महोत्सवमा लठ्ठिए युवायुवती - College Times : Educational Magazine
Headlines News :
Home » » महोत्सवमा लठ्ठिए युवायुवती

महोत्सवमा लठ्ठिए युवायुवती

Written By Collegetimes on Tuesday, December 4, 2012 | 5:20 AM


दसैंदेखि तिहारसम्म इटहरीमा चलेको महोत्सवमा युवायुवतीले लठ्ठ भएर रमाइलो गरे । मनपर्ने गायक–गायिका र कलाकारको प्रस्तुतिमा युवायुवती लठ्ठिएका थिए । महोत्सवमा इटहरी र आसपासका दुहवी, खनार, झुम्का, दुलारी, सुन्दरपुर, विराटचोकका युवायुवतीले एक महिनासम्म हरेक साँझ हुने सांस्कृतिक कार्यक्रमबाट सक्दो मनोरञ्जन लिए ।
पूर्वाञ्चल महोत्सवमा दैनिक राष्ट्रिय कलाकारको प्रस्तुतिले किशोरकिशोरीदेखि ढल्किँदो उमेरसम्मका दर्शकको जमघट बढाएको थियो । कार्यक्रममा आस्था व्यान्डदेखि कोमल ओलीसम्मका गायक–गायिकाले दर्शकलाई मनोरञ्जन दिन कुनै कसर बाँकी राखेनन् ।  दैनिक छुट्टा–छुट्टै चलेका कलाकारको प्रस्तुतिले दर्शकको घुइँचो घट्न पाएन ।
महोत्सवमा प्रस्तुतिका क्रममा कोमल ओलीले ‘मै हुँ चिटिक्क परेकी कुमारी, कोही छौ भने खेलौँ जुहारी ?’ भनेर प्रश्न गर्दा मञ्चअगाडिका युवाले हात उठाउँदै ‘हामी छौँ’ भन्दै कराएर ताली बजाउँदा वातावरण निकै रोमाञ्चक भएको थियो । ‘इटहरीमा म आउँदाखेरि भेट भयो गजबको तन्नेरी’, ‘बाँझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा’, ‘गोजीमा गाँठ भाको मनमा आँट भाँको’लगायतका गीत गाएर ओलीले इटहरीका युवालाई भुतुक्क पारेकी थिइन् ।
अहिलेको पुस्ताकी सुन्दरी गायिका इन्दिरा जोशीले ओलीको प्रस्तुतिभन्दा दुई दिनअघि ‘ट्राफिक जाम’ गीतसहित मञ्चमा बारुले कम्मर मर्काएर युवाहरुलाई हुरुक्क पारेकी थिइन् । उध्रेको चोलीवाली जोशीले जीउ मर्काउँदै ‘छुनलाई होइन्, हेर्न चाहिँ पाइन्छ,’ भन्दा युवायुवतीहरु पसिनापसिना भएर नाचेका थिए । उनले ‘चङ्गा चेट, मामुली अनुहार, माछी मार न र चौबन्दी चोली अनि रातो घाँगर’ बोलका गीतमा  आफ्नो शाकिरागिरी राम्रैसँग प्रस्तुत गरेकी थिइन् ।
महोत्सव अवधिमा गायकहरु एड्रिन प्रधान, निमा रुम्बा, राजेशपायल राई, अनुप्रस्त तथा आस्था व्यान्डका कलाकारले दर्शकलाई थाक्नेगरी नचाएका थिए । चर्चित गायकहरु  दीपक लिम्बू, शिव परिवार, स्वरुपराज आचार्य, प्रमोद खरेल, कमलीकान्त भेटुवाल, डम्बर नेपालीसहित स्थानीय कलाकारका प्रस्तुति पनि कम उत्कृष्ट थिएनन् । बिहानी डान्स सेन्टर, दर्शन डान्स सेन्टर र युनाइटेड थर्टिनका आर्कषक नृत्य पनि महोत्सवको उल्लेख्य प्रस्तुति थियो ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved