उज्जवल ः ‘जति राम्रो लेखे नि मेरो स्टाटस धेरैले लाइक नै गर्दैनन् यार । मुस्किलले दुई–तीन लाइक आउँछ ।’
सुप्रिया ः ‘आफूलाई त बालै छैन । म सुतँे है भनेर लेख्दा नि कम्तिमा दर्जन लाइक त आइहाल्छ ।’
अभिषेक ः ‘त्यही त अचम्म ! लाइक पाउन केटी नै हुनुपर्छ कि के हो ? हा ... हा ...’
विराटनगरस्थित कोबास साइन्स कलेजमा अध्ययनरत छात्रछात्रा खाजा तथा ब्रेकको समयमा यस्तै गफ गर्छन् । सामाजिक सञ्जाल फेसबुकलाई इन्टरनेटको पर्यायका रुपमा बुझ्ने युवापुस्ताको प्रतिनिधित्व गर्ने उज्वललाई जतिखेर पनि फेसबुकको नोटिफिकेसन हेर्नकै हतार हुन्छ ।
विशेषत ः युवायुवतीमाझ सर्वाधिक लोकप्रिय फेसबुकले सन् २००४ मा इन्टरनेटको दुनियाँमा छलाङ मारेको हो । हावर्ड युनिर्भसिटीका साथीहरुमाझ घनिष्टता बढाउन निर्माण गरिएको यो फेसबुकले आजको जस्तो अभूतपूर्व अनि अविश्वसनीय स्थान बनाउँछ भनेर स्वयम् यसका जन्मदाता मार्क जुकरबर्ग अनि उनका सहयोगीहरुले पनि सपनामा समेत सोचेका थिएनन् रे ! हुन पनि यो छोटो अवधिमा आठ सय मिलियन (सप्टेम्बर २०११ सम्म) ले फेसबुक प्रयोग गर्नु चानचुने कुरो हुँदै हैन । सामाजिक सञ्जालको क्षेत्रमा अप्रत्याशित क्रान्ति गर्दै यसले मार्क जुकरवर्गलाई अर्बपतिको सूचीमा मात्रै पारेको छैन, फेसबुक आफैँ एक शक्तिकेन्द्रका रुपमा उदाएको छ । अर्को सामाजिक सञ्जाल ट्वीटरसमेत यही सेराफेरामै कुदिरहेको छ ।
किन मानिस फेसबुकमा झुमेका होलान् त ? कोवासका अभिषेक भन्छन्, ‘फेसबुक भनेको फेसबुक नै हो ।’ उनी भन्छन्, ‘छिटो, छरितो अनि चलाउन पनि सजिलो हुनुका साथै भिडियो च्याट अनि गेमसमेत खेल्न मिल्ने फेसबुकमा समय बितेको पत्तै हुँदैन ।’
को मान्छे अब के गर्दैछ भनेर बुझ्न उसकै फेसबुक स्टाटस हेरे पुग्ने भएको छ । एक क्लिकमा व्यक्तिको जन्ममिति, लिङ्गदेखि राजनैतिक विचारधारा अनि वैवाहिक अवस्थासमेत नियाल्न सकिने यसको सुविधा वास्तवमै गजबको छ ।
कतिपयले फेसबुकको लतलाई लागूपदार्थ दुव्र्यसनसँग तुलना गरेका छन् । तर, जसले जे भने पनि दिनानुदिन हजारौँको सङ्ख्यामा यसका प्रयोगकर्ता बढेका–बढ्यै छन् । व्यक्तिको सामाजिक जीवन अनि क्रियाकलापमा सजिलै निगरानी राख्न यसले मद्दत गरेको छ । आफ्ना भावना र रचना पस्कने भाँडोका रुपमा यो परिचित त छ नै, अझ समान विचारकाहरुलाई नजिक्याएको छ । यतिसम्म कि फेसबुकले नै जोडी जुराइदिएका समेत उदाहरणहरु छन् । फेसबुकबाटै नजिकिएर विवाह गर्नेहरु पनि भेटिन्छन् । यसै मेसोमा आफ्ना हाकिम, अभिभावक र कलेज प्रमुखहरुलाई समेत फेसबुकबाटै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा गालीसमेत गर्छन् ।
विगत तीन वर्षमा फेसबुकमार्फत् हुने आपराधिक घटनामा पाँच सय ४० प्रतिशतले वृद्धि भएको छ । व्यक्तिगत सूचनाको चुहावट त सामान्य भैसक्यो । अर्काको एकाउन्ट ह्याक गरेर जथाभावी गर्ने क्रम बढ्दो छ । मानिस आफ्नो सिर्जनशील समय फेसबुकमा व्यर्थ खर्च गर्न थालेकाले कार्यक्षमतामै ह्रास आएको कतिपयको मान्यता छ ।
चीन, इराक, पाकिस्तान, भियतनाममा त सरकारले नै कार्यस्थलमा फेसबुकलाई प्रतिबन्ध लगाएको छ (नेपालमा पनि छलफल नभएको होईन) । कतिपय इस्लामिक देशहरुले गैरइस्लामीक भन्दै यसलाई पूरै प्रतिवन्ध लगाएका छन् । तर, पनि मानिसको क्रेज न हो ुःष्ििबत ँबअभदययपु बनाएर भए नि उनीहरुले चलाइरहेकै छन् । मनोवैज्ञानिकहरु त फेसबुकले मानिसमा एकोहोरोपन बढाएको दावी गर्छन् । पछिल्लो सर्वेक्षणमा सम्बन्ध–विच्छेदको कारण फेसबुकसमेत भएको पाइयो । सबैलाई जानकारी नै छ, एक पत्नीले फेसबुकमा वैवाहिक सम्बन्ध अविवाहित उल्लेख गरेकै झोँकमा पतिले उनको हत्या गरेका थिए ।
आखिर कारण जेसुकै होस्, नेपालमा समेत फेसबुकको क्रेज बढ्दो छ, सँगसँगै फेसबुकमार्फत् हुने साइबर अपराध पनि । फेक एकाउन्ट बनाएर अरुलाई दुःख दिँदै समय बर्वाद गर्ने पनि उत्तिकै छन् ।
फेसबुक संस्थापन भने साइबर सुरक्षाका नाममा दैनिक बीसहजार प्रोफाइल हटाएको दावी गर्छ । जसो भए पनि इन्टरनेटको पहुँच विस्तारमा फेसबुकले अहम् भूमिका निर्वाह गरिरहेकै छ । अब यसलाई कसरी प्रयोग गर्ने भन्ने त व्यक्तिको मान्यतामा भर पर्छ, होइन र ?
अर्पण गेलाल
0 comments:
Speak up your mind
Tell us what you're thinking... !