शिक्षामा नयाँ विकृति बङ्क - College Times : Educational Magazine
Headlines News :
Home » » शिक्षामा नयाँ विकृति बङ्क

शिक्षामा नयाँ विकृति बङ्क

Written By Neplee on Friday, February 17, 2012 | 6:23 PM


बढ्दो प्रविधिको प्रयोग र पश्चिमी संस्कारको प्रभावमा कलेजका विद्यार्थीहरू बङ्कतर्फ आकर्षित भएपछि कलेजका लागि समस्या बनेको छ । विद्यार्थीहरू कक्षामा हुने शिक्षण सिकाइ क्रियाकलापमा सहभागी हुन छोडेर कलेज बाहिरको वातावरणमा रमाउन थालेकाले कलेजहरू त्यसको समाधान कसरी गर्ने भन्ने चिन्तामा छन् ।
बङ्क नियन्त्रणका लागि थुप्रै कलेजहरूले विद्यार्थीलाई मोबाइल, मोटरसाइकलजस्ता साधनहरू कलेज समयमा प्रयोग गर्न रोक लगाएका छन् । तर, खाने मुखलाई जुँगाले छेक्दैन भनेझँ विद्यार्थीहरूल ेकलज बङ्क गर्न छोडेका छैनन् । अहिले ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा रहेका कलेज र प्लस–टुका विद्यार्थी बढी बाहिरी वातावरणमा रमाउने गरेको पाइन्छ ।
‘अहिलेका विद्यार्थीलाई कारबाही गरेर, सजाय दिएर समस्या समाधान हुँदैन’, मोडल कलेज धरानका प्रमुख जीवनकुमार राई भन्छन्, ‘हामीले कलेज बङ्क गर्ने विद्यार्थीलाई बोलाएर काउन्सिलिङ गर्ने गरेका छौँ ।’ विद्यार्थीलाई सही मार्गनिर्देशनको जहिले पनि आवश्यकता पर्दछ । कलेज पढ्ने उमेरका विद्यार्थीलाई डर र त्रास देखाएर उनीहरूलाई सही बाटोमा ल्याउन नसकिने भएकाले उनीहरूलाई बङ्क गर्नु नराम्रो हो भनेर महसुस गराउने काम केही कलेजहरूले गरेका छन् ।
धेरैजसो कलेजले विद्यार्थी कम्पाउण्डबाट भित्र प्रवेश गरेपछि बाहिर निस्कन गेटमा कडाइ गरेका छन् । विभिन्न बहानामा विद्यार्थीले कक्षा बङ्क गर्ने गरेको थाहा पाएपछि घरमा काम पर्दा र अपर्झट पर्दा मात्र विद्यार्थीलाई बाहिर जाने अनुमति दिने गरेको बताउँछन् सुनसरी टेक्निकल धरानका प्रमुख राजविमल श्रेष्ठ । उनले क्याम्पसमा आइसकेपछि विद्यार्थीहरू बङ्कमा जान नसक्ने बताए ।
तर, कलेज टाइममा ढिलो गरी आउने विद्यार्थीहरू भने गेटबाट पस्न नपाउने भएकाले बङ्कमा जानसक्ने उनको भनाइ छ । त्यसलाई पनि नियन्त्रण गर्न र कलेज समयमा पोशाकमा विद्यार्थीहरू बाहिर नडुलुन् भन्नका लागि कलेजले एउटा फ्लाइङ टोली बनाएको छ । सो टोलीले बजार अनुगमन गर्ने र कलेज समयमा कलेजको पोसाकमा डुल्ने विद्यार्थीबारे रिर्पोटिङ गर्ने श्रेष्ठले जानकारी गराए ।
विद्यार्थीहरू घरबाट कलेज जान्छु भनेर हिँड्ने तर कलेज आइनपुग्ने समस्याले धेरै शिक्षण–संस्थाहरू आजित छन् । छुट्टी चाहिए कारणसहित निवेदन दिनुपर्ने र विनाकारण कलेज नआए स्पष्टीकरण दिनुपर्ने भएकाले आफ्नो कलेजमा बङ्क गर्ने विद्यार्थीको सङ्ख्या कम रहेको बताउँछन् सगरमाथा कलेज धरानका क्याम्पस प्रमुख कुमारबहादुर कार्की । त्यो कलेजमा थोरै विद्यार्थी रहेकाले क्याम्पस प्रशासनको अभिभावकहरूसँग राम्रो सम्बन्धका कारण पनि विद्यार्थीहरू कक्षा बङ्क गर्न डराउने गरेको दावी गरे ।
विद्यार्थीले छुट्टी मागेर निस्किएपछि उसले बहाना बनाएको हो कि साँच्चै समस्यामा परेको हो भनेर कलेजहरूले बेला–बेलामा छड्के जाँच पनि गर्ने गरेका छन् । सगरमाथा, धरान मोडल, नास्ट, इटहरीको कोसी सेन्टजेम्सलगायत कलेजले विद्यार्थीले कलेज बङ्क नगरुन् भन्नका लागि सचेतना अपनाएको बताए ।
विषेशगरी सहरी क्षेत्रका कलेजका विद्यार्थीसँग प्रविधिको पहुँच छ । र, जोसँग प्रविधिको राम्रो पहुँच छ, तिनै विद्यार्थीहरू बढी कक्षा बङ्क गर्नेमा पर्छन् । साथीको सङ्गत र देखासिखीले बङ्क गर्नेहरू पनि प्रशस्त पाइन्छन् । यसरी देखासिखी र सङ्गतका भरका बङ्क गर्नेलाई सम्झाउन सक्यो भने फेरि उनीहरू बङ्क नगर्ने बताउँछन् धरान बहुमुखी क्याम्पस प्रमुख टोमप्रसाद आचार्य । विद्यार्थीलाई बन्देजमा राख्न नसकिने र नहुने भएकाले उनीहरूलाई त्यसका नकारात्मक पक्ष महसुस गराउनु नै समस्याको मुख्य समाधान भएको उनको धारणा छ ।
विद्यार्थीलाई बन्देजमा राखेर र कारबाही गरेरभन्दा पढाउने शैलीको सुधार गर्न सके बङ्क गर्ने विद्यार्थीको सङ्ख्या घट्ने दावी छ, हिस्टान मोरङका सचिव दीपेन्द्र थापाको । ‘विद्यार्थीलाई उसको रुचिअनुसार पढाउने शैली परिवर्तन गर्न सके विद्यार्थीले कक्षा छाड्ने थिएनन्’, उनले थपे, ‘अब कलेज र शिक्षकहरूले सिर्जनात्मकरूपमा नपढाउने हो भने यो समस्या झन बढ्दै जाने छ ।’
‘प्रविधिलाई सकारात्मकरूपमा प्रयोग गर्न विद्यार्थीलाई उत्साहित बनाउनु पर्छ जस्ले गर्दा उनीहरूमा नकारात्मक सोचको विकास हुन नसकोस्,’ थापाले प्रविधिलाई विद्यार्थीको सहयोगीको रूपमा प्रयोग गर्न शिक्षकले भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।  
जे होस्, बढ्दो आधुनिकतासँगै नयाँ–नयाँ समस्याहरू पनि थपिँदै गएका छन् । यस्ता नयाँ समस्यालाई सिर्जनात्मकरूपमा समाधान गर्न अब कलेजहरूका लागि चुनौती थपिएको छ । कलेजहरूले बेलैमा यस्लाई गम्भीररूपमा लिएर कदम नचाल्ने हो विद्यार्थीसँगै मुलुकको भविष्यसमेत अन्योलतातर्फ धकेलिन सक्छ । यसतर्फ कलेज सञ्चालक, शिक्षक र सरोकारवालाहरूले बेलैमा ध्यान पु¥याउन जरुरी छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved