शिक्षाक्षेत्रमा लामो समयदेखि सक्रिय इटहरीका व्यवसायी कमल तिम्सिना शिक्षित बेरोजगार बढ्दै गएकोप्रति चिन्तित छन् । अव्यावहारिक शिक्षा, सरकारी नीति अभाव तथा युवाहरुलाई उपयुक्त मार्गदर्शन र सहयोगको अभावमा विदेसिनेको सङ्ख्या बढ्दै जाँदा केही समयका लागि परिवारको आर्थिक अवस्थामा सुधार आए पनि नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा ठूलो सङ्कट आउने देखिएको बताउँछन् । उनी समस्या देखेर चिन्तित मात्र छैनन्, त्यसको समाधानको उपायबारे चिन्तन पनि गरिरहेका छन् । यसै सेरोफेरोमा तिम्सिनासँग कलेज टाइम्सका लागि गरिएको कुराकानी :शैक्षिक बेरोजगार थपिँदैछन् । बेरोजगार युवाहरु विदेश पलायनसमेत भइरहेका छन् । किन होला ?
सबैभन्दा ठूलो कारक त भ्रष्टाचार, राजनीतिक अस्थिरता बढ्नु र राजनीतिक दलले युवालाई राजनीतिक हतियारको रुपमा प्रयोग गर्नु नै हो । युवाहरु पढ्ने उमेरमा ढुङ्गा बोकेर हिँड्छन् । केही गर्ने र बन्ने समयमा आफूसँग शिक्षा, दक्षता नहुँदा विदेसिन बाध्य छन् । विद्यार्थी स्वयम्ले सही विषय नरोज्नु, पढाइको योजना नबनाउनु, विद्यार्थीको क्षमता र रुचिअनुसारका विषय लिन प्रोत्साहित नगरी क्याम्पसले पैसा असुल्नका लागि कामै नलाग्ने विषयहरु पढाउनुले पनि समस्या उत्पन्न भएको हो । त्यसका लागि अहिलेको अव्यावहारिक शिक्षा प्रणाली मुख्य दोषी हो । यस्तै लोडसेडिङ बढ्नु र उद्योग, व्यवसाय धराशायी हुनुले समेत युवाहरुलाई बेरोजगार बनाएको छ ।
युवा बेरोजगार बन्दा कस्तो अवस्था सिर्जना भएको छ ?
समाज भयावह दुर्घटनामा पर्ने अवस्था उत्पन्न भएको छ । १५ देखि ४० वर्षका युवामा नैराश्यता छ । दुव्र्यसनी बनेका छन् । पैसा भए पनि लगानी गर्ने बाटो देखेका छैनन् । उनीहरुले पढेको शिक्षा यति अव्यावहारिक छ कि उनीहरु आफैँ केही काम सुरु गर्न सक्षम छैनन् । धेरै–थोरै युवाले मात्र आफ्नो पारिवारिक पृष्ठभूमिको आधारमा केही काम गर्ने आँट गरेका छन् । धनीहरु धनी र गरिबहरु झन्झन् गरिब बनिरहेका छन् । सम्बन्धविच्छेदका घटना बढ्नुमा पनि आर्थिक असन्तुष्टि नै प्रमुख कारण हो ।
समस्यालाई समाधान गर्न के गर्नुपर्ला ?
सबैभन्दा पहिले त क्याम्पसहरुले विद्यार्थीलाई पढ्ने विषयको बारेमा सही परामर्श दिनुपर्छ । त्यस्तै विद्यार्थीलाई रोजगारीका अवसर खोज्न क्याम्पसले सहयोग गर्नुप¥यो । क्याम्पसले पनि व्यावहारिक शिक्षा दिनुप¥यो । किताबी कुरालाई पनि व्यवहारोपयोगी तरिकाले सिकाउनुप¥यो । उत्पादनमूलक कार्यमा लगानी गर्न प्रोत्साहित गर्नुप¥यो । मुख्य कुरो सरकारले सही शिक्षा नीति बनाउनुप¥यो । नीति सही भयो भने सबै कुरा ठिक हुन्छ ।
शिक्षा नीति परिवर्तन गर्न त समय लाग्ला । आजको भोलि नै राहतस्वरुप केही काम गर्न सकिन्छ कि ?
सकिन्छ । क्याम्पसहरुले विद्यार्थीको लागि काउन्सिलिङ डेक्स राखेर उनीहरुको इच्छा र क्षमताअनुसारको विषय रोज्न प्रोत्साहित गर्नुपर्छ । विद्यालयमै पनि विद्यार्थीका लागि जीवनउपयोगी र आफ्नो क्यारियर निर्धारण गर्ने गरी तालिम दिनुपर्छ । एसएलसी पास गर्ने सबैलाई अनिवार्य रुपमा शैक्षिक परामर्श दिने व्यवस्था गर्नुपर्छ । यो कामको सुरुवात हरेक विद्यालय, क्याम्पसले आजको भोलिबाटै सुरु गर्न सक्छन् ।
सम्भावना कस्तो देख्नुहुन्छ ?
जल, जङ्गल र जमिनलाई प्रविधिको सहयोगमा उपयोग गरी कृषिका क्षेत्रमा धेरैलाई रोजगारी दिन सकिन्छ । निजी क्षेत्रका लागि उद्योगमैत्री व्यवस्था ल्याएर प्रोत्साहन गर्न सकेमा त्यसले धेरै परिवर्तन ल्याउन सक्छ । युवाहरुको लागि ऋणको व्यवस्था गर्न सकेमा दुई–चार पैसा कमाउन पनि विदेसिने क्रम रोकिन्थ्यो र स्वदेशमै उद्योग धन्दाको लागि प्रोत्साहन मिल्थ्यो । बेरोजगार युवाहरु आफैँले पनि सामूहिक रुपमा व्यवसाय गर्न सक्छन् ।
सानो–सानो पुँजीलाई एकत्रित गरी ठूलो काम आँट्न सक्छन् । सामूहिक कृषि फर्म बनाउन सकिन्छ । सामूहिक सहकारीको अवधारणा समेत उपयोगी हुनसक्छ । सीप तथा क्षमता विकास गर्ने खालका कार्यक्रम समेत आयोजना गरी युवाहरुको समग्र विकासमा योगदान दिन सकिन्छ । एक घर एक उद्योगको अवधारणालाई अघि बढाउन सकिन्छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !