
बेलायतबाट प्रकासित हुने विश्वप्रसिद्ध शैक्षिक संसार टाइम्स हाइयर एजुकेसनले सन् २०१२ भरिको शैक्षिक उपलब्धि, भौतिक संरचना, परिमाणात्मक उपलब्धि र अन्तर्राष्ट्रियस्तरमा पार्न सफल शैक्षिक, प्राज्ञिक प्रभावका आधारमा विश्वका उत्कृष्ट विश्वविद्यालयहरूको चयन गरी सार्वजनिक गरेको थियो । सन् २०१३ को फेब्रुअरी महिनामा प्रकासित उक्त सूचीमा विश्वविद्यालयको समग्र पक्षको आ“कलन गरिएको छ । विश्वका उत्कृष्ट १० विश्वविद्यालयमा अमेरिकाका सात विश्वविद्यालय, बेलायतका दुई र जापानका एक विश्वविद्यालय पर्नुले विश्वको शैक्षिक प्राज्ञिक क्षेत्रमा यी तीन राष्ट्रको प्रभाव उच्च रहेको छ देखाउ“छ । उक्त शैक्षिक मासिकले प्रकासित गरेको विश्वविद्यालयहरूको सूचीका आधारमा विश्वकै १० उत्कृष्ट विश्वविद्यालयहरू यी हुन् :
हार्बर्ड विश्वविद्यालय, संयुक्त राज्य अमेरिका :
सन् १६३६ मा स्थापित यस विश्वविद्यालय विश्वकै पुरानो र उत्कृष्ट विश्वविद्यालय मानिन्छ । विश्वका उत्कृष्ट विश्वविद्यालयमा हार्बर्ड सदियौंदेखि अब्बल ठहरिँदै आएको छ । यो विश्वविद्यालयमा हाल अङ्ग्रेजी साहित्य, दर्शन, चिकित्साशास्त्र, इन्जिनियरिङ, अन्तर्राष्ट्रिय–सम्बन्ध, जनप्रशासन, व्यापार प्रशासन, मनोविज्ञान, अर्थशास्त्र, राजनीतिशास्त्र लगायतका एक सय ५० भन्दा बढी विषय पढाइन्छ ।
मासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजी (एमआईटी), संयुक्त राज्य अमेरिका :
सन् १८६१ मा स्थापित एमआइटी सूचना, प्रविधि विषय पढाइने विश्वको उत्कृष्ट विश्वविद्यालयको रूपमा पहिचान बनाई दोस्रो स्थानमा रहन सफल भएको छ । यस विश्वविद्यालयका जनशक्तिहरू कम्प्युटर र सूचना–प्रविधिका क्षेत्रमा विश्वकै अब्बल मानिन्छन् ।
क्याम्ब्रिज विश्वविद्यालय, बेलायत
हालसम्म निरन्तर शैक्षिक, प्राज्ञिक गतिविधि बढाइरहेका विश्वकै पुराना विश्वविद्यालयमध्ये एक मानिएको क्याम्ब्रिजको स्थापना सन् १२०९ मा भएको हो । विशेषगरी अङ्ग्रेजी भाषा, व्याकरण र साहित्यको उत्थानमा क्याम्ब्रिजको योगदान अग्रपङ्क्तिमा आउँछ ।
अक्सफोर्ड विश्वविद्यालय, बेलायत
विश्वका अधिकतर विद्वान, साहित्यकार, वैज्ञानिक एवम् दार्शनिकहरूले अध्ययन–अध्यापन गरेको यस बहुचर्चित विश्वविद्यालयको स्थापना सन् १२४९ मा भएको हो । विशेषगरी अक्सफोर्डका प्रकाशनहरू विश्वव्यापी रूपमा सर्वस्वीकार्य र पठनीय छन् ।
क्यालिफोर्निया विश्वविद्यालय, संयुक्त राज्य अमेरिका
सन् १८६८ मा स्थापित यस विश्वविद्यालयमा कृषि, पुरातत्व, मौसम विज्ञान, अन्तरिक्ष विज्ञान र खानी तथा भूगर्भ विज्ञानजस्ता विषय पढाइन्छ ।
स्टानफोर्ड विश्वविद्यालय संयुक्त राज्य अमेरिका
सन् १८८५ मा स्थापित यस विश्वविद्यालयमा दर्शनशास्त्र, इन्जिनियरिङ, चिकित्साशास्त्र, साहित्य र भाषा विज्ञानजस्ता विषयवस्तुहरू अध्ययन, अध्यापन गराइन्छ ।
प्रिन्सटन विश्वविद्यालय, संयुक्त राज्य अमेरिका :
सन् १७४६ मा स्थापित यस विश्वविद्यालयमा जनप्रशासन, अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीतिशास्त्र, इन्जिनियरिङ, चिकित्साशास्त्रजस्ता विषयवस्तु अध्यापन गराइन्छ । यस विश्वविद्यालयको शिक्षण अस्पतालमा विश्वकै महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइनको मस्तिष्कलाई अनुसन्धानका लागि सुरक्षित राखिएको छ ।
टोकियो विश्वविद्यालय, जापान
सन् १८७७ मा स्थापित यस विश्वविद्यालय विश्वको मात्र नभएर एसियाको पनि अब्बल विश्वविद्यालयको रूपमा रहेको छ । यहाँ कानुन, साहित्य, चिकित्सा, अन्तर्राष्ट्रिय सम्बन्ध, जलवायु विज्ञान, समुद्री विज्ञान, अर्थशास्त्र, इन्जिनियरिङ, जैविक प्रविधिलगायतका विषयहरू पढाइन्छ ।
कोलम्बिया विश्वविद्यालय, संयुक्त राज्य अमेरिका
सन् १७५४ मा स्थापित यस विश्वविद्यालयमा शिक्षाशास्त्र, कानुन, अर्थशास्त्र, अन्तर्राष्ट्रिय–सम्बन्ध, इन्जिनियरिङ, राजनीतिशास्त्र, साहित्य, दर्शन, मनोविज्ञानलगायतका विषयहरू पढाइन्छ । अमेरिकी राष्ट्रपति बाराक ओबामा पनि यसै विश्वविद्यालयका उत्पादन हुन् ।
मिचिगन विश्वविद्यालय, संयुक्त राज्य अमेरिका
सन् १८१७ मा स्थापित यस विश्वविद्यालयमा विमान उडान, इन्जिनियरिङ, व्यापार प्रशासन, अन्तर्राष्ट्रिय–सम्बन्धजस्ता विषयहरू पढाइन्छ ।
त्यस्तै, एसियाका १० उत्कृष्ट विश्वविद्यालयहरूमा क्रमश: टोकियो विश्वविद्यालय–जापान, सिङ्गापुर राष्ट्रिय विश्वविद्यालय–सिङ्गापुर, हङकङ विश्वविद्यालय–हङकङ, पेकिङ विश्वविद्यालय–चीन, पोहाङ विज्ञान तथा प्रविधि विश्वविद्यालय–दक्षिण कोरिया, सिङ्हुवा विश्वविद्यालय–चीन, क्योटो विश्वविद्यालय–जापान, सोल विश्वविद्यालय–दक्षिण कोरिया, हङकङ विज्ञान प्रविधि विश्वविद्यालय–हङकङ र ओसाका विश्वविद्यालय–जापान रहेका छन् । यी विश्वविद्यालयहरूमा विज्ञान, प्रविधि, रोबोटिक्स, चिकित्साशास्त्र, सैन्य विज्ञान, अर्थशास्त्र, इन्जिनियरिङ, भूगर्भशास्त्र, समाजशास्त्र, अन्तर्राष्ट्रिय–सम्बन्ध, आणविक उर्जा, जैविक प्रविधिलगायतका विषयहरू पढाइन्छ । जापान, चीन, दक्षिण कोरिया र सिङ्गापुर जस्ता मुलुकलाई आवश्यक जनशक्ति उपलब्धि गराउन यी विश्वविद्यालयहरूको देन उच्च रहेको छ । आज यी मुलुकहरू औद्योगिक, रोबोट, विज्ञानप्रविधि, आणविक उर्जा र राजनीतिक रूपले युरोपेली र अमेरिकी मुलुकको बराबर पुग्न सक्नुमा पनि विश्वविद्यालयको भूमिका रहेको बताइन्छ । विश्वका उत्कृष्ट विश्वविद्यालयहरू भौतिक, शैक्षिक, प्राज्ञिक एवम् प्रतिस्पर्धात्मक तवरले अग्रस्थानमा आउँछन् । नेपालको शिक्षा प्रणाली र यहाँ विद्यमान शैक्षिक, प्राज्ञिक अवस्थाले गर्दा नेपाली विश्वविद्यालयहरू सधैं कछुवाको गतिमा अघि बढिरहेका छन् र अन्तर्राष्ट्रियस्तरमै पिछडिएको स्थितिमा छन् । अर्कोतर्फ विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन हुन नसक्नु र त्यसैअनुरूपको वातावरण सिर्जना हुन नसक्नु नेपालको प्राज्ञिक क्षेत्रको विडम्बना हो ।
नेपालको काठमाडौं विश्वविद्यालय विश्वमा ४२४१औं र एसियामा १३६६औं स्थानमा पर्नु र यसका साथै नेपालको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय विश्वमा ५९१२औं र १९३४औं स्थानमा पर्नुले नेपालको प्राज्ञिक वातावरणको भयावह तस्बिर र तीतो यथार्थलाई उदाङ्गो बनाइदिएको छ ।
हाम्रा विश्वविद्यालयहरू प्राज्ञिक रूपले कहिले अब्बल बन्लान् त ? यो प्रश्न एकदमै सोचनीय छ । उत्कृष्ट विश्वविद्यालयको रूपमा पहिचान बनाउनु नेपालको लागि विश्वकप फुटबल प्रतियोगितामा भाग लिनु जस्तै भएको छ । सकारात्मक भई सोच्दा यो असम्भव भने छैन । साथसाथै सजिलो पनि छैन ।
नेपालको प्राज्ञिक वातावरण नसुध्रेसम्म, शैक्षिक संरचना यथास्थितिवादी अवस्थामा रहेसम्म र राजनीतिकरणको ज्वालाले विश्वविद्यालयको परिपाटीमा प्रभाव जमाउन्जेल उत्कृष्टताको सपना नदेखेकै राम्रो हुन्छ । यो दूरगामी प्रगतिको यात्रालाई मूर्तरूप दिन सबै शिक्षाप्रेमी, विद्वतवर्ग, राजनीतिज्ञ, नीति निर्माता सबै निन्द्राबाट नब्युँझी हुन्न । *अनिल पोख्रेल
0 comments:
Speak up your mind
Tell us what you're thinking... !