या ... सम्म आउने स्कर्ट त मलाई मनै पर्दैन ।’ चम्पाले घुँडाभन्दा तलसम्म नाप्दै भनी, ‘त्यस्तो नि लाउने हो ? खेपाजस्तो ।’
दोबाटोमा उभिएर साथी रमालाई यसो भनिरहँदा उसलाई वरपर जामा (स्कर्ट) लगाएर हिँड्ने छात्राहरुले घुरेर हेरे । रमासँगै स्कुल जानका लागि जामा लगाएर उभिएकी मन्दिराले घुँडा छोपेको जामा हेरी अनि अलि माथि सारेजस्तो गरी ।
‘म त छोटो स्कर्ट लाउन पाउने स्कुलमा नै पढ्छु । ट्वान्टी फस्र्ट सेन्चुरीमा आइसक्दा पनि हाउ ओल्ड कन्सेप्ट ? लुगा पनि लामो र छोटो भन्ने हुन्छ र ? आफ्नो च्वाइस र कम्फर्ट पो हेर्नुपर्छ त ।’
क्याम्पस, अफिस र विद्यालय जाने समयमा दोबाटोमा सुनिएको चम्पाको तिखो आवाजलाई वरिपरिका धेरैले चासो दिए । दुई जना केटाहरु छेउबाटै गइरहेका थिए । चम्पा आफ्नै सुरले बोल्दै थिई,
‘संसार कहाँबाट कहाँ पुगिसक्यो, हामीचाहिँ यहाँ घुँडामा फिता नापेर बस्छौं । पुरानो तरिकाले त कहाँ चल्न सकिन्छ र ? घुँडाभन्दा तल्तिर आउनेगरी मात्र लाउनु रे ! ओ गड, छोप्नुपर्ने कुरा त छोपेकै छ नि । घुँडा देखाउनै नपाइने भनेर कहाँ लेख्या छ ?’
‘छोप्नुपर्ने कुरा पनि छोप्नैपर्छ भनेर पनि कहीँ लेख्या छैन हजुर !’ छेउमा हिँडेकोमध्ये कपाल अलि छोटो भएको यौटा केटाले प्याच्च भन्यो अनि खित्खितायो । सँगैको अर्को त अट्टाहास गर्दै हाँस्यो । चम्पाले आँखिभौँ खुम्चाउँदै हेरी । केटाहरु झन् हाँस्दै गए ।
‘कपाल काटेका दुम्सीहरु बिचरा ...!’ ठूलो स्वरमा कराई । अनि फेरि तिनै केटीहरुतिर फर्केर भन्न थाली, ‘नयाँ नियम आएपछि तिनेरुले पनि कपाल काटेका हुन् । ठूटै भएर । नयाँ एड्मिसन गर्न नसक्ने खातेहरु !’
केटाहरु गएतिर हेरी अनि फेरि रमातिरै फर्केर भनी, ‘बुझिस्, मलाई पनि लामो स्कर्ट लगा भनेर कस्तो गरेको । मैले त साफसाफ भन्दिएँ, बरु स्कुल फेर्छु तर स्कर्ट फेर्दिनँ । त्यो लामो स्कर्ट लगाएर के नापिन्छ ?’ उसले भनी, ‘विदेशमा केटीहरुले कस्तो प्रगति गरिसके, हाम्रो चाहिँ यहाँ स्कर्टको फेर नाप्दै नियम बनाउँछन् । तैँ भन् न, लामो लुगा लगाएर कस्ले प्रगति गरेको छ ? सेलेना गोमेज लामो जामा लगाएर स्टार भएकी हो ? प्रगति गर्नु छ भने लुगामा अल्झिनै हुन्न ।’
‘लामो नलाए त आउनै नदिने भन्या छन् नि !’ मन्दिराले भनी, ‘छोटा लाएर पनि केटाहरुले कस्तो घुरेर हेर्छन्, स्कुलमा त पढ्न पो जाने त । पढाइलाई त लुगाले छेक्दैन नि !’
‘केटाहरुले हामी केटीहरुलाई नघुरे केटालाई घुर्छन् त ? देखाउनै जाने हो नि । मलाई त बाल लाग्दैन । अलिकति मोर्डन त हुनैपर्छ । म त अर्को स्कुलमा भर्ना हुँदैछु । त्यहाँ त मनपरेको स्कर्ट लाउन दिन्छ । यस्तो खाते स्कुलमा पढ्दिनँ ।’
चम्पाको आफ्नै डिजाइनको स्कर्ट थियो । छोटो, फिटिङवाला । सबैले त्यो स्कर्टलाई चम्पास्कर्ट नाम दिएका थिए । उसले लगाएजस्तो स्कर्ट उसको र नजिकका कुनै स्कुलका कसैले पनि लगाएका थिएनन् । उसले कुनै पत्रिका वा पोस्टरबाट स्कर्टको डिजाइन लिएकी थिइ । हावाले फुत्रुक–फुत्रुक उफार्ने आफ्नो नयाँ डिजाइनको स्कर्टमा उसलाई गर्व थियो ।
चम्पाले अरु एक–दुई प्रवचन फलाकी । रमा र मन्दिरा हिँडे । चम्पा पनि बाटो लागि भोलि ऊ नयाँ विद्यालयमा भर्ना हुँदैछे, जहाँ उसलाई कुनै कुराको रोकतोक हुनेछैन ।
...
चम्पाको आँखा एकोहोरो भित्तातिर छन् । कुनै जादुले एकोहो¥याएको जस्तो । ‘के सोचेकी ?’ आमाले झक्झक्याउँदै सोध्दा ‘क्यै होइन ।’ भनेर सामान्य हुन खोजी तर फेरि एकोहोरिई ।
‘स्कुल फेर्ने भनेर उखरमाउलो गरी । लु न त भनेर अर्को स्कुलमा भर्ना गर्देको, सुरुमा त ठिकै थियो, फेरी टोल्हाउन पो थाली !’ आमाले मनको कुरा ओकलिन् ।
चम्पालाई सास फेर्न पनि गाह्रो भइरहेको थियो । कसरी भनोस्, जे पाउनका लागि स्कुल फेरेकी थिई, नयाँ स्कुलमा पनि त्यही नहुने भो । ऊ भर्ना भएको एक हप्तापछि नै नयाँ स्कुलले पनि छोटो स्कर्ट नलाउनु भन्ने उर्दी जारी ग¥यो ।
नयाँ स्कर्ट सिलाउनु परेकोमा उसलाई समस्या नै थिएन । तर, घुँडाभन्दा तलसम्म आउने स्कर्ट ... । ओ गड ... !
www.facebook.com/yugpath

0 comments:
Speak up your mind
Tell us what you're thinking... !