शिक्षा पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो । तर, पारिवारिक, आर्थिक, सामाजिक, भौगोलिकलगायतका कारण मोरङमा अपाङ्गता भएका बालवालिकामध्ये ३० प्रतिशतको अझैसम्म विद्यालयमा पहुँच पुग्न सकेको छैन । अधिकतर बालबालिकाहरु अभिभावकमा रहेको चेतनाको अभाव, समाजले अपाङगहरुप्रति गर्ने व्यवहार, अपाङगताकै कारण हिँडडुल गर्न परेको समस्याका साथै भाषिक समस्याका कारण विद्यालय जान नसकेको यस क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरुले बताएका छन् ।
त्यसो त, मोरङमा अपाङ्गता भएका करिब दुई हजार बालबालिकाले विद्यालय जाने अवसर पाएका छन् । तर, ती बालबालिकाको पनि कक्षा वृद्धिसँगै पढाइ छाड्ने क्रम उत्तिकै बढ्दो रहेको राष्ट्रिय अपाङ्ग महासंघ क्षेत्रीय कार्यालय
विराटनगरका कार्यक्रम संयोजक उत्तम सिवाकोटीको भनाइ छ । उनका अनुसार माध्यमिक तहसम्म पुग्दा ८० प्रतिशतले पढाइ छाडिसकेका हुन्छन् ।
मोरङ जिल्लामा १२ वटा स्रोतकेन्द्रमा अपाङ्गता भएका १०÷१० जना विद्यार्थीलाई आवासीय रुपमा पठनपाठनको व्यवस्था छ । तर, यतिको सङ्ख्याले मात्र नपुग्ने हुँदा स्रोत केन्द्रमा मात्र नभइ घरपायकको विद्यालयमा पनि बालबालिकालाई अपाङ्गमैत्री तरिकाले पठनपाठनको व्यवस्था मिलाउन आवश्यक रहेको सिवाकोटीको भनाइ छ ।
राष्ट्रिय अपाङ्ग महासंघले अपाङ्गता भएका बालबालिकालाई विद्यालयसम्मको पहँुच बढाउनका लागि अहिले समावेसी शिक्षाको नीति लिएको छ । महासंघका अनुसार मोरङका पाँच सय ६५ सरकारी विद्यालयमध्ये चार सय १० विद्यालयका प्रधानाध्यापकलाई समावेसी शिक्षा नीतिका बारेमा अभिमुखीकरण गरिएको महासंघले जनाएको छ ।
जिल्ला शिक्षा कार्यालय मोरङका अनुसार अझै पनि विद्यालय जाने उमेरका करिब सात प्रतिशत अपाङ्गता भएका विद्यार्थी शिक्षा लिनबाट वञ्चित छन् । सरकारले बर्सेनिे भर्ना अभियान चलाए पनि त्यो अहिलेसम्म प्रभावकारी हुन सकेको छैन । विद्यालय भर्ना भएका अपाङ्ग बालबालिकाले भोग्नुपरिरहेको समस्या पनि उस्तै छ । शिक्षा कार्यालयका उपसचिव टङ्क गौतमका अनुसार विद्यालयबाहिर रहेका उमेर पुगेका सात प्रतिशत बालबालिकामध्ये अपाङ्गता भएका र दलितको सङ्ख्या बढी छ ।
विद्यालयको पहुँचसम्म नआइपुगेका अपाङ्गता भएका बालबालिकाका लागि शिक्षा कार्यालयले छात्रवृद्धिको अभियान सुरु गरेको गौतमले जानकारी दिए । उनका अनुसार शिक्षा कार्यालयले अपाङ्गता भएका बालबालिकालाई विद्यालयसम्म ल्याउन उनीहरुको अवस्था हेरी पाँच सयदेखि १७ हजार रुपैयाँसम्म छात्रवृत्ति दिने वातावरण मिलाउँदै आएको छ ।
मोरङमा छरिएर रहेका अपाङ्गता भएका व्यक्ति र बालालिकालाई एकत्रित गर्नका लागि सामथ्र्य समाज
विराटनगरले पनि अहिले ५४ गाउँ विकास समितिमा डिपिओ अर्थात् अपाङ्गता भएका व्यक्तिहरुका लागि गाविसस्तरीय स्वावलम्बन समूह गठन गरिसकेको छ ।
समाजका अध्यक्ष विमल बस्नेतका अनुसारका डिपिओ मार्फत् भइरहेको एकत्रित गर्ने कार्य डिसेम्बरभित्रमा ६५ वटै गाविसमा विस्तार भइसक्नेछ ।
सरकारी तथा गैरसरकारीक्षेत्रबाट विद्यालयको वातावण अपाङ्गमैत्री बनाउने अभियानमा क्रियाशील रहे पनि कतिपय विद्यालयमा अपाङ्गता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोणमा अझै पनि परिवर्तन आउन नसकेकाले ठूलो सङ्ख्यामा त्यस्ता बालबालिका सुविधा र पढाइको अवसरबाट वञ्चित छन् ।
नेत्र पी अधिकारी
0 comments:
Speak up your mind
Tell us what you're thinking... !