उपयुक्त विषय छनौट - College Times : Educational Magazine
Headlines News :
Home » » उपयुक्त विषय छनौट

उपयुक्त विषय छनौट

Written By Neplee on Saturday, March 16, 2013 | 6:43 PM

रुचि ः
आमाबुबाको इच्छा छोराछोरीलाई डाक्टर बनाउने होला, तर छोराछोरीलाई भने व्यवस्थापन विषय वा होटल म्यानेजमेन्ट वा इन्जिनियर पढ्न मन लागेको होला, यस्तो अवस्थामा आमाबुबाको भनाइ मान्ने कि आफ्नो रुचिअनुसारको विषय पढ्ने भन्ने अन्योल हुन्छ । आमाबुबाको इच्छाअनुसारको विषय पढ्दा आफूले त्यसमा मन दिन नसकेर पढाइ बीचैमा रोकिन सक्छ वा पास पनि नहुन सकिन्छ । फेरि आफ्नो रुचिअनुसारको पढ्दा आमाबुबाको चित्त दुख्न सक्छ ।
यस्तो अवस्थामा आमाबुबालाई आफ्नो रुचि र क्षमताको बारेमा बताउनुपर्छ । आफूलाई मन परेको विषय पढ्न पाएमा राम्रो गर्ने विश्वस्त दिलाउनुपर्छ । मन लगाएर गर्न नसकेमा पढाइ मात्र नभएर कुनै पनि काम सफल हुँदैन । बाध्यात्मक अवस्थामा गरेको काम र पढेको विषयमा सफल हुन सकिँदैन ।
विद्यार्थी आफ्नो रुचिको विषयमा स्पष्ट भए उसले त्यो विषयमा राम्रो गर्नसक्छ । विद्यार्थीले आफ्नो रुचिको विषय कुन हो भन्ने थाहा पाउन नसके, पछिल्लो परिणामको मार्कसिट हेरेर रुचिको विषय थाहा पाउन सकिन्छ, जुन विषयमा राम्रो नम्बर आएको छ, त्यो नै विद्यार्थीको रुचिको विषय हुनसक्छ ।

क्षमता ः
दुई वा दुईभन्दा बढी विषयमा रुचि छ भने अब मनन गर्नुपर्ने अर्को कुरा हो, क्षमता । आफ्नो क्षमतालाई विचार गरेर मात्र विषय छान्नुपर्छ । हिसाब गर्नै समस्या हुने विद्यार्थीले व्यवस्थापन तथा विज्ञान र इन्जिनियरिङ विषयमा जोड नगर्नु नै राम्रो हुन्छ । त्यसको मतलब आर्टस् वा व्यवस्थापन विषय लिएर क्याम्पस गएजस्तो मात्र गर्नुपर्छ भन्ने पनि होइन । पढ्दा पछि काम गर्न सकिने विषय लिनुपर्छ ।
आफ्नो क्षमतालाई चिन्नु निकै गाह्रो काम हो । क्षमताको सही पहिचान गर्न सकेमा निकै छोटो समयमा नै उपलब्धि हासिल गर्न सकिन्छ । क्षमतालाई चिन्नका लागि कुन कुरा आफूले राम्रोसँग गर्न सक्ने हो, त्यो पहिचान गर्नुपर्छ । अनि त्यो कामसँग सम्बन्धित सीपको प्रयोग हुने शिक्षा लिँदा राम्रो हुन्छ । जस्तो कि तपाईमा कुनै विषयलाई सूक्ष्म रूपमा बुझ्ने र त्यसको बारेमा राम्रोसँग बोल्ने क्षमता छ भने राम्रोसँग बोल्ने सीप चाहिने कामहरू जस्तै शिक्षक, वकिल, कार्यक्रम प्रस्तोता, नेतालगायत हुन् । त्यस्तै तपाईमा चित्र बनाउने कला छ भने इन्जिनियरिङ लिएर ग्राफिक डिजाइनिङ सिक्दा राम्रो हुन्छ ।
तपाईको लेखनशैली राम्रो छ भने आर्टस् वा एजुकेसनले पनि तपाईलाई सहयोग गर्छ । खेती किसानीमा अनुभव छ भने उन्नत तरिकाको खेती गर्नुहोस् । होटल व्यवसायका बारेमा थाहा छ भने होटल म्यानेजमेन्ट पढ्नुहोस् ।

सम्भाव्यता ः
रुचि पनि छ, क्षमता पनि छ, तर कुन विषय छान्ने भनेर दोधारमा हुनुहुन्छ भने अब तेस्रो पक्ष सम्भावनामा जानुहोस् । धेरै समय, मेहनत र पैसा खर्च गरेर पढेपछि सबैको उद्देश्य राम्रो रोजगार नै हो । त्यसैले पढेको विषयमा राम्रो रोजगारी पाइने वा सभ्य, सुखी र सम्पन्न जीवनयापन गर्ने सम्भावना कत्तिको छ भनेर पनि विचार गर्नुपर्छ । सम्भावना धेरै भएको विषय छान्नुपर्छ ।
अहिले कुन विषय पढेका युवाको बढी खोजी भइरहेको छ, बुझ्नुपर्छ । आर्टस्, कमर्स, म्यानेजमेन्ट पढेका विद्यार्थी धेरै छन् । त्यसैले ती विषयमा कम मात्र रोजगारी पाइने सम्भावना छ । त्यसकाविपरीत होटल म्यानेजमेन्ट, कृषि विज्ञानमा बढ्दो सम्भावना छ । यसैगरी, वातावरण, संस्कृतिसम्बन्धी अध्ययनबाट पनि रोजगारीको राम्रो सम्भावना छ । जसलाई पढाइमा कम रुचि र अतिरिक्त क्रियाकलापमा बढी रुचि छ भने उसले भोकेसनल कोर्स लिनु राम्रो हुन्छ ।
नियमित अध्ययनका अतिरिक्त इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, मेकानिकल वा अन्य कुनै विषयसँग सम्बन्धित रुचि भएमा आफ्नो नजिकको सहरमा उपलब्ध पोलिटेक्निक इन्स्टिच्युटमा सम्पर्क राखेर भोकेसनल कोर्स गर्न सकिन्छ । यदि चाँडै पैसा कमाउनु पर्ने बाध्यता छ भने पनि भोकेसनल कोर्स गर्नु राम्रो हुन्छ । त्यस्तो स्थितिमा सिटिइभिटीको कोर्स प्रभावकारी हुनसक्छ । होटल म्यानेजमेन्ट, एयरलाइन्स, बिजनेस म्यानेजमेन्ट, बिजनेस एडमिनेस्ट्रेसन, आमसञ्चार तथा पत्रकारिता, फेसन डिजाइनिङ, एस्ट्रोनोमी, एस्ट्रोलोजी, सिए, फिल्ममेकिङ, डेरी टेक्नोलोजी, कृषि आदि अनगिन्ती क्षेत्र छन्, जसमा राम्रो क्यारियर छ ।
आर्टस् र एजुकेसनजस्ता विषयमा सम्भावना नै नभएका भने होइनन् । समाजशास्त्र, अर्थशास्त्र, दर्शनशास्त्र, व्यवस्थापन, पिस एजुकेसन, ललितकलाजस्ता विषयमा उच्चशिक्षा हासिल गरेकाहरूले गैरसरकारी संस्था तथा अन्य विभिन्न संस्थामा काम पाउँछन् । नेपालमा अर्थशास्त्रीले आकर्षक रोजगार पाउँछन् । भाषाशिक्षामा अङ्ग्रेजीमा स्नातकोत्तर गर्नेले बेरोजगार बस्नुपर्दैन । यदि विद्यार्थीले एसएलसीमा ७० प्रतिशतभन्दा बढी स्कोर गरेर पनि उसलाई मानविकी सङ्कायमा जाने मन छ भने उसले आफूलाई द्विविधामा नराखी त्यो विषयमा राम्रो गर्छु भनेर अघि बढ्नुपर्छ । तर, त्यसमा अरूलेभन्दा धेरै पढेर आफ्नो ज्ञानको क्षेत्र भने फराकिलो बनाउनैपर्छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved