साथै चित्र बनाउनुपर्ने छ भने रेखा स्पष्ट हुनुपर्छ । चित्र बनाउँदा पेन्सिलले बनाउने गर्नुपर्छ र पेन्सिलको टुप्पो राम्रोसँग ताछिएको हुनुपर्छ । त्यस्तै बारम्बार मेट्दा कागज नै बिग्रिने भएको हुँदा चित्र बनाउने पूर्वअभ्यास राम्रोसँग गर्नुपर्छ ।
प्रत्येक टपिकलाई ध्यान दिएर पढ्नुपर्छ । कम महत्वको मानेर छाड्नुहुँदैन । टपिकको तयारी डायग्रामका साथ गर्नुपर्छ । डायग्रामबाट अतिरिक्त अङ्क पाइन्छ । डायग्राम राम्रो हुनुपर्छ भन्ने जरुरी छैन, तर स्पष्ट भने हुनुपर्छ ।
सबै सिद्धान्तलाई ‘पढेर याद गर्नुपर्छ । याद गर्नको लागि घोक्नेभन्दा पनि शब्दको अर्थ बुझेर याद गर्नुपर्छ । प्रत्येक पाठको टिप्स आफ्नो शब्दमा बनाउनुपर्छ । किताबमा दिइएका प्रश्नबाहेकका प्रश्न आफैले बनाएर त्यसको उत्तर लेखेर तयार राख्नुपर्छ । विद्यार्थीलाई थाहा हुनुपर्छ, फर्मुलालाई न्यूमेरिकल्समा कसरी अप्लाई गर्ने ? फर्मुलालाई पटक–पटक लेखेर अभ्यास गर्नुपर्छ । युनिट्स वा एकाइ, डाइरेक्सन्स वा दिशाको प्रयोग ध्यानपूर्वक गर्नुपर्छ । परिभाषा र फर्मुलालाई आफ्नो भाषामा लेख्ने प्रयास गर्नुहुँदैन । किनभने एउटा शब्द यताउति हुँदा त्यसको अर्थ नै बिग्रन सक्छ । न्युमेरिकल्सको धेरैभन्दा धेरै अभ्यास गर्नुपर्छ । प्रश्नको उत्तर लेख्दा त्यसको वेटेज (अङ्कभार)माथि ध्यान दिनुपर्छ । १० अङ्कको प्रश्नलाई २० देखि २५ मिनेटको समय दिनुपर्छ । त्यस्तै दुई अङ्कको प्रश्नलाई पाँच मिनेटभन्दा बढी समय दिनुहुँदैन ।
गणित ः यस्तो विषय हो जुन कला, विज्ञान र वाणिज्य तीनवटै सङ्कायमा पढाइ हुन्छ । यो विषयमा पूरै अङ्क आउन सक्छ । परीक्षाभन्दा एक महिनापहिलेदेखि पुरानो प्रश्नपत्रलाई तीन घन्टाको समय दिएर हल गर्नुपर्छ र आफ्नो उत्तर शिक्षकबाट चेक गराउनुपर्छ । गल्तीलाई दोहोरिन नदिने प्रयास गर्नुपर्छ ।
गणित रटेर सम्भव हुँदैन । अभ्यासको आवश्यकता पर्छ । त्यसैले स्याम्पल पेपर, मोडल टेस्ट पेपर आदि जति प्रकारको पेपर बजारमा वा नेटमा उपलब्ध छन्, ती सबैको अभ्यास गर्नुपर्छ । जति बढी अभ्यास गरिन्छ, विद्यार्थीको आत्मबल त्यति नै बढ्छ । अभ्यासका बेला क्यालकुलेटरको मद्दत लिनुहुँदैन । मौखिक गणनाबाटै प्रश्न हल गर्नुपर्छ । यसले आत्मविश्वास बढाउँछ र छिटो लेख्न सहयोग पुग्छ । उत्तर निकालेपछि रिचेक गर्नुपर्छ । दुविधा भएमा फेरि हल गर्न सकिन्छ । ज्यामितिको प्रश्नमा सही चित्र, सही सूत्र र सोधिएको प्रश्न विधिपूर्वक हल गर्नुपर्छ ।
प्रश्न हल गर्दा जुन फर्मुला प्रयोग गरिन्छ, त्यसलाई कोष्ठमा देखाउनुपर्छ । पूरै अङ्क ल्याउन प्रत्येक स्टेपलाई लेख्नुपर्छ । प्रश्न हल गर्दा एकाइहरू (सेन्टिमिटर, मिलिग्राम, सेकेन्ड आदि) उल्लेख गर्न बिर्सनुहुँदैन । एकाइको प्रयोग गर्न छुटे अङ्क काटिन्छ । ट्रिगनोमेट्री, कोर्आडिनेट्सको प्रश्न हल गर्दा रेखाचित्र अवश्य बनाउनुपर्छ ।
बिजनेस स्टडिज र एकाउन्ट ः यसमा बढी अङ्क प्राप्त गर्न मौखिक गणनाको अभ्यास आवश्यक हुन्छ । जोड–घटाउमा हुने सानो गल्तीले पनि एकाउन्टलाई प्रभावित गर्छ । कुनै पनि खाता तयार गर्न क्यालकुलेसन परफेक्ट हुनुपर्छ । जोडघटाउ अलिकति पनि गलत भए डेबिट, क्रेडिट र ब्यालेन्स मिल्दैन । जबसम्म ब्यालेन्स मिल्दैन, खाता पूरा हुँदैन । त्यसैले एकाउन्टको विद्यार्थीले मौखिक गणनाको अधिकाधिक अभ्यास गर्नुपर्छ ।
नेपाली ः भाषाको व्याकरणलाई बुझ्नुपर्छ र रट्ने बानी छोडेर प्रत्येक कुरालाई आफ्नो शब्दमा भन्ने प्रयास गर्नुपर्छ । आम विद्यार्थीलाई नेपाली विषय कठिन लाग्छ, तर यदि यसलाई पूर्ण रूपमा बुझेर पढियो भने यो विषय सजिलो छ ।
व्याकरणको सिद्धान्तलाई पूर्ण रूपमा बुझ्यो भने कुनै प्रश्नको उत्तर दिन कठिनाइ हुँदैन । व्याकरणमा पूरै अङ्क पाइन्छ । कथा, कविता, निबन्ध आदि सबै पाठ पूर्ण रूपमा पढ्नु र बुझ्नुपर्छ । प्रश्न पढेर धेरै हदसम्म अनुमान लगाउन सकिन्छ । प्रत्येक पाठको आफ्नो शब्दमा सार तयार गर्नुपर्छ । यसले पाठलाई याद गर्न सहयोग गर्छ ।
परीक्षामा प्रायः ताजा विषयमाथि नै निबन्ध लेख्न भनिएको हुन्छ । त्यसको बारेमा थाहा पाउन समाचारपत्रहरू पढ्ने बानी गर्नुपर्छ । (थप विषयबारे अर्को अङ्कमा)
0 comments:
Speak up your mind
Tell us what you're thinking... !