एसएलसीपछिको विषय छनौट र युवावर्ग
Written By Neplee on Friday, June 15, 2012 | 5:55 PM
एसएलसी परीक्षाफलपछि विद्यार्थीहरू आगामी शैक्षिक यात्राको लक्ष्य निर्धारणमा जुटेका छन् । उनीहरुको ध्यान विषय र शिक्षालय छनोटमा केन्द्रित छ । बृज कोर्स र ट्यूसनतर्फ पनि विद्यार्थीको आकर्षण उस्तै छ ।
भविष्यमा के पढ्ने वा पढाउने ? अभिभावकमा उच्चशिक्षामा प्रवेश गर्ने छोराछोरीहरूको पढाइको विषय मात्र होइन शुल्क र स्तरको चिन्ता पनि उत्तिकै छ । छोराछोरीको भविष्यप्रति के गर्दा राम्रो हुन्छ भनी सोचिरहेका बाबुआमा र विद्यार्थी स्वयम् कुहिराका कागजस्ता भएका छन् । विभिन्न सञ्चारमाध्यम र विज्ञापनहरूमा प्लस टू, ए लेभल पढाउनेहरूका सूचना प्रकाशन हुने, एक्स्पोको तयारी हुने, नामाङ्कनअघिको बृज कोर्सका विज्ञापनले बजार छाएका छन् । पत्रपत्रिका र टेलिभिजनमा शैक्षिक मेला आयोजना, शैक्षिक परामर्शका लागि विभिन्न ढङ्गले प्रचार–प्रसार भइरहेका छन् ।
एसएलसी उत्तीर्ण भएका युवा विद्यार्थीका लागि अब हुने थप पढाइको दिशा चासोको विषय भएको छ । प्लस टू खोलेका व्यावसायिक उच्चमाध्यमिक विद्यालयले एजेन्टमार्फत् आफ्नो कलेज राम्रो भनेर विज्ञापन गर्छन् । विद्यामा पनि हात्ती बलियो कि हात्तीछाप चप्पल ? भन्ने प्रवृत्तिको विज्ञापन सञ्चारमाध्यमबाट सुन्नेगरेका छौं । यस्ता विज्ञापनबाट युवा विद्यार्थी सचेत हुन आवश्यक छ ।
कलेज छनोट गर्दा शैक्षिक वातावरण कस्तो छ भनेर राम्ररी बुझ्नुपर्छ । साँघुरो बेञ्च, खाँदाखाँद विद्यार्थी, उचित डेक्स–बेञ्च कक्षा सजावट; योग्य तालिमप्राप्त शिक्षक, त्यसअनुरूपको स्वस्थ, पारदर्शी कलेज प्रशासन र शैक्षिक सामग्री, प्रयोगशाला, शौचालयको उचित प्रबन्ध आदि शैक्षिक वातावरणभित्र पर्छन् । विद्यार्थी र अभिभावक स्वयम्ले पनि अत्यन्त होसियार र सावधानीपूर्वक ती कुराको मूल्याङ्कन गर्नुपर्छ । यातायातको सुविधा पनि विचार पु¥याउनुपर्छ । प्रायः धेरै विद्यालयहरू आफ्नो प्रयोजनका निम्ति बनाएका घर भाडामा लिएर स्कूल–कलेज सञ्चालन गर्छन् । त्यस्तो ठाउँमा शिक्षा लिन–दिन त्यति उपयुक्त हुँदैन ।
विषयवस्तुको छनोट गर्दा व्यवहारोपयोगी समाजमा बिक्ने राष्ट्रका लागि काम लाग्ने हुनुपर्छ । प्लस टूमा विभिन्न किसिमका शिक्षाका क्षेत्र छन् । ती सबै आफैँमा राम्रा छन्, समाजोपयोगी नै छन् । त्यसमा पनि सीपमूलक शिक्षामा ध्यान दिँदा बेश हुन्छ । प्राविधिक शिक्षा र सीपमूलक शिक्षाको जिम्मेवारी सीटीईभीटीले लिएको छ । आजभोलि यस्ता संस्था देशभरमा प्रयाप्त मात्रामा खुलेका छन् । मनमोहन पोलिटेक्निक कलेज, मदन भण्डारी कलेज धरान तीनकुनेको इन्जिनियरिङ कलेज, लहानको प्राविधिक शिक्षालय आदि सीपमूलक शिक्षा दिने स्थापित शिक्षालय हुन् । यिनीहरूले सीपमूलक शिक्षा सिकाउँछन् ।
त्यस्तै, ए लेभल पनि नेपालमा पढाइन्छ । विदेशी स्कूल–कलेजमा पनि गएर पढ्न सकिन्छ । विदेशमा विद्यार्थी पढ्न जाँदा स्वदेशी मुद्रा पनि विदेश जाने हुन्छ । स्वदेशी पैसा स्वेदशमै राख्न समाजले, समाजका अगुवा तथा राजनेतासमेतले विदेशी मापदण्डअनुसारका स्कूल–कलेजको स्थापना देशमै गर्न जोड दिनुपर्छ । त्यसबाट मात्र स्वदेशी मुद्रा स्वदेशमै रहन सक्छ । सीपमूलक शिक्षापछिको दोस्रो विकल्पमा प्लस टूमा विज्ञान विषय राख्नु उपयुक्त हुन्छ । विज्ञानको क्षेत्र ज्यादै फराकिलो छ । यो विषयका विद्यार्थीले डाक्टर, इन्जिनियर, कम्प्युटर, कृषि, वन तथा आयुर्वेद आदि क्षेत्रमा विशेषज्ञता हासिल गर्न सक्छन् ।
त्यस्तै, अर्को महत्वपूर्ण विषय व्यवस्थापन पनि हो । यो विषयले अडिटर, बैङ्क मेनेजर, उद्योगपति र व्यापारी बन्न सहज हुन्छ । अर्को विकल्प मानविकी हो । यसका जति धेरै पाठ्यविषय र हाँगा–बिँगाहरू अरू विषयमा छैनन् ।
मानविकीलाई खोज अनुसन्धानकर्ता, देशको परराष्ट्र बुभ्mने अफिसर वा विशेषज्ञ, अर्थविद् भाषाविद्, राजनीतिज्ञ, समाजविज्ञ, संस्कृतिविद्, भूगोलविद्, इतिहासविद्, गैरसरकारी क्षेत्रका सहजकर्ता, प्रशासन सेवामा काम गर्ने कर्मचारी तथा देशको मुख्य सचिवसम्म पुग्ने माध्यमका रूपमा लिइन्छ ।
मानविकीपछि अर्को शिक्षा, कानुन, संस्कृति कला आदि विषय पनि छन् । नेपालमा कानुन विभाग, शिक्षा विभाग, संस्कृत विश्वविद्यालय र त्यससँग सम्बन्धित थुप्रै आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पस पनि छन् । ती सबैले शिक्षाक्षेत्रमा महत्वपूर्ण भूमिका खेलेका छन् । आफ्नो रुचि, लगनशीलता, उत्साह भएको विषय पढ्नु उपयुक्त हुन्छ । नेपालमा सङ्गीत महाविद्यालय, ललितकला क्याम्पसजस्ता शैक्षिक संस्था पनि छन् । यी पनि व्यवहारोपयोगी र जीवनोपयोगी सीप सिकाउने संस्था हुन् ।
संक्षेपमा युवा विद्यार्थी भनेका काँचो माटो मात्र हुन् । कुमालेले काँचो माटोबाट आफूले चाहेअनुसार र बजारको मागअनुसारका भाँडा–कुँडा बनाए जस्तै विद्यार्थीले बजारको माग विचार गरेर फरक र विभिन्न क्षेत्र ओगट्न सक्ने विषय पढ्दा राम्रो हुन्छ । व्यक्ति कुनै पनि विषयमा पोख्त र विशेषज्ञ बन्न सक्यो भने काम, माम, इज्जत, प्रतिष्ठा नहुने कुरै छैन ।
देवकोटाले मानविकी पढे, बालकृष्ण समले विज्ञानमा प्लस टू गरे । कवि मोहन कोइरालाले कक्षा ८ मात्र पढेका हुन् । धेरैवटा डिग्री, एमए, पीएचडी नगरे पनि आफूले पढेको विषयमा योग्य हुने हो भने जे पढ्दा पनि समाजमा बिकिन्छ । सीपमूलक शिक्षा सिके गरी खान दुःख हुँदैन ।
बाबुराम तिमिल्सिना
0 comments:
Speak up your mind
Tell us what you're thinking... !