College Times : Educational Magazine: आदरणीय गुरु
Headlines News :
आवरण >>>>

Latest Post

Showing posts with label आदरणीय गुरु. Show all posts
Showing posts with label आदरणीय गुरु. Show all posts

आज पनि हेडसरकै प्रेरणा

Written By Collegetimes on Wednesday, April 23, 2014 | 1:44 AM


बोधराज नेपाल, प्रिन्सिपल, सुष्मा कोइराला मेमोरियल कलेज

जीविकोपार्जनको बाटो पहिल्याउँदै मुग्लान (आसाम) भासिएको मेरो परिवार दुई वर्ष त्यहाँ बसेर २०२६ सालमा मोरङ, बेलबारी–१ (तत्कालीन कसेनी–१) स्थित झोडामा सुकुम्बासी हुन आइपुग्यो । परिवारमा हजुरआमा, बुबा, आमा, दाजु, भाइ र म थियौं । त्यो बेला आज बनाएको छाप्रो वन विभागबाट खटिइआएका कर्मचारीले हात्ती ल्याएर भत्काइ दिँदा रातभरि झरीमा रुझ्दै बस्न बाध्य हुन्थ्यौं । भोलि बिहानको घामसँगै अर्को छाप्रो हाल्ने काम हुन्थ्यो । तर, त्यो पनि हात्ती लगाएर नभत्काउञ्जेलका लागि मात्र हुन्थ्यो । त्यो क्रममा कैयौं पटक बुबा छविलाल नेपाललाई पक्राउ गरी वन विभाग र जेलसमेत चलान गरियो । 

तर, २०२८ सालमा तत्कालीन सरकारले पूर्वी नेपालमा वनफँडानी गरी बसेका सुकुम्बासीलाई जग्गाको लालपुर्जा वितरण गर्ने गरी नापी खटायो । सबै सुकुम्बासी परिवारसहित हाम्रो परिवारले पनि जग्गा पायो । त्यसबेला म छ वर्षको भइसकेको थिएँ, दाजु १० र भाइ चार वर्षको । हाम्रो उमेर प्राथमिक शिक्षाका लागि ढिला भइसके पनि नजिकै कुनै विद्यालय थिएन । नजिकैको विद्यालय भन्नु, हरैंचा पचामस्थित जनता मावि थियो, जहाँ पुग्न लोहन्द्रा खोला तरेर एक घण्टाभन्दा बढी हिँड्नुपथ्र्यो । हाम्रा लागि यो असम्भव थियो । बुबाले सङ्खुवासभामै हुँदा घरबाट भागेर खाँदबारी स्थित विद्यालयमा सहयोगीका रूपमा काम गर्दै अध्ययन गर्नुभएको थियो । आर्थिक कठिनाइका कारण १० कक्षा उत्तीर्ण गर्ने अवसर नमिले पनि अङ्ग्रेजी र गणित विषयमा उहाँको राम्रो दखल रहेछ । आफूले उच्चशिक्षा पढ्न नपाए पनि छोराछोरीलाई राम्रो शिक्षा–दीक्षा दिने बाबाको अभिलाषा थियो । तर, वरिपरि विद्यालय नै नभएको र शिक्षकसमेतको अभावका कारण हामी बसेको ठाउँमा बुबाले चाहेजस्तो शैक्षिक वातावरण थिएन । भनिन्छ, मानिसको पहिलो पाठशाला भनेको परिवार हो । परिवारबाट प्राप्त प्रारम्भिक शिक्षाको प्रभाव जीवनमा स्थायी र दूरगामी रहेको हुन्छ । हाम्रो सन्दर्भमा त औपचारिक शिक्षाको सुरुवात पनि घरबाटै भयो । बुुबा हाम्रो गुरु बन्नुभयो । १० वर्षको दाजु र छ वर्षको मलाई औपचारिक शिक्षाको थालनी बुबाले घरमै गर्नुभयो । कखरादेखि नेपाली–अङ्ग्रेजीका सामान्य शब्द लेख्न र उच्चारण गर्न हामीले बुबाबाटै सिक्यौं । २० एकानसम्म मुखाग्र पारेका हामी पूर्ण रूपमा साक्षर भइसकेका थियौं । किताब पढ्न–लेख्न सक्ने र सामान्य गणितमा समेत राम्रै दखल भइसकेको भए पनि हामी विद्यालय भने जान पाएका थिएनौं । 

२०३१ सालमा हाम्रो घरदेखि करिब २५ मिनेटको दूरीमा रहेको कसेनीको धनपालगढीनजिकैको गाउँमा एक जना शिक्षकले वरिपरिका बच्चा भेला पारेर पढाउन सुरु गरेको बुबाले थाहा पाउनुभएछ । बुबालगायत वरिपरि गाउँमा मानिसले ती कर्मठ गुरु श्यामनारायण झालाई विद्यालय स्थापना गर्न उत्प्रेरित गर्नुभयो । सबैको सहमतिमा सामान्य टहरा बनाई स्वीकृतिका लागि पछि प्रक्रिया अघि बढाउने गरी एकै पटक कक्षा पाँचको विद्यालय सञ्चालन गर्ने निर्णय भयो । विद्यालय खुलेपछि २०३१ सालमै दाजु पाँच कक्षा र म तीनमा एकैपटक भर्ना भयौं । केही सहयोगीका साथ श्यामनारायण झा तत्कालीन ‘हेडसर’ हुनुभयो । अङ्गे्रजी र गणित जस्ता महत्वपूर्ण विषयहरू हामीलाई हेडसरले नै पढाउनुहुन्थ्यो । विद्यालयमा फर्निचरको अभाव रहेको हुँदा बस्नका लागि घरबाट बोरा बोकेर जाने गथ्र्यौं । र फर्कंदासँगै घर लिएर आउँथ्यौं । दाजु–भाइको पढाइको तारिफ गर्दै हेडसरले बुबासँग कुरा गर्दा हामी दङ्ग पथ्र्यौं । उहाँको पढाउने र विद्यार्थीलाई उत्प्रेरित गर्ने गजबको शैलीको कारण हामीलाई पढ्न अत्यन्तै सजिलो भयो । बुबापछि हेडसर नै मेरा लागि वास्तविक गुरु बन्नुभयो । उहाँले हामीलाई अत्यन्तै सरल र कुशल ढङ्गले पढाउनु मात्र भएन, भविष्यमा योग्य मानिस बन्नका लागि हाम्रो बाल मस्तिष्कमा उत्प्रेरणा भर्ने काम पनि गर्नुभयो । एक वर्षपछि अन्तिम परीक्षाको परिणाम आउँदा म कक्षा तीनमा र दाजु कक्षा पाँचमा प्रथम भयौं । कक्षा तीनमा प्रथम भएपछि कक्षा चार नपढी एकै पटक कक्षा पाँचमा अध्ययन गर्न उहाँले उत्प्रेरित गर्नुभयो । मैले कक्षा पाँच उत्तीर्ण गरिसकेपछि मात्र उक्त विद्यालयले कक्षा पाँचसम्मको औपचारिक शिक्षा प्रदान गर्ने, भविष्यको लागि मार्गदर्शन गर्ने मेरा हेडसरले एसएलसी नै उत्तीर्ण नगरेको कुरा थाहा पाउँदा मैले विद्यालय छाडिसकेको थिएँ । एसएलसी नभएका कारण उहाँ विद्यालयमा सहयोगीका रूपमा मात्रै रहनुभयो । 

पछि दरबन्दीमा अर्कै प्रअ र शिक्षकहरू आउनुभयो । जे भए पनि एसएलसी नै नगर्नु भएका मेरा हेडसरको अध्ययन शैली विद्यार्थीलाई प्रभावित गर्ने खालको थियो । उहाँमा अरूको भलाइको लागि आफ्नो जीवन नै समर्पण गर्ने सेवाभाव थियो । धेरै प्रतिकूलताका अतिरिक्त विद्यालय खोल्ने उहाँको दृढ साहस र सुमार्ग निर्देशनका कारण नै मैले शिक्षित हुने अवसर पाएँ, आज म यहाँसम्म आइपुग्न सफल भएँ । मेरो जीवनलाई शिक्षाको उज्यालो प्रकाशबाट आलोकित गर्दै यसै क्षेत्रमा लामो समयसम्म दृढताका साथ लागिरहने प्रेरणा मैले मेरो बुबा र हेडसरबाटै प्राप्त गरे । आज मेरो बुबा हुनुहुन्न भने मेरा हेडसर धनपाल मावि कसेनीमा सहयोगीकै रूपमा कार्यरत हुनुहुन्छ । कक्षा पाँच उत्तीर्ण गरेपछि एक घण्टाभन्दा बढी हिँडेर मात्र पुग्न सकिने हरैंचाको जनता माविमा म भर्ना भएँ । मसँग अर्को विकल्प नभएका कारण लोहन्द्रा खोला तरेर ११ वर्षको उमेरमा कक्षा ६ मा अध्ययन गर्न हरैंचा जान थालें । वर्षायाममा खोला तर्न नसकिने भएको हुँदा तीन–चार महिनाका लागि हरैंचामै डेरा गरी बस्थ्यौं । 

हामी हरैंचा जान थालेपछि मेरो आदत र व्यवहारमा केही परिवर्तन आयो । मेरा हेडसर त्यहाँ हुनुहुन्नथ्यो अनि धेरै विद्यार्थीको जमतमा गुरुहरूले मलाई राम्रो सँग चिन्नु पनि हुन्नथ्यो । कहिलेकाहीं बाटोमै खोप्पी खेलेर साँझमा विद्यालयबाट अरू घर फर्कने बेलामा सँगै फर्कने गर्थें । तर, म छोराले राम्रै गरी पढ्छ भन्ने कुरामा बुबाआमा विश्वस्त हुनुभएको कारण उहाँहरूको विश्वासमा भने आघात पु¥याउन चाहन्नथें । कक्षा छदेखि १० सम्म नै दोस्रो भएँ र २०३७ सालमा एसएलसी पनि द्वितीय श्रेणीमा नै उत्तीर्ण गरें । पढ्नका लागि मैले बुबा र हेडसरबाटै प्रेरणा पाएको थिएँ । त्यो प्रेरणाले मेरो आत्मविश्वासलाई थप माथि उठाएको थियो । एसएलसीपछि हात्तीसार क्याम्पसमा आइएससी पढ्न भर्ना भएँ । त्यहाँ प्रथम वर्षमा नियमअनुसार प्रथम हुनेले प्राप्त गर्ने रकम पुरस्कार स्वरुप मैले प्राप्त गरे । दोस्रो वर्षमा पनि म नै प्रथम भएँ । त्यसपछि दुई वर्ष मैले मोरङ, बेलबारीस्थित भगवती माविमा विज्ञान र गणित विषय अध्यापन गरें । २०४३ सालमा बिएससीका लागि महेन्द्र–मोरङ क्याम्पस विराटनगरमा भर्ना भएँ । त्यो बेला मेरो धेरै समय विद्यार्थी राजनीतिमा लागेर खर्च भए पनि मैले प्रथम वर्ष र द्वितीय वर्ष दुवै नियमित रूपमा उत्तीर्ण गरें । 

बिएससी सकेपछि लामो समय अध्ययनको क्रम रोकियो । बिएससी शिक्षक भएर काम गर्ने क्रममा साथीहरूसँग मिलेर बेलबारीस्थित तारादेवी विद्यामन्दिरको स्थापना गरें । २०५५ सालमा तारादेवीले कक्षा ११ र १२ का लागि उच्चमाध्यमिक शिक्षा परिषद्बाट सम्बन्ध पायो । आफ्नो योग्यता स्नातक मात्र भएको हुँदा ११ र १२ व्यवस्थापनका विषय अध्यायन गर्न एमबिए गर्नैपर्ने बाध्यताका कारण मैले प्राइभेट रूपमा स्वअध्ययनबाट २०५७ सालमा एमबिए सिध्याएँ । आफ्नो कलेजमा निरन्तर संलग्नता सँगसँगै दुई वर्ष धरानस्थित महेन्द्र क्याम्पसमा एमबिएसको कर्पोरेट फाइनान्स अध्ययन गरें । त्यही बेला नेपाल बैंक लिमिटेडले ४० वर्ष नाघेका र स्नातकोत्तर गरेका मध्येबाट ६० जना सहायक मेनेजर (अधिकृत तह) का लागि आवेदन माग ग¥यो । उक्त प्रतिस्पर्धामा म ६० जनामध्ये प्रथम भएँ र केही महिना जागिर खाएँ । तर, स्वाभिमानको रक्षा गर्न गाह्रो परेको हुँदा बैंक छाडें । २०६२ सालदेखि सुष्मा एवम् गोदावरी कलेजको प्राचार्य पदमा निरन्तर कार्यरत छु । आफ्नै कलेजमा काम गर्दा आफूसँगसँगै अरूको रोजगारी सिर्जना गरी र गुणस्तरीय शिक्षा प्रदान गर्न पाउँदा निकै सन्तुष्ट छु । यसमा मेरो बुबा र हेडसरको प्रेरणा सधैं साथमा रहेको अनुभूति गरेको छु ।

मेरो गुरु लक्ष्मणजी

Written By Collegetimes on Saturday, June 29, 2013 | 1:03 AM

*बलराम आचार्य (सञ्चालक) गोरखा डिपार्टमेन्ट स्टोर इटहरी
हिजोआजको समयमा अर्काको हित र प्रगति–उन्नति चाहने व्यक्ति नगन्य भेटिन्छन् । तर, अर्कालाई आपत–विपतसँगै अर्काको हित, प्रगति र उन्नति चाहने व्यक्तित्व हुनुहुन्छ, उद्योगपति लक्ष्मणजी तापडिया । लक्ष्मणजी जितेन्द्र चामल उद्योग र खुकुरी तेल उद्योग दुहवीका सञ्चालक हुनुहुन्छ ।
उहाँ परिवारको जेठो छोरा हो । उहाँसँगै अरू तीन भाइ हुनुहुन्छ । उहाँले मलाई यति धेरै नजिक राख्नुहुन्छ, उहाँहरू चार भाइ भए पनि मलाई पनि प्लस गरेर पाँच जना दाजुभाइ मान्नुहुन्छ । उहाँ अत्यन्तै सङ्घर्ष गर्नेे व्यक्तिमा पर्नुहुन्छ । मैले सुने अनुसार उहाँका बाबु गाउँ–गाउँमा गएर उत्पादित कृषि सामान खरिद गरेर घोडामा ल्याउनुहुन्थ्यो । अनि, त्यसलाई बिक्री गरेर मुनाफा आर्जन गर्नुहुन्थ्यो ।
बाबुले सङ्घर्ष गरेको सिकाइले गर्दा अहिले लक्ष्मणजी पनि दैनिक १४ घन्टासम्म आफैं काममा खटिनुहुन्छ । ५८ वर्षीय उहाँ व्यापारमा मात्र होइन, सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय हुनुहन्छ । समाजका सबै वर्ग–समुदायसँग मिल्न सक्ने मिजासिलो स्वभावको व्यक्तिमा उहाँ पर्नुहुन्छ । पूर्वाञ्चलका टप टेन उद्योगीमा पर्ने भए पनि उहाँमा म ठूलो हुँ भन्ने भावना फिटिक्कै छैन ।       

उहाँमा व्यापार–व्यवसाय गर्दा पूरै सेवाको भावना लिएर गर्नुपर्छ भन्ने सोच छ । उहाँ कहिल्यै कसैलाई झुक्याउने कल्पना गर्नुहुन्न । व्यापार–व्यवसायमा उहाँको सेवाको भावना हुनुपर्ने, अनाश्यक तरिकाले पैसा असुल्न नहुने, स्वच्छ मन हुनुपर्ने र निरन्तरता हुनुपर्ने मुख्य सिद्धान्त हुन् । उहाँसँग मेरो २०४० सालताका सङ्गत गर्ने मौका मिल्यो ।  त्यो बेला उहाँको बेलबारीमा अर्जुन स्टोर थियो । म मोरङ रमाइलोको जहदामा काँटा गर्थे । काँटा गर्ने क्रममा उहाँकैमा समान बिक्री गर्थे । त्यही बेलादेखि उहाँसँग मेरो सङ्गत भएको थियो । उहाँकै सङ्गतले गर्दा म पनि सफल  व्यापारी भएको हुँ भन्ने लाग्छ । मैले मेरो व्यापारको आदर्श गुरु पनि उहाँलाई मान्ने गर्छु । अहिले पनि आपत्तविपत्त आइलाग्दा र समस्या पर्दा लक्ष्मणजीलाई नै हरेक समस्या सेयर गर्ने गरेको छु । उहाँले हरेक समस्या समाधानका लागि सहज आइडिया दिने गर्नुभएको छ ।
प्रस्तुति :  अम्बर

मेरो रोलमोडल; नीरप्रसाद सर

Written By Collegetimes on Sunday, May 26, 2013 | 1:11 AM



बालबालिकाको प्रथम पाठशाला घर हो र प्रथम शिक्षक आमा हुन् । त्यसपछि बुबा अनि मात्र शिक्षक (गुरु) । यो सर्वव्यापी मान्यता हो । बालबालिकाको अन्तरब्रह्मले प्राथमिक तहदेखि नै आपूmलाई राम्ररी सिकाउने, माया गर्ने तथा चरित्र निर्माण गराउने व्यक्तिलाई गुरु मान्छ । यहाँनेर कक्षामा पढ मात्र भन्ने, समय बिताउने, छडी वा शब्दले तर्साउने शिक्षकलाई उनीहरू गुरु मान्दैनन् । नियमित आकस्मिकताको त्यही सिलसिलामा मेरो बालापनको स्मृतिसँग जोडिन आइपुगेका केही गुरुहरू सम्झन्छु । प्राथमिक तहमा जनार्दन कायस्थ, गुरूप्रसाद सर र कृष्णचन्द्र पोखरेल अनि मावि (६–१०)तर्पm नीरप्रसाद सर, मोजविल सर, बनर्जी सर, खालिक सर, गुणेश्वर सर, पोद्दार सर, रवीन्द्र सरको नाम मेरो सम्झनामा छ । मेरा आदरणीय गुरुहरूमध्ये नीरप्रसाद कोइराला (इनरुवा–६)का बारेमा म यहाँ सम्झनाका केही शब्दहरू उल्लेख गर्न चाहन्छु ।
नीरप्रसाद सर असल शिक्षकका रूपमा मात्र नभएर नेपाली साहित्यिक क्षेत्रमा समेत परिचित नाम हो । शिक्षाको विकास नभएको बेला नेपाली भाषा साहित्य शिक्षण गर्न सक्षम सुनसरीका औंलामा गनिने शिक्षकमा नीरप्रसाद सरको नाम आउँथ्यो । कक्षा ६ देखि १० कक्षासम्म भगवती माविमा छँदा मैले चार–पाँच वर्ष नीरप्रसाद सरसँग नेपाली भाषा साहित्य अध्ययन गर्ने मौका पाएँ । नजिकको शिक्षकका रूपमा सङ्गत गर्ने मौका पाएँ । हाल पनि आफूले मनले खाएका शिक्षक नीरप्रसाद सरसँग निकटता रहिरहेको कुरा मेरा लागि महत्वपूर्ण छ । दक्ष, आत्मविश्वासी तथा निर्भिक नीरप्रसाद सरलाई म रोलमोडल शिक्षक मान्छु । सरकारी शिक्षण सेवाबाट अवकाशप्राप्त नीरप्रसाद सर आज पनि जाँगरपूर्वक इनरुवा इङ्लिस बोर्डिङ स्कुलमा नेपाली भाषा–साहित्य अध्यापनमा सक्रिय हुनु यो क्षेत्रकै लागि उदाहरणीय प्रसङ्ग हो । त्यो विद्यालय तथा त्यहाँ अध्ययनरत छात्रछात्रा यस मानेमा भाग्यशाली छन् । भाषाशास्त्री महानन्द सापकोटाको सानिध्यप्राप्त गर्ने थोरै व्यक्तिमा पर्ने नीरप्रसाद सरको नयाँपुस्तामा ज्ञान हस्तान्तरण गर्ने शैलीबाट म प्रेरित रहँदै आएको छु ।
प्रत्येक छात्र–छात्राले शिक्षकको मूल्याङ्कन गरिरहेका हुन्छन्, जसरी शिक्षकहरू छात्र–छात्राको मूल्याङ्कन गर्छन् । छात्र–छात्राले आफ्नो ब्रह्मले प्रतिभा पहिचान गर्ने, माया गर्ने तथा प्रेरणा दिने शिक्षकलाई चिनिहाल्छन्, कदर गर्न थाल्छन् अनि गुरु  मान्छन् । त्यसो त शिक्षक धेरै हुन्छन्, तर असल शिक्षक वा गुरु बन्नु कठिन कार्य हो । गुरु (गु+रु)  शब्दको अर्थ अन्धकार हटाउनु हुन्छ । अर्थात् गुरुले अज्ञानता हटाई सुज्ञान भरिदिएर शिष्यको चरित्र निर्माण गर्नुपर्ने सनातनी मान्यता हो । तर, आज हामी शिक्षकले अज्ञानता हटाएर सभ्य नागरिक निर्माण गर्ने कार्यमा कति टेवा दिनसकेका छौं ? आत्ममूल्याङ्कन गर्नुपर्छ ।
ममा रहेको अज्ञानता हटाई चरित्र निर्माणमा सहयोग पु¥याउने नीरप्रसाद सरको उत्प्रेरणा मेरा लागि सदा स्मरणीय छ । हुन त, सिक्ने सिकाउने कुरामा शिक्षक सहयोगी वा पथप्रदर्शक मात्र बन्न सक्छ । ग्यालिलियो लेख्छन्, ‘कसैले कसैलाई पढाउन (सिकाउन) सक्दैन, मात्र सिक्ने बाटो देखाउन सक्छ ।’ विद्यालय सिकाइको प्रमुख थलो हो । अब्राहम लिङ्कन आफ्नो छोरालाई पहिलोपल्ट विद्यालय पठाउँदा लेख्छन्, ‘सज्जनहरू, मेरो छोरो आजदेखि स्कुल जाँदैछ, उसको सानो हात थामेर उसले जान्नु र गर्नुपर्ने व्यवहार सिकाइदिनुहोस् । उसमा विवेकको आत्मशक्ति जगाइदिनुहोस् ।’
नीरप्रसाद सरले मलाई यसैगरी मेरो हात समाउँदै डोहो¥याएकाले नै म आज आफूले आर्जित गरेको ज्ञान नयाँपुस्तामा हस्तान्तरण गर्ने सुमार्गमा हिँड्न सकिरहेको छु । गुरुले मलाई ज्ञानमार्गमा डोहो¥याएको यो ऋण सायद म आजीवन तिर्न सक्तिनँ । किनकि पितृऋण, देवऋण तथा गुरुऋण तिरेर तिरी नसकिने ऋणहरू हुन् ।
शैक्षिक क्षेत्रबाहेक सामाजिक क्षेत्रमा पनि अग्रणी नीरप्रसाद सरको योगदान सुनसरी साहित्य प्रतिष्ठान र जनतत्पर पुस्तकालय स्थापनासँग जोडिएको छ ।  विभिन्न साहित्यिक पत्रपत्रिकामा प्रकासित सरका कविता, समीक्षा, नियात्रा, निबन्ध, विचार आदिले यो क्षेत्रमा साहित्यिक जागरण ल्याउन योगदान गरेका छन् । मेरा लागि सदा पे्ररणादायी व्यक्तित्व नीरप्रसाद सरबाट प्राप्त ज्ञानको ज्ञान आज म छात्र–छात्राहरूमा इमान्दारीपूर्वक प्रसार गरिरहेको छु, तर त्यतिले नपुग्ला । तस्मै श्री गुरवे नमः !
पुरुषोत्तम घिमिरे प्रधानाध्यापक, भगवती मावि

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved