पैसामा प्रशंसा
Written By Neplee on Wednesday, April 24, 2013 | 11:22 PM
दक्षिण एसियामै सबैभन्दा ठूलो गायन स्पर्धा इन्डियन आइडलको सिको गर्दै नेपालमा पनि नेपाल आइडल गरियो । त्यसयता राष्ट्रिय तथा स्थानीय तहमा आइडल बनाउने समूहहरूको बाढी नै आएको छ ।
मिस नेपाल र नेपाल आइडलको स्पर्धा
लाई चुनौती दिँदै नृत्य, गायन, व्यक्तित्वलगायतका विविध विधामा विभिन्न तहका प्रतिस्पर्धाहरू आयोजना भइरहेका छन् । मिस टिन, लिटल प्रिन्स एन्ड प्रिन्सेस, मिस कलेज, मिस स्कुल, सुपर मोडल, ब्युटी क्वीन, मिस इ कलेज, मिस युनिभर्सल, सिङ्गिङ स्टार, मिस ग्लोबल आइकन, डान्सिङ क्वीन, नटराज, सुपर मोडलजस्ता प्रतिस्पर्धा हुन् वा मिस लिम्बू, मिस राई, मिस शेर्पा, मिस, तामाङ, मिस मगर, मिस मङ्गोल, मिस राजवंशी, मिस नेवाः, मिस मङ्गोलजस्ता जातीय पृष्ठभूमिमा गरिएका प्रतियोगिताहरू हुन्, सबैले मिडियालगायत धेरैको ध्यान गजबले तान्छ ।
तर, आइडल बनाउने भन्दै जथाभावी आयोजना गरिने भएका कारण आजकाल यस्ता प्रतियोगिताको स्तर खस्केको छ । सुरुवातमा जस्तो आकर्षण छैन । युवाहरू जति नेपाल आइडल र मिस नेपालमा आकर्षित हुन्थे, अहिले त्यो छैन । चासो निकै घटेको छ । एकातिर प्रतियोगिता हेरिदिने दर्शक पाउन गाह्रो बनेको छ भने कार्यक्रमलाई आर्थिक सहयोग दिने प्रायोजक पाउन पनि धौ–धौ छ । अरू त अरू प्रतियोगी नै नपाइएला कि भन्ने समस्यामा समेत आयोजकहरू पर्न थालेका छन् ।
सुन्दरी प्रतियोगिता होस् वा गायन तथा नृत्य प्रतियोगिताहरू, खस्कँदो स्तरसँगै विवादमा तानिने क्रम पनि बढेको छ । त्यस्ता विवादमध्ये कतिपय सही हुन्छन्, त कतिपय निराधार । तर, खस्कँदो प्रतिष्ठासँगै कमजोर आर्थिक स्रोत, अदक्ष निर्णायक र कमजोर व्यवस्थापनका कारण यस्ता प्रतिस्पर्धाहरू आर्थिक लेनदेनमा समेत मुछिने गरेका छन् । कतिले विजेतालाई पूर्वघोषित पुरस्कार दिएका छैनन् भने कतिले आर्थिक लेनदेनका आधारमा विजेता छानेको आरोप खेप्न थालेका छन् । यस्ता आरोपहरूले प्रतियोगितालाई अझ कमजोर बनाउने र आकर्षण घटाउने निश्चित छ ।
हिमाल दहाल
0 comments:
Speak up your mind
Tell us what you're thinking... !