‘पढाइ लाई उमेरले छेक्दैन,’ पाँचकन्या–१ चोक्टीकी तीर्थकुमारी खड्का (७२) विद्यालय गएर आफ्नो पढ्ने चाहना पूरा गरेकी मात्र छैनन्, समाजमा समेत उदाहरणीय महिला बनेकी छिन् ।
६३ वर्षदेखि औपचारिक शिक्षा लिन सुरु गरेकी उनी अहिले कक्षा आठमा अध्ययरत छिन् । पढाइप्रति उनको इच्छाशक्ति देखेर आफ्ना आफन्त तथा छोराछोरीले पनि उनलाई सहयोग गरेका छन् । खड्काका सातै जना सन्तानले स्नातकोत्तर पूरा गरेका छन् । ‘सबै छोराछोरीले नेपालको पढाइ सके’ उनी भन्छिन्, ‘तर, त्यो बेलामा पढ्न नपाएपछि रहर पूरा गर्न बुढ्यौलीमै भए पनि पढेकी हुँ ।’
सानैदेखि पढ्ने खुबै इच्छा थियो । तर, छोरीले पढ्न हुँदैन भन्ने त्यो बेलाको संस्कारले तीर्थलाई पनि विद्यालय जानबाट रोक्यो । काम र घरधन्दाकै कारण आफ्नो पढ्ने इच्छालाई दबाएर राखेकी उनले घाँसदाउरा र मेलापातमै जीवनको छ दशक पार गरिन् । छोराछोरीले स्नाकोत्तर पूरा गरी अमेरिका, फिनल्यान्ड, कुवेत, थाइल्यान्डलगायतका देशहरुमा गएर गरिखाएका छन् । तर, स्थानीय जन्मभूमि प्राथमिक विद्यालयमा शिशु कक्षामा भर्ना भएर औपचारिक शिक्षा सुरु गरेकी उनी भने पढाइको रहरलाई बूढेसकालमा पूरा गर्दैछिन् ।
‘पढ्ने खुबै रहर थियो, पढाइभन्दा अर्को केही नहुेन रहेछ भन्ने बुझेपछि पढ्न सुरु गरेकी हुँ,’ उनी भन्छिन् । उनकी एउटी छोरी अमेरिकामा छिन् । ‘दुईपटक अमेरिका पुगेँ,’ उनले दुःखेसो गरिन्, ‘पढाइ नभएकैले त्यहाँ मानिसले बोलेको केही बुझिँन ।’ त्यसलगत्तै उनले पढ्ने निश्चय गरेकी हुन् ।
उनी अब पढाइ सकेर, जान्ने भएर मात्र अमेरिका जाने सोचमा छिन् । ‘अब त एसएलसी दिएपछि मात्रै जान्छु होला,’ उनले भनिन्, ‘छोरोले फिनल्यान्डमा बोलाउँदै थियो, म त पढ्दै छु, आउदिनँ भनिदिए !’
तीर्थलाई श्रीमान्ले पनि पढाइका लागि साथ दिएका छन् । बिहानै उठेर आफ्ना कर्म गरेर तीर्थ दैनिक ४५ मिनेटको बाटो हिँडेर सरस्वती उच्चमावि पानमारामा पढ्न आउँछिन् । उनको इच्छाशक्ति देखेर नै शिक्षकहरुले पनि उनलाई पढ्नका लागि प्रोत्साहित गर्छन् । उनी पनि आफूले सकेसम्म पढाइलाई निरन्तरता दिने बताउँछिन् ।
पढ्ने तीव्र इच्छाशक्ति देखाएकाले विद्यालयले उनलाई सबै कुराहरु निःशुल्क गरिदिएको विद्यालयका कर्मचारी चित्रकुमार काफ्ले बताउँछन् । पढ्नुपर्छ भन्ने सोचले उनलाई उदाहरणीय महिला पात्रका रुपमा उभ्याएको उनले बताए ।
छोराछोरी सबै बाहिर भएकाले पनि उनलाई पढ्न आवश्यक हो भन्ने लागेर पढेको उनले बताइन् ।
समाजसेवी कृष्ण गौतमका अनुसार उनले छोराछोरीको प्रेरणाबाट पढाइलाई निरन्तरता दिएर समाजमै उदाहरणीय पात्रका रुपमा परिचय बनाउँदै छिन् ।
भोजराज श्रेष्ठ

0 comments:
Speak up your mind
Tell us what you're thinking... !