सुन्दरताको पछाडि नलाग्ने सायदै मानिस होलान् । सुन्दरताका नाममा मानिसहरु प्रायः बाहिरि आवरणमा केन्द्रित हुने गरेका छन् । आवरण मात्र नभएर व्यक्तिमा लुकेका प्रतिभासमेत बाहिर ल्याउने प्रयास हुनथालेको छ, आजकल ।
बाहिरी सुन्दरता मात्र नभएर क्षमता र प्रतिभा परीक्षण गर्न भन्दै हरेक सहरमा सुन्दरी प्रतिगोगिता गर्ने होडबाजी नै चल्न थालेको छ, अहिले । यसैको परिणामतः केही वर्षयता सौन्दर्य प्रतियोगिता बाक्लिदै गएका छन् । कुनै समुदायका नाममा त कुनै जाति र क्षेत्रका नाममा यस्ता प्रतियोगिता हरेक महिना जसो हुने क्रम चलिरहेको छ । विभिन्न समुदाय र जातजातिले आफ्नो समुदायका सुन्दरीहरुबीच प्रतिस्पर्धामा उतार्न थालेपछि यो सिलसिला झन्झन् अटुट हँुदै गएको छ ।
त्यसको प्रभाव अहिले देशका मुख्य सहरमा परेको छ । राई, लिम्बू, राजवंशी, नेवार, शेर्पा, गुरुङ, तामाङ, मगर आदि समुदायका सुन्दरीको आफ्नै समुदायका सुन्दरीसँग प्रतिस्पर्धा हँुदै (गराइँदै) आएको छ । त्यसका साथै क्षेत्रीय, जिल्ला, अञ्चल, सहर र संस्था विशेषका नाममा सुन्दरी प्रतियोगिता गर्ने लहर पनि चलेको छ । मिस कोसी, मिस कलेज, मिस स्कुल, सुमर मोडल, व्युटी क्वीन, मिस इ कलेज, मिस युनिभर्सललगायतका नाममा सुन्दरी प्रतिगोगिता फेसनकै रुपमा बढ्दो छ ।
सन् २०१२ मा मिस नेपाल, मिस पूर्वाञ्चल, पूर्वाञ्चल सुपर मोडलसँगै मिस लिम्बू, मिस राई, मिस शेर्पा, मिस तामाङ, मिस मगर, मिस मङ्गोल, मिस राजवंशीलगायतका प्रतियोगिता आयोजना गरिए । मिस नेवा २०१२ का लागि पुस १५ गते प्रतिस्पर्धा हँुदैछ भने मिस मङ्गोलको १०१३ का लागि पनि प्रतियोगिताको दौडाहा सुरु भइसकेको छ । मङ्सिर २५ देखि आवेदन खुला गरिएको प्रतियोगितामा विभिन्न समुदायका ताज विजेताले छनोट चरणमा सहभागी नभइ प्रतिस्पर्धामा भाग लिन पाउने आयोजक एक्सन इन्टरटेनमेन्टले जनाएको छ । फागुन २६मा हुने फाइनलका लागि देशभरिका आदिवासी जनजाति युवतीले सहभागिता जनाउने आयोजकको दावी छ ।पछिल्लो समय आदिवासी–जनजाति समुदायका युवतीहरु प्रतियोगितामा बढी सहभागी हँुदै आएका छन् । आयोजना पनि आदिवासी–जनजातिका विभिन्न संघसंस्थाले गर्दै आएका छन् । भर्खरै मिस राजवंशीको दोस्रो संस्करण सकेको सोसियल अर्गनाइजेशन अफ राजवंशी एब–ओरिजिन्सका सहसचिव अर्जुन राजवंशी आफ्नो समुदायका प्रतिभावान चेलीहरुलाई अवसर दिन सुन्दरी प्रतियोगिता आयोजना गरिएको बताउँछन् । सुन्दरीको आत्मविश्वास र क्षमता बढाउन पनि प्रतियोगिता सहयोगी हुने उनको दावी छ । पहिले आफ्नो समुदायमा प्रतिष्पर्धा गर्नसक्ने भएपछि मात्र अरु समुदायसँग प्रतिस्पर्धामा उत्रन सजिलो हुने भएकाले मिस राजवंशीको दास्रो संस्करण पनि गरिएको राजवंशीले बताउँछन् । ‘सहर मात्र नभएर पिछडिएका दुर्गम क्षेत्रमा रहेका प्रतिभाशाली युवतीलाई अवसर मात्र दिँदैन, उनीहरुलाई सेलिब्रेटीसमेत बनाउँछ,’ उनले भने ।
कला, संस्कृति र भाषाको संरक्षण तथा प्रचार प्रसार गर्न र अरु समुदायबीच चिनाउन यस्ता प्रतियोगिता आवश्यक रहेको मिस लिम्बू २०१२ की विजेता नीलिमा मादेनको धारणा छ । पश्चिमी संस्कृतिको प्रभावमा नेपालका मौलिक संस्कृति र विभिन्न जातजातिको संस्कार र संस्कृति लोप हुने अवस्थाबाट जोगाउन, युवापुस्तालाई सचेत गराउन सुन्दरी प्रतियोगिता उपयोगी हुने सुन्दरीहरुको बुझाइ छ ।
युवालाई मनोरञ्जन दिँदै सचेत गराउने सजिलोमाध्यम यस्ता प्रतियोगितालाई बनाउन सकिने भएकाले मिस मङ्गोलको आयोजना गरेको एक्सन इन्टरटेनमेन्टका अध्यक्ष अशोक प्यासी राई बताउँछन् । सुन्दरता, बौद्धिकता र संस्कृतिबीचको फ्युजनका रुपमा प्रतियोगिता गर्दै आएको उनको भनाइ छ । मिस मङ्गोलको पाँचौ संस्करणसम्म आइपुग्दा थुप्रै आदिवासी–जनजाति युवतीले क्षमताको विकास र आफूलाई परिमार्जन गरेर आत्मनिर्भर बनेको राईले बताए । ‘सुन्दरता र बौद्धिकताले मात्र हँुदैन आफ्नोपन, आफ्नो संस्कार पनि सँगसँगै लानुपर्छ’, उनले भने ‘युवापुस्तालाई आफ्नो र अरुको संस्कारको जानकारी दिन र संरक्षणका लागि मोह जगाउनु आवश्यक छ ।’
यस्ता छन् २०१२ का आदिवासी जनजाति सुन्दरी
मङ्सिर अन्तिम साता मात्र विराटनगरमा राजवंशी समुदायका सुन्दरीहरु प्रतिस्पर्धामा उत्रिए । झापा र मोरङका १६ प्रतिस्पर्धीलाई उछिन्दै झापा पाँचगाछीकी रेविका राजवंशीले मिस राजवंशी २०१२ को उपाधि हात पारिन् । सोसियल अर्गनाइजेशन अफ राजवंशी एब–ओरिजिन्सको आयोजनामा भएको प्रतियोगिताको ताजसँगै उनले नगद २५ हजार रुपैयाँ र मिस ट्यालेन्टको उपाधिसमेत आफ्नै बनाइन् । यसैगरी, फस्ट रनर अप मोरङ अमरदह (सुरत) की सपना राजवंशी र सेकेन्ड रनर अप मोरङकै उषा राजवंशी भए ।
राजधानीमा असोजमा भएको मिस लिम्बू २०१२ को उपाधि ताप्लेजुङकी नीलिमा मादेनले हात पारिन् । फस्ट रनरअप बिपि प्रतिष्ठान धरानकी डाक्टर अलिशा बनेम र सेकेन्ड रनरअप धरानकै एलिना थलङ भइन् । असारमा राजधानीमै भएको मिस राई २०१२को उपाधिसँगै नगद ५० हजार रुपैयाँ युमा राईले हात पारिन् भने शेली राईले फस्टरनर अप र र्सिजा राईले सेकेन्ड रनरअपमा चित्त बुझाए ।
शेर्पा फेसन होम्सले भदौमा आयोजना गरेको मिस शेर्पा २०१२को उपाधिसँगै ताज पहिरिन् छिमि शेर्पाले । पोखरामा सम्पन्न मिस मगर २०१२को उपाधि रञ्जना थापामगरले हात पारेकी थिइन् । २३ प्रतिस्पर्धीलाई पछि पार्दै ताज पहिरेकी रञ्जनाले नगद २५ हजार रुपैयाँ पनि हात पारिन् । यस्तै, राजधानीमै सम्पन्न मिस तामाङ २०१२ को उपाधि काभ्रेकी सुमी मोत्तानले हात पारिन् । यस्तै, मिस मङ्गोल २०१२को उपाधि सपना रोक्का मगरले आफ्नो बनाइन भने फस्ट रनरअप नुमा कन्दङ्वा र सेकेन्ड रनरअप उषा राई भए । मिस लिटिल नेवाः २०१२को उपाधि सुस्मिता प्रजापतिले हात पारिन् । यस प्रतियोगितामा लुमना मर्हजन फस्ट रनरअप र अनिषा खडगी सेकेन्ड रनरअप भए ।
उता, लण्डनमा भएको मिस युके नेपाल २०१२को उपाधि र ताज दुर्गा गुरुङले पाइन् । त्यसो त नेपालमा भएका अधिकतर सुन्दरी प्रतियोगिताको उपाधि जनजाती सुन्दरीले नै पहिरिँदै आएका छन् । मिस नेपाल २०१२को ताज सृष्टि श्रेष्ठले पहिरिएकी छन् भने मिस पूर्वाञ्चल २०१२ अस्मिता गुरुङ भएकी छन् ।
शोषणमा सुन्दरी
सौन्दर्य प्रतियोगिता बढे पनि ‘सुन्दरी’हरुमा यसका आयोजकप्रतिको आर्कषण भने दिननुदिन घट्दो छ । यस्ता प्रतियोगिता फेसनका रुपमा चल्न थालेपछि विकृतिले पनि जरा गाडेको छ । प्रतियोगिता बाक्लै हुनु र आयोजकले त्यसको कुशल व्यवस्थापन गर्न नसक्नुले पनि आर्कषण घट्दो मात्र छैन, यसलाई हेर्ने दृष्टिकोणमा समेत नकारात्मकता थपिन थालेको छ ।
आयोजकले प्रतियोगिता अगाडि घोषणा गरेका पुरस्कार, सेवा र सुविधाहरु नदिने, विजेताहरुको समेत बेवास्ता हुने, उपाधि जितेर पनि अवसरहरु नपाउने घटना पछिल्लो क्रममा बढ्दो छ । आयोजकले यस्ता प्रतियोगितालाई खानेमेलो बनाउन थालेपछि सुन्दरी हुने आकाङ्क्षा बोकेका युवतीहरु शोषणको सिकार भएका छन् ।
आयोजकले सहभागीबाट मोटो रकम मात्र असुल्दैनन् शारीरिक शोषण समेत गर्न पछि पर्दैनन् भन्ने खबर पुराना हुन थालेका छन् । प्रतियोगितामा सहभागी हुनेलाई दिइने तालिमका नाममा मोटो रकम असुल्ने गरेका छन् भने युवतीलाई विभिन्न बहाना बनाएर फाइदा लुट्ने गरेको भुक्तभोगीहरु बताउँछन् ।
सौन्दर्य प्रतियोगिता कसले गर्ने कसले नगर्ने भन्ने निश्चित मापदण्ड नहँुदा जसले पनि गर्ने र युवतीलाई भेला गराएर उनीहरुबाट फाइदा लिने क्रम बढेको पाइन्छ । केही प्रतियोगिताका आयोजकले युवतीहरुलाई पुरस्कार दिनुको साटो उल्टै दुव्र्यवहार गरेका खबर आइरहेका छन् ।
सुनसरीमा भएको एउटा सौन्दर्य प्रतियोगिताका विजेताले रकम लेखेको फ्लेक्स मात्र पाएको तर रकम भने हात नपरेको बताएका छन् । सुन्दरी र सेलिब्रेटी बन्ने आकाङ्क्षाका साथ प्रतियोगितामा सहभागिता जनाउने युवती अन्ततः शोषणको सिकार हुने गरेका छन् ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !