प्रविधिको बढ्दो विकासले हाम्रो सामाजिक र सांस्कृतिक मान्यता मात्र हैन रहनसहन र चालचलन नै परिवर्तन हुन थालेका छन् । मोबाइल, फिल्म, इन्टरनेट आदिको प्रभाव युवापुस्तामा लाहाछापझैं भएको छ । किशोरावस्थाका परिवर्तनसँगै, विपरितलिंगी प्रतिको आर्कषणले फिल्मीशैली पछ्याउँदै पढ्ने उमेरमा गृहस्थी बसाउनेको सङ्ख्या पनि कम छैन । हुन त पहिले–पहिले पनि सामाजिक कुसंस्कारका कारण सानै उमेरमा विवाह गर्ने चलन थियो । तर, अहिलेको अवस्था भने त्यो छैन, पहिले बाध्यतामा विवाह हुन्थ्यो भने अहिले रहरैरहरमा ।विवाह भन्नेबित्तिकै एक–अर्काप्रतिको समर्पण र सम्झौता भन्ने बुझिन्छ । हुन त प्रेमको भाव पनि त्यही हो । ‘प्रेम’ आदिम युगदेखि हालसम्ममा कैयन रुपमा प्रस्तुत भैसकेको छ । प्रेम र विवाह बारेमा कुरा सुरु ग¥यो भने त्यसमा शारीरिक सम्बन्धबारे चर्चा–परिचर्चा हुन्छ नै । विवाह भने शारीरिकसम्बन्धकै लागि गरिन्छ भन्ने मान्यता रहिआएको छ । तर, प्रेममा शारीरिक सम्बन्ध रहनुपर्छ भन्ने छैन । अहिले स्कुलेपुस्ता प्रविधिले गर्दा विवाहअगाडि नै शारीरिकसम्बन्ध राख्न उद्यत छ भने उमेर नै नपुगी विवाह गर्ने चलनसमेत बढ्दो छ । स्कुले उमेरमै प्रेम सम्बन्धमा बाँधिएर स्कुल नसक्दै घरजम गर्नेहरुको सङ्ख्या अहिले गाउँ र सहरमा उत्तिकै छ ।
भर्खरै गरिएको एक अध्ययनअनुसार सूचना–प्रविधिको बढ्दो प्रयोगसँगै किशोर–किशोरीमा यौनप्रतिको जिज्ञासा पनि निकै तीव्र गतिमा बढेको पाइएको छ । प्रेमका कारण अधिकतरले उमेर नपुग्दै विवाह गरेका छन् । विभिन्न २५ जिल्लामा गरिएको अध्ययनअनुसार बालविवाहको प्रमुख कारण प्रेम, चेतनाको अभाव, गरिबी, अभिभावकको दबाब आदि हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको अध्ययनअनुसार किशोर–किशोरीले औसत १८ वर्षको उमेरमा आफूले पहिलोपटक सेक्स गरेको बताएका छन् । किशोर–किशोरी तथा युवामध्ये ४४ प्रतिशतले यौनसम्पर्क गरिसकेका र विवाहित दम्पतीमध्ये १३ प्रतिशतले विवाहपूर्व नै यौनसम्पर्क गरिसकेको तथ्याङ्क सार्वजनिक भइसकेको छ । यसले के देखाउँछ भने किशोर–किशोरीहरुमा यौन शिक्षाको अभावका कारण यौन जिज्ञासा मेटाउन उनीहरु विवाहबन्धनमा बाँधिने गरेका छन् । यस्तो विवाह मागी विवाह पनि हुनसक्छ वा प्रेम विवाह पनि । तर, पछिल्लो समयमा प्रेमविवाह र त्यसमा पनि भागेर गरिने प्रेमविवाह बढ्दो छ । अभिभावकले स्वीकृति दिने अवस्था नभएमा युवायुवतीले भागेर विवाह गर्ने गरेका छन् । कतिपय अवस्थामा गरिबीको कारण पनि सुटुक्क विवाह गर्नेहरु छन् ।
विद्यालयस्तरका पाठ्यक्रममा यौन शिक्षासम्बन्धी ज्ञान दिने विषयवस्तु पर्याप्त नहुनु, किशोर–किशोरीमा हुने शारीरिक परिवर्तन र मानसिक परिवर्तनलाई शिक्षकले बुझाउन नसक्नु आदि कारणले उनीहरुमा यौन जिज्ञासा, कुन्ठा र नकारात्मक धारणा बढ्नाले स्कुल नसक्दै शारीरिक सम्बन्ध राख्ने, विवाह गर्ने क्रम बढेको शिक्षाविद्हरु बताउँछन् । १० वर्षदेखि माथिको उमेरमा किशोरकिशोरीहरुको नयाँ ज्ञान सिक्ने समय हुँदा यस अवधिमा यौन शिक्षा दिने हो भने त्यो प्रभावकारी हुने बताउँछन् शिक्षाविद् डा तीर्थ खनिया ।
विश्व २१ औं शताब्दीमा प्रवेश गरे पनि नेपाली समाजमा यौनको चर्चा गर्नु छाडा प्रवृति मानिन्छ । पश्चिमा देशमा प्राथमिकतहदेखि नै यौनसम्बन्धी सामग्रीहरु पाठ्यक्रममा राखिन्छ । साथै यौनबारेमा परिवारबाटै जानकारीसमेत दिइन्छ । यौन शिक्षा तथा यसका समस्याहरुमा घरपरिवारमा खुला बहसबाट बालबालिकाहरुले सही जानकारी प्राप्त गर्ने हुँदा किशोर–किशोरीले पछि आउने जोखिमबाट आफूलाई सुरक्षित राख्न सक्छन् ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !