सकिएन कोर्स
Written By Neplee on Friday, February 17, 2012 | 6:18 PM
समयमै कोर्स नसकिने सामुदायिक विद्यालयको रोगले यसपटक पनि धेरै विद्यार्थीलाई पिरोलेको छ । एसएलसी दिनुअघि विद्यालयले लिने टेस्ट परीक्षा एक महिनाअघि नै भयो तर कतिपय विद्यालयको कोर्स यो वर्ष पनि सकिएन । सरकारी बिदाका कारण लामो समय विद्यालय बन्द र व्यवस्थापन समितिको लापरवाही कोर्स नसकिनुको कारक मान्न सकिन्छ । तर, सरकारी विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरू यी दुवै कारकलाई मान्न तयार देखिँदैनन् ।
अधिकांश विद्यालयले विभिन्न समयमा हुने बन्द तथा हड्ताललाई कोर्स नसकिनुको बहाना बनाउने गरेका छन् । वर्षमा दुई सय २० दिनलाई शैक्षिक दिन मानिए पनि बन्द तथा शिक्षकहरूको लापरवाही र व्यवस्थापन समितिको कमजोरीका कारण शैक्षिक सत्रभित्र पाठ्यपुस्तकको पाठ पढाएर नसकिने गरेको हो ।
त्यति मात्र होइन, सम्बन्धित विषय शिक्षकको अक्षमताका कारण पनि कोर्स समयमै सक्न गाह्रो हुन्छ । प्रभावकारी तरिकाले विद्यार्थीलाई पढाउन नसक्ने शिक्षकहरू एउटै पाठमासमेत लामो समय अल्मलिन्छन् । जसको कारण नयाँ शैक्षिक सत्र सुरु हुँदासमेत कोर्स नसकिने समस्या हुन्छ । विशेषतः नेपालका पहाडी तथा ग्रामीण क्षेत्रका विद्यालयमा यो समस्या देखिन्छ ।
उदयपुर, खोटाङ, ओखलढुङ्गा, इलाम, पाँचथर तेह्रथुमजस्ता पहाडी जिल्लामा समयमा पुस्तक अभाव हुने
रोगले कोर्स पूरा हुँदैन भने तराई क्षेत्रमा बन्द–हड्ताल तथा लामो सरकारी–बिदाका कारण पनि समयमा कोर्स सक्न हम्मे पर्ने गरेको शिक्षकहरू बताउँछन् ।
उदयपुर आँपटारका अधिकांश विद्यालयले कोर्स पढाउन नसकेको स्थानीय शिक्षक महेन्द्रबहादुर राउतले बताए । ‘बन्द–हड्ताललगायत कारणले कोर्स पूरा गर्न सकिएन,’ उनले भने, ‘भनेको बेला पाठ्यपुस्तक नपाउनु पनि यसको मुख्य कारण हो ।’ पढाइ पूरा गर्न नसकेपछि परीक्षा पनि मर्यादित गर्न समस्या हुने शिक्षकहरू बताउँछन् ।
विभिन्न समयमा हुने बन्दले विद्यालय खुल्ने र पढाइ हुने दिनलाई प्रभावित बनाउने गरेको छ । त्यसबाहेक पनि शिक्षकबाट प्रभावकारी शिक्षण विधिका प्रयोग नहुनु र जिम्मेवारी अभावलाई पनि कारक मान्न सकिन्छ । वर्षमा दुई सय २० दिन विद्यालय खुल्नुपर्ने र एक सय ९२ दिन पढाइ हुनुपर्ने नियम छ । तर, बन्द तथा हड्तालका कारण कुनै महिनामा त दुई हप्ता पनि विद्यालय सञ्चालन गर्न गाह्रो हुन्छ ।
गत फागुनमा पनि विभिन्न समयमा भएका बन्दका कारण एक हप्ताभन्दा बढी दिन अध्ययन–अध्यापन कार्य प्रभावित बन्यो । त्यसबाहेक शैक्षिक मागका लागि हड्ताल भन्दै शिक्षकहरू आन्दोलनमा हिँडेपछि विद्यालयको पठनपाठन नै प्रभावित बन्दै आएको छ । १२ महिनामा झन्डै ६ महिना पनि पढाइको राम्रो वातावरण बन्न नसक्दा गुणस्तरीय शिक्षा सोचाइ नारामा मात्र सीमित हुन पुगेको छ भने विद्यार्थीको शैक्षिक भविष्य अन्यौलग्रस्त बन्दो छ ।
पढाइ पूरा नभएपछि एसएलसी पनि पास नगरिने हो कि भन्ने दोधारमै परीक्षामा सहभागी हुन लागेको विद्यार्थीको गुनासो छ । कोर्स पूरा नभएका कारण अधिकांश विद्यार्थीको टेस्ट पनि अपेक्षित हुन सकेन, जसको मनोवैज्ञानिक असर विद्यार्थीमा परेको छ । समयमा पढाइ नसकिएपछि महँगो शुल्क तिरेर विद्यार्थीहरू ट्युसन र कोचिङ सेन्टरमा भर पर्न बाध्य भए । विद्यालयमा समयमै कोर्स नसकिँदा विद्यार्थीले आर्थिक क्षति सहनुका साथै मानसिक तनावकाबीच परीक्षा दिने अवस्था उत्पन्न भएको छ ।
विद्यालय बन्दबाट न्यून आय भएका सामुदायिक विद्यालयका विद्यार्थी बढी प्रभावित बन्न गरेका छन् । निजी विद्यालयका विद्यार्थीहरूले कोचिङ र ट्युसनमा पैसा खर्च गर्न सक्ने हैसियत राखे पनि सामुदायिक विद्यालयका विद्यार्थीलाई शिक्षाका लागि भने जति लगानी गर्न गह्रो हुन्छ । जसबाट उनीहरू पूर्णरूपमा विद्यालयमै आश्रित हुन्छन् । तर, पढाउनुपर्ने शैक्षिक संस्थाका शिक्षकहरूको आन्दोलन र विभिन्न समयमा विभिन्न समूहले गर्ने बन्दका कारण शिक्षाक्षेत्र गुणस्तरहीन बन्दै गएको छ । विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरिए पनि कार्यान्वयन हुन नसकेको सम्बद्ध पक्षहरूले गुनासो गर्ने गरेका छन् ।
विद्यालयका शिक्षक जबसम्म जिम्मेवार हुँदैनन्, तबसम्म विद्यालयमा कोर्स नसकिने समस्या यथावत् रहने सुनसरीका जिल्ला शिक्षा अधिकारी दिव्यराज कट्टेल बताउँछन् । ‘शिक्षक जिम्मेवार नहुनु र आन्दोलनमा समय बिताउनुले विद्यालयको शैक्षिक क्यालेण्डर प्रभावित हुने गरेको छ,’ उनले भने, ‘शिक्षकहरूले आफ्नो कर्तव्य बुझ्नुपर्छ अनि मात्र समयमा कोर्स सकिन्छ ।’
हिमाल दहाल
अभावका बीचमा उत्कृष्ट
६० वर्षीय अमरसिंह बुस्थापा साँझको खाना खानेबित्तिकै हातमा टर्च बोकेर परीक्षाको तयारी गरिरहेका विद्यार्थीको घरघरमा चियो गर्न निस्कन्छन् । जुम्लामा रहेको कर्णाली माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भएपछि तीन वर्षदेखि उनको यो ‘ड्यूटी’ नियमित बनेको छ ।
गत जेठ–असारमा विद्यालयकी प्रधानाध्यापक कान्तिका सेजुवाल विद्यालयको कामले काठमाडौं गइन् । तर उनले विद्यालयबाट काज वा बिदा लिइनन् बरु विद्यालयमा सट्टा शिक्षक राखिन् ।
व्यवस्थापन समिति र शिक्षकको यस्तै मेहनत र लगनले कर्णाली माध्यमिक विद्यालय सिंगो कर्णाली अञ्चलकै नमुना विद्यालय बनेको छ । सधैँ बन्द, हड्ताललगायतका समस्या र अभावको बहानामा सहरी क्षेत्रमा रहेका सामुदायिक विद्यालयले समेत पठन–पाठन प्रभावित हुने गरेको गुनासो गरिरहँदा जुम्लाको यो विद्यालय भने सामुहिक प्रयासमा नमुना विद्यालय बनेको छ ।
२०६३ देखि एसएलसीमा सहभागी सो विद्यालयले जिल्लाका पुराना १९ वटा माविलाई उछिन्दै उत्कृष्ट नतिजा हासिल गरिरहेको छ । कक्षा ८ को जिल्लास्तरीय परीक्षामा पनि सो विद्यालयको शीर्षस्थानमा छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुस्थापा भन्छन्, ‘यहाँका शिक्षक र अभिभावक भित्री मनबाटै विद्यालय बनाउनुपर्छ भनेर लागेकोले विद्यालयले सफलता हासिल गरेको हो ।’
ग¥यो भने के हुँदैन ? बन्दका बीचमा पनि विद्यालय खोल्न सकिन्छ । अभावका बीचमा पनि राम्रो अध्यापन गराउन सकिन्छ । विद्यार्थीहरू विद्यालय नआउने समस्या पनि समाधान गर्दै विद्यालयमा विद्यार्थीलाई आकर्षित गर्न सकिन्छ । तर, ती सबै विद्यालयका शिक्षक र अविभावकको सामुहिक प्रयासमा सम्भव हुन्छ । कर्णाली माविले सफलता पाउनुमा शिक्षकको हात छ । विद्यालयका १४ शिक्षक जरुरी कामबाहेक बिदा बस्दैनन् । बस्नै परे सट्टा शिक्षक राखेर बस्छन् । ‘शिक्षा ऐनमा शिक्षकलाई विभिन्न बिदा व्यवस्था भए पनि हामी त्यसलाई भरसक उपयोग गर्दैनौँ,’ प्रधानाध्यापक सेजुवाल भन्छिन्, ‘हामीमा पैसाभन्दा विद्यार्थीको भविष्य ठूलो हो भन्ने भावना छ ।’
कर्णाली मावि वर्षमा सरदर दुई सय ३० दिन खुल्छ, जुन तथ्य पूरा गर्न जुम्ला मात्र होइन, मुलुकका अन्य विद्यालयलाई पनि गाह्रो छ । विद्यालयका शिक्षक, व्यवस्थापनसमितिको इमान्दारिता र लगनका कारण क्यालेन्डरमा रातो लागेकोबाहेक बन्द÷हड्ताल वा स्थानीय बिदाका नाममा विद्यालय बन्द हुँदैन । सङ्कटकालका बेलामा समेत विद्यालय बन्द नभएको सेजुवाल बताउँछिन् ।
विद्यालयले तीन वर्षमै जिशिकासाथै अन्य सरकारी तथा गैरसरकारी दाताको विश्वास जितेको छ । पर्खाल निर्माणको प्रस्ताव लिएर जानेवित्तिकै शान्ति तथा पुनर्निर्माण मन्त्रालयले २० लाख रुपैयाँ दिएको सम्झँदै अध्यक्ष बुस्थापा भन्छिन्, ‘विद्यालयले शिक्षा मन्त्रालयबाट एसएलसीमा उत्कृष्ट हुँदा २०६४ मा एक लाख र २०६५ मा चार लाख रुपैयाँ पाएको छ, विद्यालयको भौतिक अवस्था विकासको लागिसमेत सहयोग पाइरहेका छौँ ।’
विद्यालयले सङ्ख्याभन्दा गुणस्तरलाई प्राथमिकता दिने नीतिअनुरुप कक्षा ६ देखिमाथि बाह्य भर्ना बन्द गरेको छ । विद्यार्थीको भीडका कारण तल्लो कक्षामा पनि प्रवेश परीक्षा लिएर मात्र भर्ना लिने सेजुवाल बताउँछिन् । अविभावक र शिक्षकको सामुहिक प्रयासमा विद्यालयको उन्नति निर्भर गर्छ । सामुहिक मेहनत र आफ्नो भन्ने भावनाले काम गरेकोले नै आज उक्त विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षले सर्वत्र स्याबासी पाएका छन् । नेपालकै विकट जिल्ला जुम्लामा रहेको यो विद्यालयबाट तपाई हामीले पनि केही पाठ सिक्ने हो कि ?
सन्दर्भ स्रोत ः नागरिक दैनिक
0 comments:
Speak up your mind
Tell us what you're thinking... !