डा. रमेश प्रसाद अधिकारीएसएलसी परीक्षाफलको सेरोफेरोमा विद्यार्थी र तिनका अभिभावकहरूको चासोको विषय हुने गर्छ, कुन सङ्काय रोज्ने र कुन कलेजमा पढाउने ? यसमा चासो राख्नु मात्रले पर्याप्त हुन्न, दुवै विषयमा बेलैमा सही निर्णय गर्न पनि सक्नुपर्छ । यदि सही निर्णय लिन नसकिए आफ्ना छोरा–छोरीको भविष्य अन्योलमा पर्न सक्छ ।
कुन सङ्काय रोज्ने ?
– आर्टस् (मानविकी)
– कमर्स (व्यवस्थापन)
– विज्ञान (साइन्स)
आर्टस् सङ्कायअन्तर्गत विद्यार्थीहरूले मुख्य विषय अङ्ग्रेजी, अर्थशास्त्र, शिक्षा, गणित, पत्रकारिता तथा सञ्चार रोजेर प्लसटु अध्ययन पूरा गर्न सक्छन्् । व्यवस्थापन सङ्कायअन्तर्गत कम्प्युटर वा होटल म्यानेजमेन्टलाई मुख्य विषय बनाई व्यवस्थापन सङ्कायअन्तर्गतका अरू विषयहरू जस्तै लेखा, मार्केटिङ्, गणित, बिजनेस स्टडिज् कोर्स पूरा गरी प्लसटु अध्ययन पूरा गर्न सक्छन्् । विज्ञान सङ्कायअन्तर्गत मुख्य विषय बायोलोजी एवम् गणित वा बायोलोजी लिएर गणित अतिरिक्त राखेर पनि प्लसटु पूरा गर्न सकिन्छ ।
सबै विषयको आ–आफ्नै महत्व छ । आर्टस्अन्तर्गतको विषय अङ्ग्रेजी निकै महत्वको विषय हो । अङ्ग्रेजीमा राम्रो दखल भएको व्यक्ति कहिल्यै खालि बस्नुपर्दैन । उसले अङ्ग्रेजी पत्र–संसारहरूमा शिक्षकको रूपमा होटल, टुर–एन्ड ट्राभलमा राम्रो अवसर प्राप्त गर्न सक्छ । त्यसरी नै अर्थशास्त्र, शिक्षा, पत्रकारिता आजको युगका महत्वपूर्ण विषयहरू हुन् । अर्थशास्त्रमा निपुण व्यक्ति भोलि राम्रो अर्थशास्त्री बन्न सक्छ । अर्थमन्त्री बन्न सक्छ । नेपाल राष्ट्र बैंकमा जागिर पाउन सक्छ । एउटा राम्रो आर्थिक विश्लेषक बन्न सक्छ ।
त्यसैगरी, शिक्षा विषय लिएर एउटा राम्रो तालिमप्राप्त शिक्षक–शिक्षिका बन्न सक्छ । आज देशका धेरै स्कुलहरूमा तालिमप्राप्त शिक्षक–शिक्षिकाको खाँचो छ । पत्रकारिता विषय पनि कम महत्वको छैन । पत्रकार पेसा आजको युगमा सम्मानित छ । राम्रो पत्रकार विश्वमै चर्चित हुन्छ । यसरी नै आर्टस् सङ्कायअन्तर्गत अन्य विषयहरू पनि छन् । व्यवस्थापन सङ्काय (कमर्स)अन्तर्गत् पढाइने विषयहरू लेखा, मार्केटिङ, बिजनेस स्टडिज, बिजनेस म्याथका साथै कम्प्युटर, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्मलाई मुख्य विषय बनाएर प्लसटु अध्ययन पूरा गर्न सकिन्छ । व्यवस्थापन पढेका विद्यार्थीहरू प्रायः बैंकिङ क्षेत्रमा काम गरेको हामी देख्न सक्छौं भने केहीले चार्टड एकाउन्टेन्सी पनि गरेका छन् । खासगरी जागिर खानका लागि प्लसटु लेभल उपयुक्त होइन । या त उसले स्नातकोत्तर तह पूरा गरेपछि सेवा सुरू गर्नु अति नै राम्रो हो अथवा घरको आर्थिक अवस्था हेरेर कम्तीमा स्नातक तह सकेपछि सुरू गर्नुपर्छ ।
विज्ञान सङ्कायका विद्यार्थी र तिनका अभिभावकको इच्छा भने या त छोरा–छोरीलाई डाक्टर एमबिबिएस बनाउनु वा इन्जिनियर बनाउनु भन्ने नै हो । डाक्टर बन्न अनिवार्य रूपमा बायोलोजी मुख्य विषय हुनुपर्छ । इन्जिनियर बन्न गणित लिएकै हुनुपर्छ । अरू विषयहरू दुवै (बायोलोजी र गणित वा फिजिकल) समूहमा सामान्य छन् । धेरै विद्यार्थीले डाक्टर र इन्जिनियर बन्न असफल भएपछि अन्य विषयहरू जस्तै ः सिए, बिबिएस, बिबिए, बिआइटी, फार्मेसी आदि विषयहरू पढ्ने गरेको पाइन्छ ।
धेरै विद्यार्थीहरू सही सङ्काय र विषय छनोट गर्न नसकेका कारणले पढाइ बीचैमा छोड्ने, एक वा दुई विषय मात्र पास गर्ने र जतिपल्ट परीक्षा दिए पनि उत्तीर्ण नहुने, भइहाले पनि अङ्क धेरै कम ल्याउने गरेको देखिन्छ । कतिपय अवस्थामा अभिभावकको महत्वाकाङ्क्षा पूरा गर्न आफ्नो इच्छाविपरीत अमुक विषय पढ्न विद्यार्थी बाध्य भएको भेटिन्छन् । यसले गर्दा विद्यार्थीहरूमा नैराश्यता आउने, गलत बाटोमा लाग्ने, पढ्न मन नगर्नेजस्ता विकृति–विसङ्गतिहरू पनि देखिएका छन् ।
कुन सङ्काय वा विषय छान्ने भन्ने कुरा निकै गहन र महत्वपूर्ण छ । कुनै पनि विद्यार्थीले सङ्काय र विषय छान्दा एसएलसीमा ल्याएको प्राप्ताङ्कलाई भन्दा तल दिएका कुराहरूमा छलफल गरी निर्णय लिएमा राम्रो हुन्छ ।
विद्यार्थीहरूसँग भएको आफ्नो क्षमता जस्तै अङ्ग्रेजी, गणित, अतिरित्त गणित, विज्ञान आदिमा राम्रो क्षमता भएका विद्यार्थीहरूले विज्ञान सङ्काय छान्न सक्छन् ।
अङ्ग्रेजी, गणित, लेखासम्बन्धी राम्रो क्षमता भएका विद्यार्थीले व्यवस्थापन सङ्काय वा आर्टस् अन्तर्गत अर्थशास्त्र वा अङ्ग्रेजी विषय लिएर पढ्दा राम्रो परिणाम हासिल गर्न सकिन्छ । अङ्गे्रजी सामान्य भएका विद्यार्थीले आर्टस्अन्तर्गतका कुनै विषयहरू छानेर पढ्दा राम्रो हुन्छ । आफूले पढेको स्कुलका प्रिन्सिपल एवम् शिक्षकहरूसँग सल्लाह लिने, आर्थिक कारणले धेरै समयसम्म अध्ययन जारी राख्न नसक्ने र बेलैमा काम सुरू गर्ने वा आफ्नै व्यवसाय चलाउन चाहने विद्यार्थीले सीपमूलक तालिम तथा अध्ययनका लागि सिटिइभिटीअन्तर्गत्का विषयहरू रोजेर पढ्दा राम्रो हुने देखिन्छ ।
जुनसुकै विषय लिएर अध्ययन गरे केही फरक पर्दैन । आफूले जुन विषय लिइन्छ त्यसमा लगनशिलता र आफ्नो रूचि अनुरूप मिहिनेत गरियो भने अवश्य पनि राम्रो परिणाम प्राप्त गर्न सकिन्छ । जुन विषय लिने हो त्यो विषयमा राम्रो अङ्क ल्याउन सक्नुपर्छ । साइन्स वा कमर्स नै पढ्नुपर्छ भन्ने छैन । तसर्थ एसएलसी पास गरेपछि आफ्नो क्षमता, इच्छा अनि अभिभावकको सल्लाह मिलाएर विषय छनोट गर्नुपर्छ । आफ्नो नजिकको साथीले जुन सङ्काय रोजेको छ, त्यही सङ्काय र विषय छान्नुपर्छ भन्ने छैन । अध्ययन आफूले गर्नुपर्ने हुन्छ, साथीले पढेको र जानेकाले आफूलाई खासै केही मद्दत हुँदैन । कतिपय विद्यार्थीहरू आफ्नो साथीले जे पढ्छ त्यही पढ्छु भनेर आफ्नो क्षमताबाहिरको विषय पढ्ने गर्छन् । तर, त्यसले बीचैमा त्यस्तो साथी र अध्ययन दुवैलाई छोड्नुपर्ने बाध्यता पनि सिर्जना हुन सक्छ ।
कुन कलेजमा पढ्ने ?
कुन कलेजमा पढ्ने भन्ने प्रश्न पनि एसएलसी पास गरिसकेपछि निकै महत्वपूर्ण र सोचनीय विषय बन्न पुगेको छ । आजभन्दा पाँच–छ वर्षअघिसम्म धेरै विद्यार्थीहरू प्लसटु पढ्न काठमाडौं जाने गर्थे । हाल आएर विराटनगरमै स्तरीय प्लसटुहरू स्थापना भएका र तिनीहरूको परीक्षा परिणाम पनि नेपालमै उच्च भएकाले अब अभिभावकले महँगो खर्चमा छोरा–छोरीलाई काठमाडौं पठाउने बाध्यता छैन । तर, पनि पूर्वाञ्चलमा खासगरी इटहरी, धरान, इनरूवा, विराटनगर, उर्लाबारी, दमक आदिमा भएका प्लसटुहरूमध्ये कुनमा पढाउँदा छोरा–छोरीको भविष्य बन्न सक्ला ? ठूलो चिन्ताको विषय बनेको छ ।
यसको मुख्य कारण यस क्षेत्रमा भएका प्लसटु कलेजहरूबीचको अस्वस्थ प्रतिस्पर्धा नै हो । केही प्लसटु कलेजहरूले आफूले प्राप्त नगरेको परीक्षा परिणामलाई अतिरञ्जित गर्दै प्रचारमा ल्याउने गर्छन् । जस्तै ः १०, २० र ३० प्रतिशत मात्र परिणाम ल्याएकाहरूले हामी नेपालकै प्रथम, दोस्रो भनी प्रचार गर्ने, नभएका सुविधाहरू पनि दिने घोषणा गर्ने जस्ता कुराहरूले सही तथ्य लुकेर जाने र विद्यार्थीहरूलाई सही कलेज छनोट गर्न गाह्रो परेको देखिन्छ । विद्यार्थीहरूले आफूले पढ्ने विषय रोजेपछि कलेज छान्न निम्न कुराहरूमा ध्यान दिनुपर्छ ः
– आफूले पढ्न चाहेको कलेजमा पढाउने शिक्षकहरूको योग्यता, अनुभव, चरित्र, लगनशिलता आदि बारेको विस्तृत
जानकारी ।
– सम्बन्धित कलेजको उच्चमावि शिक्षा परिषद्द्वारा लिइने परीक्षाको कम्तीमा तीन वर्षको परीक्षाफल प्रतिशतको आधिकारिक प्रमाण ।
– सुरक्षाको दृष्टिले कलेजको बनावट, कम्पाउन्डवाल, गेट, छाना आदि । कलेज भवन ठूलो विल्डिङ नै हुनुपर्छ भन्ने छैन तर भूकम्पीय, आगलागी आदि जोखिमबाट सुरक्षित भने हुनुपर्छ ।
– छात्र र छात्राको अलग–अलग शौचालय ।
– स्तरीय पुस्तकालय, प्रयोगशाला, रिफरेन्स रूम र अध्यापन गर्ने आधुनिक विधि (मल्टिमिडिया, इन्टरनेट आदि) ।
– फराकिला, झ्याल, भेन्टिलेसन आदि भएका कक्षा उज्यालाकक्षा–कोठाहरू ।
– इन्डोर खेलकुदको सुविधा ।
बढीमा कक्षा ११ मा चार सेक्सनमा मात्र भर्ना लिने कलेज : बढीभन्दा बढी पैसा कमाउने धुनमा केही कलेजहरूले नौ–दश सेक्सन विद्यार्थीहरू भर्ना गर्ने गरेका हुन्छन् ।
त्यसरी विद्यार्थीको भिड जम्मा गर्दा यस्ता कलेजहरूमा नियमित पढाइ नहुने, अनुशासन कायम गर्न गाह्रो हुने, पुस्तकालयमा पुस्तकहरूको अभाव हुने, विद्यार्थी–विद्यार्थी बीच झगडा भइरहने, साप्ताहिक, मासिक परीक्षाहरू नहुने, प्रयोगात्मक कक्षाहरू हुँदै नहुने समस्याहरू देखिएका छन् ।
यस्ता समस्याले विद्यार्थीहरूको समग्र विकासमा बाधा पुगेको देखिएको छ । तसर्थ भिड कता छ, त्यतै भर्ना हुनुभन्दा भएका कलेजहरू मध्ये छानेर प्रवेश गरेमा राम्रो शिक्षा प्राप्त गर्न सकिन्छ ।
शुल्कको सवालमा भन्नुपर्दा, २४ क्यारेटको सुन र तेजावी सुनको दामजस्तै हो । जुन कलेजमा विद्यावारिधि (पिएचडी) गरेका अनुभवी शिक्षकहरू हुन्छन्, त्यो कलेजको शुल्क बढी नै हुन्छ । भर्खरै स्नातकोत्तर तह पनि पास नगरेका शिक्षकहरू भएको कलेजमा शुल्क निकै कम हुन्छ । कुन सुन किन्ने २४ क्यारेटको वा तेजावी ? सोच्नुपर्ने हुन्छ ।
स्तरीय पठनपाठन र स्वस्थ शैक्षिक वातावरण भएको कलेज छान्न गल्ती भयो भने पश्चाताप गर्नुबाहेक अन्य बाटो नहुन सक्छ । तसर्थ फिसको बारेमा बार्गेनिङ गर्नुभन्दा पढाइको बारेमा बार्गेनिङ गरियो भने आज तिरेको शुल्कको कैयौं गुणा बढी प्रतिफल प्राप्त हुनेछ । आज तीन–चार हजारका लागि गलत ठाउँमा पुग्यौं भने त्यसले कति गुणा घाटा लगाउने हो केही नापजोख गर्न सकिँदैन ।
(अधिकारी कोबास कलेज बिरानगरका प्रमुख प्राज्ञिक निर्देशक हुन् ।)

0 comments:
Speak up your mind
Tell us what you're thinking... !