निरासजनक एसएलसी - College Times : Educational Magazine
Headlines News :
Home » , » निरासजनक एसएलसी

निरासजनक एसएलसी

Written By Neplee on Friday, June 15, 2012 | 9:51 AM

 देशको कूल बजेटको सबैभन्दा बढी रकम छुट्याइएको नेपालको शिक्षाक्षेत्रको स्तर बर्र्सेेनी ओह्रालो लाग्दो छ । आधाभन्दा बढी परीक्षार्थी अनत्तीर्ण भएपछि यो वर्षको एसएलसी नतिजाले पनि नेपालको शिक्षा प्रणालीमा खर्च गरिएअनुसारको प्रगति नभएको संकेत गरेको छ । आव ०६८÷०६९ मा ६३ अर्ब ९१ करोड रूपैयाँ अर्थात् राष्ट्रिय बजेटको १६ दशमलव पाँच प्रतिशत हिस्सा छुट्याइए पनि अनुत्तीर्ण प्रतिशत बढ्दै जाँदा शिक्षामा लगानी वालुवामा पानी भन्न थालिएको छ ।
एसएलसी नतिजाले विद्यार्थी, अविभावक, शिक्षक तथा शिक्षाक्षेत्रमा काम गर्ने धेरैलाई निरास बनाएको छ । अघिल्लो वर्षभन्दा पूर्वाञ्चलमा झन्डै १० प्रतिशत कम विद्यार्थी अनुत्तीर्ण भएपछि नेपालको शैक्षिक प्रणाली र शिक्षाको लागि खर्चिने अर्बौं बजेटको उपादेयतामाथि नै प्रश्नचिन्ह उब्जेको छ ।
यसपटकको एसएलसीमा पूर्वाञ्चलबाट सहभागी ९३ हजार आठ सय १२ विद्यार्थीमध्ये ३२ हजार छ सय ४० जना अर्थात् ३४ दशमलव ७९ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । यो सङ्ख्या गत वर्षको भन्दा करिब १० प्रतिशतले कम हो । गत वर्ष ४४ प्रतिशत विद्यार्थी पूर्वाञ्चलबाट उतीर्ण भएका थिए । त्यस्तै २०६६ को एसएलसी परीक्षामा पूर्वाञ्चलबाट ६१ प्रतिशत विद्यार्थी उतीर्ण भएका थिए । यसबाट पनि पूर्वाञ्चलमा एसएलसी उत्तीर्ण हुनेको संख्या वर्सेनी घट्दो रहेको पुष्टि हुन्छ ।
पूर्वाञ्चलमा अंग्रेजी, गणित र विज्ञान विषयमा धेरै विद्यार्थीहरू अनुत्तीर्ण भएका छन् । यी विषय प्रयोगात्मक भएकाले विद्यार्थीको मेहनत र गाउँका विद्यालयमा शैक्षिकसामग्री पर्याप्त नहुनुले धेरै विद्यार्थी अनुत्तीर्ण भएको पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशक खगेन्द्र नेपालले बताए । पहाडी क्षेत्रमा अङ्ग्रेजी, गणित र विज्ञान पढाउने दक्ष शिक्षक नपाउने, शिक्षकका लागि विज्ञापन गर्दा कोही पनि नआउने र काम चलाउ शिक्षक खोजेर ल्याउनुपर्ने अवस्था भएकाले धेरै विद्यार्थी फेल भएको हुन सक्ने उनको तर्क छ । त्यसका साथै परीक्षाको होम सेन्टर हटाउनु र कडाइ गर्नुले पनि उत्तीर्ण प्रतिशत घटेको उनले बताए ।
यसपटकको एसएलसी परीक्षामा मोरङको विराटनगरले आफ्नो उत्कृष्ठता कायम गरेको छ । विराटनगरस्थित बालकल्याण विद्या मन्दिरका अरुण कालिकोटे (खड्का)ले उच्च अंक हाँसिल गरे । त्यसैगरी विराटनगरकै कोशी विद्या मन्दिरका आवेशजंग कार्की दोस्रोे भए । यता छात्रातर्फ मदरटरेसा बोर्डिङकी लिज्ना शाह र कोसी विद्या मन्दिरकी  विशुका अधिकारी छात्रातर्फ उत्कृष्ठ दोस्रो बनेका छन् । यता सुनसरीको इटहरीस्थित युनिभर्सल इ. स्कुलले पहिलो पटकको एसएलसीमा सहभागिता जनाएका प्रकाश पाण्डेले सुनसरी टप गरेका छन् ।
असफलतापछिको गलत निर्णय
 त्यसैगरी, एसएसलसी परीक्षाको नतिजा आएको ४८ घन्टाभित्र देशभरमा ११ विद्यार्थीले आत्महत्या गरेको खबर सार्वजनिक भयो । १६ देखि २० वर्ष उमेर समूहका ती विद्यार्थी विशेषगरी छात्राहरूमा आफू अनुत्तीर्ण भएको खबर सुनेर सुरु भएको आवेग मृत्युमा पुगेर सकियो ।
विष खाएर र आफूलाई पासोमा पारेर महत्वपूर्ण जीवन त्याग्ने छात्रछात्रामा विराटनगर–२० रानीकी मधु देवान, महादेवस्थान प्रभात माविकी रुविना केसी र सबला बानिया, बाँकेका नेत्रबहादुर थापा, कञ्चनपुर सुडाकी आशा रैकाल, सिन्धुपाल्चोकका सुशील तिम्सिना, धादिङकी रेश्मा कँडेल, नेपालगञ्जकी प्रतीक्षा शर्मा, पाल्पाकी सरिता राना, जनकपुरकी सेखाकुमारी सिंह र रामेछाप घर भई किर्तिपुर बस्दै आएकी निरुता कार्की छन् । यी दुर्भाग्यपूर्ण घटनाहरूले व्यक्तिको सम्पूर्ण योग्यताको मापन केवल एउटै परीक्षाबाट गर्न चाहने मुलुकको शिक्षाप्रणाली, प्रशिक्षक तथा अभिभावकको शिर निहुराएको छ भने किसोरकिसोरीमा हुने कमजोर मानसिकस्तरको उद्घाटन गरेको छ । कुनै एउटा परीक्षामा असफल हुँदैमा ‘सबैथोक सकियो’ भनी सोच्ने विद्यार्थीको गलत विचारले परिवार, समाज र राष्ट्रलाई शोकमा डुबाएको छ ।

विद्यार्थी आत्महत्याबारे तर्क–वितर्क
मनोविश्लेषक डा. गङ्गा पाठक परीक्षाको नतिजा प्रकाशनपछि देखापरेका आत्महत्याका घटनाले हाम्रो शिक्षाप्रणाली र सामाजिक मानसिकतामा पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिएको बताउँछिन् । एसएलसी परीक्षामा सफलतालाई बढी महत्व दिइँदा असफल हुनेहरू निराशाको सिकार भएर गलत बाटो रोज्ने गरेको उनको विश्लेषण छ । ‘पुरुषको तुलनामा महिला धेरै भावुक हुने हुँदा यस्ता दुर्घटना हुन्छन्,’ पाठकले भनिन् ।
छोराको तुलनामा छोरीलाई परिवारले पनि बढी दबाब दिने र मनोवैज्ञानिकरूपमा हतोत्साही पार्ने गलत प्रवृत्तिले यस्ता दुर्घटना हुने मनोविज्ञ सहप्राध्यापक डा. नन्दिता शर्माको भनाइ छ । शर्मा ‘सबैले एसएलसीको परीक्षालाई अत्यन्तै ठूलो हाउगुजी बनाएकाले यस्तो अवस्था आएको’ बताउँछिन् ।
एसएलसी जसरी भए पनि उत्तीर्ण गर्नैपर्ने समाज र परिवारको दबाब हुन्छ । एसएलसी पास नगरे तेरो बिहे नै हुँदैन, ठूलो मान्छे बन्न त एसएलसी पास गर्नै पर्छ भन्ने गलत भावनाको प्रचार धेर भएकाले विशेषगरी किसोरी छोरीले आत्महत्या गर्ने दर बढेको शर्माको भनाइ छ । ‘जीवनको हरेक मोडमा असफलताबाट पाठ सिकेर फेरि कोसिस गर्दा सफलता नमिल्ने कुरै हुन्न’ मनोविज्ञ शर्माको सुझाव छ ।
एसएलसीलाई नै भविष्य सम्झने र उत्तीर्ण भइएन भने जिन्दगी नै खत्तम भयो भन्ने भावनाका कारण यस्तो अनिष्ट हुने गरेको पत्रकार अर्जुन शर्माको टिप्पणी छ । शर्मा भन्छन्, ‘सानोमा पढेको चिप्लेकीराको कथामा ११ पटक चिप्लिँदा पनि हिम्मत नहारेको कीराले बाह्रो पटकमा पर्खाल चढ्न सफल भएको कुरामा जीवनको अर्थ खोज्ने हो भने कसैले आत्महत्या गर्नुपर्दैन ।’
विशेषगरी अभिभावकले निर्वाह गरेको भूमिका नै छोराछोरीको भविष्यको बाटो बन्ने माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला बताउँछिन् । ६० प्रतिशत अभिभावकले आफ्ना छोराछोरीको पढाइ कस्तो छ ? कसरी पढिरहेका छन्, लगायतका सवालमा ध्यान नदिने र परीक्षाफल अपेक्षित नभएपछि गाली गर्ने परम्पराले गर्दा अनपेक्षित घटना बढेको उनको तर्क छ । ‘जिन्दगीको मुख्य खुड्किलो भनेकै एसएलसी हो भन्दै फेल भएका छोराछोरीलाई गाली गर्नाले आत्महत्याको घटना बढेको हो,’ उनले भनिन् । कोइरालाका अनुसार तराईतिर एसएलसी परीक्षाको परिणामलाई दाइजोको कुरासँग जोड्ने हेर्ने परम्परा पनि छ ।
साहित्यकार एवम् समाजशास्त्री जगदीश घिमिरे  पढाउँदा शिक्षकले विशेष ध्यान दिन नसक्नु, झोला मात्र बोकाउनु र परीक्षामा बढी दबाब दिनुले यस्तो घटना हुन गएको उनको तर्क छ ।
‘सफल बन्न स्वअनुशासन’
अरुण कालिकोटे (खड्का) बोर्ड फष्ट (९४.८७ प्रतिशत)
२०६८ सालको प्रवेशिका परीक्षामा बोर्ड प्रथम बालकल्याण विद्या मन्दिर विराटनगरका छात्र अरुण कालिकोटेसँगको कुराकानी ः
बोर्ड फष्ट भएको सुन्दा कस्तो लाग्यो ?
सुरुमा त विश्वास लागेन । रामहरि देवकोटा सरले सुनाएपछि विश्वास माने । ममीलाई सुनाए, उहाँले भावुक हुँदै बधाइ दिनुभयो । ९२ प्रतिशत भन्दामाथि आउँछ जस्तो लागेको थियो । तर, बोर्ड फष्ट नै हुन्छु भन्ने लागेको थिएन ।
मेहनत कस्तो थियो ?
मेहनत त पक्कै थियो, ठिक्क आवश्यक मात्रामा । म दिमागलाई स्ट्रेस हुन्जेल मेहनत गर्नुपर्छ भन्ने पक्षमा छुइनँ । पढेको कुरामा कमाण्ड हुनुपर्छ । तालिका नै बनाएर दिनमा यति घन्टा पढ्ने भन्ने थिएन, आवश्यक ठानेजति पढेँ ।
मेहनतकै कारण बोर्ड फष्ट हुनुभएको हो ?
सफलता भनको मेहनत र भाग्यको संयोजन हो । मेहनत त सबैले गरेका हुन्छन् । ९० प्रतिशतभन्दा माथि ल्याउने कोहीभन्दा कोही कम छैनन्, यसमा थोरै भाग्यको कुरा पनि छ ।
सफल हुन कुन कुरामा ध्यान दिन आवश्यक छ ?
हामीले आफूमा विश्वास राख्नुपर्छ । अरुको दिमाग चाहिँ भगवान्कै कृपाले गर्दा राम्रो भएको होला भन्ने नठानी म पनि कम छैन भन्ने सोचेर मेहनत गर्नुपर्छ । आत्म अनुशासनमा बस्न सकिए सदैव सफल भइन्छ ।
अब कसरी अगाडि बढ्ने योजना छ ?
म  विज्ञान विषय पढने सोचमा छु । एउटा सफल, सवल र सक्षम व्यक्ति बन्ने इच्छा छ । जहाँसम्म एउटा निश्चत प्रोफेसनको कुरा गर्नुभएको हो भने मैले निर्धारण गर्नका लागि सबै पेसाका बारेमा बुझ्नु जरुरी छ, जुन मैले बुझिसकेको अवस्था छैन ।
‘सोचेको पुग्यो’
आवेशजंग कार्की, बोर्ड सेकेण्ड (९४.५ प्रतिशत)
प्रवेशिका परीक्षामा नेपालकै दोस्रो हुन सफल कोसी विद्या मन्दिर विराटनगरका छात्र आवेशजंग कार्की अपेक्षाअनुरुपकै अङ्क आएको बताउँछन् । ९० प्रतिशतभन्दा माथि अंक आउनेमा विश्वस्त रहेका उनले बोर्ड सेकेण्ड नै हुन्छु जस्तो भने ठानेका थिएनन् ।
सामान्य परिवारका कार्कीले आमाको विशेष सहजीकरणले सफलता मिलेको बताए । ‘मेरो पढाइकै लागि ममीले जागीर छाड्नुभएको थियो,’ उनले भने ।
यसबाहेक विद्यालयको वातावरण र शिक्षकहरुको सहकार्यले उनलाई उचाइमा पु¥याउएको उनले बताए । उनी विज्ञान विषय लिएर उच्चशिक्षा अगाडि बढाउन र इन्जिनियर बन्न चाहन्छन् ।
विद्यार्थीले आफ्नो मेहनतलाई
निरन्तरता दिए अवश्य सफल हुने उनको भनाइ छ । कार्कीले आफूले पनि परीक्षामुखी नभई तालिका बनाएर अध्ययन गर्ने गरेको बताए । ‘परीक्षामुखी बन्यौं भने घातक हुन्छ, निरन्तर अभ्यास गरे नराम्रो केही हँुदैन,’ जुनियर विद्यार्थीलाई उनकोे सुझाव छ ।

‘मेहनतले सफल’
बिशुका अधिकारी (छात्रा बोर्ड सकेण्ड)
एसएलसीमा ९१ प्रतिशत अङ्क ल्याएकी कोसी विद्या मन्दिर विराटनगरकी छात्रा बिशुका अधिकारी परीक्षालाई  हाउगुजी नबनाई आफूलाई मेहनततर्फ केन्द्रित गर्दा सफल हुन गाह्रो नहुने बताउँछिन् । उनका अनुसार नियमित गृहकार्य गर्ने र आफूले अध्ययन गरेको गाह्रो विषय र पाठलाई पुनः हेर्ने बानी बसाइयो भने अवश्य सफल भइन्छ ।
कुनैपनि विषय नरटी बुझ्ने बानी बसाउनु राम्रो हुने उनको अनुभव छ । व्यवस्थापन विषयमा उच्चशिक्षा हासिल गर्ने सोचाइमा रहेकी अधिकारी परिवारले भने विज्ञान विषय लिएर पढ्न सुझाव दिएकाले अब अगाडि कसरी बढ्ने भन्ने निर्णय लिन बाँकी रहेको बताउँछिन् ।

‘नबुझेको सोध्थेँ’
मध्यमवर्गीय परिवारकी लिज्ना साह नर्सरीदेखि कक्षा १० सम्म सधैँ अगाडि रहिन् । यतिमात्रै होइन, विराटनगरको मदरटरेसा बोर्डिङबाट एसएलसी दिएकी उनले एसएलसी परीक्षामा नेपालकै छात्राहरुमा दोस्रो भएर आफ्नो अव्वलता प्रस्तुत गरेकी छिन् । अवसर पाए काठमाडौं गएर उच्चशिक्षाको अध्ययन अघि बढाउने लिज्नाको चाहना छ ।
विज्ञान विषय लिएर पढ्ने सोँच बनाएकी साहले भविष्यमा स्टाफ नर्स भएर बिरामीको सेवा गर्ने चाहना रहेको बताइन् । विद्यालयको अभिभावकत्व र परिवारको सपोर्टले गर्दा आफूले सफलता पाएको बताउने उनी कम बोल्न रुचाउँछिन् तर नबुझेका कुरा सिक्न हिच्किचाउँदिनन् ।
‘पढाइमा मेहनत दिनहुँ गर्नुपर्छ तर जबरजस्ती हैन,’ उनले भनिन्, ‘नबुझेको विषयमा एकदुई पटक अभ्यास गर्ने र शिक्षकसँग सोध्ने बानी बनाए अवश्य बुझिन्छ ।’
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved