युवाको लगन, बगरमा वृन्दावन - College Times : Educational Magazine
Headlines News :
Home » » युवाको लगन, बगरमा वृन्दावन

युवाको लगन, बगरमा वृन्दावन

Written By Collegetimes on Tuesday, January 1, 2013 | 11:22 PM


पाँच वर्ष अघिसम्म सो ठाउँ दिसा–पिसाब गर्ने खुला शौचालय थियो । पूर्वपश्चिम राजमार्गबाट तीन किलोमिटर उत्तरमा रहेको सो ठाउँसम्म पुग्न ग्राभेल बाटो भए पनि राम्रो अवस्था थिएन । खोला किनारमा बालुवा झिक्नेका कारण बर्सेनि सो ठाउँ कटानमा पर्दैथियो ।
तर, युवा पण्डित दीनबन्धु शास्त्रीले केही फरक सोचे । उनले यो ठाउँमा केही दाताको सहयोगमा जग्गा पाए अनि नेपालको वृन्दावन बनाउने योजना बनाए । अहिले उनको जुझारु युवा सोच, निरन्तरता र स्थानीय अग्रजको सहयोगमा यो ठाउँको रुप नै फेरिएको छ । उनले यो ठाउँलाई नेपालको वृन्दावन बनाउने उद्देश्यले राधेश्याम सेवा ट्रष्ट बनाएर काम थालेको चार वर्ष बितिसकेको छ । ‘त्यो बेलामा रोपेका बिरुवाहरु रुख बनेका छन्,’ ट्रष्टका संरक्षक शास्त्रीले भने, ‘प्राकृतिक रुपले सिंगार्न जति प्रयास गरेका छौँ, बर्सेनि त्यसले आफ्नो रुपरङ देखाउनेछ ।’
सुनसरी र मोरङको सिमानामा पर्ने बूढी खोला किनारमा वृन्दावन गौशाला निर्माण कार्य सुरु भएको पाँच वर्षपछि अहिले त्यहाँको मुहार नै फेरिएको छ । बर्सेनि खोलाले कटान गरेर लाने जमिनलाई ट्रष्ट बनाएर सुरक्षा गर्दै नेपालको वृन्दावन बनाउने अभियान सुरु भएपछि थरिथरिका रुख रोपिएका छन् । नेपालमै दुर्लभ वनस्पतिहरु समेत रोपेर संरक्षण गरिएका छन् । खोलाको बगरलाई वृन्दावन बनाउन थालिएपछि अहिले त्यो ठाउँ हराभरा मात्र भएको छैन, धार्मिक तीर्थस्थलको रुपमा समेत विकास हुन थालेको छ ।
सो स्थानमा गाईपालनका लागि गौशाला बनाइ व्यवस्थापनसमेत गरिएको छ भने वृद्धाश्रम भवनसमेत बनिसकेको छ । नेपालकै सबैभन्दा ठूलो राधाकृष्णको मन्दिर बनाउने तयारी भइरहेको उक्त स्थान धार्मिक तीर्थ बन्ने क्रममा रहेको शास्त्रीले बताए । आगामी दुई वर्षभित्र दाताहरुको सहयोगमा सो मन्दिर निर्माणको काम सम्पन्न हुनेछ । मन्दिरमा विवाह, व्रतबन्धलगायतका कार्यक्रम गर्न सकिने हुँदा बहुउपयोगी हुने शास्त्रीले बताए ।
‘भारतको वृन्दावनमा रहेको जस्तै गुप्तेश्वर शिवलिङ्ग स्थापना गरेका छौं,’ उनले भने, ‘धरानको पिण्डेश्वर पुगेर जल चढाउन नसक्ने भक्तजनहरु तीन वर्षदेखि यहीँ आएर जल चढाउने गर्छन् ।’
वृन्दावन नै किन बनाउनुप¥यो त ? उनी भन्छन्, ‘धार्मिक पर्यटनको कारण नेपालबाट बर्सेनि करोडौं रकम भारततर्फ निकासा भइरहेको छ । चारधाम जाने तथा वृन्दावन जानेहरुको कारण नेपालको धेरै ठूलो रकम विदेसिएको छ । यदि हामीले नेपालमै वृन्दावन बनाउने हो भने ठूलो रकम नेपालमै खर्च हुन्थ्यो र हाम्रै गाउँ–ठाउँको विकास हुन्थ्यो भन्ने सोचेर वृन्दावन बनाउन लागिएको हो ।’
मोरङको दुलारीमा पर्ने सो ठाउँमा नेपालकै ठूलो राधाकृष्ण मन्दिर बनाउन सकेमा पूर्वाञ्चलका लागि धार्मिक पर्यटनको अर्को आकर्षक गन्तव्यस्थल हुने निश्चित छ । योजनाअनुसार जग खन्ने काम सकिएको छ ।  
योजना बनाइएका सम्पूर्ण पूर्वाधार बनाइसक्न दुई करोड भन्दा बढी रकम लाग्ने बताइएको छ । सो रकमका लागि विभिन्न स्थानमा पुराण आयोजना गरिएको छ । शास्त्री स्वयम्ले पनि विभिन्न स्थानमा पुराणवाचन गरी सहयोग रकम जुटाएका छन् । उनले व्यक्तिगत रुपमा दानमा पाएका बाच्छा–बाच्छी तथा रकमसमेत वृन्दावन गौशालाको विकासका लागि खर्च गरेका छन् ।
वृन्दावन बनाउन कोटीहोमसमेत आयोजना गरिएको छ । नेपालमै कमै मात्रमा कोटीहोम आयोजना हुने गर्छन् । पुस १३ गतेसम्म चल्ने सो कोटीहोमबाट सङ्कलित रकमले वृन्दावनलाई व्यस्थित र बनिरहेका पूर्वाधार निर्माणमा खर्च गरिने ट्रष्टले जनाएको छ ।
हालै, वृन्दावन गौशाला पुगेका मोरङका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले वृन्दावनसम्म पुग्ने विद्युत्, बाटो र तारजालीका लागि सहयोग गर्ने आश्वासन दिएका छन् ।
‘सबैको सकारात्मक सहयोग पाइरहेका छौं,’ शास्त्रीले भने, ‘यो स्थान बनेमा पूर्वाञ्चलबासी विशेषगरी सुनसरी र मोरङमा बस्ने मानिसलाई प्रत्यक्ष, अप्रत्यक्ष लाभ हुनेछ ।’
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved