जोखिमरहित होस् विद्यालय प्रस्थान (सम्पादकीय)
Written By Neplee on Saturday, March 16, 2013 | 6:48 PM
प्राप्त नतिजाका आधारमा व्यक्तिको योग्यताको लेखाजोखा गर्ने पुरानै शैली यो वर्षको एसएलसी परीक्षामा पनि दोहोरिएको छ । सनातन परिपाटीको धमिलिएको छवि सुधार्न अनेक प्रयास भए पनि अपेक्षित काम हुन सकेको देखिन्न । प्रत्येक वर्षझैँ यस वर्ष पनि एसएलसी परीक्षा अमर्यादित, उच्छृङ्खल र अभद्र हुने कारकहरू यथावत छन् । यो परीक्षाले २०४६ सालअघि प्राप्त गरेको गौरव र मर्यादा खस्किने क्रम यस वर्ष पनि जारी रहने देखिन्छ, जसले शैक्षिक मूल्याङ्कनको आधार बन्ने क्षमतासमेत गुमाउँदै गएको छ ।
आज पारिवारिक र विद्यालयगत इज्जत (प्रतिष्ठा र सानसँग जोडिएकाले यो परीक्षासँग अनेक जोखिमहरू पनि गाँसिएर आएका छन् । किनकि नतिजा व्यापारिक किनमेलका रूपमा विकसित भएको छ, जसले कलिला विद्यार्थीहरूको ज्यान लिनेसम्मको कसुर गरेको छ । परीक्षाको भूतले तर्साइएका कतिपय किशोरीको अस्मितामाथि खेलबाड हुने गरेको छ । अहिलेको परीक्षाप्रणाली र यथास्थितिले विद्यार्थीलाई आत्मदाहका निम्ति प्रेरित गरिरहेको भन्ने आलोचनालाई नकार्न सक्ने अवस्था छैन । एसएलसीसँग जोडिएका असफलताहरू सामाजिक चिन्ताको विषय भएको छ । चोर्नु–चोराउनु त नियति बनेको छ । विद्यालयको भौतिक अवस्था सुधार्न लगानी नगर्ने कतिपय सञ्चालकहरू उत्कृष्ट नतिजाका लागि भने पैसाको खोलो बगाउन चाहन्छन् ।
कतिपयको विचारमा एसएलसीको परीक्षाफल विद्यालय र अभिभावकको प्रतिष्ठासँग गाँसिएकाले यस्ता प्रक्रिया र जोखिम स्वाभाविक हुन् । तर, एसएलसीका नाममा हुने आत्महत्या र यौन दुव्र्यवहारका घटनालाई सामान्यीकरण गर्नु अर्को सामाजिक अपराध हो । गत वर्षको परीक्षाफललगत्तै धेरै विद्यार्थीले आत्महत्या गरेको त खबरसँगै सरकारले अब एसएलसीमा कोही फेल नहुने गरी ‘ग्रेडिङ सिस्टम’ अपनाउने घोषणा गरेको थियो । तर, मुलुकको राजनीतिक अस्तव्यस्तताले सुधारका विकल्पहरू यो वर्ष व्यवहारमा कार्यान्वयन नहुने भएका छन् । विद्यालय सुधार योजनाअन्तर्गत यस वर्षको एसएलसीलाई नै राष्टिूय रूपमा केन्द्रीय प्रश्नपत्रबाट एकैपटक लिइने अन्तिम परीक्षा बनाइने बताइएको थियो । तर, यससम्बन्धी आवश्यक विधेयकहरू राष्ट्रपति कार्यालयमा थन्केर बसेकाले यो वर्ष यी दुवै कुरा लागू नहुने भएका हुन् । बीचमा कुनै राजनीतिक ‘चमत्कार’ हुने र परीक्षाफलमा ग्रेडिङ सिस्टम लागू हुने सम्भावना देखिन्न ।
शिक्षाजस्तो संवेदनशील विषयमा हचुवाका भरमा प्रतिक्रिया, योजना र कार्यक्रमहरू सार्वजनिक गर्ने परिपाटीले सरोकारवालाहरू यस विषयमा अपेक्षित संवेदनशील हुन नसकेको बोध गराउँछ । यस्तो प्रवृतिले बढाएको जोखिम तत्काल उन्मूलन हुनु आवश्यक छ । सरकार र सरोकारवालाहरूको इच्छाशक्ति हुने हो भने एसएलसी परीक्षा मर्यादित र जोखिमरिहत हुन समय लाग्दैन । कक्षा १२ लाई विद्यालय शिक्षाअन्तर्गत गाभ्न यो वर्षको कक्षा १० मा लिइने एसएलसी परीक्षा दोस्रो अन्तिम पार्ने सरकारी तयारी छ । कक्षा १० वा १२ जहिले लिने भए पनि एसएलसी परीक्षालाई समयानुकूल सुधार गर्दै मर्यादित र जोखिमरहित बनाउनुपर्छ । अन्यथा यथास्थितिले थप औपचारिक शिक्षा आर्जनका लागि स्कुलबाट बाहिरिनुअघि लिइने एसएलसी परीक्षाको नाममा चलेको बिरालो बाँध्ने परम्परा कायम रहने देखिन्छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !