एसएलसी : निजीको पेवा ?
Written By Neplee on Friday, February 17, 2012 | 6:23 PM
१० कक्षामा हुने दोस्रो अन्तिम एसएलसी परीक्षा यसवर्ष चैत ७ गतेदेखि सञ्चालन हुँदैछ । नजिकिएको परीक्षासँगै एसएलसीलाई व्यवस्थित पार्दै धमिलिएको छविलाई सुधार्ने परीक्षा नियन्त्रकको पुरानै प्रतिबद्घताको निरन्तरता यसपटक पनि दोहोरिएको छ । तर, नियन्त्रकको प्रतिबद्घताविपरित परीक्षा भने अमर्यादित, उच्छृङ्खल, अभद्र अवस्थामै रहेको वर्तमान अवस्था छ । जसले गर्दा राष्ट्रव्यापी परीक्षाको मर्यादा कुनै आधारमा पनि एसएलसीले बोकेको देखिँदैन नै, यो गलत शैक्षिक मूल्याङ्कनको आधारकारूपमा समेत बदनाम हुन पुगेको छ ।
एसएलसीमा प्राप्त नतिजाका आधारमा आजका दिनमा व्यक्तिको योग्यताको लेखाजोखा गर्ने मूर्खता अब सायदै कसैले गर्लान् । कक्षा १२ सम्मलाई विद्यालय शिक्षाअन्तर्गत गाभ्ने पूर्वतयारीको वर्तमान परिप्रेक्ष्यमा, यो वर्षको एसएलसी दोस्रो अन्तिम हुने चर्चाले पनि यसको महत्व खस्केको देखिँदैछ । झन् परीक्षाको मुखमा आएर यस वर्षदेखि सरकारले टेस्ट परीक्षा स्थागन गर्नुले यसप्रति आशङ्का बढाएको छ । तर, यथेष्ट तयारी, नीति–निर्माण अनि पाठ्यक्रम परिमार्जनविना आउँदो शैक्षिकशत्रदेखि नै कक्षा १२ सम्मलाई विद्यालय शिक्षा घोषणा गरी कक्षा १२ को वार्षिक परीक्षालाई एसएलसी परीक्षाको रूपमा उभ्याउन सजिलो भने छैन ।
यता, एसएलसीमा उत्कृष्ट नतिजा नियाल्न चाहने कतिपय निजी विद्यालयका अनेक ताण्डव पनि बजारमा देखिन थालेका छन् । एसएलसी परीक्षा जसरी पनि पास गराउनैपर्ने विद्यालयको मानसिकताको सेरोफेरोमा हुने अनेक अनपेक्षित क्रियाकलापले यसको महत्व र मर्यादा खस्काएको छ । पारिवारिक अनि विद्यालयगत इज्जत, शान अनि प्रतिष्ठासँग जोडिएको यो परीक्षा नतिजाको व्यापारिक किनमेलका रूपमा विकास भएको छ भन्दा अत्युक्ति नहोला ।
हाल एसएलसीको स्तरीयताभन्दा परिणाम र उत्तीर्ण सङ्ख्यामा जोड दिएको पाइन्छ । विद्यालयका सञ्चालक, शिक्षक, अभिभावक अनि शुभचिन्तकहरू चिट चोराएर भए पनि विशिष्ट नतिजा निकाल्नेतर्फ अतिसय जागरुक देखिन्छन् । परीक्षा भवन आसपास देखिने दृश्यले यो तथ्यलाई पुष्टि गर्छ ।
अभिभावक अनि आफन्तहरूको परीक्षा केन्द्र बाहिर देखिने तरकारी बजारझैँ भीडले आफ्ना छोराछोरीलाई चोराएरै भए पनि उत्कृष्ट नतिजा निकाल्ने हीन मानसिकतालाई प्रतिनिधित्व गर्छन् । यसबाट विद्यार्थीको मनोबल पनि स्तरीयतामाभन्दा चोरेर पास गर्नेतर्फ पे्ररित भएको पाइन्छ । परीक्षाका बेला गरिने सुरक्षा जाँच पनि खासै प्रभावकारी देखिँदैन । अधिकांश परीक्षाकेन्द्रमा विद्यार्थीले मोटो गाइड, गेसपेपर खुलेआम छिराउनु कुनै अप्ठ्यारो काम होइन ।
त्यसो त एसएलसी परीक्षाको नतिजा निजी विद्यालय सञ्चालकका गोजीमा छ भन्दा कसैको दुईमत नहोला । चोर्नु चोराउनु त नियति नै भइसक्यो । निजी विद्यालयहरूले जसरी पनि आफ्ना विद्यार्थी पास गराउनका लागि पायक पर्ने स्थानमा परीक्षा केन्द्र मिलाउने अनि केन्द्राध्यक्ष र गार्डहरूलाई सक्दो खर्चेर किन्ने प्रवृत्ति अहिलेको शास्वत सत्य हो । विद्यालयको भौतिक अवस्था सुधार्न लगानी नगर्ने सञ्चालकहरूले उत्कृष्ट नतिजाको लागि भने पैसाको खोलो बगाउने गरेका छन् । प्रत्येक वर्ष केन्द्राध्यक्ष छनोटका बेलामा देखिने प्रतिस्पर्धाले यसलाई पुष्टि गर्छ ।
एसएलसीको परीक्षाफल विद्यालयको प्रतिष्ठासँग जबरजस्ती गाँसेकाले यस्ता प्रक्रियाहरू स्वाभाविक भएको सञ्चालकहरू स्वयम् नै स्वीकार गर्छन् । एसएलसीको नतिजालाई विज्ञापनको कडी बनाएर विद्यार्थीहरू सोहोर्ने स्थापित प्रवृत्तिले पनि जरो गाडेको छ हामीकहाँ ।
त्यस्तै, परीक्षाहलमा विद्यार्र्थीले आफ्ना कक्षाकोठाभन्दा भिन्न अनुभव नै गर्न पाउँदैनन् । पहिलेनै सीट–प्लान मिलाइएको हुन्छ । आफ्नै विद्यालयका शिक्षक तथा प्रिन्सिपल समेत चिट चोराउन परीक्षाहलमै उपस्थित हुन्छन् । कतिपय नाम चलेका विद्यालयले उत्तरको फोटोकपी परीक्षाहलमै उपलब्ध गराएको समाचार पनि सुन्न पढ्न पाइएकै छ ।
आजीवन विद्यालयको कुनै परीक्षा शुद्घसँग पास नगर्ने विद्यार्थीले एसएलसीमा डिस्टिङ्सन प्राप्त गर्नु, कुन अवस्थाको उपज हो ? जोसुकैले सहजै अन्दाज लगाउन सक्छ । कुनै एउटा विद्यालयले परीक्षामा सामेल गराएका लगभग सम्पूर्ण विद्यार्थीले डिस्टिङ्सन ल्याउनु पत्याउने कुरै होइन ।
एसएलसी परीक्षाको स्तर घट्दो छ । शिक्षाको गुणस्तर खस्केको कारण पढेर पनि पास गर्न सकिन्छ भन्ने विश्वास घटेको छ । शिक्षाका सरोकारवाला व्यक्तिहरू यस विषयमा वर्षौदेखि बेखबरजस्तै छन् । अनि निजी विद्यालयलाई रिजल्टको व्यापार गर्ने प्रोत्साहन दिइरहेकै छन् । तर, सधैँ यस्तो होला त ? सरकारले चाहने हो भने स्वतस्फूर्तरूपमा परीक्षा मर्यादित हुन सक्छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !