वीपी दास (उपकुलपति )
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
नेपालमा शिक्षा क्षेत्र अहिले उद्योगको रुपमा विकास भइरहेको छ । निजी स्कुल, कलेज, इन्स्टिच्युट हँुदै पछिल्लो समय मेडिकल कलेजसम्म खुल्नेक्रम तीव्र छ । अरु शैक्षिकसंस्थाजस्तै स्वास्थ्य शैक्षिकसंस्थाले पनि व्यवसायका नाममा अस्वस्थ्य प्रतिस्पर्धा गर्दा निम्तिने खतरा, शैक्षिक क्षेत्रलाई पार्ने असर, र नेपालमा चिकित्सा शैक्षिकसंस्थाको भविष्य र सम्भावनाका विषयमा देशकै चर्चित चिकित्सा अध्ययन केन्द्र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति बिपी दाससँग कलेजटाइम्सका लागि शेखर ढकालले गरेको कुराकानीको सम्पादित अंश ःपछिल्लो समय मेडिकल कलेजहरु तीव्ररुपमा थपिने क्रमलाई कसरी हेर्नुभएको छ ?
अहिलेको हिसाबले हेर्ने हो यो धेरै खुल्यो भन्ने कुरामा म सहमत छैन । किनभने नेपालमा जनसङ्ख्या र बिरामीको सङ्ख्या दिनानुदिन बढ्दो छ । बिरामीको चापअनुसार मेडिकल कलेजहरु खुल्नुपर्छ । साथै अहिले पनि नेपाली विद्यार्थीहरु सिकित्सा पढ्न चीन, रुस, बङ्गलादेश, भारतलगायतका मुलुक जानेक्रम जारी छ । उनीहरुलाई नेपालमै स्तरीय शिक्षा दिनसके विदेश जाने पैसा यहीँ रहने थियो ।
स्वास्थ्य शिक्षण संस्था पनि अरु व्यावसायिक शैक्षिक संस्था जस्तै धेरै खुल्नु राम्रो हुन्छ र ?
स्वास्थ्य शिक्षणसंस्था खुल्नु राम्रो हो । अरु उद्योगको अवस्था राम्रो नरहेको अवस्थामा शैक्षिक र स्वास्थ्यसंस्थालाई नै उद्योगको रुपमा विकास गर्न सकिन्छ । तर, स्तर र विश्वसनीयता कायम गर्न सक्नुपर्छ । मेडिकल कलेजको लागि आवश्यक जनशक्ति छ कि छैन हेर्नुपर्छ । अहिले शिक्षक अपुग छ । मेडिकल कलेज खोलेर बस्ने अनि काउन्सिल आएका बेला बाहिरबाट मान्छे ल्याएर देखाउने प्रवृत्ति छ । यसले गर्दा भोलि गएर देशकै बद्नाम हुन जान्छ । त्यसैले जनताको आवश्यकतानुसार ठाउँ छानेर कलेजहरु खोल्ने अनुमति दिइनुपर्छ ।
स्तर कायम राख्न मेडिकल कलेजले के कुरामा ध्यान दिनुपर्छ?
गुणस्तर कायम गर्न मेडिकल कलेजमा चाहिने पूर्वाधार, ल्याब, बिरामी, हस्पिटालिटी हुनुप¥यो । भावि डाक्टरले प्रशिक्षण लिने हो । त्यसका लागि बिरामी आउने वातावरण बनाउनुप¥यो । उपकरणहरु हुनुप¥यो । यसकारण गुणस्तरका लागि उपकरण, बिरामी पर्याप्त र वातावरण उपयुक्त हुनैपर्छ ।
हाम्रो देशमा चिकित्सा अध्ययन गराउने शिक्षकको अभाव पूर्ति गर्न विदेशी शिक्षक मगाउनुपर्ने अवस्था छ कि छैन ?
अभाव त छ तर पहिलेको तुलनामा अहिले धेरै शिक्षक उत्पादन भएका छन् । बिपी प्रतिष्ठानमै १० जना पनि नेपाली शिक्षक थिएनन्, अहिले एक सय ७० जना डाक्टर–शिक्षक छन् । बिस्तारै विदेशी शिक्षकमा निर्भर हुने दिन हराउँदै छ । अर्को कुरा विदेशी शिक्षक आउँदा पनि कस्ता आउँछन् भन्ने हो । भारतमा डाक्टरको सेवा सुविधा हाम्रोमा भन्दा दोब्बर छ । यहाँ आउने भनेका प्रायः त्यहाँ गर्न नसकेका गुणस्तर नभएका शिक्षक डाक्टरहरु हुन् । त्यसैले विदेशी डाक्टरभन्दा स्वदेशमा उत्पादन भएकै जनशक्तिलाई उपयोग गर्नु राम्रो हुन्छ ।
डाक्टरहरुको उत्पादन बढ्दो भए पनि ग्रामीण क्षेत्रका सर्वसाधारण अझै पनि चिकित्सकको पहु“चबाट वञ्चित छन् । सबै क्षेत्रका सर्वसाधारणले एमबिबिएस डाक्टरको सेवा पाउने कहिले ?
यदि उत्पादन भएका डाक्टरलाई यही राख्न सकियो भने १०÷१५ वर्षमा सर्वसाधारणले सेवा पाउँछन् । सरकारले नीति बनाएर यहाँ उत्पादन भएका डाक्टरलाई यहीँ काम गर्ने वातावरण मिलाउनुपर्छ । २४÷२५ वटा मेडिकल कलेजबाट डाक्टर उत्पादन भैरहेका छन् । तर प्रायः विदेश पलायन हुने क्रम छ । त्यसलाई रोक्न सरकारले बेलैमा सोच्नुपर्छ ।
अन्त्यमा, चिकित्सा क्षेत्रमा नभइ नहुने कुरा ?
हामीले दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादनका लागि हाम्रा स्रोत–साधन केन्द्रित गर्नुपर्छ । साथै कुन संस्थालाई कहाँ राख्दा के गर्दा देशलाई फाइदा पुग्छ, त्यसका लागि सरकार चनाखो हुनुपर्छ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !