आठौं कीर्तिमान नजिक थानेश्वर - College Times : Educational Magazine
Headlines News :
Home » » आठौं कीर्तिमान नजिक थानेश्वर

आठौं कीर्तिमान नजिक थानेश्वर

Written By Collegetimes on Saturday, June 29, 2013 | 1:52 AM

हरेक व्यक्तिमा आ–आफ्नै खाले प्रतिभा रहेको हुन्छ । केही नगन्य व्यक्तिमा भने अनौठो खालको प्रतिभा हुने गर्छ । यस्तै, नौलो काम गरेर आफ्नो कीर्तिमान कायम राख्ने अभियानमा जुटेका छन्, सुनसरी खनारका थानेश्वर गुरागाई । गिनिज बुक अफ् वल्र्ड रेकर्डस्मा सात वटा कीर्तिमान बनाइसकेका खनार–४ का २३ वर्षीय गुरागाई नयाँ–नयाँ अभ्यासमा अहोरात्र खटिएका छन् । गुरागाईले हालै टाउकोमा सबैभन्दा बढी समयसम्म बास्केटबल घुमाएर अर्को कीर्तिमान राख्ने योजनाअन्तर्गत सफल प्रदर्शन गरेका छन् । कीर्तिमान कायम राख्ने योजनाका लागि अभ्यासमा जुटेका उनले जेठ २३ गते इटहरीमा २३ सेकेन्डसम्म टाउकोमा बल घुमाएर देखाए ।
उनले तीन वर्षको अभ्यासपछि त्यसरी टाउकोमा राखेर २३ सेकेन्डसम्म बल घुमाउन सफल भएको बताए । ‘हरेक कामलाई अभ्यासले नै सफल बनाउँदो रहेछ,’ उनले भने, ‘मान्छेले जब प्रमाणित गर्छ अनि मात्र प्रसंशा गर्छन् । तर, प्रयास गर्दा नै अर्काले आलोचना गर्दा काम छाडियो भने सफलता हात लाग्नेछैन ।’
गुरागाईका अनुसार जर्मनीका नागरिक मेहेमेट केकीले १८.११ सेकेन्डसम्म बास्केटबल घुमाएर विश्व कीर्तिमान बनाएका छन् । तर, मेहेमेट केकीको कीर्तिमानलाई आफूले अब तोड्न सफल भएको बताउँछन् ।
गुरागाईले अहिलेसम्म एक मिनेटमा चार सय ४४ पटक बास्केट बल बाउन्स गर्ने, बास्केट बललाई कम्मर वरपर तीस सेकेन्डसम्म औंलामा घुमाउने, गिनिज बुकलाई तीस सेकेन्डसम्म औंलामा घुमाउने, टेनिस ¥याकेटबाट ४.९१ सेकेन्डमा तीनपटक छिर्ने, एक मिनेटमा ३८ पटक र तीन मिनेटमा ९६ पटक टेनिस ¥याकेटबाट छिर्न सफल व्यक्तिको रूपमा उनको नाम लेखिएको  छ ।  सन् २०१० देखि २०१२ सम्मको अवधिमा गुरागाईले  गिनिजबुकमा यी रेकर्डहरू बनाएका हुन् । ‘यस्ता रेकर्ड राख्नका लागि धेरै मेहनत गर्नुपर्छ,’ उनले भने, ‘अभ्यासले नै हरेक मान्छेलाई सफल बनाउँछ ।’
 एकपछि अर्को सफल परीक्षण गरी नयाँ कीर्तिमान कायम राख्ने लक्ष्य राखेका उनले बास्केटबललाई टुथब्रसमा २७ सेकेन्डसम्म घुमाएका पनि छन् । यो रेकर्डको सर्टिफिकेट भने आइसकेको छैन । उनले अब बास्केट बललाई नाकमा सबैभन्दा बढी घुमाउने र २१ मिटर अग्लो वस्तुलाई चिउँडोमा अड्याउनेजस्ता परीक्षण गर्ने योजना रहेको सुनाए । यस्ता ५१ वटा परीक्षण पूरा गर्ने उनको लक्ष्य छ ।
आफ्नो प्रतिभा देखाउने अनेक तरिका भए पनि सवैभन्दा प्रभावकारी भनेकै गिनिज बुक भएकाले रेकर्ड राख्न यस्ता अभ्यास निरन्तर गर्दै आएको उनले बताए । उनले विदेशी आश्रित फरम्यान, चिहान हुलट ग्रिन्ट, कान्छो सगरमाथा आरोही तेम्बाछिरी शेर्पा र आप्पा शेर्पाबाट प्रभावित भएर आफूले पनि रेकर्ड राख्ने अभियान थालेको बताए ।
आफूलाई परिवारको पनि पर्याप्त सहयोग रहेको उनको भनाइ छ । ‘केही गर्छु भनेर अगाडि बढ्दा परिवारका तर्फबाट निकै हौसला पाएँ,’ उनले भने ।
व्यवस्थापन सङ्कायमा स्नातकोत्तर प्रथम वर्षमा अध्ययनरत गुरागाईले कीर्तिमानी यात्रासँगै पढाइलाई पनि निरन्तरता दिँदै आएका छन् । स्नातकतह अध्ययन गर्दादेखि अभ्यासमा जुटेर सफलता हात लागेपछि कलेजले पनि उनलाई सय प्रतिशत छात्रवृत्ति प्रदान गरेको छ । अहिले उनी ब्रिलियन्ट मल्टिपल कलेजमा अध्ययनरत छन् ।


माध्यमिक तहसम्म पढ्दा उनी मध्यम खाले विद्यार्थीका रूपमा चिनिन्थे । ‘मध्यम खाले विद्यार्थी भए पनि केही नयाँ र नौलो काम गर्ने सोच थियो, एसएलसी प्रथम श्रेणीमा पास गरेर कलेज पढन थालेपछि फरक काम गरेर कीर्तिमान कायम राख्ने योजना मनमा आयो,’ उनले भने ।
योजनाअनुसार पहिलो कामको सफलताले हौस्याएको उल्लेखगर्दै उनी भन्छन्, ‘सुरुवातमा नयाँ काम गर्ने सोचले थालिए पनि पूरा हुने वा नहुनेमा कन्फ्युजन थियो तर एउटा काममा सफलता हुनासाथ त्यसपछिका हरेक काममा इनर्जी पैदा हुँदो रहेछ ।’
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved