जोखिममा कलिलो ज्यान - College Times : Educational Magazine
Headlines News :
Home » » जोखिममा कलिलो ज्यान

जोखिममा कलिलो ज्यान

Written By Neplee on Saturday, March 16, 2013 | 6:44 PM

‘यदि तपाई सफल हुन चाहनुहुन्छ भने, असफलताको दर दोब्बर बनाउनुहोस् !’
टम वेस्टनले भनेजस्तो प्रत्येक असफलताले व्यक्तिलाई सफलताका लागि प्रेरित गर्नुपर्ने हो । तर, यहाँ भइरहेछ उल्टो । कहीँ कतै कुनै मोडमा आफूले सोचेजस्तो भएन वा आफूबाट अरूले आशा गरेजस्तो सफलता हात लाग्न सकेन भने खासगरी किशोर–किशोरीहरू निकै आवेगमा आउँछन् र आवेग व्यवस्थापन गर्न नसकी आत्महत्यासम्मको गलत बाटो रोज्न पुग्छन् । नेपाली उखान–टुक्का भन्छ, एक ठक्करले बाह्र बुद्धि बढाउँछ । तर, निकै व्यक्तिको व्यावहारिक जीवनमा यस्ता उद्दरणहरू रूपान्तर हुनसकेको देखिँदैन, किन ?
असफलतालाई राम्ररी सफल हुन पाउने एउटा अवसरका रूपमा लिने सकारात्मक सोचको विकास हुन नसक्दा किशोर–किशोरीमा जोखिमको मात्रा उच्च रहेको सामाजिक कार्यकर्ता सुबोध घिमिरे बताउँछन् । सिर्जनात्मक सचेतनाका लागि किशोर–किशोरी विकास समूहका संस्थापक घिमिरे भन्छन्, ‘किशोर–किशोरीमा आफ्नै जीवनप्रति रहेको अज्ञानता सामाजिक समस्याका रूपमा देखिएको छ, सरोकारवालाहरूका लागि यो एउटा चुनौतीको विषय हो ।’
‘तर, त्यसका लागि उनीहरू जिम्मेबार हुँदैनन्, परिवार, समाज र शिक्षकहरूबाट एक किसिमको मनोवैज्ञानिक त्रास सिर्जना गरिएको हुन्छ । अरूले गरोस् भनी आशा गरिएका दबाबहरूले उनीहरू थिचिएका हुन्छन्,’ घिमिरेले भने, ‘यो विडम्बनापूर्ण सोच र व्यवहार समयमा सुधार गर्न नसके समाजले अझै क्षति ब्यहोर्नुपर्ने हुनसक्छ ।’
गत वर्ष एसएलसीको परीक्षाफल प्रकासित भएलगत्तै देशभरिबाट एक दर्जनभन्दा बढी छात्रछात्राले आत्महत्या गरेका समाचारहरू प्रकाशमा आए, जसले एउटा सामाजिक ज्वार तथा बहस सिर्जना ग¥यो । बहसको केन्द्रमा रहेको जिज्ञासा थियो, के एसएलसी वा कुनै परीक्षामा एकपटक असफल हुँदैमा व्यक्तिको जीवन वा भविष्य तत्काल समाप्त हुन्छ ?
०००
अहिले एसएलसी परीक्षाको समय भएकाले यतिबेला गत वर्ष र त्यसअघिका वर्षहरूको अनुभव विश्लेषणको आधारमा उल्लिखितसँगै अरू जिज्ञासाहरू थपिएका छन्, ‘के यो वर्ष पनि परीक्षाफलपछि एक दर्जनभन्दा बढी विद्यार्थीले आत्महत्या गरेको खबर सुन्न–पढ्न  पर्नेछ  ? के त्यस्तो आत्महत्याको क्रम रोक्न वा लगभग शून्य गर्न सकिँदैन ? यदि सकिन्छ भने त्यसका लागि शिक्षक, विद्यार्थी, अभिभावक, सरकार र अरू सरोकारवालाहरूले के गर्नुपर्छ ?’
‘एसएलसीलाई नेपालको सबभन्दा ठूलो शैक्षिक सोपान बनाउन खोजिएको छ,’ शिक्षक मासिकका सल्लाहकार सम्पादक केदार शर्मा भन्छन्, ‘तर, हिजोआज एसएलसी पास हुनु वा नहुनुले मान्छेको जीवनमा कुनै खास अन्तर पर्दैन । वास्तवमा अहिलेको संरचनाअनुसार माध्यमिक विद्यालयको यो एउटा अन्तिम परीक्षा, एउटा सामान्य प्रक्रिया मात्र हो । यसले अनावश्यक महत्व पाएकाले नै यसको जोखिम बढेको  हो ।’
शर्माका अनुसार हामी धेरै जना, धेरै पटक, धेरै ठाउँमा असफल भएका छौँ तर पनि आज हाँसी–खुसी जीवनको आनन्द लिइरहेका छौँ । हामीले यो यथार्थ नयाँपुस्तालाई बुझाउन नसक्नु हाम्रो कमजोरी हो । समस्या यसैमा छ ।
‘एसएलसीको सफलता–असफलताको जस–अपजस  कसैलाई दिनैपर्छ भने त्यसको धेरै अंश एसएलसी परीक्षाको महत्व र सीमा बुझाउन नसक्ने र त्यसअनुसार पढाउन नसक्ने शिक्षकलाई जान्छ अनि बाँकी अभिभावकलाई,’ शर्मा भन्छन्, ‘सन्तानले आत्महत्या गरेको चोटबाट पीडित अभिभावकलाई दोष दिन गाह्रो हुन्छ तर सन्तानको मानसिकता, आत्मबल, मूल्यप्रणाली आदिको जिम्मेवारी अभिभावकले पनि लिनैपर्छ ।’
‘राजधानीमा, ललितपुरको कुपण्डोलमा मैले प्रगति शिक्षा सदन भन्ने एउटा सानो स्कूल देखेको छु । त्यहाँ पढ्ने सबैजसो बालबालिका अर्काका घरमा काम गर्छन् तर एसएलसीको रिजल्ट वर्षौदेखि सतप्रतिशत छ,’ शर्माले भने, ‘सरकारी नीति राम्रो भएर त्यसो भएको होइन, न अभिभावकले ध्यान दिएकै कारण हो । त्यसको सबै जस शिक्षकहरू, खासगरी त्यहाँका प्रधानाध्यापकलाई जान्छ ।’
एसएलसीका कारण हुने आत्महत्याका घटनालाई सामान्यीकरण गर्न भने नमिल्ने शर्माको धारणा छ । भन्छन्, ‘यो अत्यन्त कम हुने घटना हो । यसका लागि व्यक्तिगत, पारिवारिक र अन्य परिबन्दहरू जिम्मेवार हुन्छन् ।’
०००
नेपाल निजी तथा आवासीय विद्यालय सङ्गठन एन प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष जगदीश ओली पास–फेलको कारणबाट बर्सेनि किशोर छात्रछात्राहरू मरिरहनु विडम्वनापूर्ण सामाजिक समस्या भएको बताउँछन् । ओलीको विश्लेषणमा ती विद्यार्थीले मात्र रिजल्टपछि आत्महत्या गरेको पाइन्छ, जो निश्चित रूपमा पास हुन्छु भन्ने विश्वासमा हुन्छन् । टेस्टमा पछिल्लो तहमा रहने छात्रछात्राहरूमा भने यो समस्या कम हुने गर्छ । पछिल्लो तहका छात्रछात्राहरू एसएलसीमा उत्तीर्ण हुने प्रयास त गर्छन् तर अनुत्तीर्ण भए पनि खासै ‘चिन्तित’ हुँदैनन् ।
ओली थप्छन्, ‘त्यो विद्यार्थी जोखिममा हुन्छ, जो कुनै विषयमा ९१ आउँछ होला भन्ने सोचिरहेको थियो तर परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीले भूलवश १९ लेखिदिन्छन् । पछि रिटोटलिङ त हुन्छ तर विद्यार्थी १९ मै मरिसकेको हुन्छ ।’ त्यसरी गलत तथ्याङ्क इन्ट्री गर्ने कर्मचारीलाई कारवाहीको व्यवस्था गर्नु पनि क्षति कम गर्ने एउटा उपाय हुने ओलीको सुझाव छ ।
रिटोटलिङमा जाने ९० प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण हुने गरेका छन् । बाँकी १० प्रतिशतले पनि लगत्तै हुने मौका परीक्षामा राम्रो गरेका छन् । तर, यी सकारात्मक उदाहरण शिक्षक र सरोकार वालाहरूले लक्षित विद्यार्थीलाई बुझाउन नसकिरहेको स्वीकार्दै ओली भन्छन्, ‘एसएलसीपछिको सम्भावित हानीका बारेमा हाम्रा कक्षाहरूमा निकै कम अन्तक्र्रिया हुने गरेका छन् तर हरेक परीक्षाअघि  प्रि–काउन्सिङ कक्षाहरू बढाउनु जरुरी छ ।’ हरेक विद्यालयले एसएलसी पूर्व तयारी कक्षाहरू आयोजना गरी परीक्षाफल बिग्रिनसक्ने सम्भावित कारण र निरुपणका उपायबारे विद्यार्थीलाई ‘कन्भिन्स’ गर्नुपर्ने ओलीले बताए ।
ओलीका अनुसार, परीक्षाअघि वा परीक्षाकै क्रममा कसैलाई चोटपटक लाग्न सक्छ । कोही परीक्षा भवन र कोठाको वातावरण अपेक्षित र परीक्षामैत्री नदेखेर दिक्क भइदिन्छन् । नजान्नेले जान्ने परीक्षार्थीको कापी खोसेर लेख्नाले महत्वपूर्ण समय बर्बाद भएको अनुभूति हुन सक्छ । परीक्षाका बेला चल्ने हल्ला वा कुनै ठूलो आवाजले विद्यार्थी नर्भस हुन सक्छ । परीक्षाकेन्द्र जाँदाजाँदै कसैले तर्साइदिन सक्छ । अचानक झाडापखाला, पेट तथा टाउको दुख्ने बिरामी हुन सक्छ । कसैसँग अचानक वादविवाद र तनाव हुन सक्छ । कसैको कापी केन्द्राध्यक्ष, निरीक्षक वा अनुगमनकर्ताले खोसिदिन सक्छन् । कसैको सिम्बल नम्बर आदि लेख्न गल्ती भएको हुन सक्छ । यी केही परिस्थिति हुन्, जसले राम्रो विद्यार्थीको परीक्षा बिग्रिन सक्छ, जसको व्यवस्थापन गर्न सुरुमै नसिकाइँदा विद्यार्थी गलत निर्णय र मोडमा पुग्न सक्छ ।
जहाँसम्म आशा गरिएको विद्यार्थी उनुत्तीर्ण भएको पहिलो सूचना पाएको बेलाको कुरा छ, त्यो दिन विद्यार्थीले कम्तिमा पनि विद्यालयमा दुई–तीन पटक फोन गरेकै हुन्छ । त्यो बेला उसको फोन उठाउने शिक्षक वा प्रिन्सिपलले समस्या समाधानका लागि सहजीकरण गर्न आफू तत्काल सक्रिय हुने प्रत्याभूति दिनुपर्छ । त्यसतो विद्यार्थीलाई शिक्षकले तत्काल भेट्नुपर्ने र रिटोटलिङ वा पुनः परीक्षणका लागि केन्द्रमा समन्वय गरेर आश्वस्त पार्नुपर्ने ओलीको सुझाव छ । ‘त्यो बेलामा पहिलो ‘ट्रिटमेन्ट’ आमा वा बुबाले गर्नुपर्छ । विद्यार्थी लिएर आमा वा बुबा तत्काल विद्यालय आउनुपर्छ र रिटोटलिङका लागि प्रेरित गर्नुपर्छ, किनभने रिटोटलिङका लागि लाग्ने दुई महिना समयमा उसले दुनियाँ बुझिसकेको हुन्छ, पुरक परीक्षा पनि आइसकेको हुन्छ,’ ओलीले भने ।
तर, जब रिजल्ट आउँछ तब घर–परिवारले पनि गाली गर्ने, शिक्षकले पनि गाली गर्ने, प्रअले पनि गाली गर्ने, पास भएका साथी–भाइले पनि ठाँट दिएर गफ–व्यवहार गर्ने विद्यमान परिपाटीले निरास विद्यार्थी ‘इरिटेड’ हुनु स्वाभाविक छ । यस्तो व्याप्त खराब सामाजिक तौर–तरिकामा सुधार ल्याउनु आवश्यक भएको उल्लेख गर्दै ओली भन्छन्, ‘१० कक्षाको परीक्षामा बसिसकेको जिम्मेबार विद्यार्थीले पनि यसलाई सामान्य रूपमा बुझ्न सक्नुपर्छ ।’
०००
कलिलो उमेरमा क्षणिक आवेश नियन्त्रण गर्न नसक्दाको परिणाम घातक हुने अभिभावक सङ्घ नेपालका केन्द्रीय सदस्य तथा पूर्वाञ्चल अध्यक्ष देवी पन्थी बताउँछन् ।
विगतको अनुभव विश्लेषण गर्दा, एसएलसी परीक्षाफलसँगै यो वर्ष कति छात्रछात्राले आत्महत्या गर्नुपरेको समाचार सुन्नुपर्ला ? भन्ने जिज्ञासामा पन्थी भन्छन्, ‘यस्तो पूर्वानुमान गर्न गाह्रो छ तर यो अत्यन्त संवेदनशील विषय हो । हामी त्यस्तो दर शून्य होस् भन्ने चाहन्छौँ ।’
विद्यार्थीले हतास भएर ज्यान गुमाउने गरेका घटनाबारे कक्षा शिक्षकले अभिमुखीकरण गर्दै विद्यार्थीलाई सचेत बनाउन नसक्दा अनि धेरै अभिभावकमा चेतनास्तर कमजोर रहेको हुँदा नाहकमा विद्यार्थीको ज्यान जानेजस्ता अनपेक्षित घटना हुने गरेको पन्थी बताउँछन् । उनले यसका लागि अभिभावक सङ्घले सचेतना अभियान चलाउने पनि बताए ।
‘जोखिम जोसुकैको परिवारमा पर्नसक्ने भएकाले यस्तो समस्याका बारेमा सार्वजनिक वकालत कार्यक्र गरिनु जरुरी छ,’ पन्थी भन्छन्, ‘विद्यार्थीलाई सहज ढङ्गले परीक्षामा बस्ने र परीक्षापछि हुने जोखिम कम गर्ने वातावरणका लागि सङ्घले अभियान सञ्चालन गर्नेछ ।’
विगतमा परीक्षाफल प्रकाशनपछि आत्महत्या गर्नेहरूको शृङ्खला नै बनेको छ । गत वर्ष जब एक दर्जनभन्दा बढी छात्रछात्राले परीक्षाफल प्रकाशनसँगै आत्महत्या गरेका समाचार सार्वजनिक भए । त्यसबाट चिन्तित हुँदै सरकारले आगामी (यो) वर्षदेखि एसएलसी परीक्षामा कोही पनि अनुत्तीर्ण नहुने कार्यविधि अपनाउने जनाएको थियो । अहिले त्यसबारे के हुँदैछ भन्ने कलेज टाइम्सको जिज्ञासामा सहसचिव महाश्रम शर्माले भने, ‘त्यो बेला हाल प्रचलित मूल्याङ्कन विधि मार्किङ (अङ्कगत) पद्दतिको सट्टा ग्रेडिङ (तहगत) गर्ने कि भन्ने सोच थियो, नीतिगत निर्णय नै भएको चाहिँ होइन ।’
त्यो बेला अब एसएलसीको मार्कसिटमा ‘फेल’ नलेख्ने, सट्टामा विशिष्ट श्रेणीलाई क, प्रथमलाई ख, द्वितीयलाई ग, तृतीयलाई घ र त्योभन्दा तललाई ङ लेखिने बताइएको थियो । तर, ‘यही वर्षको परीक्षामा त्यो लागू गर्न सम्भव छैन, यसका लागि विशेष व्यवस्था र समय चाहिन्छ,’ शर्माले भने, ‘तत्काल मार्किङ पद्दति परिवर्तन गर्दा लोकसेवा आयोगलगायतमा प्रभाव पर्ने रहेछ, त्यस्ता प्रभावको अध्ययन गरी नीतिगत निर्णय हुन समय लाग्छ ।’
सहसचिव शर्माका अनुसार विद्यार्थी आत्महत्याका अनेक कारण हुनसक्छन्, रिजल्टलाई मात्र दोष दिनु ठीक होइन । यस्तो जोखिम घटाउनु अभिभावक, विद्यालय, सरकार र सरोकारहरू सबैको बराबर उत्तरदायित्व हो । ‘परीक्षाफल प्रकाशनका सन्दर्भमा मन्त्रालयका कर्मचारीले काम गर्दा मानवीय त्रुटि हुनसक्छ,’ शर्माको कथन छ, ‘हामीले कयौं गल्तीहरू सच्याएका छौँ । रिजल्ट सुन्नेबित्तिकै आवेशमा आउनुपर्ने कुनै कारण छैन ।’
सहसचिव शर्माले भने, ‘अनपेक्षित नतिजा नआओस् भन्नेमा यो वर्ष हामीले निकै सावधानी अपनाएका छौँ, परीक्षाफल प्रकाशनमा हुने गरेका गल्ती घटाएर विद्यार्थी आत्महत्यालगायतका जोखिम कम गर्न सरकारी संयन्त्रहरू सचेत छन् । गल्ती भए समयमै सच्याइनेछ ।’
०००
विद्यार्थी आत्महत्याको जोखिम घटाउने उपायमध्ये साथी शिक्षा पनि एक हुनसक्ने बताउँछन्, प्याव्सनका केन्द्रीय सदस्य शङ्कर थापा । जो विद्यार्थी सम्भावित जोखिममा हुन्छ, त्यो संवेदनशील घडीमा आफ्नो मन मिल्ने साथीका नजिकमा हुन्छ र सम्भावित जोखिमको पूर्वाभास साथीलाई हुनसक्छ । थापाका अनुसार, त्यो बेलामा मन मिल्ने साथीले ‘अरू जे गरे पनि आत्महत्या चाहिँ नगर ल !’ भनिदियो भने त्यसले संजीवनी बुटीको काम गर्नसक्छ ।
यसबाहेक, परीक्षामा बस्ने हरेक विद्यार्थीलाई आठ–नौ कक्षादेखि नै ‘आज हारेर के हुन्छ, भोलि फेरि जित्न सकिन्छ !’ भन्ने सामान्य खेलसिद्धान्तबारे जानकारी गराउनुपर्ने उनले बताए । फेरि कुनै व्यक्तिको समग्र सिकाइस्तर र योग्यताको मापन तीन घन्टामा गर्न चाहने परीक्षाप्रणाली नै त्रुटिपूर्ण भएकाले यसमा संशोधन नहुञ्जेल यसलाई मूल्याङ्कनको एउटा सामान्य विधि मात्र मान्नुपर्ने थापाको धारणा छ ।
मस्तिष्क परीक्षणमार्फत् किशोर–किशोरीहरूको पूर्वधारणा र अवस्था अध्ययन र मनोविमर्श गर्नसके सम्भावित आत्महत्याको घटना रोक्न सकिने माइन्ड टेक नेपाल, सुनसरीका प्रमुख सहजकर्ता रमेश अधिकारी बताउँछन् । ‘सही समयमा सही काउन्सिलिङ हुनुपर्छ,’ अधिकारीले भने, ‘एमआई परीक्षणपछि लक्षित विद्यार्थीहरूलाई उनीहरूभित्र रहेका अतिरिक्त योग्यताहरू (लेखाइ, खेल, सङ्गीत, नृत्य, अभिनय आदि) उजागर गरिने हुँदा विद्यार्थीहरू आफ्नो जीवनप्रति रमाउन थाल्नेछन् । परीक्षा बिग्रिने वा परीक्षाफल बिग्रिएको चिन्ताले व्याकुल हुने छैनन् ।’
अत्यमा, चर्चित आख्यान लेखक कृष्ण धराबासीका शब्दहरूबाट यो आलेखको बिट मारौँ ः
‘साहित्य हो पढिन्छ, बुझिँदैन भने आयाम हो ।
खेल हो खेलिन्छ, जितिँदैन भने व्यायाम हो ।’
सन्दर्भअनुसार यसमा अलिकति थपेर भन्दा :
परीक्षा हो दिइन्छ, पास भइएन भने सिकाइ हो ।

अन्तिम एसएलसी !
काठमाडौं । केन्द्रीय प्रश्नपत्र प्रयोग गरी ७५ जिल्लाका सबै केन्द्रमा, एउटै समयमा सञ्चालन हुने एसएलसी परीक्षा यो नै अन्तिम हुने भएको छ । सरकारले २०६६ सालमा लागू गरेको विद्यालय क्षेत्र सुधार कार्यक्रमअनुसार विद्यमान शैलीमा हुने एसएलसी परीक्षा यो अन्तिम भएको शिक्षा मन्त्रालयका सहसचिव महाश्रम शर्माले कलेज टाइम्सलाई बताए ।
अहिले भइरहेको चार तहको विद्यालय संरचना परिवर्तन गरी आधारभूत (कक्षा ८ सम्म) र माध्यमिक (कक्षा ९ देखि १२) गरी दुई तह बनाउने योजनाअनुरुप आगामी वर्ष एसएलसी परीक्षा सञ्चालन प्रक्रियामा पनि प्रारम्भिक परिवर्तन हुने शर्माको भनाइ छ । पा“च विकासक्षेत्रका क्षेत्रीय शिक्षा निर्देशनालयको क्षमता अभिवृद्धि गरी क्षेत्रीय रुपमा एसएलसी परीक्षा सञ्चालन गर्ने सरकारी योजना छ । योजना कार्यान्वयन गर्ने अभ्यासको प्रारम्भमा २०७० सालमा नमुना (पाइलट प्रोजेक्ट) का रुपमा प्रत्येक विकास क्षेत्रको एउटा जिल्ला छनोट गरी क्षेत्रीय व्यवस्थापनमा अलग एसएलसी सञ्चालन गरिने शर्माले बताए । 
शर्माका अनुसार विद्यालय तह परिवर्तन गर्न आवश्यक  ऐन संशोधनसम्बन्धी विधेयक राष्ट्रपति कार्यालयमा अड्किएर बसेको छ । तर, २०७० भित्र विद्यालय क्षेत्र सुधार गर्ने योजना पूर्वस्वीकृत कार्यक्रम रहेकाले एसएलसी परीक्षा विधिमा परिवर्तन गर्न भने कुनै कानुनी बाधा–अडकाउ छैन । शिक्षा ऐन संशोधनसम्बन्धी विधेयकमा उच्चमाध्यमिक शिक्षा परिषद्लाई ‘राष्ट्रिय परीक्षा बोर्ड’मा रूपान्तर गरी १२ कक्षामा ‘राष्ट्रिय परीक्षा’ सञ्चालन गर्ने योजना उल्लेख छ । सहसचिव शर्माका अनुसार २०७० मा १० कक्षामा हुने एसएलसी पा“च जिल्लामा पाइलट प्रोजेक्ट र ७० जिल्लामा भने साविकझैं हुनेछ । त्यसउता कक्षा १२ मा एसएलसी (स्कुल लिभिङ सर्टिफिकेट) परीक्षा लिइनेछ ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved