चोर्न सिपालु विद्यार्थी, शिक्षक - College Times : Educational Magazine
Headlines News :
Home » » चोर्न सिपालु विद्यार्थी, शिक्षक

चोर्न सिपालु विद्यार्थी, शिक्षक

Written By Collegetimes on Sunday, May 26, 2013 | 1:07 AM



विद्यार्थीले आफ्नो खुबी देखाउने र उपलब्धि प्रदर्शन गर्ने मौका हो, परीक्षा । परीक्षाप्रति विद्यार्थीको नकारात्मक भावना हटाई उनीहरूका क्षमता, दक्षता र प्रतिभा कागजका पानामा उतार्ने वातावरण सिर्जना गरिदिनु शिक्षक, विद्यालय र अभिभावकको दायित्व हो । तर, अहिले विद्यार्थीहरू न आफ्नो क्षमता पानामा उतार्न चाहन्छन्, न शिक्षक र विद्यालयले त्यस्तो वातावारण जुटाइदिएका छन् । उल्टो शिक्षक र विद्यार्थी दुवै चोरबाटोबाट कक्षा चढ्न उद्यत देखिन्छन् । गत चैत महिनामा सुनसरीमा कक्षा आठमा लिइने जिल्लास्तरीय परीक्षाका बेला भएको प्रश्नपत्र किनबेच काण्डले शैक्षिक क्षेत्रभित्र फैलिएको यस्तै विकृति छताछुल्ल पारेको छ ।
जिल्ला शिक्षा कार्यालय सुनसरीले लिएको परीक्षाको प्रश्नपत्र परीक्षा सुरू हुनुपूर्व बाहिरियो । छवटा विषयका प्रश्नपत्र बजारमा छ्याप्पछ्याप्ति बिक्री भए । प्रश्नपत्रहरू स्मल हेभेन सेकेन्डरी स्कुल इनरुवा र रत्नप्रिय स्कुल पश्चिमकुसाहाबाट बाहिरिएका थिए । नेपाली, अङ्ग्रेजी र गणितबाहेकका सम्पूर्ण प्रश्नपत्र खुला बजारमा किनबेच भएको विद्यार्थीहरू बताउँछन् ।
स्रोतकेन्द्रले अगाडि नै प्रश्नपत्र एकमुस्ट स्कुललाई उपलब्ध गराएपछि प्रश्नपत्र बाहिर ल्याएर व्यापार गर्न पल्केका शैक्षिक माफियाहरूलाई सजिलो भएको थियो । सेट र सेट बी रहेकोमा सेट बीको प्रश्नपत्र स्मल हेभेनबाट र सेट को प्रश्नपत्र रत्नप्रियबाट सदरमुकामको बजारमा छ्यापछ्यापति पारिएका थिए ।
प्रश्नपत्र बाहिरिएलगतै शिक्षा कार्यालयले स्मल हेभेनका प्रिन्सिपल राजु खड्कालाई कारबाहीका लागि प्रहरीको जिम्मा लगायो । तर, खड्का केही दिनमै प्रहरी हिरासतबाट मुक्त भए । प्रश्नपत्र बाहिरिनुमा विद्यार्थी संलग्न भएको स्वयम् विद्यार्थीलाई बयान दिन लगाएर खड्का छुटेका थिए ।
प्रश्नपत्र कसरी बाहिरियो ? भन्ने जिज्ञासामा खड्काको सहज जवाफ छ, म सुत्ने कोठामा प्रश्नपत्र थियो, विद्यार्थीले झ्यालबाट छिरेर, लगेर बिक्री गरेछन् । मैले त पत्तै पाइनँ । यसरी झयालबाट छिरेर प्रश्नपत्र बिक्री गर्नेमा कक्षा ५ मा अध्ययनरत दुई विद्यार्थी मुछिए र उनीहरूलाई प्रहरीमा त्यहीअनुसारको बयान दिन लगाइयो । विद्यार्थीलेले प्रश्नपत्र आउट गरेको बयान आएलगतै खड्का प्रहरी हिरासतबाट मुक्त भएका थिए । 
विद्यार्थीमार्फत् प्रश्नपत्र बाहिरिएको भनेपछि शिक्षा कार्यालयले अलग्गै छानविन समिति बनायो । शिक्षा कार्यालयका अधिकृत तथा छानविन समिति संयोजक दुर्गा खतिवडाका अनुसार समितिले क्षतिपूर्ति र विभागीय कारबाहीको सिरफारिससहित जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ । क्षतिपूर्तिवापत खड्कालाई पुनः प्रश्नपत्र तयार र वितरण गर्दा लागेको खर्च बेहोर्न लगाइनेछ । विभागीय कारबाही भन्नाले उनलाई आइन्दा त्यस्तो काम नगर्न सचेत गरिने खतिवडाले बताए ।
यसरी जिल्लास्तरीय परीक्षाको प्रश्नपत्र बाहिरिनुमा संस्थागत विद्यालयमा सरकारी कोर्सअनुसार पढाइ नहुने र कतिपय विषय नमिल्ने भएकाले प्रश्नपत्र विद्यार्थीका हात हातमा पु¥याउने र शिक्षकहरू नै चिट चोराउन सक्रिय हुने प्रवृत्ति भएको खतिवडा बताउँछन् । उनकाअनुसार प्रश्नपत्र कहिले र कसरी दिने नियम नभएकाले गर्दा अग्रीम प्रश्नपत्र दिने गरिएको छ ।
शिक्षा ऐनमा प्रश्नपत्रको गोपनीयता भङ्ग गरेमा, उत्तरपुस्तिका परीक्षण गर्दा लापरबाही गरेमा, परीक्षाकेन्द्रमा स्वीकृतिविना प्रवेश वा प्रवेश गर्ने प्रयत्न गरेमा, परीक्षाकेन्द्र नियन्त्रणमा लिई अमर्यादित काम गरेमा परीक्षाफल प्रकाशनमा अनियमितता गरेमा, अरूको तर्फबाट परीक्षा दिएमा, परीक्षाको मर्यादा भङ्ग गरेमा कसुरको मात्रा हेरी एक लाख रूपैयाँसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुन सक्छ ।
तर, यो चोरी काण्डमा संलग्न खड्का र अरूहरूका हकमा भने यो नियम लागू नभएकोमा अभिभावकहरू निरास छन् । दोषीलाई उन्मुक्ति दिन नहुने उनीहरूको माग छ ।  विद्यार्थीलाई सानैदेखि प्रतिस्पर्धी सोच र अध्ययनअनुसन्धानका लागि मिहिनेत गर्ने बानीको विकास गरिनुको साटो चिट चोर्नेचोराउने परिपाटी मौलाउँदै गएकोमा अभिभावक सङ्घ सुनसरीका अध्यक्ष हरि तिम्सिना चिन्ता व्यक्त गर्छन् । यस्तो विकृति रोक्न जति आग्रह गरिए पनि घटना दोहोरिरहेका छन्, तिम्सिनाले भने, दोषीलाई कानुनी कारबाही नगरी उन्मुक्ति दिने प्रवृत्तिले यस्ता घटना निरुत्साहित हुन नसकेका हुन् ।
यस्ता घटनाले नयाँपुस्तामा मिहिनेत र प्रतिस्पर्धा गर्ने सोच ह्रास हुने अभिभावकको भनाइ छ । यस्ता अनपेक्षित घटना दोहोरिरहने हो भने हाम्रो शैक्षिकस्तर कस्तो होला ? सबैले एकपटक सोच्नैपर्ने बेला भएको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved