Home »
नयाँ पुस्ता
» हाँस्य कलाकारिताको यात्रामा विराज
हाँस्य कलाकारिताको यात्रामा विराज
Written By Neplee on Friday, June 15, 2012 | 5:53 PM
बाहिरबाट हेरेर मानिसभित्रको प्रतिभा बुझ्न गाह्रो छ । हेर्दा सामान्य देखिने मान्छेभित्र पनि धेरै प्रतिभा हुन्छन् । बाहिरबाट हेर्दा भावुक देखिने धेरै व्यक्तिहरू रमाइला हुन्छन् । यस्तै नपत्याउँदा प्रतिभा भएका बालक हुन् इटहरीका विराज गौतम ।
हेर्दा लाग्छ, उनी धेरै लजालु छन् । त्यसो त उनी बोल्न पनि कम बोल्छन् । तर, जब मञ्चमा उक्लन्छन् तब उनको अनुहारमा मात्र हैन सबै दर्शकको अनुहारमा चमक भर्नसक्ने कला छ उनमा । उनका हरेक गतिविधिबाट दर्शक कुनै न कुनैरूपमा मनोरञ्जन लिइरहेका हुन्छन् । जस्तोसुकै मानिसलाई पनि हँसाउन सक्ने उनको कलालाई आजकाल सबैले कदर गर्न थालेका छन् ।
चाटर्ड एकाउन्टेन बन्ने लक्ष्य लिएका १३ वर्षीय विराजले रङ्गमञ्चमा कला प्रस्तुत गर्ने आफ्नै शैली स्थापित गरिसकेका छन् । विराजको अभिनय हेरेर नरमाउने सायदै भेटिएलान् । गम्भीर भूमिकामा पनि उनको अभिनयले दर्शकलाई प्रभावित पारेकै हुन्छ । उनको प्रस्तुतिमा दर्शकलाई मनोरञ्जन दिनसक्ने विशेष खुबी छ ।
एसओएस बालग्राम इटहरीमा कक्षा ८ मा पढ्ने विराजले अहिलेसम्म आधा दर्जनभन्दा बढी नाटकमा अभिनय गरेका छन् । दुई वर्षदेखि नाटक खेल्न सुरु गरेका विराजको पढाइ नाटकसँगै राम्रो हुँदै गइरहेको छ । उनी भन्छन्, ‘पहिले–पहिले पढ्न त्यति मन लाग्दैन थियो, अहिले पढाइमा ध्यान दिन थालेको छु ।’ नपढी यो दुनियाँमा अगाडि बढ्न नसक्ने कुरा बुझिसकेकाले पढाइलाई पहिलो प्राथमिकतामा राखेको उनी बताउँछन् ।
‘मैले नाटक खेल्न थालेदेखि पढाइको महत्व पनि बुझेँ जिम्मेवारी थपिएजस्तो पनि लाग्छ,’ परिपक्व मान्छेझैँ उनले भने । प्रायः नाटकमा हाँस्यपात्रका रूपमा देखापर्छन् उनी । उनको कला पनि त्यसैमा छ । उनलाई मनपर्ने भूमिका पनि हाँस्य कलाका।को नै हो । त्यसैले हरेक भूमिकामा उनले दर्शकलाई मनोरञ्जन दिन सकेका छन् । स्कुल थिएटरको दोस्रो संस्करणमा सबैभन्दा धेरै ताली र वाह–वाही पाउने उनी नै भए । पहिले–पहिले मञ्चमा चढ्दा लाज लागेको सम्झँदै उनी भन्छन्, ‘अहिले त्यस्तो हुँदैन जीवनमा समेत ठूलो परिवर्तन आएको छ । सकारात्मक सोचको विकास हुन थालेको छ ।’ समस्यासँग जुध्न र सङ्घर्ष गर्दै अगाडि बढ्न नाटक र त्यसमा भएका कथावस्तुले प्रेरणा दिने गरेको उनको अनुभव छ ।
नेपाली रङ्गमञ्चको अहिलेको सुस्त अवस्थामा कलालयले आयोजना गरेको स्कुल थिएटरले नयाँ कलाकार जन्माउन विराजजस्ता थुप्रै बालबालिकालाई अभिनयकलाको महत्व बुझाउँदैछ । विराज पनि भन्छन्, ‘कलालाय नभएको भए मैले यो क्षेत्र रोज्न पाउने थिइनँ र मेरो पढाइ पनि औसतभन्दा तल नै हुन्थ्यो ।’ आफूले अभिनयबाट धेरैलाई आकर्षण गर्न सक्नुमा कलालयका अध्यक्ष तथा प्रशिक्षक सोनु जयन्तीको महत्वपूर्ण हात रहेको उनी पटक–पटक दोहो¥याउँछन् ।
नाटकबाहेक खेलकुद र सङ्गीतमा समेत उत्तिकै लगाव राख्ने उनी सङ्गीतको प्रशिक्षण पनि लिइरहेका छन् । परिवारको सहयोग राम्रो भएकाले आफूले इच्छाअनुसार गर्न पाएको उनको भनाइ छ । परिवारको हौसलाकै कारण आफूलाई सकारात्मक परिवर्तन गर्न मद्दत पुगेको बताउने विराज आजभोलि पढाइमा व्यस्त छन् ।
Labels:
नयाँ पुस्ता
0 comments:
Speak up your mind
Tell us what you're thinking... !