College Times : Educational Magazine: SLC
Headlines News :
आवरण >>>>

Latest Post

Showing posts with label SLC. Show all posts
Showing posts with label SLC. Show all posts

एसएलसीको नतिजा

Written By Neplee on Tuesday, June 11, 2013 | 4:19 AM

पनिका सानी ठिमी भक्तपुर ले एस् एल सि को नतिजा सार्वजनिक गरेको छ।
परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०६९ सालको एसएलसी परीक्षाको परीक्षाफल आज प्रकाशित गरेको छ। परीक्षा समितिका सदस्य दीवाकर ढुंगेलले जनाएअनुसार ४१.५७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
एस् एम एस् बाट एस्एलसी को नतिजा हेर्नलाई आफ्नो मोबाइलको मेसेज बक्समा गएर slc अनि एउटा स्पेस दिएर आफ्नो एसएलसीको सिम्बल न. लेखेर ५००१ मा पठाउनु पर्दछ त्यसपछी सो सिम्बोल नम्बरको बिध्यार्थी कुन डिभीजनमा पास वा फेल के भएको हो सो नतिजा आफ्नो मोबाईलको ईनबक्समा देखा पर्दछ ।
शिक्षा बिभागको वेबसाईट www.doe.gov.np , एडुसञ्जाल को वेबसाईट www.edusanjal.com मा नतिजा थाहा पाउन सकिन्छ भने www.soce.gov.np, slc.ntc.net.np , www.educationsansar.com आदीमा नतिजा र प्राप्ताङ्क दुबै थाहा पाउन सकिने बताईएको छ ।
नतिजामा चित्त नबुझे परिक्षा नियन्त्रण कार्यालयमा आफ्नो उत्तर पुस्तिका हेर्न पाइने भएको छ ।

एसएलसीको नतिजा हेर्नको लागि तल क्लिक गर्नुहोस् : 
Regular
Exempted
लिंक खुलिसकेपछि ctrl + F गर्नुहोस् । त्यसपछि देखा पर्ने बक्समा सिम्बोल नम्बर टाइप गरी इन्टर कि थिचेपछि छिटो पत्ता लाग्छ ।
source:  purwanews

कुन विषयको तयारी कसरी

Written By Neplee on Wednesday, February 13, 2013 | 5:45 PM

विज्ञान ः विषयमा अङ्क ल्याउन साह्रै सजिलो छ । प्रश्नको तोकिएको उत्तर हुन्छ । ती उत्तर पनि छोटा हुन्छन् । विज्ञान सिद्धान्त र सूत्रमा आधारित हुन्छ । जीव विज्ञान, भौतिक विज्ञान वा रसायन विज्ञान, यी तीनवटै विषयले वैज्ञानिक सत्यलाई परिभाषित गर्छन् । त्यसैले यी सिद्धान्तलाई विद्यार्थीले तथ्यमा आधारित भएर हेर्नु र बुझ्नुपर्छ । त्यसैले विज्ञानमा ल्याब एक्सपेरिमेन्ट अनिवार्य हुन्छ । विज्ञानमा प्रश्नको उत्तर पहिलेदेखि नै तय हुन्छ । त्यसैले विद्यार्थीले त्यत्ति नै लेख्नुपर्छ जति सोधिएको हुन्छ ।

साथै चित्र बनाउनुपर्ने छ भने रेखा स्पष्ट हुनुपर्छ । चित्र बनाउँदा पेन्सिलले बनाउने गर्नुपर्छ र पेन्सिलको टुप्पो राम्रोसँग ताछिएको हुनुपर्छ । त्यस्तै बारम्बार मेट्दा कागज नै बिग्रिने भएको हुँदा चित्र बनाउने पूर्वअभ्यास राम्रोसँग गर्नुपर्छ ।
प्रत्येक टपिकलाई ध्यान दिएर पढ्नुपर्छ । कम महत्वको मानेर छाड्नुहुँदैन । टपिकको तयारी डायग्रामका साथ गर्नुपर्छ । डायग्रामबाट अतिरिक्त अङ्क पाइन्छ । डायग्राम राम्रो हुनुपर्छ भन्ने जरुरी छैन, तर स्पष्ट भने हुनुपर्छ ।
सबै सिद्धान्तलाई ‘पढेर याद गर्नुपर्छ । याद गर्नको लागि घोक्नेभन्दा पनि शब्दको अर्थ बुझेर याद गर्नुपर्छ । प्रत्येक पाठको टिप्स आफ्नो शब्दमा बनाउनुपर्छ । किताबमा दिइएका प्रश्नबाहेकका प्रश्न आफैले बनाएर त्यसको उत्तर लेखेर तयार राख्नुपर्छ । विद्यार्थीलाई थाहा हुनुपर्छ, फर्मुलालाई न्यूमेरिकल्समा कसरी अप्लाई गर्ने ? फर्मुलालाई पटक–पटक लेखेर अभ्यास गर्नुपर्छ । युनिट्स वा एकाइ, डाइरेक्सन्स वा दिशाको प्रयोग ध्यानपूर्वक गर्नुपर्छ । परिभाषा र फर्मुलालाई आफ्नो भाषामा लेख्ने प्रयास गर्नुहुँदैन । किनभने एउटा शब्द यताउति हुँदा त्यसको अर्थ नै बिग्रन सक्छ । न्युमेरिकल्सको धेरैभन्दा धेरै अभ्यास गर्नुपर्छ । प्रश्नको उत्तर लेख्दा त्यसको वेटेज (अङ्कभार)माथि ध्यान दिनुपर्छ । १० अङ्कको प्रश्नलाई २० देखि  २५ मिनेटको समय दिनुपर्छ । त्यस्तै दुई अङ्कको प्रश्नलाई पाँच मिनेटभन्दा बढी समय दिनुहुँदैन ।
गणित ः यस्तो विषय हो जुन कला, विज्ञान र वाणिज्य तीनवटै सङ्कायमा पढाइ हुन्छ । यो विषयमा पूरै अङ्क आउन सक्छ । परीक्षाभन्दा एक महिनापहिलेदेखि पुरानो प्रश्नपत्रलाई तीन घन्टाको समय दिएर हल गर्नुपर्छ र आफ्नो उत्तर शिक्षकबाट चेक गराउनुपर्छ । गल्तीलाई दोहोरिन नदिने प्रयास गर्नुपर्छ ।
गणित रटेर सम्भव हुँदैन । अभ्यासको आवश्यकता पर्छ । त्यसैले स्याम्पल पेपर, मोडल टेस्ट पेपर आदि जति प्रकारको पेपर बजारमा वा नेटमा उपलब्ध छन्, ती सबैको अभ्यास गर्नुपर्छ । जति बढी अभ्यास गरिन्छ, विद्यार्थीको आत्मबल त्यति नै बढ्छ । अभ्यासका बेला क्यालकुलेटरको मद्दत लिनुहुँदैन । मौखिक गणनाबाटै प्रश्न हल गर्नुपर्छ । यसले आत्मविश्वास बढाउँछ र छिटो लेख्न सहयोग पुग्छ । उत्तर निकालेपछि रिचेक गर्नुपर्छ । दुविधा भएमा फेरि हल गर्न सकिन्छ । ज्यामितिको प्रश्नमा सही चित्र, सही सूत्र र सोधिएको प्रश्न विधिपूर्वक हल गर्नुपर्छ ।
प्रश्न हल गर्दा जुन फर्मुला प्रयोग गरिन्छ, त्यसलाई कोष्ठमा देखाउनुपर्छ । पूरै अङ्क ल्याउन प्रत्येक स्टेपलाई लेख्नुपर्छ । प्रश्न हल गर्दा एकाइहरू (सेन्टिमिटर, मिलिग्राम, सेकेन्ड आदि) उल्लेख गर्न बिर्सनुहुँदैन । एकाइको प्रयोग गर्न छुटे अङ्क काटिन्छ । ट्रिगनोमेट्री, कोर्आडिनेट्सको प्रश्न हल गर्दा रेखाचित्र अवश्य बनाउनुपर्छ ।
बिजनेस स्टडिज र एकाउन्ट ः यसमा बढी अङ्क प्राप्त गर्न मौखिक गणनाको अभ्यास आवश्यक हुन्छ । जोड–घटाउमा हुने सानो गल्तीले पनि एकाउन्टलाई प्रभावित गर्छ । कुनै पनि खाता तयार गर्न क्यालकुलेसन परफेक्ट हुनुपर्छ । जोडघटाउ अलिकति पनि गलत भए डेबिट, क्रेडिट र ब्यालेन्स मिल्दैन । जबसम्म ब्यालेन्स मिल्दैन, खाता पूरा हुँदैन । त्यसैले  एकाउन्टको विद्यार्थीले मौखिक गणनाको अधिकाधिक अभ्यास गर्नुपर्छ ।
नेपाली ः भाषाको व्याकरणलाई बुझ्नुपर्छ र रट्ने बानी छोडेर प्रत्येक कुरालाई आफ्नो शब्दमा भन्ने प्रयास गर्नुपर्छ । आम विद्यार्थीलाई नेपाली विषय कठिन लाग्छ, तर यदि यसलाई पूर्ण रूपमा बुझेर पढियो भने यो विषय सजिलो छ ।
व्याकरणको सिद्धान्तलाई पूर्ण रूपमा बुझ्यो भने कुनै प्रश्नको उत्तर दिन कठिनाइ हुँदैन । व्याकरणमा पूरै अङ्क पाइन्छ । कथा, कविता, निबन्ध आदि सबै पाठ पूर्ण रूपमा पढ्नु र बुझ्नुपर्छ । प्रश्न पढेर धेरै हदसम्म अनुमान लगाउन सकिन्छ । प्रत्येक पाठको आफ्नो शब्दमा सार तयार गर्नुपर्छ । यसले पाठलाई याद गर्न सहयोग गर्छ ।
परीक्षामा प्रायः ताजा विषयमाथि नै निबन्ध लेख्न भनिएको हुन्छ । त्यसको बारेमा थाहा पाउन समाचारपत्रहरू पढ्ने बानी गर्नुपर्छ ।          (थप विषयबारे अर्को अङ्कमा)

परिक्षाको तयारी कसरी गर्ने ?


सहरिया विद्यार्थीहरू राम्रो श्रेणीमा एसएलसी उत्तीर्ण गर्नुलाई मात्र शैक्षिक सफलता मान्छन् भने ग्रामीण क्षेत्रका विद्यार्थीका लागि पास हुनु नै ठूलो मानिन्छ । त्यसैले पनि एसएलसी नजिकिँदै जाँदा विद्यार्थीहरू अध्ययनमा बढी केन्द्रित हुन्छन् । परीक्षा आउने बेलामा मात्र किताब समाएर पढ्न कस्सिने विद्यार्थीमा परीक्षा नजिकिएसँगै तनाव पनि बढ्छ । त्यसैले नियमित अध्ययन गर्नेलाई परीक्षा सजिलो लाग्छ ।
परीक्षा शैक्षिक जीवनको महत्वपूर्ण र निर्णायक हिस्सा हुने हँुदा परीक्षाप्रति सचेत हुनु त पर्छ नै, राम्रो तयारी गरेर परीक्षालाई एउटा अवसरको रूपमा उपयोग पनि गर्नुपर्छ । परीक्षाअघिका समयलाई सदुपयोग गरेर उत्कृष्टता हासिल गर्ने बाटोतर्फ अग्रसर हुनुपर्ने आवश्यकता हुन्छ ।

  • मन लगाएर उपयुक्त वातावरणमा राम्रो तरिकाले पढेमा विद्यार्थीले छोटो समयमै परीक्षाको राम्रो तयारी  
  •  गर्न सक्छन् । 
  • आफूले पढेको कुरालाई सहज ढङ्गले बुझेर पढ्ने, बारम्बार अभ्यास गर्ने, नजानेका कुरा शिक्षक वा जान्ने साथीसँग सोध्ने । 
  • समयलाई ख्याल गरेर आफैसँग टेस्ट लिने हो भने परीक्षाको तनावबाट मुक्ति मिल्छ । 
  • अक्षरमा नियमित आँखा राखेर सुगारटाइ गर्नुभन्दा पहिले पाठ बुझेर पढ्ने, पाठ पढेको दुई दिनपछि त्यसका महत्वपूर्ण बुँदाहरूलाई याद गर्ने, त्यसको चार दिनपछि याद गरेको बुँदालाई नहेरी भन्ने प्रयास गर्ने र नसम्झेका बुँदालाई याद गरेर फेरि एक दुई दिनपछि नहेरी सम्झने प्रयास गर्ने ।
  • केही विद्यार्थीहरू भगवान् भरोसामा जाँच दिन्छन् । जाँचमा सँगै बसेका साथीहरूको हेर्छु, वा चिट चोर्छु भन्ने भ्रममा हुन्छन् । तर, चिट चोर्ने ध्यानमा विद्यार्थीले जानेको उत्तर पनि लेख्न सक्दैन । त्यसैले ऊ असफल हुन्छ । किनकि चिटमा त सबै प्रश्नको उत्तर हुँदैन । अनि याद गरेर गएको पाठ पनि चिट चोर्ने ध्याउन्नमा बिर्सिइन्छ ।
  • कोर्स बुक तथा पाठ्यक्रमसँग सम्बन्धित बाहिरी पुस्तकको राम्रो अध्ययन गरेमा परीक्षामा सहजै पास हुन सकिन्छ ।
  • पूरै दिन पुस्तकको पृष्ठ निर्रथक पल्टाउनु वा एक टपिकबाट अर्को टपिकमा भट्किनुभन्दा अलि गाह्रो लाग्ने पाठलाई प्राथमिकतामा राखेर पढ्नुहोस् ।
  • नियमित सन्तुलित भोजन खानुहोस् । 
  • राति चाँडै सुत्ने प्रयास गर्नुहोस् जसले तपाईं सात  घन्टाको निद्रा पूरा होस् र बिहान तरोताजा महसुस गर्नुहोस् । 
  • आफ्नो बोर्ड परीक्षाको प्रवेशपत्र, कम्पास बक्स आदि राति सुत्नुभन्दा अघि नै तयार गरेर राख्नुहोस् । 
  • निर्धारित समयभन्दा एक घन्टाअघि नै परीक्षाभवनमा पुग्ने प्रयास गर्नुहोस् ।
  • बाटोमा वा परीक्षाभवनबाहिर केही पनि नपढ्नुहोस् । साथीहरूसँग अन्तिम समयमा आएर परीक्षाका प्रश्नहरूको बारेमा चर्चा नगर्नुस् । यसले तनाव बढाउँछ । बरु त्यसको दुई दिनअघि नै छलफल गर्नुहोस् ।
  • परीक्षाको अन्तिम समयमा तनावबाट जोगिनुहोस् ।
  • पहिलादेखि बनाइएको नोट अथवा मुख्य पाठ्यपुस्तक तथा सन्दर्भ पुस्तकलाई नै बढीभन्दा बढी अध्ययन गर्नुपर्छ ।
  • रुटिन बनाएर सबै विषयलाई दोर्होयाउनु राम्रो हुन्छ ।
  • उत्तर लेख्नमा भन्दा रेखाचित्रको बढीे प्रयोग गर्नुहोस् ।
  • अघिल्लो वर्षको प्रश्नको आधारमा नयाँ प्रश्नउत्तरको तयारी नगर्नुहोस् । यो वर्ष अर्कै प्रश्न आउन सक्छ । तर, प्रत्येक वर्ष पाठ्यक्रअनुरुपकै सजिलो सजिलो प्रश्न आउँछ । त्यसैले सबै पाठलाई ध्यानपूर्वक पढ्नुहोस् ।

प्रस्तुति ः सहयात्री

एसएलसीपछिको विषय छनौट र युवावर्ग

Written By Neplee on Friday, June 15, 2012 | 5:55 PM


एसएलसी परीक्षाफलपछि विद्यार्थीहरू आगामी शैक्षिक यात्राको लक्ष्य निर्धारणमा जुटेका छन् । उनीहरुको ध्यान विषय र शिक्षालय छनोटमा केन्द्रित छ । बृज कोर्स र ट्यूसनतर्फ पनि विद्यार्थीको आकर्षण उस्तै छ ।
भविष्यमा के पढ्ने वा पढाउने ? अभिभावकमा उच्चशिक्षामा प्रवेश गर्ने छोराछोरीहरूको पढाइको विषय मात्र होइन शुल्क र स्तरको चिन्ता पनि उत्तिकै छ । छोराछोरीको भविष्यप्रति के गर्दा राम्रो हुन्छ भनी सोचिरहेका बाबुआमा र  विद्यार्थी स्वयम् कुहिराका कागजस्ता भएका छन् । विभिन्न सञ्चारमाध्यम र विज्ञापनहरूमा प्लस टू, ए लेभल पढाउनेहरूका सूचना प्रकाशन हुने, एक्स्पोको तयारी हुने, नामाङ्कनअघिको बृज कोर्सका विज्ञापनले बजार छाएका छन् । पत्रपत्रिका र टेलिभिजनमा शैक्षिक मेला आयोजना, शैक्षिक परामर्शका लागि विभिन्न ढङ्गले प्रचार–प्रसार भइरहेका छन् ।
एसएलसी उत्तीर्ण भएका युवा विद्यार्थीका लागि अब हुने थप पढाइको दिशा चासोको विषय भएको छ । प्लस टू खोलेका व्यावसायिक उच्चमाध्यमिक विद्यालयले एजेन्टमार्फत् आफ्नो कलेज राम्रो भनेर विज्ञापन गर्छन् । विद्यामा पनि हात्ती बलियो कि हात्तीछाप चप्पल ? भन्ने प्रवृत्तिको विज्ञापन सञ्चारमाध्यमबाट सुन्नेगरेका छौं । यस्ता विज्ञापनबाट युवा विद्यार्थी सचेत हुन आवश्यक छ ।
कलेज छनोट गर्दा शैक्षिक वातावरण कस्तो छ भनेर राम्ररी बुझ्नुपर्छ । साँघुरो बेञ्च, खाँदाखाँद विद्यार्थी, उचित डेक्स–बेञ्च कक्षा सजावट; योग्य तालिमप्राप्त शिक्षक, त्यसअनुरूपको स्वस्थ, पारदर्शी कलेज प्रशासन र शैक्षिक सामग्री, प्रयोगशाला, शौचालयको उचित प्रबन्ध आदि शैक्षिक वातावरणभित्र पर्छन् । विद्यार्थी र अभिभावक स्वयम्ले पनि अत्यन्त होसियार र सावधानीपूर्वक ती कुराको मूल्याङ्कन गर्नुपर्छ । यातायातको सुविधा पनि विचार पु¥याउनुपर्छ । प्रायः धेरै विद्यालयहरू आफ्नो प्रयोजनका निम्ति बनाएका घर भाडामा लिएर स्कूल–कलेज सञ्चालन गर्छन् । त्यस्तो ठाउँमा शिक्षा लिन–दिन त्यति उपयुक्त हुँदैन ।
विषयवस्तुको छनोट गर्दा व्यवहारोपयोगी समाजमा बिक्ने राष्ट्रका लागि काम लाग्ने हुनुपर्छ । प्लस टूमा विभिन्न किसिमका शिक्षाका क्षेत्र छन् । ती सबै आफैँमा राम्रा छन्, समाजोपयोगी नै छन् । त्यसमा पनि सीपमूलक शिक्षामा ध्यान दिँदा बेश हुन्छ । प्राविधिक शिक्षा र सीपमूलक शिक्षाको जिम्मेवारी सीटीईभीटीले लिएको छ । आजभोलि यस्ता संस्था देशभरमा प्रयाप्त मात्रामा खुलेका छन् । मनमोहन पोलिटेक्निक कलेज, मदन भण्डारी कलेज धरान तीनकुनेको इन्जिनियरिङ कलेज, लहानको प्राविधिक शिक्षालय आदि सीपमूलक शिक्षा दिने स्थापित शिक्षालय हुन् । यिनीहरूले सीपमूलक शिक्षा सिकाउँछन् ।
त्यस्तै, ए लेभल पनि नेपालमा पढाइन्छ । विदेशी स्कूल–कलेजमा पनि गएर पढ्न सकिन्छ । विदेशमा विद्यार्थी पढ्न जाँदा स्वदेशी मुद्रा पनि विदेश जाने हुन्छ । स्वदेशी पैसा स्वेदशमै राख्न समाजले, समाजका अगुवा तथा राजनेतासमेतले विदेशी मापदण्डअनुसारका स्कूल–कलेजको स्थापना देशमै गर्न जोड दिनुपर्छ । त्यसबाट मात्र स्वदेशी मुद्रा स्वदेशमै रहन सक्छ । सीपमूलक शिक्षापछिको दोस्रो विकल्पमा प्लस टूमा विज्ञान विषय राख्नु  उपयुक्त हुन्छ । विज्ञानको क्षेत्र ज्यादै फराकिलो छ । यो विषयका विद्यार्थीले डाक्टर, इन्जिनियर, कम्प्युटर, कृषि, वन तथा आयुर्वेद आदि क्षेत्रमा विशेषज्ञता हासिल गर्न सक्छन् ।
त्यस्तै, अर्को महत्वपूर्ण विषय व्यवस्थापन पनि हो । यो विषयले अडिटर, बैङ्क मेनेजर, उद्योगपति र व्यापारी बन्न सहज हुन्छ । अर्को विकल्प मानविकी हो । यसका जति धेरै पाठ्यविषय र हाँगा–बिँगाहरू अरू विषयमा छैनन् ।
मानविकीलाई खोज अनुसन्धानकर्ता, देशको परराष्ट्र बुभ्mने अफिसर वा विशेषज्ञ, अर्थविद् भाषाविद्, राजनीतिज्ञ, समाजविज्ञ, संस्कृतिविद्, भूगोलविद्, इतिहासविद्, गैरसरकारी क्षेत्रका सहजकर्ता, प्रशासन सेवामा काम गर्ने कर्मचारी तथा देशको मुख्य सचिवसम्म पुग्ने माध्यमका रूपमा लिइन्छ ।
मानविकीपछि अर्को शिक्षा, कानुन, संस्कृति कला आदि विषय पनि छन् । नेपालमा कानुन विभाग, शिक्षा विभाग, संस्कृत विश्वविद्यालय र त्यससँग सम्बन्धित थुप्रै आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पस पनि छन् । ती सबैले शिक्षाक्षेत्रमा महत्वपूर्ण भूमिका खेलेका छन् । आफ्नो रुचि, लगनशीलता, उत्साह भएको विषय पढ्नु उपयुक्त हुन्छ । नेपालमा सङ्गीत महाविद्यालय, ललितकला क्याम्पसजस्ता शैक्षिक संस्था पनि छन् । यी पनि व्यवहारोपयोगी र जीवनोपयोगी सीप सिकाउने संस्था हुन् ।
संक्षेपमा युवा विद्यार्थी भनेका काँचो माटो मात्र हुन् । कुमालेले काँचो माटोबाट आफूले चाहेअनुसार र बजारको मागअनुसारका भाँडा–कुँडा बनाए जस्तै विद्यार्थीले बजारको माग विचार गरेर फरक र विभिन्न क्षेत्र ओगट्न सक्ने विषय पढ्दा राम्रो हुन्छ । व्यक्ति कुनै पनि विषयमा पोख्त र विशेषज्ञ बन्न सक्यो भने काम, माम, इज्जत, प्रतिष्ठा नहुने कुरै छैन ।
देवकोटाले मानविकी पढे, बालकृष्ण समले विज्ञानमा प्लस टू गरे । कवि मोहन कोइरालाले कक्षा ८ मात्र पढेका हुन् । धेरैवटा डिग्री, एमए, पीएचडी नगरे पनि आफूले पढेको विषयमा योग्य हुने हो भने जे पढ्दा पनि समाजमा बिकिन्छ । सीपमूलक शिक्षा सिके गरी खान दुःख हुँदैन ।
बाबुराम तिमिल्सिना

एसएलसीपछिको रोजाइ


SLC परीक्षाको परिणाम सार्वजनिक भएपछि अब विद्यार्थीले कहाँ पढ्ने ? कुन विषय तथा प्लस टु वा कलेज रोज्ने ? कुन शिक्षालयमा भर्ना हुने ? आप्mनो क्यारिअर कसरी बनाउने ? भन्ने चिन्ता आम विद्यार्थी र अभिभावकलाई लाग्नु स्वाभिविकै हो । यस्तो अवस्थामा विद्यार्थीको सुनौलो भविष्य र असल व्यक्तित्व निर्माणका लागि निम्न पक्षहरूमा ध्यान केन्द्रित गर्नु जरुरी छ ।
विषय कुन राम्रो–कुन नराम्रो ?
कुनै पनि विषय आफैंमा राम्रो वा नराम्रो भन्ने हुँदैन । त्यो त विद्यार्थीको मेहनत र लगनशीलतामा निर्भर हुने कुरा हो । कसैले विज्ञान विषयलाई राम्रो मान्छन् भने कसैले व्यवस्थापन । कोही चिकित्सा विज्ञान तथा इन्जिनियरिङका पछि लाग्छन् भने कोही मानविकी र शिक्षातर्फ । तसर्थ, कुनै विषय छनौट गर्नुअघि उक्त विषयको अध्ययनपछि के बन्न सकिन्छ ? रोजगारी सुनिश्चित हुन्छ वा हुँदैन ? विषय विद्यार्थीको रुचिअनुकूल छ कि छैन ? के–कति सीपमूलक एवम् कार्यमूलक छ ? लगायतका कुरामा सुरुमै जानकारी लिनु राम्रो हुन्छ । ताकि पछि कसैको करकापमा परेर आफूले अमुक विषय पढ्नुपरेको गुनासो विद्यार्थीको मनमा नरहोस् ।
कस्तो कलेज÷प्लस टु छनौट गर्ने ?
त्रिभुवन विश्वविद्यालयले प्रवीणता प्रमाणपत्र तह खारेज गरेपछि विद्यार्थीको रोजाइको विकल्प दश जोड दुई हुन पुगेको छ । सरकारी सम्बन्धन लिएर निजी र सामुदायिक विद्यालयहरूले हाल दश जोड दुई कक्षा सञ्चालन गरेका छन् । कतिपय विद्यालयहरू १०+२ को रूपमा सञ्चालित छन् भने कतिपय जिरो प्लस टु (०+२) को रूपमा छन् । जे भए पनि गुणस्तरीय र मध्यमस्तरीय जनशक्ति उत्पादन गर्न खोलिएका यस्ता कलेज÷विद्यालयहरूमध्ये कुन राम्रो ? कुनले जीवनोपयोगी र गुणस्तरीय शिक्षा दिन्छन् ? भनी छुट्याउन सजिलो छैन । यसका लागि कलेज÷विद्यालयको भौतिक अवस्था, कार्यरत शिक्षक–कर्मचारीको योग्यता, अनुभव, पुस्तकालय तथा प्रयोगशाला व्यवस्थापन, अतिरिक्त क्रियाकलाप सञ्चालन, रिजल्टको प्रवृत्ति एवम् समग्र शैक्षिक वातावरणका कुरामा गम्भीरताका साथ ध्यान दिनुपर्दछ ।
विज्ञापनको बाढी ः
एसएलसीको परिणाम सँगै +२, कलेज र उच्चमाविको विज्ञापनको बाढी आएको छ । आमसञ्चारका माध्यमहरू प्रयोग गरी आएका यो बाढीले विद्यार्थीमा उचीत सहजीकरण भएको छैन बरु अन्योलता थपेको छ ।
कतिपय +२ कलेज÷विद्यालयले आप्mनो विद्यालय (+२) मा नै पढ्नुपर्छ भनी जबरजस्ती विद्यार्थी रोक्न एसएलसी सर्टिफिकेट नदिने र दिए पनि अत्याधिक महँगो शुल्क लिने गरेको गुनासो सार्वजनिक भएको छ । यसले शिक्षा स्वतन्त्र र स्वेच्छिकरूपबाट लिन पाउने विद्यार्थीको नैसर्गिक अधिकार कुन्ठित मात्र भएको छैन शिक्षाक्षेत्रमा अराजकतासमेत सिर्जना गरेको छ । यसतर्फ विद्यार्थी, अभिभावक, शिक्षाकर्मी, अधिकारकर्मी तथा सरोकारवाला सबै पक्ष चनाखो हुनुपर्छ ।
विद्यार्थीले आप्mनो रुचि, चाहना, आवश्यकता र क्षमतालाई ध्यान दिई झुटा विज्ञापनको पछि नलागी आपूmले रोजेको विषय पढ्न उपयुक्त +२ कलेज÷विद्यालय छनोट गर्नुपर्छ । अभिभावकलाई आर्थिक व्ययभार बढी पर्न नदिन विद्यार्थी सचेत हुनुपर्छ ।
अर्कोतर्फ अभिभावकले आप्mना सन्ततिको उपयुक्त व्यक्तित्व विकास गर्ने यो अवसरको महत्व बुझ्न कुनै कञ्जुस्याइँ गर्नुहुँदैन । त्यसकारण ठूला–ठूला नारा र विज्ञापनभन्दा पनि गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान उपयुक्त शिक्षणविधि प्रयोग गर्ने परिपाटी भएको +२ कलेज÷विद्यालयको छनोट गर्नु उपयुक्त हुन्छ ।
प्राविधिक वा साधारण कस्तो शिक्षा लिने ?
वर्तमान समयमा विज्ञान–प्रविधि एवम् सूचना तथा सञ्चारले शिक्षाक्षेत्रमा अवसर र चुनौती दुवै थपिदिएको छ । भूगोल, इतिहास, राजनीतिशास्त्रजस्ता विषय किनारा लाग्दै गएका छन् भने कम्प्युटर, विज्ञान, पत्रकारिता, शिक्षा, समाजशास्त्रलगायतका विषयहरू अगाडि आएका छन् । विद्यार्थी र तिनका अभिभावक रोजगारीको ग्यारेन्टी हुने प्राविधिक कोर्सको पछि लाग्नु स्वाभाविक नै भए पनि त्यस्ता कोर्सहरू कहाँबाट उपलब्ध हुन्छन् ? भन्ने जानकारी कमै मात्र छ ।
खासगरी एसएलसीपश्चात् त्रिभुवन विश्वविद्यालय, उच्चमाध्यमिक शिक्षा परिषद् र विदेशी बोर्डहरूले प्राविधिक र साधारण दुवै कोर्सको अध्ययन–अध्यापन गराउँछन् भने सीटीईभीटीले निश्चित अवधिका प्राविधिक कोर्सहरूमा अध्यापन गराउँछ । प्राविधिक र साधारण गरी दुई भागमा वर्गीकरण गरिएका कोर्सहरूमध्ये कुन छनोट गर्ने हो ? त्यसका लागि विद्यार्थीको रुचि, क्षमता र अभिभावकको आर्थिक अवस्थालगायतका कुराहरूलई ख्याल गर्नुपर्छ ।
एसएलसीपछिको समय आप्mनो भविष्य निर्माण गर्ने समय भएकाले के बन्ने, कुन विषय पढ्ने ? कहाँ पढ्ने भन्ने दोधारको स्थितिलाई समयमै निर्मूल गर्नुपर्छ ।

विमल नेपाल

निरासजनक एसएलसी

 देशको कूल बजेटको सबैभन्दा बढी रकम छुट्याइएको नेपालको शिक्षाक्षेत्रको स्तर बर्र्सेेनी ओह्रालो लाग्दो छ । आधाभन्दा बढी परीक्षार्थी अनत्तीर्ण भएपछि यो वर्षको एसएलसी नतिजाले पनि नेपालको शिक्षा प्रणालीमा खर्च गरिएअनुसारको प्रगति नभएको संकेत गरेको छ । आव ०६८÷०६९ मा ६३ अर्ब ९१ करोड रूपैयाँ अर्थात् राष्ट्रिय बजेटको १६ दशमलव पाँच प्रतिशत हिस्सा छुट्याइए पनि अनुत्तीर्ण प्रतिशत बढ्दै जाँदा शिक्षामा लगानी वालुवामा पानी भन्न थालिएको छ ।
एसएलसी नतिजाले विद्यार्थी, अविभावक, शिक्षक तथा शिक्षाक्षेत्रमा काम गर्ने धेरैलाई निरास बनाएको छ । अघिल्लो वर्षभन्दा पूर्वाञ्चलमा झन्डै १० प्रतिशत कम विद्यार्थी अनुत्तीर्ण भएपछि नेपालको शैक्षिक प्रणाली र शिक्षाको लागि खर्चिने अर्बौं बजेटको उपादेयतामाथि नै प्रश्नचिन्ह उब्जेको छ ।
यसपटकको एसएलसीमा पूर्वाञ्चलबाट सहभागी ९३ हजार आठ सय १२ विद्यार्थीमध्ये ३२ हजार छ सय ४० जना अर्थात् ३४ दशमलव ७९ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । यो सङ्ख्या गत वर्षको भन्दा करिब १० प्रतिशतले कम हो । गत वर्ष ४४ प्रतिशत विद्यार्थी पूर्वाञ्चलबाट उतीर्ण भएका थिए । त्यस्तै २०६६ को एसएलसी परीक्षामा पूर्वाञ्चलबाट ६१ प्रतिशत विद्यार्थी उतीर्ण भएका थिए । यसबाट पनि पूर्वाञ्चलमा एसएलसी उत्तीर्ण हुनेको संख्या वर्सेनी घट्दो रहेको पुष्टि हुन्छ ।
पूर्वाञ्चलमा अंग्रेजी, गणित र विज्ञान विषयमा धेरै विद्यार्थीहरू अनुत्तीर्ण भएका छन् । यी विषय प्रयोगात्मक भएकाले विद्यार्थीको मेहनत र गाउँका विद्यालयमा शैक्षिकसामग्री पर्याप्त नहुनुले धेरै विद्यार्थी अनुत्तीर्ण भएको पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशक खगेन्द्र नेपालले बताए । पहाडी क्षेत्रमा अङ्ग्रेजी, गणित र विज्ञान पढाउने दक्ष शिक्षक नपाउने, शिक्षकका लागि विज्ञापन गर्दा कोही पनि नआउने र काम चलाउ शिक्षक खोजेर ल्याउनुपर्ने अवस्था भएकाले धेरै विद्यार्थी फेल भएको हुन सक्ने उनको तर्क छ । त्यसका साथै परीक्षाको होम सेन्टर हटाउनु र कडाइ गर्नुले पनि उत्तीर्ण प्रतिशत घटेको उनले बताए ।
यसपटकको एसएलसी परीक्षामा मोरङको विराटनगरले आफ्नो उत्कृष्ठता कायम गरेको छ । विराटनगरस्थित बालकल्याण विद्या मन्दिरका अरुण कालिकोटे (खड्का)ले उच्च अंक हाँसिल गरे । त्यसैगरी विराटनगरकै कोशी विद्या मन्दिरका आवेशजंग कार्की दोस्रोे भए । यता छात्रातर्फ मदरटरेसा बोर्डिङकी लिज्ना शाह र कोसी विद्या मन्दिरकी  विशुका अधिकारी छात्रातर्फ उत्कृष्ठ दोस्रो बनेका छन् । यता सुनसरीको इटहरीस्थित युनिभर्सल इ. स्कुलले पहिलो पटकको एसएलसीमा सहभागिता जनाएका प्रकाश पाण्डेले सुनसरी टप गरेका छन् ।
असफलतापछिको गलत निर्णय
 त्यसैगरी, एसएसलसी परीक्षाको नतिजा आएको ४८ घन्टाभित्र देशभरमा ११ विद्यार्थीले आत्महत्या गरेको खबर सार्वजनिक भयो । १६ देखि २० वर्ष उमेर समूहका ती विद्यार्थी विशेषगरी छात्राहरूमा आफू अनुत्तीर्ण भएको खबर सुनेर सुरु भएको आवेग मृत्युमा पुगेर सकियो ।
विष खाएर र आफूलाई पासोमा पारेर महत्वपूर्ण जीवन त्याग्ने छात्रछात्रामा विराटनगर–२० रानीकी मधु देवान, महादेवस्थान प्रभात माविकी रुविना केसी र सबला बानिया, बाँकेका नेत्रबहादुर थापा, कञ्चनपुर सुडाकी आशा रैकाल, सिन्धुपाल्चोकका सुशील तिम्सिना, धादिङकी रेश्मा कँडेल, नेपालगञ्जकी प्रतीक्षा शर्मा, पाल्पाकी सरिता राना, जनकपुरकी सेखाकुमारी सिंह र रामेछाप घर भई किर्तिपुर बस्दै आएकी निरुता कार्की छन् । यी दुर्भाग्यपूर्ण घटनाहरूले व्यक्तिको सम्पूर्ण योग्यताको मापन केवल एउटै परीक्षाबाट गर्न चाहने मुलुकको शिक्षाप्रणाली, प्रशिक्षक तथा अभिभावकको शिर निहुराएको छ भने किसोरकिसोरीमा हुने कमजोर मानसिकस्तरको उद्घाटन गरेको छ । कुनै एउटा परीक्षामा असफल हुँदैमा ‘सबैथोक सकियो’ भनी सोच्ने विद्यार्थीको गलत विचारले परिवार, समाज र राष्ट्रलाई शोकमा डुबाएको छ ।

विद्यार्थी आत्महत्याबारे तर्क–वितर्क
मनोविश्लेषक डा. गङ्गा पाठक परीक्षाको नतिजा प्रकाशनपछि देखापरेका आत्महत्याका घटनाले हाम्रो शिक्षाप्रणाली र सामाजिक मानसिकतामा पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिएको बताउँछिन् । एसएलसी परीक्षामा सफलतालाई बढी महत्व दिइँदा असफल हुनेहरू निराशाको सिकार भएर गलत बाटो रोज्ने गरेको उनको विश्लेषण छ । ‘पुरुषको तुलनामा महिला धेरै भावुक हुने हुँदा यस्ता दुर्घटना हुन्छन्,’ पाठकले भनिन् ।
छोराको तुलनामा छोरीलाई परिवारले पनि बढी दबाब दिने र मनोवैज्ञानिकरूपमा हतोत्साही पार्ने गलत प्रवृत्तिले यस्ता दुर्घटना हुने मनोविज्ञ सहप्राध्यापक डा. नन्दिता शर्माको भनाइ छ । शर्मा ‘सबैले एसएलसीको परीक्षालाई अत्यन्तै ठूलो हाउगुजी बनाएकाले यस्तो अवस्था आएको’ बताउँछिन् ।
एसएलसी जसरी भए पनि उत्तीर्ण गर्नैपर्ने समाज र परिवारको दबाब हुन्छ । एसएलसी पास नगरे तेरो बिहे नै हुँदैन, ठूलो मान्छे बन्न त एसएलसी पास गर्नै पर्छ भन्ने गलत भावनाको प्रचार धेर भएकाले विशेषगरी किसोरी छोरीले आत्महत्या गर्ने दर बढेको शर्माको भनाइ छ । ‘जीवनको हरेक मोडमा असफलताबाट पाठ सिकेर फेरि कोसिस गर्दा सफलता नमिल्ने कुरै हुन्न’ मनोविज्ञ शर्माको सुझाव छ ।
एसएलसीलाई नै भविष्य सम्झने र उत्तीर्ण भइएन भने जिन्दगी नै खत्तम भयो भन्ने भावनाका कारण यस्तो अनिष्ट हुने गरेको पत्रकार अर्जुन शर्माको टिप्पणी छ । शर्मा भन्छन्, ‘सानोमा पढेको चिप्लेकीराको कथामा ११ पटक चिप्लिँदा पनि हिम्मत नहारेको कीराले बाह्रो पटकमा पर्खाल चढ्न सफल भएको कुरामा जीवनको अर्थ खोज्ने हो भने कसैले आत्महत्या गर्नुपर्दैन ।’
विशेषगरी अभिभावकले निर्वाह गरेको भूमिका नै छोराछोरीको भविष्यको बाटो बन्ने माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला बताउँछिन् । ६० प्रतिशत अभिभावकले आफ्ना छोराछोरीको पढाइ कस्तो छ ? कसरी पढिरहेका छन्, लगायतका सवालमा ध्यान नदिने र परीक्षाफल अपेक्षित नभएपछि गाली गर्ने परम्पराले गर्दा अनपेक्षित घटना बढेको उनको तर्क छ । ‘जिन्दगीको मुख्य खुड्किलो भनेकै एसएलसी हो भन्दै फेल भएका छोराछोरीलाई गाली गर्नाले आत्महत्याको घटना बढेको हो,’ उनले भनिन् । कोइरालाका अनुसार तराईतिर एसएलसी परीक्षाको परिणामलाई दाइजोको कुरासँग जोड्ने हेर्ने परम्परा पनि छ ।
साहित्यकार एवम् समाजशास्त्री जगदीश घिमिरे  पढाउँदा शिक्षकले विशेष ध्यान दिन नसक्नु, झोला मात्र बोकाउनु र परीक्षामा बढी दबाब दिनुले यस्तो घटना हुन गएको उनको तर्क छ ।
‘सफल बन्न स्वअनुशासन’
अरुण कालिकोटे (खड्का) बोर्ड फष्ट (९४.८७ प्रतिशत)
२०६८ सालको प्रवेशिका परीक्षामा बोर्ड प्रथम बालकल्याण विद्या मन्दिर विराटनगरका छात्र अरुण कालिकोटेसँगको कुराकानी ः
बोर्ड फष्ट भएको सुन्दा कस्तो लाग्यो ?
सुरुमा त विश्वास लागेन । रामहरि देवकोटा सरले सुनाएपछि विश्वास माने । ममीलाई सुनाए, उहाँले भावुक हुँदै बधाइ दिनुभयो । ९२ प्रतिशत भन्दामाथि आउँछ जस्तो लागेको थियो । तर, बोर्ड फष्ट नै हुन्छु भन्ने लागेको थिएन ।
मेहनत कस्तो थियो ?
मेहनत त पक्कै थियो, ठिक्क आवश्यक मात्रामा । म दिमागलाई स्ट्रेस हुन्जेल मेहनत गर्नुपर्छ भन्ने पक्षमा छुइनँ । पढेको कुरामा कमाण्ड हुनुपर्छ । तालिका नै बनाएर दिनमा यति घन्टा पढ्ने भन्ने थिएन, आवश्यक ठानेजति पढेँ ।
मेहनतकै कारण बोर्ड फष्ट हुनुभएको हो ?
सफलता भनको मेहनत र भाग्यको संयोजन हो । मेहनत त सबैले गरेका हुन्छन् । ९० प्रतिशतभन्दा माथि ल्याउने कोहीभन्दा कोही कम छैनन्, यसमा थोरै भाग्यको कुरा पनि छ ।
सफल हुन कुन कुरामा ध्यान दिन आवश्यक छ ?
हामीले आफूमा विश्वास राख्नुपर्छ । अरुको दिमाग चाहिँ भगवान्कै कृपाले गर्दा राम्रो भएको होला भन्ने नठानी म पनि कम छैन भन्ने सोचेर मेहनत गर्नुपर्छ । आत्म अनुशासनमा बस्न सकिए सदैव सफल भइन्छ ।
अब कसरी अगाडि बढ्ने योजना छ ?
म  विज्ञान विषय पढने सोचमा छु । एउटा सफल, सवल र सक्षम व्यक्ति बन्ने इच्छा छ । जहाँसम्म एउटा निश्चत प्रोफेसनको कुरा गर्नुभएको हो भने मैले निर्धारण गर्नका लागि सबै पेसाका बारेमा बुझ्नु जरुरी छ, जुन मैले बुझिसकेको अवस्था छैन ।
‘सोचेको पुग्यो’
आवेशजंग कार्की, बोर्ड सेकेण्ड (९४.५ प्रतिशत)
प्रवेशिका परीक्षामा नेपालकै दोस्रो हुन सफल कोसी विद्या मन्दिर विराटनगरका छात्र आवेशजंग कार्की अपेक्षाअनुरुपकै अङ्क आएको बताउँछन् । ९० प्रतिशतभन्दा माथि अंक आउनेमा विश्वस्त रहेका उनले बोर्ड सेकेण्ड नै हुन्छु जस्तो भने ठानेका थिएनन् ।
सामान्य परिवारका कार्कीले आमाको विशेष सहजीकरणले सफलता मिलेको बताए । ‘मेरो पढाइकै लागि ममीले जागीर छाड्नुभएको थियो,’ उनले भने ।
यसबाहेक विद्यालयको वातावरण र शिक्षकहरुको सहकार्यले उनलाई उचाइमा पु¥याउएको उनले बताए । उनी विज्ञान विषय लिएर उच्चशिक्षा अगाडि बढाउन र इन्जिनियर बन्न चाहन्छन् ।
विद्यार्थीले आफ्नो मेहनतलाई
निरन्तरता दिए अवश्य सफल हुने उनको भनाइ छ । कार्कीले आफूले पनि परीक्षामुखी नभई तालिका बनाएर अध्ययन गर्ने गरेको बताए । ‘परीक्षामुखी बन्यौं भने घातक हुन्छ, निरन्तर अभ्यास गरे नराम्रो केही हँुदैन,’ जुनियर विद्यार्थीलाई उनकोे सुझाव छ ।

‘मेहनतले सफल’
बिशुका अधिकारी (छात्रा बोर्ड सकेण्ड)
एसएलसीमा ९१ प्रतिशत अङ्क ल्याएकी कोसी विद्या मन्दिर विराटनगरकी छात्रा बिशुका अधिकारी परीक्षालाई  हाउगुजी नबनाई आफूलाई मेहनततर्फ केन्द्रित गर्दा सफल हुन गाह्रो नहुने बताउँछिन् । उनका अनुसार नियमित गृहकार्य गर्ने र आफूले अध्ययन गरेको गाह्रो विषय र पाठलाई पुनः हेर्ने बानी बसाइयो भने अवश्य सफल भइन्छ ।
कुनैपनि विषय नरटी बुझ्ने बानी बसाउनु राम्रो हुने उनको अनुभव छ । व्यवस्थापन विषयमा उच्चशिक्षा हासिल गर्ने सोचाइमा रहेकी अधिकारी परिवारले भने विज्ञान विषय लिएर पढ्न सुझाव दिएकाले अब अगाडि कसरी बढ्ने भन्ने निर्णय लिन बाँकी रहेको बताउँछिन् ।

‘नबुझेको सोध्थेँ’
मध्यमवर्गीय परिवारकी लिज्ना साह नर्सरीदेखि कक्षा १० सम्म सधैँ अगाडि रहिन् । यतिमात्रै होइन, विराटनगरको मदरटरेसा बोर्डिङबाट एसएलसी दिएकी उनले एसएलसी परीक्षामा नेपालकै छात्राहरुमा दोस्रो भएर आफ्नो अव्वलता प्रस्तुत गरेकी छिन् । अवसर पाए काठमाडौं गएर उच्चशिक्षाको अध्ययन अघि बढाउने लिज्नाको चाहना छ ।
विज्ञान विषय लिएर पढ्ने सोँच बनाएकी साहले भविष्यमा स्टाफ नर्स भएर बिरामीको सेवा गर्ने चाहना रहेको बताइन् । विद्यालयको अभिभावकत्व र परिवारको सपोर्टले गर्दा आफूले सफलता पाएको बताउने उनी कम बोल्न रुचाउँछिन् तर नबुझेका कुरा सिक्न हिच्किचाउँदिनन् ।
‘पढाइमा मेहनत दिनहुँ गर्नुपर्छ तर जबरजस्ती हैन,’ उनले भनिन्, ‘नबुझेको विषयमा एकदुई पटक अभ्यास गर्ने र शिक्षकसँग सोध्ने बानी बनाए अवश्य बुझिन्छ ।’

‘प्लस टू’मा प्रवेश गर्दा

‘टीन एज’ का युवा योजनाबद्ध ढङ्गले पढाइमा नलागे जीवन बर्बाद हुन्छ । अरूको लहलहैमा जुन पायो त्यही विषय पढ्ने र पछि पछुताएर मनले नखाएको जागिर वा पेसा गरेर आत्माग्लानीको जीवन जिउनुभन्दा पहिले नै सचेत भएर आफूलाई चाख लाग्ने र क्षमताले सक्ने विषय छनौट गरेर उच्चशिक्षाको खुड्किलामा चढ्नु राम्रो हुन्छ । नेपालको शिक्षामा ‘आइरन गेट’को नाम दिइएको एसएलसी परीक्षापछि टीन एजर्सहरू के विषय लिएर उच्चशिक्षा पढ्ने भनी बुझ्न उत्साही देखिन्छन् ।
सहरका विद्यार्थीहरू विभिन्न शैक्षिक मेलामा सहभागी भएर सुझावहरू सङ्कलन गरिरहेका छन् । सप्तरीको मरमझियामा एकै ठाउँमा भएका धेरै पेडा पसलले आफू सक्कली र सबैभन्दा पुरानो बूढाको पेडा पसल भनेर प्रचार गरिदिँदा नयाँ ग्राहकहरू रनभुल्लमा परेजस्तो शिक्षाक्षेत्रमा आइरहेको विज्ञापनको बाढीले विद्यार्थीहरू कहाँ कुन विषय लिएर पढ्ने भन्ने कुरामा गुणस्तरभन्दा गलत विज्ञापनको सिकार हुने हुन् कि भन्ने चिन्ता छ ।
हिजोआज धेरै नेपालीहरू पढ्न विदेश जान रुचाउँछन् । पैसा हुनेले छोराछोरीलाई विदेश, नभए काठमाडौँ वा देशका ठूला सहरहरूमा पढ्न पठाउने चलनले गर्दा शिक्षामा सहरी फेसनको प्रभाव परेको छ । पहाडी र दुर्गमक्षेत्रका बौद्धिक वर्गहरू सहर पस्ने प्रवृत्ति पछ्याउँदै विद्यार्थी गाउँका प्लस टूभन्दा सहरका प्लसटूमा गुणस्तरीय शिक्षा पाइने आशा बाकेर सहर पस्ने गर्दछन् । यसले सहरमा बढी चाप पर्ने र गाउँमा प्लस टूहरूमा सुख्खा लाग्ने गरेको पाइन्छ ।
यसलाई रोक्न कतिपय गाउँका प्लस टूहरूले आफ्नो स्कूलबाट एसएलसी पास गरेका विद्यार्थीलाई अन्यत्र जान नदिने नियमसमेत बनाएका छन् । तर, यस्तो प्रतिबन्धले  शिक्षालय र विषय छनोट गर्ने विद्यार्थीहरूको स्वतन्त्रतामा आघात पुगेको छ । उदयपुर जिल्लाका केही प्लस टूमा अनिवार्यरूपमा आफूले एसएलसी पास गरेकै स्कूलमा प्लस टू पढ्नुपर्ने बाध्यता सिर्जना गराइएको छ, जुन शिक्षाको अधिकारविपरीतको कुरा हो । कुनै पनि विद्यार्थीले कुन विषय पढ्ने भन्ने कुरामा निर्णय गर्न स्वयम् विद्यार्थीले पहिलो प्राथमिकता पाउनुपर्छ । अभिभावक र विद्यालयले दबाब दिएर विषयहरू पढ्न बाध्य पारेको अवस्थामा विद्यार्थी मानसिक रोगी हुने खतरा हुन्छ । ऊ मन नपर्ने विषय पढेर जीवनलाई उज्यालोभन्दा अँध्यारोतर्फ धकेलिरहेको हुन्छ ।
एसएलसीसँगै धेरै विद्यार्थीमा बृज कोर्सको जानकारी छैन । नेपालमा कतिपयलाई जानकारी भएर पनि सङ्गत नभएकाले वा पहुँच नभएकाले त्यसतर्फ गएको पाइँदैन । तर, बृज कोर्सले विद्यार्थीलाई पढाइमा नियमितता गराउनुको साथै नामाङ्कनका लागि हुने प्रतिस्पर्धामा सहयोग पुग्ने भएकाले चल्तीका प्लसटूहरूमा पढ्नका लागि दिनुपर्ने योग्यता परीक्षामा उत्तीर्ण हुनका लागि भए पनि बृज कोर्स गर्ने फेशन चलेको छ । विशेष गरेर काठमाडौँका चल्तीका शैक्षिक संस्थामा पढाइ हुने ए लेभल र प्लस टूको शिक्षाका लागि बृज कोर्स गर्ने चलन छ ।
हुनेखानेका छोराछोरी कोही भारत र कोही पश्चिमा मुलुकमा पढ्न जान रुचाएको पाइन्छ । आर्थिक अवस्था कमजोर भएकाहरू तत्काल प्राविधिक शिक्षा पढेर तुरुन्त नोकरी पाउने शिक्षातर्फ आकर्षित हुन्छन् । त्यसले हाम्रो समाजमा विद्यार्थीको चाहनाभन्दा आर्थिक अवस्थाको कारणले पढ्न चाहेको विषयलाई प्रभाव पारिरहेको हुन्छ । विकसित देशहरूमा विद्यार्थीले शिक्षाको लागि सहज कर्जा पाउने भएकोले इच्छाअनुसार पढ्न पाउँछन् । नेपालमा शैक्षिक कर्जा लिन जग्गा, घर धरौटीमा राख्नुपर्ने भएकाले कतिपय विद्यार्थीले चाहेर पनि कर्जा नपाउने वा कर्जा लिन पनि घुस दिनुपर्ने प्रावधान रहेकोले यसमा सबैको पहुँच हुँदैन । शैक्षिक कर्जालाई विद्यार्थीले व्यक्तिगतरूपमा धरौटी नराखी राज्यमार्फत् नै पाउने प्रावधानको थालनी गर्न सकियो भने नेपालीहरूले शिक्षाक्षेत्रमा अझ राम्रो गर्न सक्ने थिए ।
ग्रामीण भेगका विद्यार्थीहरू जो घरको कामकाज गर्दै पढ्न चाहन्छन्, उनीहरूले गाउँमै वा साइकलबाट पुग्न सक्ने दूरीमा प्लस टू पढ्न पाउन सके भने एसएलसीपछिको उच्चशिक्षा पढ्न नपाउने मानिसहरूले अवसर प्राप्त गर्ने थिए । महिलाहरू गाउँबाट बाहिर जान नपाउने, मधेसी समुदायमा छोरीलाई बाहिर पठाउन अहिले पनि हिच्किचाउने अभिभावकहरू भएकाले छोरीलाई उच्चशिक्षामा उल्लेख्य प्रवेश गराउन अभियान नै चलाउनु आवश्यक छ । छिटो विवाह गरिदिने चलन, असुरक्षाजस्ता कारणले चाहना हुँदाहुँदै पनि किसोरकिसोरीहरू उच्चशिक्षा पढ्न सकिरहेका छैनन् ।
प्लस टू पढ्न चाहनेहरूले बाबुआमाको करकापमा नलागी, आफ्नो क्षमताअनुसार पढ्नुपर्छ । त्यसबाहेक देशमा कुन–कुराको आवश्यक छ । रोजगारीमूलक, स्वरोजगारमा लाग्न सक्नेखालको प्लस टू शिक्षा वा प्राविधिक शिक्षालाई अँगाल्नु उपयुक्त हुन्छ ।
विद्यार्थीले पढेर मात्र हुँदैन । विद्यार्थीले पढेर धेरै नम्बर ल्याउने तर व्यवहार र कार्यक्षेत्रमा असफल हुने आम प्रवृत्ति बनेको छ । त्यसैले प्लस टूमा प्रयोगात्मक शिक्षाको विधिलाई बढी प्राथमिकता दिनुपर्छ । पढेको विषयमा पूरै अवधि सिद्धान्त मात्र पढ्ने होइन त्यसको लागि फिल्डमा गएर व्यवहार सिक्ने काम पनि गर्नु उत्तिकै आवश्यक छ ।
नाम चलेका र झिल्के प्रचार–प्रसार भएका कलेजमा बढी विद्यार्थी आकर्षित हुने गरेका छन् । नाम कसरी चलेको छ ? यहाँ अभिभावकले बधाई दिँदा पनि स्कूलले विज्ञापनको शुल्क तिर्ने गरेको पाइन्छ । बगरले खसीको टाउको देखाएर भैंसीको मासु बेचेजस्तो कतिपय निजी विद्यालयले विशेषज्ञ शिक्षक रहेको देखाएर कमसल शिक्षकलाई अध्यापनमा लगाउने गरेको पाइन्छ । गुणस्तरीय शिक्षा प्रदान गर्ने उच्चमाविहरूको नीति, प्राध्यापन जनशक्ति, भौतिक पूर्वाधार, शैक्षिक वातावरण, विद्यार्थी अनुशासन, प्रयोगात्मक पक्षलाई दिएको प्राथमिकता र पुस्तकालयको अवस्था समष्टिगतमा हेरेर नै विद्यालयहरू छनौट गरी पढ्नुपर्छ ।
विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र अन्य प्राविधिक विषयमध्ये जुन पढे पनि फरक पर्दैन । विद्यार्थीहरू आकर्षक विद्यालय पोशाक र सिँगारिएका विद्यालय भवनलाई हेरेर मात्र पढ्न  जाने गर्छन् । यस्तो अडम्बरबाट अभिभावक र विद्यार्थी दुवै बच्नुपर्छ ।
छात्राले लगाउने पोशाकको छोट्याइ हेरेर छात्रहरूले पढ्नका लागि शिक्षालय छनोट गर्ने विकृति पनि देखिन्छ । विद्यालयमा मोबाइल लाने प्रवृत्तिले पनि नकारात्मक प्रभाव परेको छ । विद्यार्थीलाई पढ्नका लागि नामाङ्कन गराएपछि आफ्नो दायित्व पूरा भएको देख्ने अभिभावकको बानी पनि गलत हो । अभिभावकले नियमितरूपमा आफ्नो छोराछोरीको पढाइका बारेमा जानकारी लिइराख्ने र स्वयम् स्कुलमा गएर बुझ्ने तथा वार्षिक–अर्धवार्षिक क्रियाकलाप र परीक्षाको नतिजाबारे चासो राख्ने गर्नुपर्छ ।
सहरी क्षेत्रमा उच्चमावि र कलेजको पोशाकमै विद्यार्थी डिस्को तथा डेटिङमा जाने, कुलतमा लागेर ड्रग लिने कारणले गर्दा शिक्षा जगतमा नकारात्मक असर परेको छ । यसमा विद्यालय प्रशासन र अभिभावक दुवैले संवेदनशील भएर सोच्नुपर्छ ।
अहिलेको शिक्षा कक्षा ११ वा १२ पढेर त्यसपछि के गर्ने भन्ने योजनासँग सम्बन्धित हुनुपर्छ । तर, फेसनको युग र नयाँ सीपअनुसारको रोजगारीको विश्वबजारको मागका कारणले होटल तथा पर्यटन व्यवसाय, फेसन डिजाइन, ब्यूटीपार्लरसम्बन्धी तालिम, वन, कृषि, वातावरण, प्राविधिक शिक्षा, खाद्य र पशुसम्बन्धी शिक्षाको पनि उत्तिकै माग रहेकाले त्यसतर्फ पनि ध्यान दिनुपर्छ । यसका लागि सर्टिफिकेट वितरण गर्न मात्रै खुलेका केही प्राविधिक शिक्षालयमा जानुभन्दा प्रयोगात्मक अभ्यास बढी गर्न पाउने र गुणस्तरीय शिक्षा दिने शिक्षालयमा जानुपर्छ । साथै, तोकिएको प्रयोगात्मक अभ्यास कसरी गराइरहेको छ भन्ने कुरा नियमित निरीक्षण गरी कमसल गर्नेलाई खारेज गर्ने प्रावधानमा राज्य जानुपर्छ । यसले गुणस्तरीय प्राविधिक शिक्षाको व्यवस्था हुन सक्छ र विदेशमा रोजगार गर्न जानेहरूले पनि दक्ष कामदारको रूपमा काम पाएर बढी आम्दानी गर्न सक्छन् ।
नेपालको शिक्षानीति अहिले पनि पुरातन प्रणालीको छ । विश्वबजारलाई ध्यान दिई शिक्षानीतिमा परिवर्तन गर्ने र नयाँ विषयलाई गाउँस्तरका प्लस टूमा समेत पु¥याउनेतर्फ उच्च माध्यमिक शिक्षा परिषद्ले विशेष ध्यान दिनुपर्छ । साथै, परीक्षा लिने प्रणाली वर्षमा एक पटक भएकाले विद्यार्थीहरू गेसपेपरमा भर पर्ने र रिफरेन्स पुस्तकहरू नपढ्ने भएकाले तर्क शक्ति कमजोर हुने र रटेर पास गर्ने चलन बढ्ने भएकाले यसरी उत्पादन भएको शैक्षिक जनशक्तिले कुनै काम नदिने हुन्छ । उल्टै रोजगारी पाइएन भनी निराशा उत्पन्न र राज्यसँग दूरी बढ्ने भएकाले राज्यले जहिले पनि अध्ययनशील बनाउन वर्षमा चार पटकसम्म प्रयोगमूलक परीक्षा लिने र परीक्षाका प्रश्नहरू पनि रिफरेन्स पुस्तकको अध्ययन र प्रयोगात्मक अनुभवका आधारमा मात्र लेख्न सकिने गरी बनायो भने विद्यार्थी कक्षामा नियमित हुने र दक्ष तथा सीपवान भई जहाँ पनि बिक्न सक्ने हुन्छन् । यसतर्फ शिक्षासँग सरोकार राख्नेहरूले सोच्नु आवश्यक छ । त्यसैले प्लस टू प्रवेश गर्दा हतारिएर जानुभन्दा सबै पक्षलाई विश्लेषण गरेर मनमा सन्तुष्टि हुने गरी विषयको छनोट गर्नुपर्छ ।

विजयप्रसाद  मिश्र

एसएलसी : निजीको पेवा ?

Written By Neplee on Friday, February 17, 2012 | 6:23 PM


१० कक्षामा हुने दोस्रो अन्तिम एसएलसी परीक्षा यसवर्ष चैत ७ गतेदेखि सञ्चालन हुँदैछ । नजिकिएको परीक्षासँगै एसएलसीलाई व्यवस्थित पार्दै धमिलिएको छविलाई सुधार्ने परीक्षा नियन्त्रकको पुरानै प्रतिबद्घताको निरन्तरता यसपटक पनि दोहोरिएको छ । तर, नियन्त्रकको प्रतिबद्घताविपरित परीक्षा भने अमर्यादित, उच्छृङ्खल, अभद्र अवस्थामै रहेको वर्तमान अवस्था छ । जसले गर्दा राष्ट्रव्यापी परीक्षाको मर्यादा कुनै आधारमा पनि एसएलसीले बोकेको देखिँदैन नै, यो गलत शैक्षिक मूल्याङ्कनको आधारकारूपमा समेत बदनाम हुन पुगेको छ ।
एसएलसीमा प्राप्त नतिजाका आधारमा आजका दिनमा व्यक्तिको योग्यताको लेखाजोखा गर्ने मूर्खता अब सायदै कसैले गर्लान् । कक्षा १२ सम्मलाई विद्यालय शिक्षाअन्तर्गत गाभ्ने पूर्वतयारीको वर्तमान परिप्रेक्ष्यमा, यो वर्षको एसएलसी दोस्रो अन्तिम हुने चर्चाले पनि यसको महत्व खस्केको  देखिँदैछ । झन् परीक्षाको मुखमा आएर यस वर्षदेखि सरकारले टेस्ट परीक्षा स्थागन गर्नुले यसप्रति आशङ्का बढाएको छ । तर, यथेष्ट तयारी, नीति–निर्माण अनि पाठ्यक्रम परिमार्जनविना आउँदो शैक्षिकशत्रदेखि नै कक्षा १२ सम्मलाई विद्यालय शिक्षा घोषणा गरी कक्षा १२ को वार्षिक परीक्षालाई एसएलसी परीक्षाको रूपमा उभ्याउन सजिलो भने छैन ।
यता, एसएलसीमा उत्कृष्ट नतिजा नियाल्न चाहने कतिपय निजी विद्यालयका अनेक ताण्डव पनि बजारमा देखिन थालेका छन् । एसएलसी परीक्षा जसरी पनि पास गराउनैपर्ने विद्यालयको मानसिकताको सेरोफेरोमा हुने अनेक अनपेक्षित क्रियाकलापले यसको महत्व र मर्यादा खस्काएको छ । पारिवारिक अनि विद्यालयगत इज्जत, शान अनि प्रतिष्ठासँग जोडिएको यो परीक्षा नतिजाको व्यापारिक किनमेलका रूपमा विकास भएको छ भन्दा अत्युक्ति नहोला ।
हाल एसएलसीको स्तरीयताभन्दा परिणाम र उत्तीर्ण सङ्ख्यामा जोड दिएको पाइन्छ । विद्यालयका सञ्चालक, शिक्षक, अभिभावक अनि शुभचिन्तकहरू चिट चोराएर भए पनि विशिष्ट नतिजा निकाल्नेतर्फ अतिसय जागरुक देखिन्छन् । परीक्षा भवन आसपास देखिने दृश्यले यो तथ्यलाई पुष्टि गर्छ ।
अभिभावक अनि आफन्तहरूको परीक्षा केन्द्र बाहिर देखिने तरकारी बजारझैँ भीडले आफ्ना छोराछोरीलाई चोराएरै भए पनि उत्कृष्ट नतिजा निकाल्ने हीन मानसिकतालाई प्रतिनिधित्व गर्छन् । यसबाट विद्यार्थीको मनोबल पनि स्तरीयतामाभन्दा चोरेर पास गर्नेतर्फ पे्ररित भएको पाइन्छ । परीक्षाका बेला गरिने सुरक्षा जाँच पनि खासै प्रभावकारी देखिँदैन । अधिकांश परीक्षाकेन्द्रमा विद्यार्थीले मोटो गाइड, गेसपेपर खुलेआम छिराउनु कुनै अप्ठ्यारो काम होइन ।
त्यसो त एसएलसी परीक्षाको नतिजा निजी विद्यालय सञ्चालकका गोजीमा छ भन्दा कसैको दुईमत नहोला । चोर्नु चोराउनु त नियति नै भइसक्यो । निजी विद्यालयहरूले जसरी पनि आफ्ना विद्यार्थी पास गराउनका लागि पायक पर्ने स्थानमा परीक्षा केन्द्र मिलाउने अनि केन्द्राध्यक्ष र गार्डहरूलाई सक्दो खर्चेर किन्ने प्रवृत्ति अहिलेको शास्वत सत्य हो । विद्यालयको भौतिक अवस्था सुधार्न लगानी नगर्ने सञ्चालकहरूले उत्कृष्ट नतिजाको लागि भने पैसाको खोलो बगाउने गरेका छन् । प्रत्येक वर्ष केन्द्राध्यक्ष छनोटका बेलामा देखिने प्रतिस्पर्धाले यसलाई पुष्टि गर्छ ।
एसएलसीको परीक्षाफल विद्यालयको प्रतिष्ठासँग जबरजस्ती गाँसेकाले यस्ता प्रक्रियाहरू स्वाभाविक भएको सञ्चालकहरू स्वयम् नै स्वीकार गर्छन् । एसएलसीको नतिजालाई विज्ञापनको कडी बनाएर विद्यार्थीहरू सोहोर्ने स्थापित प्रवृत्तिले पनि जरो गाडेको छ हामीकहाँ ।
 त्यस्तै, परीक्षाहलमा विद्यार्र्थीले आफ्ना कक्षाकोठाभन्दा भिन्न अनुभव नै गर्न पाउँदैनन् । पहिलेनै सीट–प्लान मिलाइएको हुन्छ । आफ्नै विद्यालयका शिक्षक तथा प्रिन्सिपल समेत चिट चोराउन परीक्षाहलमै उपस्थित हुन्छन् । कतिपय नाम चलेका विद्यालयले उत्तरको फोटोकपी परीक्षाहलमै उपलब्ध गराएको समाचार पनि सुन्न पढ्न पाइएकै छ ।
आजीवन विद्यालयको कुनै परीक्षा शुद्घसँग पास नगर्ने विद्यार्थीले एसएलसीमा डिस्टिङ्सन प्राप्त गर्नु, कुन अवस्थाको उपज हो ? जोसुकैले सहजै अन्दाज लगाउन सक्छ । कुनै एउटा विद्यालयले परीक्षामा सामेल गराएका लगभग सम्पूर्ण विद्यार्थीले डिस्टिङ्सन ल्याउनु पत्याउने कुरै होइन ।
एसएलसी परीक्षाको स्तर घट्दो छ । शिक्षाको गुणस्तर खस्केको कारण पढेर पनि पास गर्न सकिन्छ भन्ने विश्वास घटेको छ । शिक्षाका सरोकारवाला व्यक्तिहरू यस विषयमा वर्षौदेखि बेखबरजस्तै छन् । अनि निजी विद्यालयलाई रिजल्टको व्यापार गर्ने प्रोत्साहन दिइरहेकै छन् । तर, सधैँ यस्तो होला त ? सरकारले चाहने हो भने स्वतस्फूर्तरूपमा परीक्षा मर्यादित हुन सक्छ ।

पूर्वमा एसएलसी


जम्मा परीक्षार्थी ः १,२३,१६४
परीक्षार्थी नियमिततर्फ ः ९९,१०८
परीक्षार्थी एक्जाम्टेडतर्फ ः २४,०५६
आबद्ध विद्यालय ः १,७६९
परीक्षा केन्द्र ः ४२०
एसएलसी दिने विद्यार्थीको सङ्ख्या बढे पनि नियमित समूहतर्फ एसएलसी परीक्षामा उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या भने तीन वर्षयता लगातार घट्दो छ । शैक्षिक सत्र २०६५ मा ६८ हजार ९८२ जना (८० दशमलव १५ प्रतिशत) उत्तीर्ण भएकोमा २०६६ मा ५८ हजार ६५१ जना  (६२ दशमलव ४२ प्रतिशत) र २०६७ मा ४२ हजार ३६७ जना (४४ दशमलव ८० प्रतिशत) मात्र उत्तीर्ण भएको तथ्याङ्कले देखाउँछ । तथ्याङ्क तालिकामा दिइएको छ ः
अनियमितता गर्नेलाई सार्वजनिक मुद्दा
एसएलसी परीक्षामा अनियमितता गर्नेलाई कसुर हेरेर सार्वजनिक अपराधसम्मको मुद्दा लगाउने तयारी भएको शिक्षामन्त्री दीनानाथ शर्माले बताएका छन् ।
‘परीक्षाको गोपनीयता, सुरक्षा र शुद्धतामा प्रभाव पार्न खोज्ने कसैलाई छाडिँदैन,’ उनले भने, ‘कसुर हेरेर सार्वजनिक अपराधसम्मको ऐन लगाएर कारबाही गर्न सकिन्छ ।’ शिक्षामन्त्री शर्माले अनुशासित र मर्यादित परीक्षा चलाउने प्रत्येक जिल्लाको उत्कृष्ट केन्द्रलाई पुरस्कृत गर्ने बताए ।
शिक्षा ऐनले परीक्षाको मर्यादा भङ्ग गरे कसुर हेरी एकलाख रुपैयाँसम्म जरिवाना र छ महिना कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको छ ।
यता, परीक्षा नियन्त्रण कार्यालयकाअनुसार एसएलसी परीक्षाका लागि देशभर एक हजार सात सय ४८ परीक्षा केन्द्र तोकिएको छ । परीक्षामा ५६ हजार शिक्षक कर्मचारी संलग्न छन् ।

सकिएन कोर्स


समयमै कोर्स नसकिने सामुदायिक विद्यालयको  रोगले यसपटक पनि धेरै विद्यार्थीलाई पिरोलेको छ । एसएलसी दिनुअघि विद्यालयले लिने टेस्ट परीक्षा एक महिनाअघि नै भयो तर कतिपय विद्यालयको कोर्स यो वर्ष पनि सकिएन । सरकारी बिदाका कारण लामो समय विद्यालय बन्द र व्यवस्थापन समितिको लापरवाही कोर्स नसकिनुको कारक मान्न सकिन्छ । तर, सरकारी विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरू यी दुवै कारकलाई मान्न तयार देखिँदैनन् ।
अधिकांश विद्यालयले विभिन्न समयमा हुने बन्द तथा हड्ताललाई कोर्स नसकिनुको बहाना बनाउने गरेका छन् । वर्षमा दुई सय २० दिनलाई शैक्षिक दिन मानिए पनि बन्द तथा शिक्षकहरूको लापरवाही र व्यवस्थापन समितिको कमजोरीका कारण शैक्षिक सत्रभित्र पाठ्यपुस्तकको पाठ पढाएर नसकिने गरेको हो ।
त्यति मात्र होइन, सम्बन्धित विषय शिक्षकको अक्षमताका कारण पनि कोर्स समयमै सक्न गाह्रो हुन्छ । प्रभावकारी तरिकाले विद्यार्थीलाई पढाउन नसक्ने शिक्षकहरू एउटै पाठमासमेत लामो समय अल्मलिन्छन् । जसको कारण नयाँ शैक्षिक सत्र सुरु हुँदासमेत कोर्स नसकिने समस्या हुन्छ । विशेषतः नेपालका पहाडी तथा ग्रामीण क्षेत्रका विद्यालयमा यो समस्या देखिन्छ ।
उदयपुर, खोटाङ, ओखलढुङ्गा, इलाम, पाँचथर तेह्रथुमजस्ता पहाडी जिल्लामा समयमा पुस्तक अभाव हुने
रोगले कोर्स पूरा हुँदैन भने तराई क्षेत्रमा बन्द–हड्ताल तथा लामो सरकारी–बिदाका कारण पनि समयमा कोर्स सक्न हम्मे पर्ने गरेको शिक्षकहरू बताउँछन् ।
उदयपुर आँपटारका अधिकांश विद्यालयले कोर्स पढाउन नसकेको स्थानीय शिक्षक महेन्द्रबहादुर राउतले बताए । ‘बन्द–हड्ताललगायत कारणले कोर्स पूरा गर्न सकिएन,’ उनले भने, ‘भनेको बेला पाठ्यपुस्तक नपाउनु पनि यसको मुख्य कारण हो ।’ पढाइ पूरा गर्न नसकेपछि परीक्षा पनि मर्यादित गर्न समस्या हुने शिक्षकहरू बताउँछन् ।
विभिन्न समयमा हुने बन्दले विद्यालय खुल्ने र पढाइ हुने दिनलाई प्रभावित बनाउने गरेको छ । त्यसबाहेक पनि शिक्षकबाट प्रभावकारी शिक्षण विधिका प्रयोग नहुनु र जिम्मेवारी अभावलाई पनि कारक मान्न सकिन्छ । वर्षमा दुई सय २० दिन विद्यालय खुल्नुपर्ने र एक सय ९२ दिन पढाइ हुनुपर्ने नियम छ । तर, बन्द तथा हड्तालका कारण कुनै महिनामा त दुई हप्ता पनि विद्यालय सञ्चालन गर्न गाह्रो हुन्छ ।
गत फागुनमा पनि विभिन्न समयमा भएका बन्दका कारण एक हप्ताभन्दा बढी दिन अध्ययन–अध्यापन कार्य प्रभावित बन्यो । त्यसबाहेक शैक्षिक मागका लागि हड्ताल भन्दै शिक्षकहरू आन्दोलनमा हिँडेपछि विद्यालयको पठनपाठन नै प्रभावित बन्दै आएको छ । १२ महिनामा झन्डै ६ महिना पनि पढाइको राम्रो वातावरण बन्न नसक्दा गुणस्तरीय शिक्षा सोचाइ नारामा मात्र सीमित हुन पुगेको छ भने विद्यार्थीको शैक्षिक भविष्य अन्यौलग्रस्त बन्दो छ ।
पढाइ पूरा नभएपछि एसएलसी पनि पास नगरिने हो कि भन्ने दोधारमै परीक्षामा सहभागी हुन लागेको विद्यार्थीको गुनासो छ । कोर्स पूरा नभएका कारण अधिकांश विद्यार्थीको टेस्ट पनि अपेक्षित हुन सकेन, जसको मनोवैज्ञानिक असर विद्यार्थीमा परेको छ ।  समयमा पढाइ नसकिएपछि महँगो शुल्क तिरेर विद्यार्थीहरू ट्युसन र कोचिङ सेन्टरमा भर पर्न बाध्य भए । विद्यालयमा समयमै कोर्स नसकिँदा विद्यार्थीले आर्थिक क्षति सहनुका साथै मानसिक तनावकाबीच परीक्षा दिने अवस्था उत्पन्न भएको छ ।
विद्यालय बन्दबाट न्यून आय भएका सामुदायिक विद्यालयका विद्यार्थी बढी प्रभावित बन्न गरेका छन् । निजी विद्यालयका विद्यार्थीहरूले कोचिङ र ट्युसनमा पैसा खर्च गर्न सक्ने हैसियत राखे पनि सामुदायिक विद्यालयका विद्यार्थीलाई शिक्षाका लागि भने जति लगानी गर्न गह्रो हुन्छ ।  जसबाट उनीहरू पूर्णरूपमा विद्यालयमै आश्रित हुन्छन् । तर, पढाउनुपर्ने शैक्षिक संस्थाका शिक्षकहरूको आन्दोलन र विभिन्न समयमा विभिन्न समूहले गर्ने बन्दका कारण शिक्षाक्षेत्र गुणस्तरहीन बन्दै गएको छ । विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरिए पनि कार्यान्वयन हुन नसकेको सम्बद्ध पक्षहरूले गुनासो गर्ने गरेका छन् ।
विद्यालयका शिक्षक जबसम्म जिम्मेवार हुँदैनन्, तबसम्म विद्यालयमा कोर्स नसकिने समस्या यथावत् रहने सुनसरीका जिल्ला शिक्षा अधिकारी दिव्यराज कट्टेल बताउँछन् । ‘शिक्षक जिम्मेवार नहुनु र आन्दोलनमा समय बिताउनुले विद्यालयको शैक्षिक क्यालेण्डर प्रभावित हुने गरेको छ,’ उनले भने, ‘शिक्षकहरूले आफ्नो कर्तव्य बुझ्नुपर्छ अनि मात्र समयमा कोर्स सकिन्छ ।’
हिमाल दहाल
अभावका बीचमा उत्कृष्ट
६० वर्षीय अमरसिंह बुस्थापा साँझको खाना खानेबित्तिकै हातमा टर्च बोकेर परीक्षाको तयारी गरिरहेका विद्यार्थीको घरघरमा चियो गर्न निस्कन्छन् । जुम्लामा रहेको कर्णाली माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भएपछि तीन वर्षदेखि उनको यो ‘ड्यूटी’ नियमित बनेको छ ।
गत जेठ–असारमा विद्यालयकी प्रधानाध्यापक कान्तिका सेजुवाल विद्यालयको कामले काठमाडौं गइन् । तर उनले विद्यालयबाट काज वा बिदा लिइनन् बरु विद्यालयमा सट्टा शिक्षक राखिन् ।
व्यवस्थापन समिति र शिक्षकको यस्तै मेहनत र लगनले कर्णाली माध्यमिक विद्यालय सिंगो कर्णाली अञ्चलकै नमुना विद्यालय बनेको छ । सधैँ बन्द, हड्ताललगायतका समस्या र अभावको बहानामा सहरी क्षेत्रमा रहेका सामुदायिक विद्यालयले समेत पठन–पाठन प्रभावित हुने गरेको गुनासो गरिरहँदा जुम्लाको यो विद्यालय भने सामुहिक प्रयासमा नमुना विद्यालय बनेको छ ।
२०६३ देखि एसएलसीमा सहभागी सो विद्यालयले जिल्लाका पुराना १९ वटा माविलाई उछिन्दै उत्कृष्ट नतिजा हासिल गरिरहेको छ । कक्षा ८ को जिल्लास्तरीय परीक्षामा पनि सो विद्यालयको शीर्षस्थानमा छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुस्थापा भन्छन्, ‘यहाँका शिक्षक र अभिभावक भित्री मनबाटै विद्यालय बनाउनुपर्छ भनेर लागेकोले विद्यालयले सफलता हासिल गरेको हो ।’
ग¥यो भने के हुँदैन ? बन्दका बीचमा पनि विद्यालय खोल्न सकिन्छ । अभावका बीचमा पनि राम्रो अध्यापन गराउन सकिन्छ । विद्यार्थीहरू विद्यालय नआउने समस्या पनि समाधान गर्दै विद्यालयमा विद्यार्थीलाई आकर्षित गर्न सकिन्छ । तर, ती सबै विद्यालयका शिक्षक र अविभावकको सामुहिक प्रयासमा सम्भव हुन्छ । कर्णाली माविले सफलता पाउनुमा शिक्षकको हात छ । विद्यालयका १४ शिक्षक जरुरी कामबाहेक बिदा बस्दैनन् । बस्नै परे सट्टा शिक्षक राखेर बस्छन् । ‘शिक्षा ऐनमा शिक्षकलाई विभिन्न बिदा व्यवस्था भए पनि हामी त्यसलाई भरसक उपयोग गर्दैनौँ,’ प्रधानाध्यापक सेजुवाल भन्छिन्, ‘हामीमा पैसाभन्दा विद्यार्थीको भविष्य ठूलो हो भन्ने भावना छ ।’
कर्णाली मावि वर्षमा सरदर दुई सय ३० दिन खुल्छ, जुन तथ्य पूरा गर्न जुम्ला मात्र होइन, मुलुकका अन्य विद्यालयलाई पनि गाह्रो छ । विद्यालयका शिक्षक, व्यवस्थापनसमितिको इमान्दारिता र लगनका कारण क्यालेन्डरमा रातो लागेकोबाहेक बन्द÷हड्ताल वा स्थानीय बिदाका नाममा विद्यालय बन्द हुँदैन । सङ्कटकालका बेलामा समेत विद्यालय बन्द नभएको सेजुवाल बताउँछिन् ।
विद्यालयले तीन वर्षमै जिशिकासाथै अन्य सरकारी तथा गैरसरकारी दाताको विश्वास जितेको छ । पर्खाल निर्माणको प्रस्ताव लिएर जानेवित्तिकै शान्ति तथा पुनर्निर्माण मन्त्रालयले २० लाख रुपैयाँ दिएको सम्झँदै अध्यक्ष बुस्थापा भन्छिन्, ‘विद्यालयले शिक्षा मन्त्रालयबाट एसएलसीमा उत्कृष्ट हुँदा २०६४ मा एक लाख र २०६५ मा चार लाख रुपैयाँ पाएको छ, विद्यालयको भौतिक अवस्था विकासको लागिसमेत सहयोग पाइरहेका छौँ ।’
विद्यालयले सङ्ख्याभन्दा गुणस्तरलाई प्राथमिकता दिने नीतिअनुरुप कक्षा ६ देखिमाथि बाह्य भर्ना बन्द गरेको छ । विद्यार्थीको भीडका कारण तल्लो कक्षामा पनि प्रवेश परीक्षा लिएर मात्र भर्ना लिने सेजुवाल बताउँछिन् । अविभावक र शिक्षकको सामुहिक प्रयासमा विद्यालयको उन्नति निर्भर गर्छ । सामुहिक मेहनत र आफ्नो भन्ने भावनाले काम गरेकोले नै आज उक्त विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षले सर्वत्र स्याबासी पाएका छन् । नेपालकै विकट जिल्ला जुम्लामा रहेको यो विद्यालयबाट तपाई हामीले पनि केही पाठ सिक्ने हो कि ?
सन्दर्भ स्रोत ः नागरिक दैनिक

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved