पढाइपश्चात् राम्रो रोजगारी बीएसडब्ल्यू - College Times : Educational Magazine
Headlines News :
Home » » पढाइपश्चात् राम्रो रोजगारी बीएसडब्ल्यू

पढाइपश्चात् राम्रो रोजगारी बीएसडब्ल्यू

Written By Collegetimes on Saturday, June 29, 2013 | 1:39 AM

अहिलेको समय परिस्थितिमा नवीनतम् एवम् राम्रा मानिएका विषय लिएर सामाजिक कार्यमा स्नातक तह (बिएसडब्लू) विषय पनि एउटा नयाँ र विशेष सम्भावनाको क्षेत्र हो । हाल यसको प्रभाव विस्तार हुँदै गएको देख्न सकिन्छ ।
नेपालमा बिएसडब्लूको प्रवेश सन् १९९६ पछि भएको हो । हाल त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका आङ्गिक क्याम्पसहरूमा यस विषयको पढाइ हुँदै आएको छ । दिनानुदिन गैरसरकारी र अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरूको सङ्ख्या र कार्यक्षेत्र बढ्दै गएका कारण श्रम बजारमा यो विषय पढेका जनशक्तीको तीव्र माग हुँदै आएको पाइन्छ ।
हिजोआज समाजसेवा र सामाजिक सुधारका कार्यप्रति अन्तर्राष्ट्रियस्तरमा नै चासो बढ्दै गएको छ । तर, विद्यमान जनशक्तिले सैद्धान्तिक ज्ञानको अभावमा उक्त चासो र मागको सम्बोधन गर्न सकेको देखिँदैन । यसै पृष्ठभूमिमा बिएसडब्लू विषयको अध्ययनमा सैद्धान्तिक र व्यावहारिक दुवै किसिमको सिकाइ पद्धतिमा जोड दिइने भएको हुँदा उत्पादन हुने जनशक्ति प्रभावकारी कार्य सम्पादन हुन सक्ने कुरामा विश्वास गर्न सकिन्छ ।
संयुक्त राष्ट्र सङ्घ र यसअन्र्तगतका विशिष्टीकृत सङ्घ–संस्था, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ–संस्थाहरू, ग्रामीण विकास तथा सामाजिक परियोजनाका क्षेत्रमा समेत बिएसडब्लू अध्ययन गरेका जनशक्तिले रोजगारी पाएका छन् । समाजसेवाका माध्यमबाट गाउँ, समाज, देश र विश्वमै आमूल परिवर्तन ल्याई विकास सम्भव हुन्छ भन्ने विषयवस्तुमा केन्द्रित भई यसको पाठ्यक्रम तयार गरिएकाले यो विषय समयसापेक्ष एवम् सान्दर्भिकसमेत रहेको छ ।
मान्यताप्राप्त शिक्षण संस्थाबाट मानविकी, विज्ञान, व्यवस्थापन र शिक्षाशास्त्र सङ्कायलगायत जुनसुकै विषयमा १० जोड दुई वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण विद्यार्थीले बिएसडब्लूमा भर्ना भई अध्ययन गर्न सक्छन्् । त्यसका लागि कलेजले लिने प्रवेश परीक्षा उत्तीर्ण गर्नु भने आवश्यक हुन्छ ।

के–के पढाइन्छ बिएसडब्लूमा ?
सामाजिक कार्य र समाजसेवाको बृहत्् क्षेत्रलाई सैद्धान्तिक ढाँचामा ल्याउन विश्वस्तरिय विषयवस्तुलाई बिएसडब्लूको पाठ्यक्रमले समेटेको छ । पाठ्यक्रममा बालअधिकार, सामाजिक न्याय, समावेशीकरण, लैङ्गिक मुद्दा, समाजसेवा, मानवअधिकार, मनो–सामाजिक विषयवस्तु, महिला सशक्तीकरण, युवा एवम् वृद्ध–वृद्धासम्बन्धी विषयवस्तु समेटिएका छन् । बिएसडब्लूअन्र्तगत समाजकल्याण प्रशासन, एकीकृत सामाजिक कार्य, सामाजिक कार्यमा अनुसन्धान पद्धति, सामाजिक कार्य अभ्यास, मानवअधिकार र सामाजिक वातावरण, समाजकल्याण नीति र सेवालगायतका व्यावहारिक विषय हुन्छन् । साथै फिल्ड रिपोर्ट र लगभग ४० प्रतिशत अङ्क प्रयोगात्मक परीक्षामा छुट्याइने हुनाले पनि बिएसडब्लू विषय व्यावहारिक विषयको रूपमा रहेको छ । बिएसडब्लू उत्तीर्ण गरेका जनशक्तिहरू हाल प्राकृतिक स्रोत, सडक बालबालिका, बालअधिकार, महिला सशक्तीकरण, पुनःस्थापना केन्द्र, अपाङ्ग, अशक्त एवम् सीमान्तकृत वर्गका क्षेत्रमा कार्य गरिरहेका राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सङ्घ–संस्थामा आबद्ध छन् ।

कहाँ पढ्ने, खर्च कति ?
बिएसडब्लू विषयको अध्ययन हाललाई काठमाडौं उपत्यकाभित्रका केही कलेजमा सीमित छ । तीन बर्से कोर्स पढाइ हुने यस विषयमा त्रिविले वार्षिक रूपमा परीक्षा सञ्चालन गर्ने भए तापनि काठमाडौं विश्विद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले भने सेमेस्टर प्रणाली अपनाएको छ । यी विश्वविद्यालयले ६ सेमेस्टरमा आधारित भई पढाउने र ६ महिनामा अन्तिम परीक्षा सञ्चालन गर्छन् । हरेक ६ महिना बराबरको एक सेमेस्टर हुन्छ । यो विषय अध्ययन गर्नका लागि वार्षिक रूपमा औसत ६० हजार रूपैयाँ शिक्षण शुल्क लाग्छ ।  जेभियर इन्टरनेसनल कलेजबाट बिएसडब्लूको अध्ययन पूरा गरी हाल युनिसेफमा इन्टर्न गरिरहेका विद्यार्थी जगन्नाथ पोख्रेलले लगभग दुई लाख रूपैयाँमा आफूले तीन बर्से कोर्स पूरा गरेको बताए ।
कुन–कुन कलेजमा पढाइ हुन्छ बिएसडब्लू ?
त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयका सम्बन्धनप्राप्त कलेजहरूमा बिएसडब्लूको पढाइ हुने गरेको पाइन्छ । सन् २००५ मा पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सेन्ट जेभियर्स कलेज काठमाडौंले स्नातकोत्तर तहमा समेत यो विषय अर्थात् एमएसडब्लूको पढाइ गर्दै आएको छ । बिएसडब्लूको अध्ययनपश्चात नै राम्रो अवसर र रोजगारी सिर्जना हुने कारणले गर्दा अधिकतर विद्यार्थीले स्नातक तहसम्म मात्र अध्ययन गर्ने गरेको पाइन्छ । केही विद्यार्थीले एमएसडब्लू विषय अध्ययनका लागि अमेरिका, पोल्यान्ड, बेलायत, नर्वे, फिनल्यान्डलगायतका विकसित मुलुकतिर प्रस्थान गर्ने परिपाटी रहेको छ ।
नेपालमा बिएसडब्लू विषयको पढाइ हुने केही मुख्य कलेजको सूची यस्तो छ ।
–ट्रिटन इन्टरनेसनल कलेज, तीनकुने काठमाडौं
–काठमाडौं मोडल कलेज, कमलादी
–सेन्ट जेभियर्स कलेज, माइतीघर
–कलेज अफ् डेभलपमेन्ट स्टडीज, बालुवाटार
–के एन्ड के इन्टरनेसनल कलेज, नयाँ बानेश्वर
–न्युटन इन्टरनेसनल कलेज, सिफल
–साउथ वेस्टर्न स्टेट कलेज, बसुन्धारा
–जेभियर इन्टरनेसनल कलेज, कालोपुल
–सगरमाथा कलेज फर हाइयर स्टडीज, डिल्लीबजार
–कादम्बरी मेमोरियल कलेज, शङ्खमूल
–ब्राइट भिजन कलेज, सातदोबाटो   
–थेम्स कलेज, पुरानो बानेश्वर
–गोल्डेन गेट इन्टरनेसनल कलेज, बत्तीसपुतली
–पद्मकन्या बहुमुखी क्याम्पस, बागबजार
–बानेश्वर क्याम्पस, बानेश्वर
–सान्त्वना मेमोरियल कलेज, शान्तिनगर

बिएसडब्लू अध्ययनपछि यसबाट उत्पादन हुने जनशक्तिहरूले राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खुबी र सीपको  विकास गरिरहेका हुन्छन् । नेपालमा बिएसडब्लू अध्ययन गरेका जनशक्तिहरू हाल युनिसेफ, युएनडिपी, युनेप, विश्वबैंक, सेभ द चिल्ड्रेन, एडिबी, वल्र्ड भिजन, युएन वुमन, ब्लूडाइमन्ड सोसाइटी, आरआरएन, न्युएराजस्ता राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सङ्घ–संस्थामा कार्यरत छन् ।
विश्व–प्रतिष्ठित पुरस्कार सिएनएन हिरोज् २०१२ की विजेता नेपालकी पुष्पा बस्नेतले समेत बिएसडब्लू विषयको अध्ययन गरेकी हुन् । उनले प्रयोगात्मक परीक्षाको क्रममा सुन्धारा जेलमा आमाबुबासँग बसेका बालबालिका भेटेपछि संरक्षकत्व प्रदान गर्ने प्रेरणा यसै विषयको अध्ययनबाट मिलेको कुरा सगर्व बताउने गरेकी छिन् ।
बिएसडब्लू विषयको अध्ययनपश्चात नै राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरमा राम्रो माग भएको हुँदा रोजगारीका अवसरहरू सहजै सिर्जना हुन्छन् । यस विषयले समाजसेवाको पारम्परिक दृष्टिकोण परिवर्तन गरी आधुनिक, सैद्धान्तिक एवम् प्रयोगात्मक विषयमा जोड दिने भएकाले यसको अध्ययन सान्दर्भिक, समयसापेक्ष र व्यावहारिक छ ।
उच्चशिक्षा अध्ययन गर्ने होडबाजी नै चलेको छ । उच्चशिक्षा अध्ययनका क्रममा गरिने सही विषयको छनोट हाम्रो शैक्षिक एवम् प्राज्ञिक गन्तव्यले सही बाटो प्राप्त गर्नुका साथै भविष्यलाईसमेत सुनिश्चित बनाउन मद्दत मिल्छ । विभिन्न सङ्कायअन्र्तगतका विविध विषयहरूको छुट्टाछुट्टै विशेषता रहेको पाइन्छ ।
*अनिल पोख्रेल
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved