‘केटालाई विवाहमा समस्या’ – नन्दकिशोर राठी (उद्योगी)
Written By Neplee on Tuesday, January 17, 2012 | 7:46 PM
अङ्ग्रेजी मज्जाले बोल्न नआउँदा निक्कै ठाउँमा अप्ठेरो परेको छ । हामीले पढ्ने बेलामा विराटनगरमा अङ्ग्रेजी माध्यमका स्कुल थिएनन् । क्याम्पस पनि सरकारी मात्र थिए । त्यसैले अङ्ग्रेजी पढ्न पाइएन । अहिलेको जमाना भनेको सबै अङ्ग्रेजीमा बोल्ने–लेख्ने भइसक्यो । स–साना नानीहरुले समेत अङ्ग्रेजी मज्जाले बोल्छन् । नानीहरु बेलेको देख्दा आपूmलाई पनि त्यस्तै बोल्न मन लाग्छ तर उनीहरुजस्तो फरर कुरा गर्न सकिँदैन । अन्तर्राष्ट्रिय बजारमा जानसमेत अङ्ग्रेजी नभए अप्ठेरो पर्ने हुँदा अबको शिक्षा प्रणाली अङ्ग्रेजी माध्यमको हुनुपर्छजस्तो लाग्छ ।
मैले २०३३ सालबाट महेन्द्र मोरङ क्याम्पस विराटनगरबाट कलेज लाइफ सुरुवात गरे । त्यहीँबाट प्रमाणपत्र हुँदै स्नातक गरे । स्नातक पूरा गरेपछि व्यापारतिर लागे । त्यसपछि पढाइलाई अघि बढाउन सकिनँ, त्यत्तिमै पूर्णबिराम लाग्यो । त्यसबेला स्नातकभन्दा माथि पढ्ने चलन पनि थिएन । एकदमै थोरै व्यक्तिहरुले मात्र स्नातकोत्तर पढ्थेँ । धेरैको पढाइ स्नातकमै सीमित हुन्थ्यो । त्यसबेला घरमै बुवाले व्यापार गर्नुहुन्थ्यो । कलेज गएबाहेक वाबुलाई सघाउनु पथ्र्यो । अहिलेको जस्तो विद्यार्थीलाई सजिलो थिएन त्यसबेला । कलेजबाट आउन आधाघण्टा ढिला भएमा घरमा गाली खानुपथ्र्यो । अहिले त घण्टौँ नआउँदा पनि घरमा त्यतिधेरै गाली खानु पर्दैन ।
अहिले सम्झँदा कलेजका दिनहरु रमाइलो गरी बितेका थिए । आपूm साधारण विद्यार्थी भएकाले साथीहरुको सहयोग निक्कै महत्वपूर्ण हुन्थ्यो । साथीहरुले सहयोग नगरेका भए सायद स्नातक पास गर्न गाह्रो हुन्थ्यो होला । कलेज लाइफमा साथीहरुको साथ एकदमै महत्वपूर्ण हुँदोरहेछ । त्यो उमेरमा आउने समस्याहरु सिधै परिवारमा पनि भन्न सकिन्नँ । साथीसँग मिलेर समाधान गर्न सकिने समस्या त समाधान भइहाल्छन्, समाधान नहुने समस्याका पनि उपायहरु निकाल्न सकिन्छ । त्यसैले पढाइमा होस् या व्यावहारिक जीवनमा साथीहरुको उत्तिकै सहयोग चाहिन्छ त्यो उमेरमा । साथीको सहयोग त जीवनभर कुनै न कुनै रुपमा चाहिन्छ नै । यद्यपि, विद्यार्थी जीवनमा साथीको बढी महत्व हुन्छ । आफ्नो सफलताका लागि पनि साथीको भूमिका महत्वपूर्ण हुन्छ ।
कलेजमा पढ्न मात्र नभएर खेलकुदतर्फ पनि मेरो आकर्षण थियो । समय निकाल्न समस्या भए पनि जहाँ समस्या त्यहाँ उपाय भनेजस्तै मनलाई रोक्न कहाँ सकिन्थ्यो र । म विशेषगरी क्रिकेट खेल्न रुचाउँथे । क्रिकेटमा राम्रो पनि थियो । त्यसबेला तीनवटा राष्ट्रिय खेल खेल्न पाएँ । पोखरा, चन्द्रगढी र काठमाण्डौमा भएका राष्ट्रिय खेलमा म विराटनगरको टिमबाट सहभागी भएको थिए । अहिले ती क्षण सम्झँदा खुसी लागेर आउँछ । एकपटक वीरगञ्जमा भारतबाट आएको रञ्जी ट्रफीको टीमसँग खेल्दा ५ विकेट लिएको थिएँ मैले । जीवनमा त्यो क्षण सबैभन्दा खुसी र रमाइलो क्षण बनेर बसेको छ । त्यसबेला खेलाडीलाई पनि अहिलेजस्तो तालिमको व्यवस्था थिएन । स्रोत र साधन त नगन्य थिए । तर पनि खेलाडीको उत्साह र लगनले गर्दा हामी भारतका थुप्रै टिमसँग खेल खेल्थ्यौं । राष्ट्रियस्तरका खेलमा त सहभागी हुने नै भयौ, क्षेत्रीयस्तरका खेल पनि थुप्रै हुन्थे । अहिले सम्झँदा लाग्छ विद्यार्थी जीवन नै जीवनको मुख्य पाटो रहेछ । धेरै कुरा सिक्न, बुझ्न र रमाइलो गर्न पनि । विद्यार्थी जीवनमा सङ्घर्ष गर्न परे पनि एउटा छुट्टै किसिमको रमाइलो हुन्थ्यो । अहिलेको व्यापारिक जीवन त्यसबेलाका क्षणसँग तुलना गर्नै सकिँदैन ।
त्यसबेला र अहिलेको कलेजको परिवेश आकाश जमिनको फरक छ । कक्षाकोठादेखि बाहिरी वातावरणको प्रभावसमेत तुलना गर्न नमिल्ने गरी बदलिएको छ । त्यसबेला विद्यार्थीहरु आफ्नो अनुशासनमा बस्थे । शिक्षकहरुसँग कुरा गर्न पनि डराउँथे । तर अहिले त्यस्तो छैन । राजनीतिक परिवर्तनले शिक्षक र विद्यार्थी दुवैलाई बदलेको छ । बन्द–हड्ताल र आन्दोलन भन्ने कुरा कलेजमा हुन्नथ्यो, त्यसबेला । मैले कहिले पनि बन्द–हड्ताल र आन्दोलन भएको थाहा पाइन कलेजमा । मलाई राजनीतिप्रति त्यति चाख नभएर पनि हुनुपर्छ । मैले विद्यार्थीका सङ्घ सङ्गठन भएको हेक्का भएन । त्यसबेलाको राज्यव्यवस्थाले गर्दा भएका सङ्घसङ्गठन पनि भूमिगत हुँदारहेछन् । पछि क्याम्पस छाडेपछि यो कुरा थाहा पाएँ मैले ।
हाम्रो पालामा क्याम्पसको वातावरण पनि बेग्लै थियो । छात्राहरुको सङ्ख्या एकदमै कम हुन्थ्यो । झन् हाम्रो समुदायका छात्राहरु त कलेज नै जाँदैन थिए । पढ्ने छात्रा पनि सीमित मात्रामा कलेजमा पढ्थे । त्यसैले गर्दा अहिले जस्तो केटाकेटीसँंगै कलेज जाने, सँगै बसेर पढ्ने त हामी कल्पना पनि गर्दैन थियांै । अहिलेजस्तो प्रविधि पनि त्यतिबेला थिएन । अहिले त मोबाइल, इमेल, इन्टरनेटले पनि विद्यालय र कलेजका केटाकेटीलाई नजिक बनाएको छ । प्रविधिले सजिलो बनाएको छ । साथै, विकृति भित्र्याउन पनि सघाएझैं लाग्छ मलाई ।
अर्को कुरा अहिले परिस्थिति त्यसबेलाको भन्दा ठीक उल्टो भएको छ । त्यसबेला छात्राहरु कम पढ्थे अहिले केटाभन्दा केटीहरु धेरै पढ्ने भएका छन् । निजी क्याम्पसहरुमा केटीहरुकै सङ्ख्या बढी छ । त्यसले गर्दा आजकाल केटालाई विवाह गर्नसमेत समस्या आउन थालेको छ । धेरै पढेका केटी थेरै पढेका केटासँग विवाह गर्न मान्दैनन् । यस्ता समस्या अहिले हाम्रो समुदायमा देखिन थालिसकेका छन् । एउटा तहसम्म पढेर आफ्नो व्यवसायमा लाग्ने भएकाले केटाहरुको पढाइ सीमित हुन थालेको छ । केटीहरु भने पढाइमा मात्र लाग्ने भएकाले माथिल्लो तहसम्म पढ्न थालेका छन् ।
यतिबेला कलेज र प्लसटुमा पढ्ने विद्यार्थीमा गर्लफ्रेण्ड र ब्वाइफ्रेण्ड बनाउने फेशन चलेको पढ्न र सुन्न पाइन्छ । हामी कलेज पढ्दाको बेला त गर्लफ्रेण्ड र ब्वाइफ्रेण्ड के हो ? भन्ने नै थाहा थिएन । त्यसबेला भ्यालेन्टाइन डे, डेटिङ जस्ता शब्द नै सुन्न पाइँदैन थियो । अहिले त भ्यालेन्टाइन डेलाई युवा–युवतीले एउटा चाडकै रुपमा मनाउन थालेका छन् । जसले हाम्रो समाजमा विकृतिसमेत भित्र्याएको छ । गलत बुझाइले यसको उपयोग नकारात्मक तरिकाले भैरहेको छ । यो हाम्रो संस्कृति हैन । तर पनि यसलाई सकारात्मक रुपमा अँगाल्नु पर्छ । यसलाई विकृत हुनबाट जोगाउन सचेत हुनुपर्छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !