‘टीन एज’ का युवा योजनाबद्ध ढङ्गले पढाइमा नलागे जीवन बर्बाद हुन्छ । अरूको लहलहैमा जुन पायो त्यही विषय पढ्ने र पछि पछुताएर मनले नखाएको जागिर वा पेसा गरेर आत्माग्लानीको जीवन जिउनुभन्दा पहिले नै सचेत भएर आफूलाई चाख लाग्ने र क्षमताले सक्ने विषय छनौट गरेर उच्चशिक्षाको खुड्किलामा चढ्नु राम्रो हुन्छ । नेपालको शिक्षामा ‘आइरन गेट’को नाम दिइएको एसएलसी परीक्षापछि टीन एजर्सहरू के विषय लिएर उच्चशिक्षा पढ्ने भनी बुझ्न उत्साही देखिन्छन् ।
सहरका विद्यार्थीहरू विभिन्न शैक्षिक मेलामा सहभागी भएर सुझावहरू सङ्कलन गरिरहेका छन् । सप्तरीको मरमझियामा एकै ठाउँमा भएका धेरै पेडा पसलले आफू सक्कली र सबैभन्दा पुरानो बूढाको पेडा पसल भनेर प्रचार गरिदिँदा नयाँ ग्राहकहरू रनभुल्लमा परेजस्तो शिक्षाक्षेत्रमा आइरहेको विज्ञापनको बाढीले विद्यार्थीहरू कहाँ कुन विषय लिएर पढ्ने भन्ने कुरामा गुणस्तरभन्दा गलत विज्ञापनको सिकार हुने हुन् कि भन्ने चिन्ता छ ।
हिजोआज धेरै नेपालीहरू पढ्न विदेश जान रुचाउँछन् । पैसा हुनेले छोराछोरीलाई विदेश, नभए काठमाडौँ वा देशका ठूला सहरहरूमा पढ्न पठाउने चलनले गर्दा शिक्षामा सहरी फेसनको प्रभाव परेको छ । पहाडी र दुर्गमक्षेत्रका बौद्धिक वर्गहरू सहर पस्ने प्रवृत्ति पछ्याउँदै विद्यार्थी गाउँका प्लस टूभन्दा सहरका प्लसटूमा गुणस्तरीय शिक्षा पाइने आशा बाकेर सहर पस्ने गर्दछन् । यसले सहरमा बढी चाप पर्ने र गाउँमा प्लस टूहरूमा सुख्खा लाग्ने गरेको पाइन्छ ।
यसलाई रोक्न कतिपय गाउँका प्लस टूहरूले आफ्नो स्कूलबाट एसएलसी पास गरेका विद्यार्थीलाई अन्यत्र जान नदिने नियमसमेत बनाएका छन् । तर, यस्तो प्रतिबन्धले शिक्षालय र विषय छनोट गर्ने विद्यार्थीहरूको स्वतन्त्रतामा आघात पुगेको छ । उदयपुर जिल्लाका केही प्लस टूमा अनिवार्यरूपमा आफूले एसएलसी पास गरेकै स्कूलमा प्लस टू पढ्नुपर्ने बाध्यता सिर्जना गराइएको छ, जुन शिक्षाको अधिकारविपरीतको कुरा हो । कुनै पनि विद्यार्थीले कुन विषय पढ्ने भन्ने कुरामा निर्णय गर्न स्वयम् विद्यार्थीले पहिलो प्राथमिकता पाउनुपर्छ । अभिभावक र विद्यालयले दबाब दिएर विषयहरू पढ्न बाध्य पारेको अवस्थामा विद्यार्थी मानसिक रोगी हुने खतरा हुन्छ । ऊ मन नपर्ने विषय पढेर जीवनलाई उज्यालोभन्दा अँध्यारोतर्फ धकेलिरहेको हुन्छ ।
एसएलसीसँगै धेरै विद्यार्थीमा बृज कोर्सको जानकारी छैन । नेपालमा कतिपयलाई जानकारी भएर पनि सङ्गत नभएकाले वा पहुँच नभएकाले त्यसतर्फ गएको पाइँदैन । तर, बृज कोर्सले विद्यार्थीलाई पढाइमा नियमितता गराउनुको साथै नामाङ्कनका लागि हुने प्रतिस्पर्धामा सहयोग पुग्ने भएकाले चल्तीका प्लसटूहरूमा पढ्नका लागि दिनुपर्ने योग्यता परीक्षामा उत्तीर्ण हुनका लागि भए पनि बृज कोर्स गर्ने फेशन चलेको छ । विशेष गरेर काठमाडौँका चल्तीका शैक्षिक संस्थामा पढाइ हुने ए लेभल र प्लस टूको शिक्षाका लागि बृज कोर्स गर्ने चलन छ ।
हुनेखानेका छोराछोरी कोही भारत र कोही पश्चिमा मुलुकमा पढ्न जान रुचाएको पाइन्छ । आर्थिक अवस्था कमजोर भएकाहरू तत्काल प्राविधिक शिक्षा पढेर तुरुन्त नोकरी पाउने शिक्षातर्फ आकर्षित हुन्छन् । त्यसले हाम्रो समाजमा विद्यार्थीको चाहनाभन्दा आर्थिक अवस्थाको कारणले पढ्न चाहेको विषयलाई प्रभाव पारिरहेको हुन्छ । विकसित देशहरूमा विद्यार्थीले शिक्षाको लागि सहज कर्जा पाउने भएकोले इच्छाअनुसार पढ्न पाउँछन् । नेपालमा शैक्षिक कर्जा लिन जग्गा, घर धरौटीमा राख्नुपर्ने भएकाले कतिपय विद्यार्थीले चाहेर पनि कर्जा नपाउने वा कर्जा लिन पनि घुस दिनुपर्ने प्रावधान रहेकोले यसमा सबैको पहुँच हुँदैन । शैक्षिक कर्जालाई विद्यार्थीले व्यक्तिगतरूपमा धरौटी नराखी राज्यमार्फत् नै पाउने प्रावधानको थालनी गर्न सकियो भने नेपालीहरूले शिक्षाक्षेत्रमा अझ राम्रो गर्न सक्ने थिए ।
ग्रामीण भेगका विद्यार्थीहरू जो घरको कामकाज गर्दै पढ्न चाहन्छन्, उनीहरूले गाउँमै वा साइकलबाट पुग्न सक्ने दूरीमा प्लस टू पढ्न पाउन सके भने एसएलसीपछिको उच्चशिक्षा पढ्न नपाउने मानिसहरूले अवसर प्राप्त गर्ने थिए । महिलाहरू गाउँबाट बाहिर जान नपाउने, मधेसी समुदायमा छोरीलाई बाहिर पठाउन अहिले पनि हिच्किचाउने अभिभावकहरू भएकाले छोरीलाई उच्चशिक्षामा उल्लेख्य प्रवेश गराउन अभियान नै चलाउनु आवश्यक छ । छिटो विवाह गरिदिने चलन, असुरक्षाजस्ता कारणले चाहना हुँदाहुँदै पनि किसोरकिसोरीहरू उच्चशिक्षा पढ्न सकिरहेका छैनन् ।
प्लस टू पढ्न चाहनेहरूले बाबुआमाको करकापमा नलागी, आफ्नो क्षमताअनुसार पढ्नुपर्छ । त्यसबाहेक देशमा कुन–कुराको आवश्यक छ । रोजगारीमूलक, स्वरोजगारमा लाग्न सक्नेखालको प्लस टू शिक्षा वा प्राविधिक शिक्षालाई अँगाल्नु उपयुक्त हुन्छ ।
विद्यार्थीले पढेर मात्र हुँदैन । विद्यार्थीले पढेर धेरै नम्बर ल्याउने तर व्यवहार र कार्यक्षेत्रमा असफल हुने आम प्रवृत्ति बनेको छ । त्यसैले प्लस टूमा प्रयोगात्मक शिक्षाको विधिलाई बढी प्राथमिकता दिनुपर्छ । पढेको विषयमा पूरै अवधि सिद्धान्त मात्र पढ्ने होइन त्यसको लागि फिल्डमा गएर व्यवहार सिक्ने काम पनि गर्नु उत्तिकै आवश्यक छ ।
नाम चलेका र झिल्के प्रचार–प्रसार भएका कलेजमा बढी विद्यार्थी आकर्षित हुने गरेका छन् । नाम कसरी चलेको छ ? यहाँ अभिभावकले बधाई दिँदा पनि स्कूलले विज्ञापनको शुल्क तिर्ने गरेको पाइन्छ । बगरले खसीको टाउको देखाएर भैंसीको मासु बेचेजस्तो कतिपय निजी विद्यालयले विशेषज्ञ शिक्षक रहेको देखाएर कमसल शिक्षकलाई अध्यापनमा लगाउने गरेको पाइन्छ । गुणस्तरीय शिक्षा प्रदान गर्ने उच्चमाविहरूको नीति, प्राध्यापन जनशक्ति, भौतिक पूर्वाधार, शैक्षिक वातावरण, विद्यार्थी अनुशासन, प्रयोगात्मक पक्षलाई दिएको प्राथमिकता र पुस्तकालयको अवस्था समष्टिगतमा हेरेर नै विद्यालयहरू छनौट गरी पढ्नुपर्छ ।
विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र अन्य प्राविधिक विषयमध्ये जुन पढे पनि फरक पर्दैन । विद्यार्थीहरू आकर्षक विद्यालय पोशाक र सिँगारिएका विद्यालय भवनलाई हेरेर मात्र पढ्न जाने गर्छन् । यस्तो अडम्बरबाट अभिभावक र विद्यार्थी दुवै बच्नुपर्छ ।
छात्राले लगाउने पोशाकको छोट्याइ हेरेर छात्रहरूले पढ्नका लागि शिक्षालय छनोट गर्ने विकृति पनि देखिन्छ । विद्यालयमा मोबाइल लाने प्रवृत्तिले पनि नकारात्मक प्रभाव परेको छ । विद्यार्थीलाई पढ्नका लागि नामाङ्कन गराएपछि आफ्नो दायित्व पूरा भएको देख्ने अभिभावकको बानी पनि गलत हो । अभिभावकले नियमितरूपमा आफ्नो छोराछोरीको पढाइका बारेमा जानकारी लिइराख्ने र स्वयम् स्कुलमा गएर बुझ्ने तथा वार्षिक–अर्धवार्षिक क्रियाकलाप र परीक्षाको नतिजाबारे चासो राख्ने गर्नुपर्छ ।
सहरी क्षेत्रमा उच्चमावि र कलेजको पोशाकमै विद्यार्थी डिस्को तथा डेटिङमा जाने, कुलतमा लागेर ड्रग लिने कारणले गर्दा शिक्षा जगतमा नकारात्मक असर परेको छ । यसमा विद्यालय प्रशासन र अभिभावक दुवैले संवेदनशील भएर सोच्नुपर्छ ।
अहिलेको शिक्षा कक्षा ११ वा १२ पढेर त्यसपछि के गर्ने भन्ने योजनासँग सम्बन्धित हुनुपर्छ । तर, फेसनको युग र नयाँ सीपअनुसारको रोजगारीको विश्वबजारको मागका कारणले होटल तथा पर्यटन व्यवसाय, फेसन डिजाइन, ब्यूटीपार्लरसम्बन्धी तालिम, वन, कृषि, वातावरण, प्राविधिक शिक्षा, खाद्य र पशुसम्बन्धी शिक्षाको पनि उत्तिकै माग रहेकाले त्यसतर्फ पनि ध्यान दिनुपर्छ । यसका लागि सर्टिफिकेट वितरण गर्न मात्रै खुलेका केही प्राविधिक शिक्षालयमा जानुभन्दा प्रयोगात्मक अभ्यास बढी गर्न पाउने र गुणस्तरीय शिक्षा दिने शिक्षालयमा जानुपर्छ । साथै, तोकिएको प्रयोगात्मक अभ्यास कसरी गराइरहेको छ भन्ने कुरा नियमित निरीक्षण गरी कमसल गर्नेलाई खारेज गर्ने प्रावधानमा राज्य जानुपर्छ । यसले गुणस्तरीय प्राविधिक शिक्षाको व्यवस्था हुन सक्छ र विदेशमा रोजगार गर्न जानेहरूले पनि दक्ष कामदारको रूपमा काम पाएर बढी आम्दानी गर्न सक्छन् ।
नेपालको शिक्षानीति अहिले पनि पुरातन प्रणालीको छ । विश्वबजारलाई ध्यान दिई शिक्षानीतिमा परिवर्तन गर्ने र नयाँ विषयलाई गाउँस्तरका प्लस टूमा समेत पु¥याउनेतर्फ उच्च माध्यमिक शिक्षा परिषद्ले विशेष ध्यान दिनुपर्छ । साथै, परीक्षा लिने प्रणाली वर्षमा एक पटक भएकाले विद्यार्थीहरू गेसपेपरमा भर पर्ने र रिफरेन्स पुस्तकहरू नपढ्ने भएकाले तर्क शक्ति कमजोर हुने र रटेर पास गर्ने चलन बढ्ने भएकाले यसरी उत्पादन भएको शैक्षिक जनशक्तिले कुनै काम नदिने हुन्छ । उल्टै रोजगारी पाइएन भनी निराशा उत्पन्न र राज्यसँग दूरी बढ्ने भएकाले राज्यले जहिले पनि अध्ययनशील बनाउन वर्षमा चार पटकसम्म प्रयोगमूलक परीक्षा लिने र परीक्षाका प्रश्नहरू पनि रिफरेन्स पुस्तकको अध्ययन र प्रयोगात्मक अनुभवका आधारमा मात्र लेख्न सकिने गरी बनायो भने विद्यार्थी कक्षामा नियमित हुने र दक्ष तथा सीपवान भई जहाँ पनि बिक्न सक्ने हुन्छन् । यसतर्फ शिक्षासँग सरोकार राख्नेहरूले सोच्नु आवश्यक छ । त्यसैले प्लस टू प्रवेश गर्दा हतारिएर जानुभन्दा सबै पक्षलाई विश्लेषण गरेर मनमा सन्तुष्टि हुने गरी विषयको छनोट गर्नुपर्छ ।
विजयप्रसाद मिश्र
0 comments:
Speak up your mind
Tell us what you're thinking... !