प्रविधिको युगमा प्रविधिक विषयप्रति सबैको आकर्षण हुनु स्वाभाविकै हो । सम्भावना धेरै भएका व्यावहारिक र रोजगारमूलक शिक्षा लिने सबैको रहर हुन्छ । यस्तै, रहर हुनेहरु पछिल्लो समय पोषणमा आकर्षित हुँदैछन् । धरानबाट केपी लम्साल लेख्छन् :
परिवारको सपना र आफ्नो लक्ष्यलाई यथार्थमा बदल्दै समाज र राष्ट्रका लागि योगदान पु¥याउने उद्देश्य बोकेका पोखराका राजेश पोखरेलजस्तै धेरैको सपना पूरा गराउँदैछ पोषणविज्ञानको पढाइले । नेपालमै पहिलोपटक तीन वर्षदेखि धरानको केन्द्रीय प्रविधि क्याम्पसमा पढाइ सुरु भएको पोषणविज्ञान धेरैको आकर्षणको केन्द्रविन्दु बन्दै छ ।
दोस्रो वर्षमा अध्ययनरत राजेश पोषणविज्ञानलाई व्यावहारिक र उपयोगी शिक्षा मान्छन् । उनी भन्छन्, ‘हाम्रोजस्तो विकासोन्मुख देशमा धेरै मान्छे खान नपाएर वा खान नजानेर बिरामी परिरहेका छन्, त्यो समस्या समाधानको लागि पोषणविद्को महत्वपूर्ण भूमिका हुन्छ ।’ राजेशजस्तै ७२ जना विद्यार्थी पोषणविज्ञानमा स्नातक (बिएनडी) गरिरहेका छन् अहिले । त्रिभुवन विश्वविद्यालयको आङ्गिक इकाई केन्द्रिय प्रविधि क्याम्पस धरानमा पढाइ हुने पोषणविज्ञानमा बर्सेनि २४ जनाले पढ्न पाउँछन् ।
सल्यानकी कुश्मा गौतम बिएनडी प्रथम वर्षकी विद्यार्थी हुन् । उनी राम्रो स्कोप भएका कारण काठमाडौंमा प्लसटू सकेर पोषणविज्ञान पढ्न धरान आएको बताउँछिन् । पढाइपछि अस्पताल गएर खानाका कारण बिरामी परेकाहरुको सेवा गर्ने उनको उद्देश्य छ । दोस्रो वर्षमा अध्ययनरत खोटाङ, दित्तेलका प्रणय उदासको पोषणविज्ञान पढेर समाज र राष्ट्रका लागि केही योगदान पु¥याउने उद्देश्य छ ।
नेपालजस्तो देशमा खाद्य तथा पोषण प्रविधिको ठूलो महत्व रहेको बताउने उदास यस बि
विषयका दक्ष जनशक्तिले बेरोजगार बस्नु नपर्नेमा ढुक्क छन् । पछिल्ला तथ्याङ्कहरु हेर्ने हो भने विश्वमै ८० प्रतिशतभन्दा बढी मानिस खानाको कारणले बिरामी पर्छन । ‘यदि पोषणविज्ञानको ज्ञान हुने हो भने ती मानिसहरुले खान नजानेर वा खान नपाएर अकालमा ज्यान गुमाउनु पर्ने थिएन,’ उनी भन्छन् ।
सिकेका कुरालाई जीवनमा लागू गर्न सकिने र देशमा मात्र नभएर विदेश पनि रोजगारीको राम्रो सम्भावना भएका कारण आफू पोषणविज्ञानमा आकषर््िात भएको बताउने सर्लाहीका आरेम कार्की बिएनडी दोस्रो वर्षका विद्यार्थी हुन् । नेपालजस्तो कृषिप्रधान देशमा खाद्य तथा पोषण प्रविधिको विकास र सक्षम जनशक्तिको उत्पादनले मात्र वास्तविक आर्थिक क्रान्ति हुने उनको बुझाइ छ । कार्की भन्छन्, ‘जीवनोपयोगी र रोजगारमूलक पोषणविज्ञानको पढाइले यो देशलाई आर्थिक र शैक्षिक रुपमा सबल बनाउनेछ ।’
पछिल्लो समयमा परिवर्तीत जीवनशैलीसगैँ नयाँनयाँ स्वास्थ्य समस्याहरु देखा परिरहेका छन् । जनमानसमा खाद्यान्न प्रयोगसम्बन्धी ज्ञानको अभाव र पोषणयोग्य र सन्तुलित भोजनको प्रयोग हुन नसक्दा देखापरेका समस्या समाधानका लागि पोषणविज्ञानले केही मात्रामा भए पनि टेवा पु¥याउने विज्ञहरु बताउँछन् । त्रिवि विज्ञान तथा प्रविधि अध्ययन सङ्कायका सहायक डिन तथा केन्द्रीय प्रविधि क्याम्पसका प्रमुख पशुपति मिश्र रोजगारीको ठूलो सम्भावना र राष्ट्रको आवश्यकतालाई ध्यानमा राखेर पोषणविज्ञानजस्तो नयाँ विषयको अध्यापन सुरु गरिएको बताउँछन् । उनका अनुसार पोषणविज्ञानको पढाइ सुरु गरेको तीन वर्षमै धेरै राम्रो प्रतिक्रिया आएको छ । विशेषगरी मेडिकलमा रुचि भएका विद्यार्थी पोषणविज्ञानको पढाइमा आकर्षित भएको बताउँदै मिश्रले भने, ‘दक्ष पोषणविज्ञको उत्पादनले देशको विकासमा मात्र हैन अनुसन्धानको माध्यमबाट विश्वस्तरमै मुलुकको शान उच्च बनाउन सकिन्छ ।’
सहायक क्याम्पस प्रमुख तथा पोषणविज्ञान अध्ययन विभाग प्रमुख श्याम मिश्र हात्तिसारबाट उत्पादन हुन लागेको पोषणविज्ञानको जनशक्तिले समुन्नत राष्ट्र निमार्णमा ठूलो टेवा पु¥याउनेमा विश्वस्त छन् । आगामी तीन–चार वर्षभित्रै पोषणविज्ञानमा स्नातकोत्तरको समेत पढाइ सञ्चालन गर्ने जानकारी दिँदै उनले भने ‘नयाँ र व्यावहारिक विषय भएकै कारण पनि यसको चासो र आकर्षण बढ्दो छ ।’ यति धेरै सम्भावना बोकेको पोषणविज्ञानको अध्ययन गर्न ं विज्ञान सङ्कायबाट कम्तीमा ५० प्रतिशत अङ्क ल्याएर प्लसटु उत्तीर्ण हुनेहरुले प्रवेश परीक्षामा सामेल हुन पाउँछन् ।
कहा“ पढ्ने ? कति खर्च लाग्छ ?
२०३४ सालदेखि खाद्य प्रविधि पढाइ हँुदै आएको केन्द्रीय प्रविधि क्याम्पस धरानमा नेपालमै पहिलो पटक तीन वर्षदेखि नयाँ विषयको रुपमा पोषणविज्ञानको पढाइ सुरु भएको हो । हात्तिसार क्याम्पसका नामले पनि चिनिने सो क्याम्पसमा खाद्य प्रविधिमा स्नातकदेखि विद्यवारीधिसम्म र पोषणविज्ञानमा स्नातकस्तरको पढाइ हुन्छ । भौतिक विज्ञानमा स्नातक र सूक्ष्म जीवविज्ञानमा स्नातकस्तरको समेत पढाइ हुने यो क्याम्पस विशुद्ध विज्ञान तथा प्रविधि क्याम्पस हो ।
पोषणविज्ञानमा प्रवेश परीक्षामा उत्कृष्ट अङ्क ल्याउने २४ जनाले मात्र अध्ययन गर्न पाउने व्यवस्था छ । चारवटा समूहमा बाँडिएको २४ जनाको सिटमध्ये पहिलो हुने चारजनाले (एक जना स्टाप कोटासहित) त्रिविले तोकेको सामान्य शुल्कमा पढ्न पाउँछन् भने चारजनाले आंशिक डोनेसन एकलाख रुपैया र बाँकी १६ जनाले तीनलाख १६ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । प्रत्येक वर्ष भाद्र असोजतिर प्रवेश परीक्षा फारम खुल्ने पोषणविज्ञानको प्रवेश परीक्षा काठमाडौ र धरानमा कात्तिक–मङ्सिरमा हुने गर्छ ।
अवसरका क्षेत्र
चार वर्षमा सकिने यो अनुसन्धानात्मक र व्यावहारिक शिक्षा हासिल गरिसकेपछि विभिन्न अस्पतालहरुमा डाइटिसियनको रुपमा काम गर्न सकिन्छ । विभिन्न गैरसरकारी संस्थाहरुले सञ्चालन गर्ने पोषणसँग सम्बन्धित क्षेत्र रोजगारीको अर्को आकर्षक गन्तव्य हो ।
यो विषय पढ्नेले आफैँ सचेतनामूलक गैरसरकारी संस्था खोलेर रोजगारी सिर्जना गर्न सक्छने । त्यसबाहेक पोषणविज्ञानका विद्यार्थीले सोही विषयको अनुसन्धानात्मक काम पनि पाउन सक्छन् । पछिल्लो समय विभिन्न विषयको अध्ययनका लागि विदेश जाने विद्यार्थीको सङ्ख्या बढ्दो छ । पोषणविज्ञान पढेका विद्यार्थीलाई पनि यस ममालामा सजिलो छ । यो अध्ययन सकेकाहरुले विदेशमा राम्रो आम्दानी गर्दै थप शिक्षा हासिल गर्न सक्छन् ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !