आज पनि हेडसरकै प्रेरणा - College Times : Educational Magazine
Headlines News :
Home » » आज पनि हेडसरकै प्रेरणा

आज पनि हेडसरकै प्रेरणा

Written By Collegetimes on Wednesday, April 23, 2014 | 1:44 AM


बोधराज नेपाल, प्रिन्सिपल, सुष्मा कोइराला मेमोरियल कलेज

जीविकोपार्जनको बाटो पहिल्याउँदै मुग्लान (आसाम) भासिएको मेरो परिवार दुई वर्ष त्यहाँ बसेर २०२६ सालमा मोरङ, बेलबारी–१ (तत्कालीन कसेनी–१) स्थित झोडामा सुकुम्बासी हुन आइपुग्यो । परिवारमा हजुरआमा, बुबा, आमा, दाजु, भाइ र म थियौं । त्यो बेला आज बनाएको छाप्रो वन विभागबाट खटिइआएका कर्मचारीले हात्ती ल्याएर भत्काइ दिँदा रातभरि झरीमा रुझ्दै बस्न बाध्य हुन्थ्यौं । भोलि बिहानको घामसँगै अर्को छाप्रो हाल्ने काम हुन्थ्यो । तर, त्यो पनि हात्ती लगाएर नभत्काउञ्जेलका लागि मात्र हुन्थ्यो । त्यो क्रममा कैयौं पटक बुबा छविलाल नेपाललाई पक्राउ गरी वन विभाग र जेलसमेत चलान गरियो । 

तर, २०२८ सालमा तत्कालीन सरकारले पूर्वी नेपालमा वनफँडानी गरी बसेका सुकुम्बासीलाई जग्गाको लालपुर्जा वितरण गर्ने गरी नापी खटायो । सबै सुकुम्बासी परिवारसहित हाम्रो परिवारले पनि जग्गा पायो । त्यसबेला म छ वर्षको भइसकेको थिएँ, दाजु १० र भाइ चार वर्षको । हाम्रो उमेर प्राथमिक शिक्षाका लागि ढिला भइसके पनि नजिकै कुनै विद्यालय थिएन । नजिकैको विद्यालय भन्नु, हरैंचा पचामस्थित जनता मावि थियो, जहाँ पुग्न लोहन्द्रा खोला तरेर एक घण्टाभन्दा बढी हिँड्नुपथ्र्यो । हाम्रा लागि यो असम्भव थियो । बुबाले सङ्खुवासभामै हुँदा घरबाट भागेर खाँदबारी स्थित विद्यालयमा सहयोगीका रूपमा काम गर्दै अध्ययन गर्नुभएको थियो । आर्थिक कठिनाइका कारण १० कक्षा उत्तीर्ण गर्ने अवसर नमिले पनि अङ्ग्रेजी र गणित विषयमा उहाँको राम्रो दखल रहेछ । आफूले उच्चशिक्षा पढ्न नपाए पनि छोराछोरीलाई राम्रो शिक्षा–दीक्षा दिने बाबाको अभिलाषा थियो । तर, वरिपरि विद्यालय नै नभएको र शिक्षकसमेतको अभावका कारण हामी बसेको ठाउँमा बुबाले चाहेजस्तो शैक्षिक वातावरण थिएन । भनिन्छ, मानिसको पहिलो पाठशाला भनेको परिवार हो । परिवारबाट प्राप्त प्रारम्भिक शिक्षाको प्रभाव जीवनमा स्थायी र दूरगामी रहेको हुन्छ । हाम्रो सन्दर्भमा त औपचारिक शिक्षाको सुरुवात पनि घरबाटै भयो । बुुबा हाम्रो गुरु बन्नुभयो । १० वर्षको दाजु र छ वर्षको मलाई औपचारिक शिक्षाको थालनी बुबाले घरमै गर्नुभयो । कखरादेखि नेपाली–अङ्ग्रेजीका सामान्य शब्द लेख्न र उच्चारण गर्न हामीले बुबाबाटै सिक्यौं । २० एकानसम्म मुखाग्र पारेका हामी पूर्ण रूपमा साक्षर भइसकेका थियौं । किताब पढ्न–लेख्न सक्ने र सामान्य गणितमा समेत राम्रै दखल भइसकेको भए पनि हामी विद्यालय भने जान पाएका थिएनौं । 

२०३१ सालमा हाम्रो घरदेखि करिब २५ मिनेटको दूरीमा रहेको कसेनीको धनपालगढीनजिकैको गाउँमा एक जना शिक्षकले वरिपरिका बच्चा भेला पारेर पढाउन सुरु गरेको बुबाले थाहा पाउनुभएछ । बुबालगायत वरिपरि गाउँमा मानिसले ती कर्मठ गुरु श्यामनारायण झालाई विद्यालय स्थापना गर्न उत्प्रेरित गर्नुभयो । सबैको सहमतिमा सामान्य टहरा बनाई स्वीकृतिका लागि पछि प्रक्रिया अघि बढाउने गरी एकै पटक कक्षा पाँचको विद्यालय सञ्चालन गर्ने निर्णय भयो । विद्यालय खुलेपछि २०३१ सालमै दाजु पाँच कक्षा र म तीनमा एकैपटक भर्ना भयौं । केही सहयोगीका साथ श्यामनारायण झा तत्कालीन ‘हेडसर’ हुनुभयो । अङ्गे्रजी र गणित जस्ता महत्वपूर्ण विषयहरू हामीलाई हेडसरले नै पढाउनुहुन्थ्यो । विद्यालयमा फर्निचरको अभाव रहेको हुँदा बस्नका लागि घरबाट बोरा बोकेर जाने गथ्र्यौं । र फर्कंदासँगै घर लिएर आउँथ्यौं । दाजु–भाइको पढाइको तारिफ गर्दै हेडसरले बुबासँग कुरा गर्दा हामी दङ्ग पथ्र्यौं । उहाँको पढाउने र विद्यार्थीलाई उत्प्रेरित गर्ने गजबको शैलीको कारण हामीलाई पढ्न अत्यन्तै सजिलो भयो । बुबापछि हेडसर नै मेरा लागि वास्तविक गुरु बन्नुभयो । उहाँले हामीलाई अत्यन्तै सरल र कुशल ढङ्गले पढाउनु मात्र भएन, भविष्यमा योग्य मानिस बन्नका लागि हाम्रो बाल मस्तिष्कमा उत्प्रेरणा भर्ने काम पनि गर्नुभयो । एक वर्षपछि अन्तिम परीक्षाको परिणाम आउँदा म कक्षा तीनमा र दाजु कक्षा पाँचमा प्रथम भयौं । कक्षा तीनमा प्रथम भएपछि कक्षा चार नपढी एकै पटक कक्षा पाँचमा अध्ययन गर्न उहाँले उत्प्रेरित गर्नुभयो । मैले कक्षा पाँच उत्तीर्ण गरिसकेपछि मात्र उक्त विद्यालयले कक्षा पाँचसम्मको औपचारिक शिक्षा प्रदान गर्ने, भविष्यको लागि मार्गदर्शन गर्ने मेरा हेडसरले एसएलसी नै उत्तीर्ण नगरेको कुरा थाहा पाउँदा मैले विद्यालय छाडिसकेको थिएँ । एसएलसी नभएका कारण उहाँ विद्यालयमा सहयोगीका रूपमा मात्रै रहनुभयो । 

पछि दरबन्दीमा अर्कै प्रअ र शिक्षकहरू आउनुभयो । जे भए पनि एसएलसी नै नगर्नु भएका मेरा हेडसरको अध्ययन शैली विद्यार्थीलाई प्रभावित गर्ने खालको थियो । उहाँमा अरूको भलाइको लागि आफ्नो जीवन नै समर्पण गर्ने सेवाभाव थियो । धेरै प्रतिकूलताका अतिरिक्त विद्यालय खोल्ने उहाँको दृढ साहस र सुमार्ग निर्देशनका कारण नै मैले शिक्षित हुने अवसर पाएँ, आज म यहाँसम्म आइपुग्न सफल भएँ । मेरो जीवनलाई शिक्षाको उज्यालो प्रकाशबाट आलोकित गर्दै यसै क्षेत्रमा लामो समयसम्म दृढताका साथ लागिरहने प्रेरणा मैले मेरो बुबा र हेडसरबाटै प्राप्त गरे । आज मेरो बुबा हुनुहुन्न भने मेरा हेडसर धनपाल मावि कसेनीमा सहयोगीकै रूपमा कार्यरत हुनुहुन्छ । कक्षा पाँच उत्तीर्ण गरेपछि एक घण्टाभन्दा बढी हिँडेर मात्र पुग्न सकिने हरैंचाको जनता माविमा म भर्ना भएँ । मसँग अर्को विकल्प नभएका कारण लोहन्द्रा खोला तरेर ११ वर्षको उमेरमा कक्षा ६ मा अध्ययन गर्न हरैंचा जान थालें । वर्षायाममा खोला तर्न नसकिने भएको हुँदा तीन–चार महिनाका लागि हरैंचामै डेरा गरी बस्थ्यौं । 

हामी हरैंचा जान थालेपछि मेरो आदत र व्यवहारमा केही परिवर्तन आयो । मेरा हेडसर त्यहाँ हुनुहुन्नथ्यो अनि धेरै विद्यार्थीको जमतमा गुरुहरूले मलाई राम्रो सँग चिन्नु पनि हुन्नथ्यो । कहिलेकाहीं बाटोमै खोप्पी खेलेर साँझमा विद्यालयबाट अरू घर फर्कने बेलामा सँगै फर्कने गर्थें । तर, म छोराले राम्रै गरी पढ्छ भन्ने कुरामा बुबाआमा विश्वस्त हुनुभएको कारण उहाँहरूको विश्वासमा भने आघात पु¥याउन चाहन्नथें । कक्षा छदेखि १० सम्म नै दोस्रो भएँ र २०३७ सालमा एसएलसी पनि द्वितीय श्रेणीमा नै उत्तीर्ण गरें । पढ्नका लागि मैले बुबा र हेडसरबाटै प्रेरणा पाएको थिएँ । त्यो प्रेरणाले मेरो आत्मविश्वासलाई थप माथि उठाएको थियो । एसएलसीपछि हात्तीसार क्याम्पसमा आइएससी पढ्न भर्ना भएँ । त्यहाँ प्रथम वर्षमा नियमअनुसार प्रथम हुनेले प्राप्त गर्ने रकम पुरस्कार स्वरुप मैले प्राप्त गरे । दोस्रो वर्षमा पनि म नै प्रथम भएँ । त्यसपछि दुई वर्ष मैले मोरङ, बेलबारीस्थित भगवती माविमा विज्ञान र गणित विषय अध्यापन गरें । २०४३ सालमा बिएससीका लागि महेन्द्र–मोरङ क्याम्पस विराटनगरमा भर्ना भएँ । त्यो बेला मेरो धेरै समय विद्यार्थी राजनीतिमा लागेर खर्च भए पनि मैले प्रथम वर्ष र द्वितीय वर्ष दुवै नियमित रूपमा उत्तीर्ण गरें । 

बिएससी सकेपछि लामो समय अध्ययनको क्रम रोकियो । बिएससी शिक्षक भएर काम गर्ने क्रममा साथीहरूसँग मिलेर बेलबारीस्थित तारादेवी विद्यामन्दिरको स्थापना गरें । २०५५ सालमा तारादेवीले कक्षा ११ र १२ का लागि उच्चमाध्यमिक शिक्षा परिषद्बाट सम्बन्ध पायो । आफ्नो योग्यता स्नातक मात्र भएको हुँदा ११ र १२ व्यवस्थापनका विषय अध्यायन गर्न एमबिए गर्नैपर्ने बाध्यताका कारण मैले प्राइभेट रूपमा स्वअध्ययनबाट २०५७ सालमा एमबिए सिध्याएँ । आफ्नो कलेजमा निरन्तर संलग्नता सँगसँगै दुई वर्ष धरानस्थित महेन्द्र क्याम्पसमा एमबिएसको कर्पोरेट फाइनान्स अध्ययन गरें । त्यही बेला नेपाल बैंक लिमिटेडले ४० वर्ष नाघेका र स्नातकोत्तर गरेका मध्येबाट ६० जना सहायक मेनेजर (अधिकृत तह) का लागि आवेदन माग ग¥यो । उक्त प्रतिस्पर्धामा म ६० जनामध्ये प्रथम भएँ र केही महिना जागिर खाएँ । तर, स्वाभिमानको रक्षा गर्न गाह्रो परेको हुँदा बैंक छाडें । २०६२ सालदेखि सुष्मा एवम् गोदावरी कलेजको प्राचार्य पदमा निरन्तर कार्यरत छु । आफ्नै कलेजमा काम गर्दा आफूसँगसँगै अरूको रोजगारी सिर्जना गरी र गुणस्तरीय शिक्षा प्रदान गर्न पाउँदा निकै सन्तुष्ट छु । यसमा मेरो बुबा र हेडसरको प्रेरणा सधैं साथमा रहेको अनुभूति गरेको छु ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved