विराटनगरको महेन्द्र चोकमा साथीहरूको भेटघाटपछि घर फर्किने समय हुँदै
थियो । सबै साथीहरू लाखापाखा लागिसकेका थिए । सूर्य अस्ताइसकेको त्यो समय गाडीको
हेडलाइट बल्न थालिसकेका थिए । उसले घर फर्किने मनस्थिति बनायो ।
बसिरहेको सडक पेटीबाट ऊ जुरुक्क उठ्यो । त्यति नै बेला दुई वटा हेडलाइट
उसका अगाडि आएर रोकिए । उसका आँखा तिर्मिराए । हेर्न भ्याएकै थिएन, उसलाई वरपरबाट च्याप्प समातियो । दुई, चार अनि छ वटा हातले उसलाई हल्लिनै
नमिल्ने गरी समाए । अर्को एउटा हातले उसको कम्मर बे¥यो भने अर्को हातले मुख छोप्यो ।
राम्रो नियाल्न नपाउँदै उसको आँखामा कसैले पट्टि बाँधेर भ्यानभित्र
हुल्यो । भ्यान हुइँकिन थाल्दा उसको दुवै हात पछाडि लगेर बाँधियो अनि मुखमा पनि
बोल्नै नसक्ने गरी पट्टि कसियो । त्यसपछि उसले बेलाबेलामा पट्टिको अवरोध पार गरेर
आँखाभित्र पस्न खोज्ने हेडलाइटको मधुरो उज्यालोबाहेक केही देखेन ।
०००
क्याम्पसकै जेहेन्दार र मेहेनती विद्यार्थी हुनुका अतिरिक्त ऊ एउटा कुशल
नेता पनि थियो । उसले भन्नेबित्तिकै क्याम्पसका सारा विद्यार्थी उसको पछि लाग्थे ।
उसले बनाएको उक्त छवि देखेर अरू विद्यार्थी नेताहरू डाहा गर्थे । झन् आउँदो
निर्वाचनमा अध्यक्षमा उठ्ने भनेपछि त अरू सबै थर्कमान भएका थिए ।
गाइँगुइँ सुनियो,
चियापसलमा बनेको
योजना ः ‘केही नराम्रो हुँदैछ ।’
एकदिन चिया पसलमा चिया पिउन बसेका बेलामा पसल्नीले उसलाई घुरेर हेरी ।
चिया दिँदै आफ्नै सुरमा बर्बराई, ‘काल–जमाना ठिक छैन, जोगिएर हिँड्नुपर्छ है ।’ पसल्नीको कुरा उसले सुनेन वा सुनेर पनि
त्यति वास्ता गरेन । तर,
त्यसको बेलुका
चियापसल्नीलाई केही केटाहरूले धम्क्याए ।
...
‘विद्यार्थी नेता विद्यार्थीको लागि
हुनुपर्छ । माउ पार्टीको गुलामी गर्ने होइन । माउ पार्टीले होइन, विद्यार्थीले जिताएका हुन्, त्यसैले विद्यार्थीलाई सहयोग गर्नुपर्छ,’ भन्ने सोच्थ्यो ।
विद्यार्थीको सजिलोको लागि जहिले पनि अग्रपङ्क्तिमा हुन्थ्यो । राम्रो
पढ्नुका अतिरिक्त उसको उद्देश्य थियो त केवल विद्यार्थीहरूको भलो ।
केही आन्दोलनहरूमा उसलाई आर्थिक प्रलोभन नदेखाइएको पनि होइन, तर उसको यौटै जवाफ हुन्थ्यो, पैसा त लुटेराले पनि कमाएका छन् ।
इमान्दार राजनीतिले गर्दा उसको लोकप्रियता चुलिँदो थियो । त्यही लोकप्रियताले अरू
नेतालाई तर्साउँदैथ्यो ।
०००
उसको अपहरणको खबरले सनसनी मच्चायो ।
सर्वत्र त्रास छायो । विद्यार्थीहरू आन्दोलित भए, फेला नपरुन्जेल क्याम्पस बन्द ।
विद्यार्थी नेताहरूले सक्दो कोसिस गरे, तर क्याम्पस नखुल्ने पक्का–पक्की भयो ।
निर्वाचन नै नहोलाजस्तो भएपछि एक साँझ क्याम्पसको कम्पाउन्डबाहिर तीन
जना एक ठाउँ भए ।
‘के गर्ने ?’
‘मारेर फाल्दिऊँ ।’
‘हुन्न, जेलमै सडिन्छ ।’
‘त्यसो भए के त ?’
‘छाड्दििऊँ ।’
‘हाम्ले गरेको थाहा भइसक्यो होला ।’
‘थाहा पाको छैन । मारेर जेल पर्नुभन्दा
अपहरण मुद्दामै परौला ।’
०००
भोलिपल्ट ऊ क्याम्पसमा देखियो । विद्यार्थीहरू स्वागतका लागि बसेका थिए
। सबैले जुरुक्कै उचालेर नारा लगाए । त्यसैबीचमा यौटाले सोध्यो, ‘कसले कहाँ लगेको
थियो ?’
छेउमै अपहरण गर्ने साथीहरू थिए । पोल खोलिएलाकी भनेर उनीहरूको अनुहार
कालो निलो भइसकेको थियो ।
तर,
उसले जवाफ दियो, ‘कसैले कहीँ लगेको
होइन, केही दिन घुम्न गएको थिएँ ।’
त्यो रात अपहरणमा संलग्न तीनै जना रातभरि रोए । रुँदा–रुँदा सुन्निएका आँखा भोलिपल्ट उसका
सामु भुइँतिर झुकाए । र,
पछुतो भावमा माफी
माग्दै भने,
‘सरी यार !’
0 comments:
Speak up your mind
Tell us what you're thinking... !