असफलताले बनाउँछ, मान्छेलाई सफल । पत्याउनुहुन्छ ? हामीसँग दर्जनौं उदाहरण छन्, असफल ठानिएका मान्छेहरू सफल भएका । भनिन्छ, असफलता नै सफलताको सोपान (सिँढी) हो । कुरा एसएलसीबाट सुरु गरौँ ।
फलामे गेट अनि सबैभन्दा गाह्रो परीक्षाको उपमा पाएको एसएलसी वास्तवमा न त गाह्रो छ, न त यो फलामे गेट नै हो । १० वर्षसम्म पढेका कुरालाई आफ्नै भाषामा लेख्नेबित्तिकै परीक्षा सकिन्छ । तर, गाह्रो विषय भन्ने उपमा पाएकै कारण नतिजालाई लिएर पनि विद्यार्थीहरू चिन्तित हुन्छन् । कतिपयले त असफलता सहन नसकी आत्महत्या नै गर्छन् । तर, एउटा सानो असफलतालाई लिएर आत्महत्या गर्नु सबैभन्दा ठूलो अपराध हो ।
परीक्षापछि नतिजालाई जसरी पनि सामना गर्नुपर्छ । जसरी २४ घन्टामा दिन र रात हुन्छ, जसरी घामसँगै छाया, सुखसँगै दुःख, सफलतासँगै असफलता र सजिलोसँगै गाह्रो जोडिएर आउँछ, परीक्षामा पनि पास–फेल, राम्रो–नराम्रो, सफलता वा सफलतामध्ये एक नतिजा आउँछ । वास्तवमा ती सबै नतिजालाई सहर्ष स्वीकार गर्न सक्नु नै परीक्षामा पास हुनु हो ।
स्कुले जीवनलाई काँचो माटोसँग तुलना गर्दा यसलाई जुनसुकै आकारमा ढाल्न सकिन्छ । सोच्ने क्षमता परिपक्व भइनसकेको यो अवस्थामा सानो सफलताले पनि धेरै हौस्याउँछ भने सानो असफलताले पनि धेरै निरास बनाउँछ । गएको महिना ताप्लेजुङमा एक १२ वर्षीया बालिकाले आमाले टिभी नहेर भनेर कराएकै झोंकमा आत्महत्या गरेर आफ्नो जीवन समाप्त गरिन् । आमाबुवाले गाली गरेकै झोंकमा आफ्नो जीवन समाप्त पार्ने त कति छन् कति । तर, त्यो सबै मूर्खताबाहेक केही होइन । आफन्त, परिवारले गाली नगरे कसले गर्छ ?
कुरा के हो भने, परीक्षा दिनु नै हाम्रो सबैभन्दा ठूलो जित हो । कतिले त परीक्षा पनि दिन पाउँदैनन्, सक्दैनन्, जान्दैनन् । परीक्षा दिएर नतिजा हाम्रो लागि टाउको दुःखाइ बन्नै हुँदैन । असफलता हाम्रो हार होइन । त्यो त एउटा प्रयास असफल भएको मात्र हो । हामीले जीवनमा यस्ता सयौं प्रयास गर्नुपर्छ । किनकि प्रयास र सङ्घर्षबाटै मानिस खारिन्छ । फेरि असफलताहरू मनिसका सत्रु होइन, मित्र हुन् । तिनले धेरै कुरा सिकाउँछन् । जस्तै, चर्चित कलाकार हरिवंश आचार्यले तेस्रो पटकमा मात्र एसएलसी पास गरेका थिए । सिएनएन हिरो पुष्पा बस्नेतले पनि पहिलोपटकमै एसएलसी पास गरेकी होइनन् ।
त्यसैले आफूलाई खार्दै अघि बढाउन असफलताहरूसँग कुम जोडौं । असफलताले सफलताको बाटो खोलिरहेको हुन्छ । त्यसैले असफलताको उल्झनबाट जोगिँदै सफलताको बाटोमा अघि बढौं । टम वेस्टनकाका शब्दमा भन्दा, यदि तपार्ई सफल हुन चाहनुहुन्छ भने असफलताको दर दोब्बर बनाउनुहोस् ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !