आइछल
Written By Neplee on Wednesday, April 24, 2013 | 7:12 PM
ऐनाअघि बसेर उसले धेरैबेर आफूलाई हेरी । कहिले जुरुक्क उठी, कहिले थ्याच्च बसी । कहिले नाक खुम्च्याई, कहिले जिब्रो निकाली अनि कहिले ओठ गोलो बनाई । अनेक भाव–भङ्गीमामा उसले आफूलाई ऐनामा नियाली । केहीबेरमै ओठमा लिपिस्टिक घसी । गुलाबी ओठ रातो रङले छोपिएर विरूप देखियो । कन्चटमा पुग्ने गरी गाजल घसी । लगाइरहेको कुर्ता–सुरुवाल खोलेर स्लिभलेस भेस्ट, पेन्ट लगाई । बारुले कम्मर चारतिरबाट भाँच्दै हातमा माइक्रोफोन समातेजस्तो गरी अनि ऐनातिर फर्केर भनी ः ‘मिस टिन २०१३ गोज टु... मिस शुभेच्छा शर्मा !’
०००
मिस टिनको अडिसनबारे पत्रिकामा सूचना देखेदेखि नै ऊ यसरी नै फुर्किएकी छे । ‘मिस टिनको अडिसन खुलेछ नि !’ साथीहरूलाई यसैगरी सुनाएकी थिई उसले । त्यसपछि साथीहरूले उसलाई उचालेका थिए, ‘हाम्रो कलेजबाट शुभेच्छा जान्छे !’ शुभेच्छाको ब्वाइफ्रेन्डले पनि भन्यो, ‘तिमी पनि पार्टिसिपेट होऊ । ब्युटी एन्ड ब्रेन दुवै छ, जित्छौ ।’
त्यसपछि त उसलाई के चाहियो, ऐनालाई घनिष्ठ साथी बनाई । ‘वाऊ, क्या मज्जा ! ताज पनि पाइने, पुरस्कार पनि पाइने, दाम र नाम दुवै हुने ।’
त्यसपछिका दुई हप्ता उसले किताब हेरिन । क्याम्पस पनि कहिलेकाहीँ मात्र गई । ‘भाग्य चम्किँदैछ, किन पढ्नु ? मिस टिन भएपछि त पैसा भन्यो पैसा, नाम भन्यो नाम, अवसरमा अवसर ।’
०००
परिवार र विशेषगरी उसकी नजिककी साथी आमाको स्वीकृति नहुँदा–नहुँदै पनि अडिसन दिन गई । अडिसनमा पास पनि भई । टप टेनसम्म पुगी । फाइनल प्रतियोगिताका लागि अन्तिम भिडन्त हुँदैथियो । एकदिन उसको मोबाइलको रिङ बज्यो, आयोजकले गरेको फोन थियो । उसले फोन उठाई । त्यसपछि जे संवाद भयो, त्यो उसले सोच्दै सोचेकी थिइन ।
०००
उसले घरबाट आमाले दराजमा राखेको १५ हजार रूपैयाँ चोरी । उसलाई अरू केही मतलब थिएन । सपनाको ऐनामा उसले आफूलाई ताज पहिरिएको मात्र देख्थी ।
फाइनलको दिन बिहानै आमाले उसको गलामा सुनको सिक्री नदेखेपछि आत्तिँदै सोधिन् । ‘दराजमा राखेकी छु,’ उसको सहज प्रतिक्रिया थियो ।
०००
फाइनल प्रतियोगिताको निर्णायक राउन्ड चल्दै गर्दा शुभेच्छा दङ्गदास थिई । आफूले राम्रो गरेँ भन्ने उसलाई लागिरहेको थियो । हुन त सबैले राम्रो गरे । तर, पनि म... उसलाई आफूले जित्नेमा विश्वास थियो ।
तर, जब निर्णायकले अर्कैको नाम लिए, शुभेच्छाको अनुहारमा एक्कासी ग्रहण देखियो । उसले अघिसम्म झिलिमिली देखेको मञ्च र दर्शकहरू सबै काला भए । अध्याँरो देखियो । जित्नेले खुसीको आँसु खसालिरहँदा ऊ भने भित्रभित्रै भक्कानिइरहेकी थिई । हाँसिरहेका आयोजक अनि निर्णायकको घाँटी निचोरुँजस्तै भयो उसलाई । उसले हेर्दाहेर्दै, उसको आँखैसामु छल गरेर अर्कैलाई ताज पहिराउने तयारी सुरु भयो । आइडलको उपाधि उसका लागि ‘आइछल’ भइदिएको थियो ।
०००
आइडल नछानिएको रात उसले आयोजकको अध्यक्षलाई फोन गरी, ‘कत्रो विश्वासले मैले मेरो सिक्री बेचेर, आमाको पैसा चोरेर तँलाई बुझाएँ । तर, तँ भने खाते, कुकुर ! अर्कैलाई आइडल बनाइस् ... ।
उसले गाली गरिरहँदा उताबाट भने एकोहोरो हाँसेको मात्र सुनिन्थ्यो । जब शुभेच्छा गाली गर्न छाडेर रुन थाली, उताबाट यस्तो सुनियो, ‘रिल्याक्स मैया, तिमीले दिएकोभन्दा धेरै पैसा अर्कोबाट पाएँ । इट्स् योर जुवा एन्ड मेरो बिजनेस । तिमीले जुवा हा¥यौ । ...नेभर माइन्ड, ट्राई अगेन... !’
yugpath
0 comments:
Speak up your mind
Tell us what you're thinking... !