विवाद : आइडल बन्ने–बनाउनेको
Written By Neplee on Wednesday, April 24, 2013 | 11:11 PM
त्यसो त, विश्वका कुनै पनि प्रतियोगिता विवादबाट मुक्त हुन सकेका छैनन् । नोबेल पुरस्कारदेखि साना प्रतियोगिताका पुरस्कारमा धाँधली हुने गरेको आरोप आयोजक तथा निर्णायकलाई लाग्ने गरेको छ । खासगरी कमजोर प्रायोजकका साथै आयोजकको बढी कमाउने लालसाका कारण आइडल बनाउने
प्रतियोगिताहरूमा पैसाको चलखेल हुने गरेकोबारे विवादहरू सतहमा आउने गरेका छन् । आयोजकले प्रतियोगिता अगाडि घोषणा गरेका पुरस्कार, सेवा र सुविधाहरू नदिने, विजेताहरूको समेत बेवास्ता हुने, उपाधि जितेर पनि अवसरहरू नपाउने घटना पछिल्लो क्रममा बढ्दो छ ।
आयोजकले यस्ता प्रतियोगितालाई खानेमेलो बनाउन थालेपछि आइडल हुने आकाङ्क्षा बोकेका युवायुवतीहरू शोषणको सिकार भएका छन् । आयोजकले सहभागीबाट कमिसन, टिकट, एसएमएसको नाममा मोटो रकम मात्र असुल्दैनन् शारीरिक शोषणसमेत गर्ने गरेको खबर पुराना हुन थालेका छन् । प्रतियोगितामा सहभागी हुनेलाई दिइने तालिमका नाममा मोटो रकम असुल्ने गरेका छन् भने युवतीहरूलाई विभिन्न बाहना बनाएर फाइदा लुट्ने गरेको भुक्तभोगीहरू बताउँछन् ।
प्रतियोगिता कसले गर्ने वा कसले नगर्ने भन्ने निश्चित मापदण्ड छैन । फेरि यस्ता प्रतियोगिताको नियमन गर्ने निकाय पनि छैन । प्रतिस्पर्धा गर्दा कहीँ कतै दर्ता गर्नुपर्दैन । निर्णायक कस्तो राख्ने भन्ने पनि मापदण्ड छैन । विगत डेढ वर्षभित्र विवादित पूर्वाञ्चलका केही प्रतिस्पर्धाहरू :
मिस पूर्वाञ्चल :
गतवर्ष मिस पूर्वाञ्चलको विवादले मोफसलमा हुने प्रतियोगिताहरू निष्पक्ष हुँदैनन् कि भन्ने शङ्का गर्न बाध्य बनायो । मिस पूर्वाञ्चलका विजेता तीन जनाबाहेक सबै विरोधमा उत्रिएर पत्रकार सम्मेलन नै गरे । उनीहरूले पैसाको चलखेल भएको आरोप लगाउँदै मिस पूर्वाञ्चलको उक्त तेस्रो संस्करणलाई प्रतियोगिताको नाममा कालो धब्बा भएकोसमेत भन्न भ्याए ।
असन्तुष्ट सुन्दरीहरूले प्रतियोगिताका निर्णायकको मात्र होइन, आयोजक बूढासुब्बा ट्रेनिङ सेन्टरको समेत उछित्तो काढे । सेन्टरले २० देखि २५ हजारको टिकट बिक्री गर्न लगाएको आरोपसमेत लगाए । आयोजकले मिस ट्यालेन्टलगायत विजेताहरूलाई उत्कृष्ट गिफ्ट ह्याम्परको साथमा केही रकमसमेतले पुरस्कृत गरेको थियो । तर, भित्र खाममा भने कागज मात्रै पाउँदा आयोजकले ठगेको उनीहरूको भनाइ छ ।
यता, प्रतियोगिताका इभेन्ट कोअर्डिनेटरले विजेतालाई पैसा दिने नभनिएको, प्रतिस्पर्धा निष्पक्ष भएको दाबी गरे । टिकट बेच्ने काम सामान्य भएको उनको दाबी थियो ।
मनपरी लिटल प्रिन्स र प्रिन्सेस :
इटहरीमा ग्ल्यमरस नेपाल डटकम बिर्तामोडले गरेको लिटिल प्रिन्स एन्ड प्रिन्सेस्मा पनि धाँधली भएको सहभागी अन्य प्रतिस्पर्धी बालबालिकाका अभिभावकले आरोप लगाएका थिए । मेघा ट्यालेन्ट सो भनिएको उक्त प्रतिस्पर्धामा तीन दर्जनभन्दा बढी बालबालिकाहरू सहभागी थिए । बढी शुल्क उठाइएको, शुल्कअनुसार बालबालिकालाई सुविधा नदिइएको र निर्णयमा पनि धाँधली गरेको आरोप थियो ।
पैसा पाएनन् मिस सुनसरी कलेज आइकनले :
२०६९ कात्तिकमा मिस सुनसरी कलेज आइकनको ताज पहिरिँदै गर्दा कस्तुरी कलेज इटहरीकी ज्योति गौतम निकै खुसी थिइन् । नाम र दाम एकैपटक पाउने भएपछि खुसी हुनु त स्वाभाविक हो । तर दुर्भाग्य, उनले आजसम्म पनि पुरस्कारवापतको रकम पाएकी छैनन् ।
मिस सुनसरी कलेज आइकनलाई २५ हजार, फस्ट रनरअपलाई २० हजार र सेकेन्ड रनरअपलाई १५ हजार दिने भनिए पनि २०६९ सालको समाप्तिसम्ममा उनीहरूले ताज र प्रमाणपत्रबाहेक सुको पाएका छैनन् ।
विनापूर्व जानकारी, म्यागेजिनका लागि फोटो खिचाएको बहाना बनाउँदै पुरस्कार दिन आनाकानी गरेपछि उनीहरू हिस्स परेका हुन् । आयोजकको नियम नमानेकाले पुरस्कार नदिइएको बताइए पनि फोटो खिचाउन नपाइनेलगायतको लिखित सम्झौता भने नभएको आयोजक युथ अवार्नेस क्याम्पिङका भुवन राउतले बताए ।
पन्ध्र प्रतिस्पर्धीलाई उछिन्दै उपाधि जितेकी ज्योतिले मिस क्याटवकको उपाधिसमेत हात पारेकी थिइन् । फस्र्ट रनरअप स्वेक्षा कार्की र सेकेन्ड रनरअप समीक्षा पौडेल बनेका थिए ।
उक्त प्रतियोगिताका विजेता सुन्दरीहरूलाई पुरस्कार नदिनुमा व्यवस्थापकीय त्रुटी भएको कार्यक्रम संयोजक भुवन राउतले कलेज टाइम्ससमक्ष स्वीकार गरे ।
‘प्रतियोगिताको प्रायोजकले दिने भनेको आर्थिक सहयोग उपलब्ध नगराएकाले हामीले पनि दिन सकेनौं,’ उनले भने ।
विजेताहरूलाई दिने भनिएको रकम कहिलेसम्म दिने भनेर राउतले बताउन नसकेपनि मिस सुनसरी कलेज आइकन बनेकी ज्योतिले भने आयोजक पक्षबाट छ महिनाभित्र रकम दिने आश्वासन पाएको बताइन् ।
स्वरमणिमा चलखेल हुँदा गरिमामा ग्रहण :
गरिमा डान्स सेन्टरकोे १० वर्षसम्म आइपुग्दा चुलिएको नाम, सान–सौकतमा अहिले ग्रहण लागेको छ । १० वर्षमा माओवादीको सशस्त्र द्वन्द्वले बनाएको गरिमाको उचाइ पछिल्लो समयमा रियालिटी सोको घनचक्करले गर्दा तीन लाख ५० हजार रूपैयाँँको चलखेल गरेको ट्यागमा आएर झ¥यो ।
गत फागुन २६ गते गरिमा डान्स सेन्टर र मकालु टेलिभिजनको संयुक्त आयोजनामा भएको मितासी स्वरमणिमा तीन लाख र कोसी नटराजमा तीन लाख ५० हजारसम्म मागेको विषयले बजार ततायो । त्यति मात्र होइन, एसएमएस भोटिङवापत असुलेको ६० हजार रूपैयाँ मितासी स्वरमणिका सहभागी खोटाङका अमर चाम्लिङलाई फिर्ता गर्न बाध्य भयो ।
खोटाङ तारासमेत बनिसकेका अमर आयोजकले भने जति पैसा दिन नसकेपछि जित्न नसकेको बताउँछन् । आयोजक पक्षका सन्तोष तामाङ र केशव सापकोटाले हाकाहाकी पैसा मागेको आरोप नै लगाए । आयोजकले पैसा माग्न थालेपछि उनी फाइनल प्रतिस्पर्धामा सहभागी भएनन् । फाइनल प्रतिस्पर्धा भइरहेका बेला नै नाम बोलाइए पनि उनले सहभागी बनेनन् । ‘सहभागी बनेको भए पनि उनीहरूले मलाई जिताउँदै न थिए, त्यसैकारण पनि म सहभागी बनिनँ,’ उनले २७ गते धरानमा गरेको पत्रकार सम्मेलनमा भनेका थिए ।
एसएमएसका लागि १० हजार र ५० हजार गरी दुईपटक रकम बुझाएको बताएका अमरले पैसा फिर्ता पाउन इलाका प्रहरी कार्यालयमा उजुरी नै दिनुप¥यो ।
कोसी नटराज :
मितासी स्वरमणिको फागुन २७ मा रकम चलखेल भएको सार्वजनिक भइरहँदा कोसी नटराजको आलोचना पनि २८ गते राति सञ्चारकर्मीहरूको कानमा आइपुगेको थियो । नटराजमा पाँचौं नम्बरकी विजेता भोजपुरकी ओशिन राईकी आमा लक्ष्मीसँग पनि गरिमाका अन्जु राईले तीन लाख ५० हजार मागेको खुल्यो ।
फोनमार्फत् छोरीलाई जिताउन भन्दै कोरियोग्राफर राईले रकम मागेको आमा लक्ष्मीले आरोप लगाइन् । अन्जुले भने आरोप अस्वीकार गरिन् । भनिन्, ‘मैले पैसा मागेकै हैन, तर विजेता बनाउनका लागि भने तीन लाख ५० हजारसम्म लाग्छ होला भनेकी हुँ ।’
प्रतिस्पर्धामा पैसा तिरेर विजेता बन्न पाइने भनिएपछि लक्ष्मीले छोरीलाई जिताउन पैसा तिर्न सक्दिनँ भनेको बताइन् । त्यसै समयमा मध्यस्थकर्ताको भूमिकामा देखिएका केशव सापकोटाले भने अनभिज्ञता देखाउँदै जिस्केर भनेको प्रतिक्रिया दिए ।
चलखेलका समाचारहरू प्रकाशमा आएपछि कुरो मिलाउन गरिमालाई हम्मे–हम्मे भयो । सहभागीलाई फकाउन नै गरिमाले समय खर्चियो । तर, एसएमएसवापतको रकम फिर्ता गर्नुपर्नेलगायतका माग राख्दै आन्दोलित असन्तुष्ट सहभागीहरूले मिल्न नमानेपछि किरात राई पत्रकार संघको मध्यस्थतामा एसएमएसको पैसा फिर्ता दिने कागजी सहमतिपछि विवाद सुल्झिएको थियो ।
आइडल बनेर पैसा र प्रशंसा पाउने इच्छाले विशेषगरी किशोर–किशोरीहरू लालायित हुन्छन् । उनीहरूको यही लालसा कमजोरीको फाइदा उठाउँदै सीमित टाठाबाठाले कमाउ धन्दा बनाएका छन् । यसप्रति सचेत रहनु जरुरी छ ।
हिमाल दहाल/भोजराज श्रेष्ठ

This is the reality. Everyone knows it but no any action against have been taken. The criteria should be made before organizing this kind of competition.
ReplyDelete