घरेलु कामदारबाट सञ्चारकर्मी - College Times : Educational Magazine
Headlines News :
Home » » घरेलु कामदारबाट सञ्चारकर्मी

घरेलु कामदारबाट सञ्चारकर्मी

Written By Neplee on Wednesday, April 24, 2013 | 7:19 PM


रेडियोभित्र मान्छे कसरी अटेको होला ? रेडियो त सानो छ तर यहाँ बोल्ने मान्छेहरू त ठूल्ठूलाजस्तो लाग्छ । सधैँ यस्तै कुरामा जिज्ञासा राख्ने विराटनगरका–१३ वर्षीय निरज मल्ललाई पछि रेडियोमा बोल्ने रहर जाग्यो ।
स्थानीय सत्यनारायण उच्चमाविमा कक्षा ८ मा अध्ययनरत् मल्ल विराटनगरमा बाल श्रमिकको रूपमा काम गर्छन् । पारिवारिक, आर्थिक असहजताका बाबजुद आफ्नो क्षमता प्रदर्शन गर्दै बालबालिकाका लागि केही काम गर्ने चाहनालाई मूर्तरूप दिन सात वर्षको हुँदा उनी बाल क्लबका सदस्य बने । स्थानीय दीपक श्रमिक बाल क्लबमा आबद्ध भएर सामाजिक र सामूहिक कार्यमा सक्रिय उनी दुई वर्षको सक्रियतापछि सोही क्लबको अध्यक्ष बने ।
अन्य बालबालिका जस्तो सजिलो घरेलु बाल श्रमिकलाई हुँदैन पनि । तर, उनले बाल क्लबमार्फत् आफ्ना प्रतिभाहरू देखाउँदै गए । आफूमा नेतृत्वमा विकास पनि गर्दै गए । आफ्नो बाल क्लबमा आबद्ध भएकै वर्ष उनी विराटनगर स्तरीय श्रमिक बाल क्लब नगर समन्वय समिति विराटनगरको सहसचिव पनि बने ।
सोही क्रममा मल्लले विराटनगरमा फरेन नामक गैरसरकारी संस्थाले आयोजना गरेको पाँच दिने आधारभूत रेडियो उद्घोषण तालिम लिए । तालिमपछि उनले आफ्नो सपना साकार गर्ने बाटो देखे । तालिमलगतै उनले विराटनगरको बीएफएममा उपमहानगरकै श्रमिक बालबालिकामा आधारित रेडियो कार्यक्रम सञ्चालन गर्ने अवसर पाए । अवसर पाएको केही समयमै रेडियो कार्यक्रम बन्द भयो तर उनले आफ्नो प्रतिभालाई रेडियो कार्यक्रममा मात्रै सीमित नराखी विराटनगरमा हुने बालबालिकासम्बन्धी कार्यक्रममा उद्घोषणसमेत गर्न थाले ।
अहिले उनी प्रयास नेपाल नामक गैससले इटहरीको सप्तकोशी एफएममार्फत् बालबालिकाको हित र प्रवर्धनका लागि सञ्चालन गर्दै आएको ‘बाल आवाज’ कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
बालक्लबमा आबद्ध हुँदै रेडियो कार्यक्रम चलाएका उनले बेला–बेलामा भ्रमणको मौकासमेत पाउने गरेका छन् । थ्यही क्रममा उनले पोखराका श्रमिक बालबालिकाको अवस्थाका बारेमा बुझेका थिए । यस्तै सन् २०१२ मा युनिसेफले काठमाडौंमा सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको विमोचन पनि उनैले गरेका थिए । २०६६ सालमा सम्पन्न श्रमिक बालबालिकाको राष्ट्रिय सम्मेलनमा सहभागी भई उनी श्रमिक बालबालिकाको जन्मदर्ता, उनीहरूलाई मनोरञ्जन र पत्रकारितामा पहुँच वृद्धि गर्नुपर्ने विषय उठान गरी लिपिबद्ध गर्न सफलसमेत भएका थिए ।
भविष्यमा पनि बालबालिकाकै हितमा काम गर्ने र श्रमिक बालबालिकाको क्षमता वृद्धिमा अग्रसर हुने उनको योजना छ । हाल पत्रकारितामा दखल बढाउँदै गएका निरज भन्छन्, ‘म पनि श्रमिक हुँ त्यही भएर श्रमिककै हितमा काम गरी जीवन व्यतित गर्नेछु ।’
नेत्र पी अधिकारी
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved