हिमाल दहाल
एउटी हुर्केकी छोरी छे । अब बूढेसकालमा त्यसैको पीर छ ।’बूढी आमैले खुइइय गर्दै भनिन्, ‘यसको राम्रोसँग बिहे गरेर पठाइदिन पाए मनलाई सन्तोक हुन्थ्यो ।’
चिया पसल्नीले यसरी गफ सुरु गरिन् । मैले पनि टेबलमा कुहिना अड्याएर उनको गफ सुनिरहेँ ।
...
मलाई थाहा छ, उनकी छोरी यसै वर्षदेखि क्याम्पस जान थालेकी थिई । स्कुल पढ्दादेखिकै नक्कली स्वभावकी छोरी क्याम्पस जान थालेपछि अझ नक्कले बनेकी थिई । लिपिस्टिक र पाउडर उसको ब्यागमा कहिल्यै छुट्दैनथ्यो । साथमा एउटा ऐना पनि हुन्थ्यो । जामालाई घटाएर छोटो स्कर्ट बनाएकी थिई । स्कुल जाँदा त्यही लगाउँथी ।
ट्याप्पै टाँसिने स्र्कट उसको मोटो जिउमा सुहाउँदैनथ्यो । र पनि ऊ फेसन हो भन्दै त्यही लगाउन मन गर्थी । जाडोमा पनि प्रायः गञ्जीजस्तो पातलो भेस्टमा देखिन्थी । उसका पाखुरा र पिँडुला प्रायः खुलै हुन्थे ।
‘नानी, जाडो हुँदैन ?’ चिया पिउन आएका एक बूढा ग्राहकले एकदिन सोधे, ‘यै त गर्मी भैरा’छ ।’ उसले जवाफ फर्काई ।
बूढामान्छे चुप ।
लवाईसँगै उसको व्यवहारमा समेत परिवर्तन आएको थियो । चिया पसलमा कुनै लक्काजवान केटो आउनेबित्तिकै टोल्हाएर हेर्थी । छोटा कपडा मिलाएजस्तो गरेर घरिघरि तल तान्थी । कपालको यौटा त्यान्द्रो निधारमा ल्याउँथी अनि लक्काजवानतिर कर्के हेर्दै फु गर्दै कपाल फुक्थी । कपालको त्यान्द्रो टाउकोमा चढ्थ्यो ।
प्रिपेड मोबाइल फोनमा झुन्डिरहन्थी । ब्यालेन्स पनि पु¥याइरहेकै हुन्थी ।
ऊ न घरको काम सघाउन मन गर्थी, न पसलको । कपाल कोरेर र ऐना हेरेर दिन बिताउँथी । भान्सा र भाँडा माझ्ने काम अह्राउँदा लामा नङ कोट्याउँदै भन्थी, ‘ह्या ! भाँडा माझ्न झ्याउ लाग्छ, नङ फोहोर हुन्छ ।’
क्याम्पस लागेको समयमा पनि उसलाई क्याम्पसमा भेटिँदैनथ्यो । कहिलेकाहीँ आमैलाई कसैकसैले सुनाइदिन्थे, ‘तपाईकी छोरी त पार्कमा यौटा केटासँग हात समाएर हिँडिरहेकी थिई ।’
आमै त्यस्ता कुरालाई दुनियाँका सामु ढाकछोप गर्थिन् । सुनाउनेलाई उल्टै हपार्थिन्, ‘नचाहिने कुरा गर्छौं, अरु नै कोही होला !’ भन्थिन् ।
तर, बेलुका छोरीको जगल्टा तान्थिन् ।
...
बूढी आमैलाई छोरी बिग्रिँदैछे भन्ने ठूलो चिन्ता थियो । तर, अरुसँग कुरा गर्दा भने बिहेको मात्र कुरा गर्थिन् । ‘पढाइ पनि एसएलसी पास गरिहाली,’ व्यापारीले आफ्नो सामान बिकाउन खोजेझै भन्थिन्, ‘मेहेनती छे मेरी छोरी ।’
त्यही बेलामा बूढी आमैको कानमा कसले के कुरा फुक्यो आमै भित्र पसिन् । भित्र उनको कोठा थियो । त्यहाँ राति आमाछोरी सुत्थे । एकैछिनमा भित्रबाट आमाचाहिँको ठूल्ठूलो स्वर सुनियो ।
‘तँलाई लबस्तरी, कोसँग थिइस् तँ ? किन ढोका ढिलो खोलिस् ?’
छोरीचाहिँ केही बोल्न सकिन । उही गञ्जीजस्तो लुगामा थिई । आमाले छोरीलाई केरकार गर्दागर्दै त्यहाँबाट यौटा केटो फुत्त निस्केर भाग्यो ।
‘ऐई...’ आमा मुर्मुर्रिंदै बाहिर निस्की । केटोलाई खेद्न खोजी । तर निकै पर गइसकेको थियो । ‘पर्खी त ८८ लाई खोरमा जाक्दिन्छु । ८८८ ८८ !’ भुत्भुताउँदै उनी भित्र पसिन् ।
‘तेरो लागि म भने यहाँ दोबाटोमा चिया बेचेर बस्ने, अनि तँ भने नाना केटासँग लठारिएर हिँड्ने ? तँलाई, यत्रो दुःख गरेर खुवाएको, तँ भने आवारा केटासँग मस्ती गर्ने ?...’ आदि, इत्यादि भन्दै आमैले करिब पाँच मिनेट धाराप्रवाह प्रवचन दिएको सुनियो ।
छोरीले चाहिँ चुइँक्कसम्म पनि बोलिन । परिस्थितिले आमैको पारो निकै तातियो । छोरीका डडाल्नामा दुईचार मुक्का हानिन् । छोरी रुँन थाली । ‘पर्खी, तलाई यै मङ्सिरमा यौटा केटोको जिम्मा नलाइ त... ।’
आमा बाहिर निस्किन् । मतिर हेरिन् । ‘अहिलेका केटाकेटीलाई के भन्ने ?...’ भन्दै खुइइय गरिन् । तर अघिजस्तो छोरीको बारेमा बढाइचढाइ गरिनन् । बढाइचढाइको इपिसोड अघि क्रमशः चल्दैथ्यो, एकैचोटी समाप्त भो ।
...
भोलिपल्ट चियापसलमा मान्छेको भिड थियो । परैबाट देखेँ, पसल्नी आमै चियापसलको अघि टाउकोमा हात राखेर रुँदै थिइन् । कसैले सुनायो, ‘पसल्नीकी छोरी त भागिछे ।’
www.facebook.com/yugpath

0 comments:
Speak up your mind
Tell us what you're thinking... !