जिन्दगीका ३८ हिउँद–बर्खा मैले शिक्षण पेसामा बिताएँ । यो पेसामा कसैको चाकरी गर्नुपर्दैन, कसैसँग सम्झौता गर्नुपर्दैन, त्यसलै मैले यो पेसा रोजेँ । यो पेसाले मलाई सधंै स्वतन्त्र रहन दियो । एउटा शिक्षकका रूपमा मैले कहिल्यै पनि स्वविवेक र अन्तरात्माको आवाजलाई बेवास्ता गर्नु र सत्यको साथ छोड्नुपरेन । त्रिचन्द्र कलेज, नेपाल कमर्स क्याम्पस, शङ्करदेवदेखि लिएर काठमाडौं विश्वविद्यालयको एउटा सेमेस्टर र हाल कलेज अफ अप्लाइड बिजनेससम्म आइपुग्दा मैले २०/२२ हजार विद्यार्थीलाई पढाएँ हुँला ।
मेरो कक्षा लिन आउने विद्यार्थीलाई मैले कहिल्यै छुट्टै ट्युसन पढाइनँ । उनीहरूका लागि म २४ सै घन्टा उपलब्ध हुन्थें; टेलिफोनमा, बाटोमा, चियापसलमा । मलाई जहाँ भेटेर भए पनि विद्यार्थीले आफ्ना प्रश्न र समस्या राख्न सक्थे ।
श्रीमतीको र मेरो इमानदार कमाइले हामीलाई व्यवहार धान्न पुगेकै थियो । ट्युसन पढाउनतिर लाग्दा टाढा–टाढाबाट आएर क्याम्पसको कोठामा, बेन्चमा, डेस्कमा, भुइँमा, झयालमा बसेर र उभिएरै पनि मेरो कक्षा लिन चाहने विद्यार्थीमाथि मैले न्याय गर्न सक्दैनथेँ । आस र त्रास राखेको भए म पनि रजिष्ट्रार, रेक्टरजस्ता पदमा पु¥याइन्थें होला तर मलाई कहिल्यै त्यो चाह भएन । विद्यार्थीहरूको सफलतालाई नै मैले आफ्नो सफलता र उनीहरूको असफलता आफ्नो असफलता मान्दै झडै चार दशक बिताएँ । प्रायः सवा ६ बजे सुरु हुने मेरो कक्षामा सवा ६, ठीक सवा ६ बजे नै बज्थ्यो, न एक मिनेट छिटो, न एक मिनेट ढिलो । मलाई कहिल्यै हुरी–पानीले कक्षामा पुग्न छेकेन । ४६ सालको आन्दोलनमा चैत २४ गतेदेखि कफ्र्यु लाग्यो । २३ गतेका दिन बाहिर गोली चलिरहँदा भित्र म कक्षा लिइरहेको थिएँ । ३८ वर्ष पढाउँदा पढाइ भएका बखतमा मुस्किलले ३८ दिन कक्षामा अनुपस्थित भएँ हुँला । आँखाको अपरेशन या अरू कुनै आकस्मिकताका कारण । २०६२ सालमा आँखामा मोतियाबिन्दुको अपरेशन गरेको बखत तीन दिन बिदामा बसेँ । त्यति धेरै समय लगातार बिदामा पहिला कहिल्यै बसेको थिइनँ, पछि पनि बसिनँ ।
मेरो पेसागत र पारिवारिक मूल्यमान्यता एकआपसमा बाझ्दा धेरै अप्ठेरा क्षणहरू पनि आएका छन् । २९/३० सालतिरको कुरा हो, मेरी आफ्नै दिदी गर्भवती हुनुहुन्थ्यो । उहाँले बिकमको जाँच दिनुपर्ने थियो । प्रश्नपत्र मैले नै सेट गरेको थिएँ । तर, मैले ‘दिदी, यी–यी प्रश्नहरू महत्वपूर्ण छन्, तयारी गर’ भन्न सकिनँ । उहाँ फेल हुनुभयो ।
यही घटना फेरि मेरी छोरीको केसमा पनि दोहोरियो । उनी पनि फेल भइन्, मैले नै सेट गरेको प्रश्नपत्रमा । जसरी मेरा विद्यार्थीहरू असफल हुँदा मेरो मन दुख्छ, त्यसरी नै मेरी दिदी र छोरी फेल हुँदा पनि मेरो मन दुख्यो । तर, पनि पेसाको नैतिकतासँग सम्झौता गर्न मेरो विवेकले दिँदै दिएन ।
राम्रो गर्ने विद्यार्थीको उचित मूल्याङ्कन होस् र आफ्नो मेहनत अनुसारको फल पाओस् भन्ने मेरो सधैँको ध्येय रह्यो । मेरो यही ध्येय सार्थक हुने वातावरण नभएकाले २०६४ सालको माघ महिनामा जागिरअवधि सकिन दुई वर्ष बाँकी हुँदाहुँदै मैले शङ्करदेव क्याम्पसबाट स्वेच्छिक अवकाश लिएँ ।
मेरो लागि बुढेसकालको आर्थिक सहारा पेन्सनभन्दा ठूलो थियो मेरो जिन्दगीको विश्वास, मेरा विद्यार्थीप्रतिको न्याय । एउटा शिक्षक भएपछि पूरा गर्नुपर्ने विद्यार्थीप्रतिको न्यायको दायित्व पूरा गरेर मैले मेरो जिन्दगी सार्थक बनाएको छु । त्यसमा मलाई गर्व छ । म सन्तुष्ट छु ।
मेरो जिन्दगी मेरो विश्वासबाट
0 comments:
Speak up your mind
Tell us what you're thinking... !