर गोदावरीमा पिकनिक गएको चाहिँ याद छ । क्याम्पस जीवन अरुहरुको जस्तो रमाइलोमा कहिल्यै बिताइएन । कहिल्यै मज्जाले घुमफिर गरिएन ।
कलेज जीवनमा केटीसाथीसँग कहिल्यै मज्जाले नबोली पढाइ पूरा भयो । अझ स्नातक तहमा अध्ययन गर्दा त पिरियड नै पिच्छे कक्षा परिवर्तन गर्नुपर्ने हुदाँ हाम्रो समूह जहिले पहिलो बेञ्चमा बस्न मरिहत्ते गथ्र्यो । ठूलो सङ्ख्यामा विद्यार्थी हुने गरेकाले पहिलो बेञ्चमा नबसे पढाएको राम्रोसँग बुझिदैनथ्यो । केही केटीहरु पनि पहिलो बेञ्चमा बस्न मरिहत्ते गर्थे तर हामी उछिनी हाल्थ्यौं, त्यही भएर प्रतिस्पर्धाका कारण उनीहरुसँग ‘राम्रो सम्बन्ध’ भएन । त्यो बेला कसैले प्रेम प्रस्ताव राख्ने अहिलेको जस्तो खुला वातावरण पनि थिएन । त्यसैले गर्दा क्याम्पस जीवन साधुजस्तो भएर बिताइयो ।
प्रस्तुति; अमर खड्का
0 comments:
Speak up your mind
Tell us what you're thinking... !