पुरा हुन नसकेको सपना - College Times : Educational Magazine
Headlines News :
Home » » पुरा हुन नसकेको सपना

पुरा हुन नसकेको सपना

Written By Neplee on Tuesday, January 1, 2013 | 10:54 PM


‘भाइ तिम्रो बसाइसराई मिलेन ’
भाग्य नमिलेको या परिस्थित, मैले बुझ्न सकिनँ । सिमसिम पानी परिरहेको त्यो समयमा मेरो मनमा झन् ठूलो पानी दर्किएको थियो । गोर्खा भर्तीको परीक्षामा नछानिएपछि म निराश भएर एक हातमा आफ्नो प्रमाणपत्रको झोला र अर्कोमा लुगाकपडाको झोला बोकेर पानीमा रुझ्दै फर्केको थिएँ, केही महिनाअघि । बेरोजगारी समस्याबाट पार पाउन नेपाली युवाहरु खाडीलगायतका विभिन्न मुलुकमा पसिना पोख्न बाध्य छन् । आकर्षक तलब–सुविधा र उच्च जीवनस्तरको सपना देखेर विदेसिए पनि वास्तविक जीवन सोचेजस्तो नहुँदा धेरै युवाहरु डिप्रेसन र कुलतको सिकार हुने गरेका छन् ।
यसै सिलसिलामा परिवारको सुन्दर भविष्यको सपना साँच्दै सुनौलो सपना बोकेर लाहुरे भर्तीतर्फ आकर्षित हुने नेपाली युवाहरु धेरै छन् । खाडी मुलुकहरुमा काम गर्नुभन्दा गोर्खाली सेनाको रुपमा काम गर्दा बढी सुविधा हुने हुँदा युवाहरुको आकर्षण बढ्दो छ । सुगौली सन्धिपश्चात् सन् १८१५ देखि सुरु भएको गोर्खा भर्ती अहिलेसम्म कायमै छ । नेपाली पूर्खाहरुले देखाएको बहादुरीको कदर गर्दै धेरै नेपाली युवाहरु बर्सेनि बेलायत सिङ्गापुर र भारतका सेनामा भर्ती हुन्छन् । नेपालको अहिलेको अन्योलपूर्ण स्थितिमा सुनिश्चित भविष्यका लागि धेरै युवाहरु गोर्खा भर्तीमा आकर्षित भएका छन् ।  मेरो बुबा इन्डियन आर्मीको सुबेदार साथै परिवारका अरु थुप्रै कोही इन्डियन आर्मी त कोही ब्रिटिस आर्मी ।
आखिर ममा पनि त्यो जोस आयो नै । साथै साथीभाइको रमाइलोसँगै गोर्खा भर्ती हुने सपना बोकेर तालिम लिन थालियो । ट्रेनिङ्ग सेन्टर पनि जान थालियो । पहिलो वर्ष उमेर पुगेन । अर्को वर्षलाई मेहनत गरियो । +२ को पढाइलाई हल्का रुपमा लिँदै मेरो दिमाग र मेहनतलाई गोर्खा भर्तीका लागि खर्चेँ । कहिले पानीमा रुझ्दै त कहिले चर्को घाममा पनि दिनभर कुदियो । बेलायत र सिङ्गापुरका इनटेक २०१३ का लागि गत असोजमा अन्तिम छनोट पोखरामा हुने भएको थियो ।
भारतीय सेनाको भर्तीका लागिसमेत छनोट थियो । यी छनोटमा सीमित सिटका लागि हजारौँ आवेदन पर्छन् । छानिनेहरु भाग्यमानीमा दरिन्छन् । नछानिनेहरु अर्कोपटकका लागि तयारी गर्छन्, जस्तो कि मैले गरेँ । पहिलो वर्ष उमेर पुगेन, दोस्रो वर्ष उमेर त पुग्यो, तर नाम निस्किएन । यो अन्तिम वर्ष गर या मरको अवस्था थियो । मैले हरेक कुरामा सुधारेको थिएँ आफूलाई । तर, त्यो दिन बसाइसराई मिलेन भनेर म फालिएँ । मेरो लक्ष्य निमोठियो । डिप्रेसनजस्तो भयो तर पनि मैले धैरे सोचेँ, घर परिवारले सम्झाउनुभयो । मैले हिम्मत हारेको छैन । बरु पढाइलाई निरन्तरता दिइरहेको छु ।
 बैदेसिक रोजगारीमा युवाहरुको आकर्षण बढिरहेका बेलामा त्यो भन्दा उच्च तलब पाइने र मरणोपरान्त सम्मान समेत हुने हुँदा गोर्खा भर्तीमा युवाहरुको आकर्षण छ । त्यसमाथि नेपालमा बेरोजगारी र सरकारी सेवामा रहेको उच्च प्रतिस्पर्धाका कारण युवाहरु वैकल्पिक रुपमा सुनिश्चित भविष्य खोज्ने क्रममा गोर्खा भर्तीका लागि आफ्नो छाती नपाइरहेछन् । बेरोजगारी समस्या समाधान नभएसम्म गोर्खा भर्तीमा युवाहरुको आकर्षण घट्ने छैन । बरु बढेर जाने निश्चित छ ।
म पछुताउँछु कहिलेकाही पढाइ अवरुद्ध पारेकोमा । कहिलेकाहीँ घरको बरन्डामा बसेर चियाको चुस्की लिँदा पहिलेको कुरा दुख्ने गर्छ । कानमा साथीहरुले भनेको शब्द गुन्जिने गर्छ , ‘यो त लाहुरे लाग्लाजस्तो छ !’
अमित खत्री
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Face of the month

- more photos
- more photos - more photos

 
Copyright : © 2011. College Times : Educational Magazine - All Rights Reserved