अङ्ग्रेजी जान्न डिलिजेन्ट हुनुपर्छ - College Times : Educational Magazine
Headlines News :
Home » » अङ्ग्रेजी जान्न डिलिजेन्ट हुनुपर्छ

अङ्ग्रेजी जान्न डिलिजेन्ट हुनुपर्छ

Written By Collegetimes on Saturday, June 29, 2013 | 1:57 AM

अङ्ग्रेजी भाषा पठनपाठन र प्रयोगका क्रममा देखिएका समस्यालाई समाधान गर्न छलफल चलाउनका लागि इटहरीमा एउटा सर्कल बनेको छ, सर्कल अफ् इङ्गलिस टिचर इटहरी । स्थापना भएको चार वर्षमै एक सय २० भन्दा बढी कार्यपत्र प्रस्तुत गरिएको यस सर्कलमा कलेजमा अङ्ग्रेजी विषय पढाउने ४० जना शिक्षक सदस्य छन् र सर्कलको नेतृत्व गर्छन्, त्रिभुवन विश्वविद्यालयको प्रोफेसरमा भर्खरै नियुक्त भएका प्राध्यापक डाक्टर केदार पौडेल । नेपालमा अङ्ग्रेजी विषयमा औंलामा गन्न सकिने प्रोफेसरमध्ये उनी पनि एक हुन् । उनीसहित काठमाडौंबाहिर जम्मा तीन जना अङ्ग्रेजी विषयका प्रोफेसर छन् भने उपत्यकासहित नेपालमा २० जना मात्र छन् ।  १३ वर्षमा एसएलसी दिएका पौडेलले १४ वर्षको कलिलो उमेरमै धनकुटाको एउटा प्राथमिक विद्यालयमा प्रधानाध्यापकको रूपमा जिम्मेवारी सम्हालेका थिए । विद्यालय, क्याम्पस हुँदै त्रिभुवन विश्वविद्यालयमा शिक्षण थालेका उनी अहिले महेन्द्र बहुमुखी क्याम्पस धरान र कस्तुरी कलेज इटहरीमा पढाउँछन् । उनीसँग अङ्ग्रेजी भाषाको विषयमा हिमाल दहालले गरेको कुराकानीको सार :

सर्कल अफ् इङ्लिस टिचर के हो ?
अङ्ग्रेजी भाषामा शिक्षकको गुणस्तर उकास्न तथा प्राध्यापकको क्षमता विकासमा मद्धत गर्दै विद्यार्थीलाई स्तरीय शिक्षा दिन सहयोग गर्ने सर्कल नै सर्कल अफ् इङ्गलिस टिचर हो । यसले अङ्ग्रेजी पठनपाठन र कोर्समा देखिएका समस्याहरू समाधान गर्न बेलाबेलामा छलफल चलाउने काम गर्छ । त्यसका साथै अङ्ग्रेजी भाषाको कुनै पनि विषयवस्तुमा कार्यपत्र प्रस्तुत गर्ने र त्यसमाथि टिप्पणी गर्ने काम हुन्छ । यस्ता कार्यपत्र र अङ्ग्रेजीसँग सम्बन्धित सामग्री समेटेर ‘सिइटी’ नामक पत्रिकासमेत प्रकाशन गर्छौं, जसको छैठौं संस्करण प्रकाशनको तयारीमा छ ।

इटहरी रिसर्च सेन्टरको पनि अध्यक्ष हुनुहुन्छ, के गर्छ यो संस्थाले ?
यसले विभिन्न विषयमा अध्ययन(अनुसन्धान गर्ने, कार्यपत्र पेश गर्ने काम गर्छ । त्यसका साथै लघु अनुसन्धानलाई प्रोत्साहित गर्छ । कुन विषयमा अनुसन्धान गर्ने हो, त्यसको प्रस्ताव पेश गरेपछि जाँच्ने र अनुसन्धान सकिएपछि निरीक्षण गरी प्रमाणपत्र दिइन्छ । यो संस्थाले ‘आइटिरेक नेपाल’ नामक द्वैभाषिक जर्नलसमेत निकाल्छ, जसको सम्पूर्ण लगानी म आफैंले गर्दै आएको छु । यो संस्थाले राम्जी तिमल्सिनाले प्रस्तुत गर्नुभएको इटहरीको साहित्यसम्बन्धी लघु(अनुसन्धानलाई प्रमाणपत्र दिएको छ । अन्य केही अनुसन्धानहरू भइरहेका छन् ।

अङ्ग्रेजी कस्तो भाषा हो ? विद्यार्थी त यसलाई हाउगुजी मान्छन् नि ।
दक्षिण–पूर्वी एसियामा अन्तर्राष्ट्रिय भाषा सिक्दा अङ्ग्रेजी भाषाको विकल्प नै छैन । अङ्ग्रेजी भाषा नजानेको मानिस जुनसुकै पेसा र काममा पनि पछि पर्छ । नेपाली भाषामा दक्षता पाउन खोज्नेले पनि अनिवार्य अङ्ग्रेजी जान्नै पर्छ । किनकि साहित्य र भाषाका सिद्धान्तहरू अङ्ग्रेजीमा छन् । तर, अङ्ग्रेजीलाई परीक्षा केन्द्रित गरिएकाले यो विद्यार्थीका लागि हाउगुजी बनेको हो । सिक्नैपर्छ भनेर सोच्ने हो र प्रयोग गरेर सिक्ने हो भने गाह्रो छैन ।

उसोभए अङ्ग्रेजीमा कसरी जान्ने बन्ने त ?
त्यसका लागि अङ्ग्रेजी वातावरण चाहिन्छ । म शेर्पा गाउँमा हुर्किएँ । त्यहाँ बस्दा शेर्पा भाषा सिक्न कर लाग्यो । त्यहाँ प्राइमरी शिक्षकले अङ्ग्रेजी भाषा नेपालीमा पढाए भने अभिभावक र विद्यार्थीले बहिष्कार गरिदिन्थे । किनकि उनीहरूलाई पर्यटक घुमाउनका लागि अङ्ग्रेजी भाषा अनिवार्य सिक्नैपर्ने बाध्यता थियो । त्यसैले अङ्ग्रेजी भाषा बोल्ने र सुन्ने वातावरण पायो भने विद्यार्थीले राम्रोसँग अङ्ग्रेजी सिक्छ । त्यसका लागि प्रतियोगिता गराउने र शिक्षकले विद्यार्थीसँग अङ्ग्रेजीमा वार्ता गर्ने हो भने अझ प्रभावकारी हुन्छ ।

धेरै विषय हु“दाहु“दै किन अङ्ग्रेजी रोज्ने ?
अङ्ग्रेजी विषय जानेको शिक्षकलाई विद्यालय तथा क्याम्पसमा राम्रो तलब मिल्छ । मैले त्यही कारणले पनि सुरुवातमा अङ्ग्रेजी विषय छानेँ । मैले माध्यमिक तहमा पढाउँदा अरू शिक्षकले भन्दा तीन गुणा बढी तलब पाउँथेँ । अङ्ग्रेजी भाषा जानेको मानिसले अन्य विषयमा पनि राम्रो अध्ययन गर्न सक्छ ।

अङ्ग्रेजीमा जान्ने बन्नका लागि त ट्यालेन्ट हुनुपर्छ होला ?
अङ्ग्रेजीमा जान्ने बन्नका लागि इन्टेलिजेन्ट वा ट्यालेन्ट हुनुपर्छ भन्ने छैन । तर, डिलिजेन्ट चाहिँ हुनुपर्छ । इन्टेलिजेन्ट भनेको मानिसको जन्मसिद्ध गुण हो, जसमा धेरै मेहेनत गरेर पनि प्रगति गर्न सकिन्न । तर, डिलिजेन्ट अर्थात् मेहेनती भयो भने कुनै पनि विषयमा राम्रो प्रगति गर्न सक्छ ।

अङ्ग्रेजी भाषामा विकृति पनि त होला ?
अङ्ग्रेजी भाषाको सबैभन्दा ठूलो समस्या भनेको शिक्षण विधि हो । अङ्ग्रेजी भाषालाई अङ्ग्रेजीमै पढाउनुपर्छ भनेर शिक्षा नियमावलीमा समेत उल्लेख छ । तर, अङ्ग्रेजी माध्यमबाट पढाउने भनिएका कतिपय शिक्षण संस्थाहरूले पनि अङ्ग्रेजी भाषालाई नेपालीबाट पढाइरहेका छन् । अङ्ग्रेजीलाई नेपालीमा पढाउने परिपाटीका कारण विद्यार्थीले अङ्ग्रेजी राम्रो सिक्न सकेका छैनन् । कम्तीमा अङ्ग्रेजीको पिरियड अङ्ग्रेजीमै पढाउने हो भने विद्यार्थीले अङ्ग्रेजीमा राम्रो प्रगति गर्न सक्छ । फेरि शिक्षकले पनि नजानेर पढाउँदा समस्या उत्पन्न हुने गर्छ । यस्तै, किताब तथा डिक्सनरीमा फरक–फरक अर्थ र शब्द प्रयोग गरिएका हुन्छन् । भाषा एउटै हो, तर ठाउँ र समुदायअनुसार बोल्ने भाषिका फरक हुन्छ । यसर्थ भाषिकामा स्पष्ट भएर किताब तयार पार्दा समस्या हुँदैन ।

अङ्ग्रेजी भाषाको क्षेत्रमा आगामी योजना के छ ?
युवाहरूलाई अध्ययन र अनुसन्धानमा सक्रिय बनाउने योजना छ । धरानको महेन्द्र क्याम्पसमा युवा जमातलाई पनि लघु–अनुसन्धानमा प्रेरित गरिरहेको छु । बेला–बेलामा सेमिनारमार्फत् आफूले जानेका कुरा बाँड्छु । इटहरीमा एउटा स्तरीय पुस्तकालय बनाउने योजना छ ।

अङ्ग्रेजी भाषामा रुचि राख्नेहरूलाई केही सुझाव छ कि ?
शिक्षक र विद्यार्थीहरूले दुवैले अध्ययन संस्कृतिको विकास गर्नुपर्छ । नेपालमा अध्ययन संस्कृति बढ्दैछ, जुन खुसीको कुरा हो । अर्को कुरा इन्टरनेटमा सबैले पहुँच राख्नुपर्छ । धरानको महेन्द्र क्याम्पसमा मास्टर्स गर्ने विद्यार्थीहरूको होमवर्क इमेलबाट प्राप्त गर्ने र हेरेर फेरि इमेलबाटै पठाइदिने मात्र होइन आफूसँग भएका नोटहरू पनि इमेलबाटै दिने गरेको छु । त्यसैले इन्टरनेटमा पहुँच राखेमा अङ्ग्रेजीमा पनि राम्रो गर्न सकिन्छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved