अहिले चिकित्सकले औषधि पसल खोल्न चाहे, त्यो सम्भव हँुदैन, किनभने औषधि व्यवस्था विभागले फार्मेसी अध्ययन गरेर अनुमति–पत्र लिएकाहरूले मात्र औषधि पसल खोल्न पाउने नियम लागु गरेको छ । साथै अस्पतालका बेडमा पनि अनुमतिपत्र लिएकालाई अनिवार्य राख्नुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्थाले औषधि विज्ञान अर्थात् फार्मेसीप्रति विद्यार्थीलाई थप आकर्षित गरेको छ ।
‘फार्मेसीको अध्ययनपछि रोजगारीका लागि सबैभन्दा राम्रो विषय हो,’ सुनसरी टेक्निकल कलेज धरानका फार्मेसी विभाग प्रमुख अमित गुप्ताले भने, ‘रोजगारीको ग्यारेन्टी मात्र होइन, स्वरोजगार दृष्टिकोणले पनि फार्मेसी उपयुक्त विषय हो ।’
फार्मेसी अध्ययन गरे सुरक्षित रोजगारी पाइनुका अतिरिक्त स्वयम्ले औषधि पसल खोलेर जीविकोपार्जनसमेत गर्न सकिने भएकाले यो विषयप्रति आकर्षण बढेको गुप्ताले बताए । सिटिइभिटीको सम्बन्धनमा ३० वटा कलेजले नेपालमा डिप्लोमा इन फार्मेसी अध्यापन गराउँदै आएका छन् । डिप्लोमा इन फार्मेसी गरेकाहरूले फार्मेसीमै स्नातक तथा स्नातकोत्तर गर्न सक्छन् । फार्मेसीमा स्नातक गर्न नेपालमा त्रिभुवन, पूर्वाञ्चल, पोखरा तथा काठमाडौं विश्वविद्यालयको शैक्षिक पाठ्यक्रम उपलब्ध छ । स्नातकोत्तरका लागि काठमाडौं विश्वविद्यालयको शैक्षिक कार्यक्रम छ ।
फार्मेसी अध्ययन गरेकाहरूले फार्मेसी ल्याब, औषधि पसल तथा औषधि गुणस्तर नियन्त्रणका क्षेत्रमा अवसर पाउँछन् । फार्मेसीमा उच्चअध्ययनका लागि प्लसटु साइन्समा बायोलोजी लिएकाहरूले अवसर पाउँछन् । इन्जिनियरिङ, डाक्टर, पाइलट, पत्रकारजस्ता फिल्ड ओरिएन्टेड जब नहुने भएकाले पनि यो विषय तीभन्दा फरक छ । फार्मेसी अध्ययन गर्नेले फिल्डमा जान पर्दैन सबै काम अफिसमै बसेर गर्न सक्छन् । मेडिकल एजुकेसनमा सबै एजुकेसन सिस्टमले फार्मेसीका बारेमा ज्ञान हासिल गर्नुपर्ने बाध्यता हुन्छ, त्यसकारण फार्मेसी अध्ययन गरेकाहरूले एमबिबिएसदेखि मेडिकल ल्याब, पब्लिक हेल्थ, फार्मेसी, फिजियोथेरापिस्ट, रेडियोलोजिस्ट, एचए, नर्सिङलाई अध्यापन गर्ने अवसरसमेत पाउँछन् । फार्मेसी अध्ययन गरेपछि फर्मासिस्ट बनेकाहरूलाई औषधि कम्पनीले समेत रोजगारीको अवसर दिन्छन् । औषधिको केमिकल कम्बिनेसनका बारेमा फर्मासिस्ट नै ज्ञाता हुन्छन् । पश्चिमा मुलुकहरूमा एमबिबिएस डाक्टरले परीक्षण गरिसकेपछि रोगअनुसार औषधि लेख्ने जिम्मा फर्मासिस्टलाई नै दिइन्छ । औषधि निर्माणमै उनीहरूको संलग्नता हुने भएकाले केमिकलका बारेमा उनीहरू दक्ष हुन्छन् । त्यस्तै हिजोआज मेडिकल रिप्रेजेन्टेटिभ (एमआर) को रोजगारीका लागि पनि फर्मासिस्टलाई नै पहिलो प्राथमिकतामा राखिन्छ ।
एमआर, क्वालिटी कन्ट्रोल, फार्मेसी ल्याबमा उनीहरूले सहजै रोजगार पाउँछन् । महिलाहरू कामप्रति संवेदनशील हुने भएकाले पुरुषको तुलनामा उनीहरूले छिटो अवसर पाउने गरेको विज्ञहरू बताउँछन् । नेपालमा अहिले एक दर्जनभन्दा बढी फर्मासिटिकल्स कम्पनी सञ्चालनमा छन् । सुरु–सुरुमा औषधि कम्पनीहरूले औषधि उत्पादनका लागि भारतबाट फर्मासिस्ट झिकाउने गरेका थिए, तर अहिले नेपालमै जनशक्ति तयार भएकाले औषधि कम्पनीहरूले पनि कम मूल्यमा दक्ष कामदार पाउन थालेका छन् । डिप्लोमा इन फार्मेसी अध्ययन गरिसकेकाहरूले न्यूनतम आठ हजारदेखि ३० हजार रूपैयाँसम्मको रोजगारी पाउँछन् । त्यसभन्दामाथि अध्ययन गरेकाहरूको त ३० हजारभन्दा बढी तलब हुन्छ ।
सहरमा मात्र होइन ग्रामीण क्षेत्रमा पनि फार्मेसी अध्ययन गरेकाहरूको विशेष महत्व हुन्छ । ग्रामीण क्षेत्रमा उनीहरूले क्लिनिक नै सञ्चालन गरेका हुन्छन् । डिप्लोमा इन फार्मेसी तथा ब्याचलर इन फार्मेसी गरेकाहरूले फार्मेसी काउन्सिलबाट अनुमति–पत्र लिएर औषधि पसल तथा क्लिनिक सञ्चालन गर्न सक्छन् ।
फार्मेसीमा के के पढाइ हुन्छ ?
फार्मेसीमा जनरल साइन्सअन्तर्गतका फिजिक्स, केमेस्ट्री, बायोलोजी अध्ययन गर्नुपर्छ । यसबाहेक एनाटोमी, फिजियोलोजी, मेडिकल म्यानेजमेन्ट, एडमिनेस्ट्रेसन, सोसियल स्टडी, फर्मासिटिकल्स केमेस्ट्री, फर्माकोलोजी, कोग्नोसी, मेडिकल प्लान्ट आदि विषयमा अध्यापन हुन्छ ।
खर्र्च कति लाग्छ ? कहाँ पढ्ने ?
थोरै लगानीमा अध्ययन गरिने विषयमध्येमा फार्मेसी एक हो । सिटिइभिटीअन्तर्गतको डिप्लोमा इन फार्मेसीका लागि एक लाख ७५ हजार रूपैयाँदेखि तीन लाख सम्म खर्च हुन्छ, जुन पैसा विद्यार्थीले २ वर्षभित्रै कमाउन सक्छन् । पूर्वमा सुनसरी टेक्निकल कलेज धरान, नोबेल मेडिकल कलेज विराटनगर, विराटहेल्थ कलेज विराटनगर, मनासरोवर कलेज दमकलगायतका कलेजमा यो विषयको पढाइ तीन लाखसम्ममा पूरा हुन्छ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !