त्यतिबेला प्राइभेट कलेज पढ्दा लाजमर्दो हुन्थ्यो । अधिकतर विद्यार्थी सरकारी कलेजमा पढ्थे । कतै नाम निकाल्न नसक्नेहरु प्राइभेट कलेज पढ्छन् भन्ने सोचले गर्दा परिचय लुकाउनुपर्ने अवस्था पनि थियो । तर, प्राइभेट कलेजमा थोरै विद्यार्थी हुन्थ्यौँ । पढाइ ट्युसनजस्तै हुन्थ्यो । त्यो बेला मासिक शुल्क पनि सस्तो एक सय ८० रुपैयाँ थियो । सरकारी कलेजमा भने मासिक शुल्क मात्र १८ रुपैयाँ थियो ।
आइए पढ्दा साथीहरुसँग मिलेर डेरामा बस्थ्यौँ । अरु साथीभन्दा म पढ्नमा अलिक अल्छे तर सुन्न सिपालु थिएँ । आफूले पढेको भन्दा अरुले भनेको मेरो मस्तिष्कमा चाँडो छाउँथ्यो । त्यसैले डेरामा साथीहरुलाई आवाज निकालेर पढ्न लगाउँथे । उनीहरुले पढेको सुनेरै मलाई सबै याद हुथ्यो । एउटै विषयमा दुई–तीन जना साथीलाई पढन लगाउँथे । त्यसरी पढ्दा उनीहरुलाई पनि फाइदा, मलाई पनि कण्ठस्थ । परीक्षा आउँने बेलामा भने एकदमै मिहिनेत गरेर पढथेँ । त्यो बेला गृहकार्य फिटिक्कै हँुदैन्थ्यो तर नोट भने तयार गरिन्थ्यो ।
आइए अध्ययन गर्ने बेला आन्दोलन भएकाले राजनीतिक गतिविधिमा पनि बढी चासो राखियो । त्यो अवधिमा कतै घुम्ने, डुल्ने अनि मनोरञ्जन गर्नपट्टि फिटिक्कै ध्यान गएन । आन्दोलनले गर्दा परीक्षा ढिलो गरी हुनाले आइए सक्न तीन वर्ष लाग्यो । आइए सक्नासाथ धरानको महेन्द्र बहुमुखी क्याम्पसमै स्नातक तहमा भर्ना भएँ । स्नातक तहमा नेपाली र अर्थशास्त्र मुख्य विषय रोजेँ । आइएकै फर्मुलाले काम ग¥यो बिएमा पनि, साथीहरु पढ्ने म सुन्ने । साथीलाई पढ्न लगाएर धारणा बनाउँथे अनि राति सम्झदै सुतेर बिहान उठ्नसाथ लेख्थँे । यस्तो पढाइ लामो समयसम्म स्मरणमा रहँदोरहेछ ।
आइएभन्दा बिए पढ्दा क्यारिअर बनाउने चिन्ताले सताउँथ्यो । क्यारिअर बनाउने चिन्ताले गर्दा केटी साथीहरु भए पनि माया प्रेम गर्ने धारणा नै बनेन । थुप्रै केटीहरुले ग्रीन सिग्नल दिन्थे तरपनि क्यारिअरको सोचले त्यता ध्यान तानिएन ।
२०५१ सालमा बिए सके अनि व्यवसाय गर्ने सोच जाग्यो । त्यो बेला हामी तीन जना साथी मिलेर टेक्सटायल, चाउचाउ र मासु सप्लाई गर्ने योजना बन्यो । त्यही योजनाअनुसार एउटा ट्रक किन्यौ । ट्रकमा छ दिन म हिँड्थे तर एक दिन नहिँड्दा चालकले एकैदिनमा कहिले गाडीको इन्जिन त कहिले अरु सामान बिग्रिएको बिल लिएर आउँथ्यो । अनि, सबै पैसा स्वाहा हुन्थ्यो । यो काम झन्डै दुई वर्ष गरियो । बाबुले जोडेको एक बिघा धान खेत सकेँ । ट्रक काण्डले गर्दा व्यवसायमा हात हाल्ने सपना त्यत्तिकै तुहियो ।
व्यवसायमा लाग्ने सुनौलो सपना तुहिएपछि स्नातकोत्तर नगरी हुँदैन भन्ने लागेर कीर्तिपुर पढ्न गएँ । स्नातकोत्तर पढ्न जाँदा ‘म निकै जान्ने छु’ भन्ने दम्भ थियो । तर, झन्डै पाँच हजार विद्यार्थी देख्नासाथ ‘केही जानेको छुइनँ कि क्या हो’ जस्तो भयो । यद्यपि ठूला–ठूला विद्वानसँग साँठगाँठ भएर पढ्दा रमाइलो हुन्थ्यो । कक्षा नछोडिकन पढेँ । अध्ययनलाई परिपक्क बनाएँ । लेखन पनि त्यही बेलादेखि थाले । लेखन थालेकाले गर्दा साहित्यिक गतिविधिमा पनि बढी सहभागी हुन थालें । त्यही भएर साहित्यकुञ्ज नेपाली केन्द्रिय विभागको अध्यक्ष बनेको थिएँ । वार्षिक साहित्यिक गतिविधि समेटेर कुञ्जिनी पत्रिका पनि निकाल्थ्यौं । अनि, गरिमा, मधुपर्कलगायतका राष्ट्रिय पत्रपत्रिकामा लेख प्रकाशन गरी विषयवस्तुलाई परिपक्क बनाएको थिएँ ।
मैले कलेज पढ्दा र अहिलेको तुलना गर्दा धेरै अन्तर छ । अहिलेका स्नातक तह पढने र प्लस टु पढनेको मानसिकता एउटै छ । हामी कलेज पढ्दा पाठ्यसामग्री हत्तपत्त पाइदैनथ्यो भने अहिले प्रशस्त पाइन्छन् । अहिले पढाइ पनि नियमित हुने गर्छ तर, हामी पढ्दा नियमित हँुदैनथ्यो । तर पनि हाम्रो पालामा पढनुपर्छ भन्ने धारणा थियो, अहिलेका विद्यार्थीमा यस्तो धारणा कम पाइन्छ । अहिलेको पुस्तामा पढाइप्रति रुचि नै देखिँदैन । पुरानै ढङ्गको अध्ययन–अध्यापन शैली छ । मूल्याङ्कन पद्दति पनि सही छैन । समयको मागअनुसार यो परिवर्तन हुनुपर्छ । अबका विद्यार्थीलाई सक्षम र मिहिनेती बनाउन अनुसन्धानमा आधारित शिक्षा दिनु जरुरी छ ।
- मुकुन्द घिमिरे, प्राचार्य
कोसी सेन्टजेम्स कलेज, इटहरी
0 comments:
Speak up your mind
Tell us what you're thinking... !